खबर दिनभर : युवाहरु निराश हुनु नपर्ने,रास्वपाले ८४ मा बहुमत ल्याउने, सिंगारियो पशुपतिनाथ

राजनीतिक दल र नेतृत्व अग्रसर भएमा देशलाई समृद्धिको बाटोमा डोर्याउन सकिन्छ : राष्ट्रपति पौडेल
राष्ट्रपति रामचन्द्र पौडेलले नेपालीको आकांक्षा अनुसारको सुशासन, विकास र समृद्धिको बाटोमा नेपाललाई डोर्याउन राजनीतिक दल र नेतृत्व अग्रसर हुनुपर्ने बताएका छन् ।
मंगलवार महेन्द्रनारायण निधी स्मृति प्रतिष्ठानद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले मलुकलाई सुशासन, विकास र समृद्धिको बाटोमा डोर्याउन सकेमात्र व्यववस्थाप्रति जनताको भरोसा जगाउँदै संघीय लोकतान्त्रिक गणतन्त्रले परिलक्षित गरेको विकास र प्रगतिको लक्ष्य हासिल गर्न सकिने बताए ।
राजनीतिको केन्द्र जनतामा हुनुपर्ने उनको भनाइ छ । उनले राजनीतिक परिवर्तनको प्रतिफल गरिब, पिछडिएका र आर्थिक अवस्था कमजोर भएका वर्गको अधिकतम हित हुने गरी उनीहरुको घरदैलोमा पुर्याउन सरकारले आफ्नो नीति तथा कार्यक्रम र बजेट तर्जुमामा विशेष ध्यान दिनुपर्ने उल्लेख गरे ।
उनले भने,‘राजनीतिको केन्द्र सबैको जनता हुनुपर्छ । त्यसका लागि लोकतन्त्रको सुदृढिकरण, सुशासन, सामाजिक न्याय र समृद्धिलाई प्राथमिकतामा राख्नुपर्छ । राजनीतिक परिवर्तनको प्रतिफल गरिब, पिछिडिएका र आर्थिक अवस्था कमजोर भएका वर्गको अधिकतम हित हुनेगरी उनीहरुको घरदैलोमा पुर्याउन सरकारले आफ्नो नीति तथा कार्यक्रम र बजेट तर्जुमामा विषेश ध्यान दिनुपर्छ । नेपालको आकांक्षाअनुसार सुशासन, विकास र समृद्धिको बाटोमा नेपाललाई डोर्याउन राजनीतिक दल र नेतृत्व अग्रसर हुनुपर्छ । यो बाटोमा मुलुकलाई डो¥याउन सकेमात्र व्यवस्थाप्रति जनताको भरोसा जगाउँदै संघीय लोकतान्त्रिक गणतन्त्रले परिकल्पना गरेको विकास र समृद्धिको लक्ष्य हासिल गर्न सकिन्छ भन्ने मलाई लागेको छ ।’
उनले महेन्द्र नारायण निधीजस्ता नेताहरूको लोकतन्त्रप्रतिको निरन्तर संघर्ष, त्याग र निष्ठाले नै आज हामी मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न सफल भएको बताए ।
देश विकास हुँदैछ, युवाहरु निराश हुनु पर्दैन : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले देश अँध्यारो युगबाट उज्यालो युगमा प्रवेश गरेकाले युवाहरु निराश हुनु नपर्ने बताएका छन् । जोरपाटीस्थित नेपाल मेडिकल कलेज तथा शिक्षण अस्पतालको रजत जयन्तीका अवसरमा मंगलबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले देशमा असाधारण विकास हुँदै गएकाले केही भएन वा सरकारले केही गरेन भन्न नमिल्ने बताएका हुन् ।
उनले देश बनाउने सवालमा अन्धाधुन्ध हिसाबले नभई सोच विचार गरेर सरकारले काम गरिरहेको स्पष्ट गर्दै जनताले पनि यस यात्रामा साथ र सहयोग दिनुुपर्नेमा जोड दिए ।
“खान लाउन नपाउनेलाई सरकारले हेर्नुपर्छ । पढ्न नसक्नेलाई सरकारले पढाउनुुपर्छ । शुल्क तिर्न सक्नेलाई छात्रवृत्ति दिइरहनुुपर्छ भन्ने छैन । आफैँ तिरेर उच्चशिक्षा पढ्न चाहने स्वदेशी र विदेशीलाई सरकारी वा निजी सबै शिक्षालयमा पूर्वाधार सुविधा र कोटा बढाएर अध्ययन गर्ने वातावरण तयार गर्नुपर्दछ”, प्रधानमन्त्री ओलीले भने, “निजी विद्यालयलाई गुठीमा लानुपर्छ भन्ने छैन । शिक्षा क्षेत्र खेलबाड गर्ने थलो होइन । ‘एसइई’मा ५२ प्रतिशत अनुत्तीर्ण हुने स्थिति र प्रणालीलाई अन्त्य गर्नुपर्छ ।”
प्रधानमन्त्री ओलीले ‘एसइई’मा धेरै सङ्ख्यामा विद्यार्थी अनुत्तीर्ण हुने गरी पढाउने शिक्षकलाई तलब बढाउन नसकिने र विद्यार्थीलाई बुुझाएर पढाउन नसक्ने शिक्षकको कमजोरीको दोष विद्यार्थीलाई दिन नमिल्ने बताए ।
यसअघि प्रधानमन्त्री हुँदा आफूले ३९६ आधारभूत अस्पतालको एकै पटक शिलान्यास गरेको स्मरण गराउँदै उनले यसबीचमा प्रभावकारी रुपमा काम हुन नसकेको बताए । कार्यक्रममा प्रधानमन्त्री ओलीले अस्पतालको रजत जयन्ती स्मारिकाको विमोचन गरेका थिए ।
कसैको दया र मायाले माओवादी ठूलो पार्टी बनेको होइन : प्रचण्ड
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले कसैको दया र मायाले माओवादी विगतमा सबैभन्दा ठूलो पार्टी नबनेको बताएका छन् ।
मंगलवार मोरङमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले कसैको दया र मायाले आफू तीनरतीन पटक प्रधानमन्त्री नबनेको भन्दै जनताको साथ र विश्वासले बनेको दाबी गरे ।
उनले विचौलिया र भ्रष्टाचारीलाई संरक्षण गर्ने सरकारी रबैयाको बिरोध र भण्डाफोर गर्न जरुरी रहेको पनि बताए । उनले आफू नेतृत्वको अघिल्लो सरकारले भ्रष्टाचारका बिरुद्ध चलाएकै कारण सरकारबाट हट्नुपरेको दोहार्याए ।
‘दलाल, विचौलिया र भ्रष्टाचारीलाई संरक्षण गर्ने सरकारी रबैयाको बिरोध र भण्डाफोर गर्न जरुरी छ । मलाई लाग्छ, नेपाली जनताले आम रुपमा बुझेको कुरा के छ भने यो सरकार जो बन्यो, मेरो नेतृत्वको अघिल्लो सरकारले भ्रष्टाचारका बिरुद्ध चलाएको अभियान, चाहे त्यो राजनीतिक दलका नेताहरु होउन्,चाहे ठूला हाकिमहरु हुन्, चाहे भूमाफिया, विचौलियाहरु हुन्, तिनीहरुको बिरुद्ध अभियान चलाएकै हुनाले उनीहरुले नै पार्टीका नेताहरुलाई कन्भिन्स गरेर भनौँ, वा कडा भाषामा भन्दा किनेर, दलालहरुलाई खरिद गरेर र हामीलाई बाहिर पु¥याए । हामीलाई कसैले दया माया गरेर देशको ठूलो पार्टी बनाएको होइन, कसैले दया माया गरेर तीन तीन पटक प्रधानमन्त्री बनाइदिएको होइन । नेपाली जनताको भरोसा र विश्वास, त्याग र तपस्या, जनताका माग र मुद्दाप्रति लिएको अडानकै कारण जनताले पुर्याएको हो ।’
अध्यक्ष दाहालले जनतासँगको विश्वास गुमाउँदा माओवादीहरु अलि बिग्रिएको र अब नहुने बताए ।
पशुपति क्षेत्रमा महाशिवरात्रिको तयारी पूरा, बिहान दुई बजेदेखि चारै ढोका खुला गरिने
महाशिवरात्रि पर्वका लागि पशुपति क्षेत्रमा सबै तयारी पूरा भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । पर्व मनाउन आराध्यदेव भगवान् पशुपतिनाथ मन्दिरमा श्रद्धालु भक्तजन, साधुसन्त र दर्शनार्थीको उपस्थिति आजैदेखि वृद्धि भएको छ ।
यस वर्ष एक दशकयताकै सर्वाधिक भक्तजन यहाँ आउने विश्वास गरिएको कोषका सदस्य सचिव डा मिलनकुमार थापाले जानकारी दिए । त्यसैअनुसार पशुपति क्षेत्रमा सबै तयारी गरिएको छ । भारतको प्रयागराजमा भइरहेको महाकुम्भबाट धेरै साधुसन्त पशुपतिनाथको दर्शन गर्न आउने अनुमान गरिएको छ ।
सदस्य सचिव थापाले गत पुसमा ‘पशुपति दर्शन अभियान’ मार्फत भारतमा धार्मिक अभियानकर्मी, राजनीतिक दल, व्यवसायी र सामाजिक अभियानकर्मीसँग प्रत्यक्ष संवाद गरेर फर्किएपछि यस वर्ष महाशिवरात्रिमा दर्शनार्थी बढ्ने आशा गरिएको बताए ।
पर्व सम्पन्न गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री एवं कोष सञ्चालक परिषद्का अध्यक्ष बद्रीप्रसाद पाण्डेको अध्यक्षतामा २०१ सदस्यीय मूल समारोह समिति गठन गरिएको छ । सो समितिले पनि सक्रियताका साथ काम गरिरहेको छ ।
मन्त्री पाण्डेको निर्देशन र प्रत्यक्ष उपस्थितिमा कोषले तयारीका काम गरिरहेको मूल समारोह समितिका सदस्य शान्त खरेलले जानकारी दिनुभयो । पर्व सम्पन्न गर्न नौ वटा विषयगत उप–समिति गठन गरिएका छन् । पशुपतिनाथ आउने दर्शनार्थीलाई सहज सेवा दिन सम्पूर्ण ध्यान केन्द्रित गरेको उनले सुनाए । यसपटक पर्व उल्लासमय वातावरणमा मनाइँदैछ । पशुपति क्षेत्र फूल र बत्तीले सिँगारिएको छ ।
नेपाल, भारत, भुटान, बङ्गलादेश, म्यान्मारसहित विश्वका धेरै देशबाट भक्तजनको उपस्थिति भइरहेको छ । व्यवस्थित रूपमा पूजाआजा र दर्शनको व्यवस्थाका लागि बुधबार बिहान २ बजेदेखि नै मन्दिरका चार वटै ढोका खोल्ने निर्णय भएको सदस्य सचिव थापाले जानकारी दिनुभयो । कोषको प्राथमिकता भक्तजनको सुविधा र सहजता भएकाले त्यसैअनुरुप काम गरिएको उनले बताए ।
दर्शनार्थी, साधुसन्त एवं भक्तजनको सङ्ख्या वृद्धि भएकाले सुरक्षा तथा स्वास्थ्यका मापदण्ड पालना गर्न कोषले आह्वान गरेको छ । पशुपति क्षेत्रमा सुरक्षा व्यवस्थापनका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागको टोली परिचालन गरिएको छ । सुरक्षा निकायसँगै कोषको आफ्नो सुरक्षा टोली पनि पशुपति क्षेत्रमा खटाइएको छ । साधुसन्त, महन्थ र भक्तजनको सुरक्षालाई विशेष ध्यान दिएर अनुगमनको प्रबन्ध गरिएको छ ।
सामाजिक एवं धार्मिक संघसंस्था परिचालन गरी पर्वलाई सहज रूपमा व्यवस्थापन गर्न लागिएको छ । यसमा कालिका साधना संघ, नेपाल रेडक्रस, स्काउट, लायन्स क्लब र धार्मिक सङ्घ सङ्गठनका तर्फबाट स्वयंसेवक खटाइएको कोषले जनाएको छ ।
भक्तजनका लागि स्वास्थ्य सेवाको उचित व्यवस्था गरिएको छ । अस्पतालमा शय्या बुक गर्ने तथा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलसँगै विभिन्न क्षेत्रबाट स्वास्थ्यकर्मी, औषधि र एम्बुलेन्स तयारी अवस्थामा राखिएको कोषले जनाएको छ ।
मन्दिर परिसरमा रहेको धर्मशालामा साधुसन्तका लागि बस्ने व्यवस्था गरिएको छ । तिलगङ्गासँगै हंशमण्डप, वनकालीसहितका क्षेत्रमा निःशुल्क आवास, भोजन आदिको व्यवस्थापन गरिएको छ ।
भगवान् पशुपतिनाथको दर्शन, चन्दन वितरणसहित दर्शनार्थीको सम्पूर्ण सेवालाई व्यवस्थित गर्नेगरी महाशिवरात्रि पर्व मनाउने तयारी गरिएको र मन्दिर परिसरलाई सिँगारिएको छ ।
सदस्य सचिव थापाले पशुपतिनाथको दर्शन गर्न आउने तीर्थयात्रीलाई फेरि पनि यहाँ फर्किने वातावरण बनाउने सम्पूर्ण बन्दोबस्त गरिएको बताए । मन्दिर दर्शनमा आउने भक्तजनलाई फागुन कृष्ण एकादशी अर्थात् सोमबारदेखि नै गुठी संस्थानले खाने, बस्ने र धुनी जगाउने व्यवस्थासमेत गरेको छ ।
नागरिक उड्डयन प्राधिकरण टुक्रयाउनेसम्बन्धी दुई विधेयक प्रस्तुत
प्रतिनिधिसभाको मंगलबारको बैठकमा नेपाल नागरिक उड्डयन प्राधिकरण टुक्रयाउनेसम्बन्धी दुई वटा विधेयक प्रस्तुत गरिएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले ‘नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१’ र नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१’ प्रस्तुत गरे ।
लामो समयदेखि प्राधिकरण टुक्रयाउने विषयमा छलफल भएपनि विधेयक अगाडि बढ्न सकेको थिएन ।
नेपालको हवाई क्षेत्रमा देखिएको समस्या समाधान गर्ने र अन्तरराष्ट्रिय निकायले राख्दै आएको कालोसूची हटाउनेलगायतका विषयसमेतमा सो विधेयकको आवश्यकता महशुस गरिँदै आएको थियो ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गर्यो मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा
नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समिक्षा सार्वजनिक गरेको छ । राष्ट्र बैंकले मंगलबार आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको अर्धवार्षिक समिक्षा सार्वजनिक गरेको हो ।
समीक्षामार्फत राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका लागि तोकिएको विद्यमान नीतिगत दर र निक्षेप सङ्कलन दर यथावत राखेको छ । त्यस्तै, कर्जा नोक्सानीसम्बन्धी व्यवस्थामा बैंक तथा वित्तीय संस्थाहरूलाई सजिलो बनाइएको छ । त्यस्तै, सवारी कर्जासम्बन्धी व्यवस्थामा केही फेरबदल गरिएको केन्द्रीय बैंकले जनाएको छ ।
“मूल्यवृद्धिको पछिल्लो प्रवृत्तिले नीतिगत दर बढाउनुपर्ने आवश्यकता औँल्याएको भए पनि आर्थिक क्रियाकलाप विस्तारलाई उच्च प्राथमिकतामा राख्नुपर्ने भएका कारण आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति जारी गर्दा लिइएको सजगतापूर्वक लचिलो कार्यदिशालाई यथावत राखिएको छ”, राष्ट्र बैंकले भनेको छ ।
अर्धवार्षिक समीक्षाबाट मौद्रिक नीतिको विद्यमान नीतिगत दरलाई पाँच प्रतिशतमा यथावत राखिएको छ । त्यस्तै, ब्याजदर करिडोर अन्तर्गतको तल्लो सीमाको रूपमा रहेको निक्षेप सङ्कलन दरलाई तीन प्रतिशत र ब्याजदर करिडोर अन्तर्गतको माथिल्लो सीमाको रूपमा रहेको बैंक दरलाई साढे छ प्रतिशत यथावत छ । अनिवार्य नगद मौज्दात र वैधानिक तरलता अनुपातसम्बन्धी व्यवस्था संशोधन भएको राष्ट्र बैंकले जनाएको छ ।
बैंक तथा वित्तीय संस्थाहरूले कर्जा प्रवाहसम्बन्धी व्यवस्थामा केही सहुलियत पाएका छन् । असल कर्जाको विद्यमान एक दशमलव १० प्रतिशतको कर्जा नोक्सानी व्यवस्थालाई एक प्रतिशत कायम गरिएको छ ।
त्यस्तै ‘नन् डेलिभरेबल फरवार्ड’ को हकमा प्राथमिक पुँजीको विद्यमान १५ प्रतिशतको सीमालाई वृद्धि गरी २० प्रतिशत कायम गरिएको राष्ट्र बैंकले जनाएको छ । लघुवित्त वित्तीय संस्थाहरूको कर्जाको ब्याजदर २०८२ जेठदेखि आधार दरसँग आवद्ध गर्ने निर्णय पनि केन्द्रीय बैंकले गरेको छ ।
अर्धवार्षिक समीक्षामार्फत सवारीसाधनको ऋण मूल्य अनुपात (लोन भ्यालु रेसियो)संशोधन गरिएको छ । यसअघि विद्युतीय सवारी साधनमा ८० प्रतिशतसम्म कर्जा दिनसक्ने व्यवस्था रहेकोमा नयाँ व्यवस्थाअनुसार अब व्यक्तिगत सवारी साधन र सबै प्रकारका विद्युतीय सवारी साधनको ऋण मूल्य अनुपातको सीमालाई समान ६० प्रतिशत कायम गरिएको छ ।
राष्ट्र बैंकले चालु आर्थिक वर्षका लागि ल्याइएको मौद्रिक नीतिले सजगतापूर्वक लचिलो कार्यदिशा अवलम्बन गरेको बताउँदै आएको छ । यो नीतिले आर्थिक क्रियाकलाप विस्तारमा थप सहयोग पुग्न गई नेपाल सरकारले लिएको आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न सकिने दाबी राष्ट्र बैंकले गर्दै आएको छ ।
यद्यपि चालु आर्थिक वर्षको माघ मसान्तसम्मका वित्तीय तथा मौद्रिक सूचकहरूले भने बाह्य सूचकबाहेक अन्य अधिकांश सूचक खराब अवस्थामा रहेको देखाउँछन् ।
राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार चालु आर्थिक वर्षको पहिलोत्रय मासमा आर्थिक वृद्धि तीन दशमलव चार प्रतिशत रहेको अनुमान छ । त्यस्तै, यसवर्ष धान उत्पादन चार दशमलव ०४ प्रतिशतले बढेको अनुमान छ ।
निर्माण र उत्पादनमूलक उद्योगको कमजोर वृद्धिदरलाई अझै सुधार गर्न सकिएको छ । विगत दुई वर्षदेखि ऋणात्मक वृद्धिदर देखिएका यी क्षेत्रले अझै गति लिन सकेको छैनन् । यद्यपि, जलविद्युत् उत्पादनमा हुँदै गएको वृद्धि, वैदेशिक व्यापारमा भएको विस्तार र पर्यटन क्षेत्रमा देखिएको सुधारले आर्थिक क्रियाकलाप विस्तारमा सहयोग पुग्ने अपेक्षा राष्ट्र बैंकको छ ।
आर्थिक वर्ष २०८१/८२ को छ महिनासम्मको कर्जा प्रवाह विश्लेषण गर्दा आर्थिक गतिविधि विस्तारको क्रममा रहेको देखिएको राष्ट्र बैंकको दाबी छ । “चालु आर्थिक वर्षको छ महिनासम्ममा बैंक तथा वित्तीय संस्थाहरूबाट औद्योगिक उत्पादन क्षेत्रतर्फ ८ दशमलव चार प्रतिशत अर्थात् रू ६८ अर्ब ४१ करोड, उपभोग्य क्षेत्रतर्फ पाँच दशमलव आठ प्रतिशत अर्थात रू ५८ अर्ब ४० करोड कर्जा लगानी भएको छ”, राष्ट्र बैंकले भनेको छ, “त्यस्तै, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फ चार दशमलव आठ प्रतिशत अर्थात् रू ४८ अर्ब ३४ करोड र निर्माण क्षेत्रतर्फ सात दशमलव सात प्रतिशत अर्थात् रू १५ अर्ब ९४ करोडले कर्जा विस्तार भएको छ ।”
चालु आर्थिक वर्षको छ महिनासम्ममा औसत मुद्रास्फीति चार दशमलव ९७ प्रतिशत रहेको छ । गत असोजको बाढी तथा पहिरोबाट भएको क्षतिका कारण आपूर्ति प्रणालीमा उत्पन्न व्यवधान तथा भारतमा खाद्यान्नको मूल्य उच्च रहेकाले खाद्यान्न समूहको मुद्रास्फीतिमा चाप पर्न गई कात्तिक र मङ्सिरमा बढ्दोक्रममा रहेको मुद्रास्फीति पुसमा केही कम भएको राष्ट्र बैंकले जनाएको छ ।
पूर्वराजा शाहले प्रजातन्त्रप्रति बिष वमन गरे : एमाले सांसद गैरे
नेकपा (एमाले) का सांसद ठाकुरप्रसाद गैरेले पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्रप्रति बिषवमन गर्ने कोशिस गरेको आरोप लगाएका छन् ।
प्रतिनिधि सभाको मंगलवारको बैठकको विशेष समयमा बोल्दै सांसद गैरेले यस्तो आरोप लगाएका हुन् ।
उनले पूर्वराजा शाहले प्रजातन्त्र दिवसको दिन सार्वजनिक गरेको भिडियो सन्देशले शहीदहरुको अपमान गरेको समेत आरोप लगाए ।
उनले पूर्वराजा शाहकै कारण राजतन्त्र ढलेको जिकिर समेत गनरे । उनले शाहले संविधान उल्लङ्घन र निरङ्कुशता लाद्ने काम गरेकै कारण राजतन्त्रको समाप्त भएको बताए ।
उनले भने– ‘फागुन ७ गते पूर्वराजाले नेपालका शहीदहरु, नेपालको परिवर्तनका निम्ति योगदान गर्ने शहीदहरुप्रति अपमान गर्ने र प्रजातन्त्रप्रति बिष वमन गर्ने कोशिस गरे । जननेता मदन भण्डारीले २०४६ सालको परिवर्तनलगत्तै २०४८ सालको निर्वाचनको ताका तत्कालीन राजाले संविधानको केही प्रावधान उल्लंघन गर्ने प्रयास गरेपछि जननेता मदन भण्डारीले भन्नुभएको थियो– महाराज हात नलम्काईबक्सियोस् । आँखा नझिम्काईबक्सियोस् । संविधानले यो व्यवस्थाले दिएको आसनमा बस्नुहोस् । हामीलाई कुनै आपत्ति छैन् । तर, संविधान उल्लंघनको कोशिस भयो । भने राजतन्त्रको समाप्तीलाई कसैले रोक्न सक्ने छैन् । राजाले ज्ञानेन्द्रले संविधान उल्लङघन गर्ने कोषिश गरे । संविधानले दिएको अवसरलाई दुरुपयोग र अपमान गर्ने कोशिस गरे । निरङ्कुशता लाद्ने र दलहरुलाई बन्दे लाउने कोशिस गरे । त्यसको परिणाम राजतन्त्रको अन्त्य भएको हो ।’
उनले पूर्वराजाको स्थानमा बसेर वर्तमान व्यवस्थाले दिएको अधिकारको सदुपयोग गर्न समेत शाहलाई आग्रह गरे ।
पाथीभरा केवलकार विवाद : वार्तामा आउन गृहको आग्रह
ताप्लेजुङको पाथीभरा (मुक्कुम्लुङ) क्षेत्रमा केबुलकार निर्माणका क्रममा उत्पन्न विवाद समाधानका लागि गृह मन्त्रालयले आन्दोलनरत पक्षलाई वार्तामा बोलाएको छ ।
गृह मन्त्रालयद्वारा गठित वार्ताटोलीका संयोजक सहसचिव प्रेमप्रसाद भट्टराईले आज पुनः आन्दोलनरत पक्षलाई वार्ता र सम्वादमा आउन आग्रह गरिएको जानकारी दिए ।
उनले सोमबार राति सूचना जारी गरेका थिए । सूचनामा भनिएको छ, “निर्माण कार्य स्थगित गर्ने र पाथीभरा क्षेत्रमा केबुलकार निर्माणका क्रममा आन्दोलनरत पक्षबाट उठाइएका सामाजिक, सांस्कृतिक तथा स्थानीय समुदायका समस्या समाधानका लागि आन्दोलनरत पक्षलाई गम्भीर भई वार्ता एवं संवादमा आउनका लागि यो वार्ता समिति सबैमा हार्दिक अपिल गर्दछ ।”
सरकारले समस्या समाधानका लागि गत माघ २० मा उक्त वार्ताटोली गठन गरेको थियो । दुई पटक बसेको छलफलले टुङ्गो लगाउन नसकेपछि वार्ता अघि बढ्न सकेको थिएन ।
‘नो केबुलकार’ समूहले वार्ता नगर्ने भन्दै पुनः आन्दोलन थालेपछि सो क्षेत्रमा दुईपटक झडप भइसकेको छ ।
ओली सरकारबाट जनताको कहिल्यै भलो भएन : ज्ञानबहादुर शाही
राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानबहादुर शाहीले काठमाडौं महानगरसहित देशका धेरै स्थानीय तह प्रमुख प्रशासकीय अधिकृत बिहीन भएको भन्दै तत्काल पठाउन सरकारसँग माग गरेका छन् ।
मंगलवार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले यस्तो माग गरेका हुन् । उनले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले जनताको हितमा कहिल्यै काम नगरेको आरोप लगाए ।
उनले धेरै पालिकाहरुमा प्रमुख प्रशासकीय अधिकृत नहुँदा काम ठप्प भएको बताए ।
प्रतिनिधि सभाको विशेष समयमा बोल्दै भने–’गाउँगाउँमा सिंह गयो, दरबार गएन । ओली सरकारबाट जनताको कहिल्यै भलो भएन । आज काठमाडौं महानगरपालिका लगायत देशका धेरैभन्दा धेरै पालिकाहरुमा प्रमुख प्रशासकीय अधिकृत ठप्प रोकिएर राखिएको छ । आज देशका सबै शिक्षक, कर्मचारीहरुका तलब ठप्प छन् । आज काठमाडौं महागरपालिकामा मात्रै सरसफाई गर्ने कर्मचारीले तलब खान पाएका छैनन् । यो ओली सरकारलाई पाल लाग्ला ।’
उनले सरकारको आडमा कर्मचारीलाई रोकेर स्थानीय तहहरुलाई ठप्प नपार्न चेतावनी दिए ।
भ्रष्टाचार विरुद्धको अभियान रोकिँदैन : हरि ढकाल
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हरि ढकाललले भ्रष्टाचार विरुद्धको अभियान नरोकिने बताएका छन् । प्रतिनिधि सभाको मंगलवारको बैठकको विशेष समयमा बोल्दै उनले एक जनालाई छेकेर भ्रष्टाचार विरुद्धको अभियान नछेकिने बताएका हुन् ।
उनले पार्टीले संसदमा बहुमत पुर्याएको दिन अकुत कमाएर सम्पतीको माद्यकतामा मस्त रमाएर बेहोस भएकाहरुलाई ब्युँझाउने बताए ।
उनले राणा कालमा अकुत कमाउनेको सम्पती जसरि राज्य ढुकुटीमा आयो त्यसरि नै ३५ वर्षमा अनेकौं काण्ड मच्चाएर नागरिकको पसिना चुसेकाहरुको अकुत सम्पती राज्य ढुकुटिमा ल्याउने दाबी गरे ।
उनले भने– ‘हामीले उठाएको भ्रष्टाचार विरुद्धको यो अभियान कसै एक जनालाई छेकेर छेकिने वाला छैन । यस पटक संख्या पुगेन । संख्या पुगेको दिन अकुत कमाएर सम्पत्तिको माद्यकतामा मस्त रमाएर बेहोस् भएकाहरुलाई बउिझाउँने छौं । राणा कालमा अकुत कमाउनेको सम्पत्ति जसरि राज्य ढुकुटीमा आयो । राजाको सम्पती जसरी राज्य ढुकुटीमा आयो यो ३५ वर्षमा अनेकौं काण्ड मच्चाएर नागरिकको रगत पसिना चुसेकाहरुको त्यो अकुत सम्पत्ति राज्य ढुकुटिमा ल्याउँछौं । ०८४ मा संख्या पुर्याउँछौं । खबरदार ।’
उनले वर्तमान सरकार भ्रष्टाचारीको संरक्षणमा लागेको आरोप समेत लगाए ।
कुलमान घिसिङलाई मन्त्री खड्काले फेरी सोधे स्पष्टीकरण
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले दोस्रो पटक स्पष्टीकरण सोधेका छन् ।
यसअघिको स्पष्टीकरणको जवाफ चित्त नबुझेको भन्दै मन्त्री खड्काले मंगलबार पुनः २४ घण्टे स्पष्टीकरण सोधेका मन्त्रीको सचिवालयले जनाएको छ ।
प्राधिकरणको सञ्चालक समितिको अध्यक्षमा खड्का नियुक्त भएयता आन्तरिक भ्रमण काज, बिदा, अन्तर्राष्ट्रिय भ्रमणमा कति पटक गएको भन्ने लगायतका विषयमा घिसिङलाई स्पष्टीकरण सोधिएको छ ।
यसअघि मन्त्री खड्काले गत पुस २२ मा ९ बुँदे स्पष्टीकरण सोधेका थिए ।
नेपाल ‘ग्रे लिस्ट’ मा परेको जिम्मा देउवा,ओली र प्रचण्डले लिनुपर्छ : सांसद पाण्डे
नेकपा (एकीकृत समाजवादी) का सांसद राजेन्द्रप्रसाद पाण्डेले नेपाल ‘ग्रे लिस्ट’ मा परेको विषयलाई गम्भीरतापूर्वक लिनुपर्ने बताएका छन् ।
मंगलवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले सरकारले योजना बनाएर र सुधारका लागि गर्नुपर्ने कामको सूची बनाएर कम गर्नुपर्नै बताए ।
उनले प्रमुख दलका नेताहरु शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल निरन्तर सत्तामा रहेको कुरा बिर्सन नहुने बताए । नेपाल ‘ग्रे लिस्ट’ मा परेको जिम्मा तीन प्रमुख नेताहरुले नै लिनुपर्ने उनले बताए ।
विदेशीको इसारामा चल्ने अर्थमन्त्री हुन्जेल देश बन्दैन : प्रेम सुवाल
नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले विदेशीको इसारामा देशको अर्थतन्त्र चलाउने अर्थमन्त्री हुन्जेल देशको अवस्था सुधार हुन नसक्ने बताएका छन् ।
संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले देशको प्रतिक चिन्हमा भिक्षा देउ भनेर राख्न मात्र बाँकी रहेको बताए । उनले देशको क्षमताअनुसार देशको अर्थतन्त्र चलाउने प्रधानमन्त्री र अर्थमन्त्री अहिलेको आवश्यकता भएको उल्लेख गरे ।
जनतामा निराशा बढेपछि सत्तापक्ष अत्तालियो : शिशिर खनाल
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले पूर्वराजाले बोल्नुभएको विषयले डराउनुपर्ने अवस्था नरहेको बताएका छन् ।
मंगलवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले देशभित्र लोकतान्त्रिक विधि र संस्थाहरु संस्थागत हुँदै गएको, अभ्यासहरु परिपक्व हुँदै गएको अवस्थामा डराउनुपर्ने अवस्था नहुने बताए ।
सरकारले जनपेक्षाअनुसारका काम गर्न नसकेको बताए । जनचाहनाअनुसारका काम नहुँदा जनतामा निराश उत्पन्न भइरहेको भन्दै जनतामा बढेको निराशाले सत्तापक्ष अत्तालिएको बताए ।
८२ सालमै पार्टीको अधिवेशन हुनुपर्नेमा सांसद कोइरालाको जोड
नेपाली कांग्रेसका सांसद डा।शशांक कोइरालाले ०८२ सालमै पार्टीको अधिवेशन हुनुपर्नेमा जोड दिएका छन् ।
मंगलवार जनकपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले चुनावको बेलामा अधिवेशन गराए निर्वाचनमा पार्टीलाई गाह्रो हुने बताए ।
उनले पार्टीलाई अफ्ठ्यारोमा पर्नबाट बचाउन ०८२ भित्रै निर्वाचन गराउनु उचित हुने बताउनु भयो । ०८२ मा निर्वाचन गर्न नसके निर्वाचनपछि अधिवेशन गर्न उचित हुने बताए ।
उनले भने, ‘अधिवेशनको बारेमा शेरबहादुरजीलाई सोधेँ । शेरबहादुरजीलाई सोध्नु भन्दा पहिलाको अन्तरवार्तामा मैले के भने भन्दा चुनाव भन्दा दुई पहिला अधिवेशन गराएको राम्रो हो । तर त्यसपछि गरायो भने हामी अफ्ठ्यारोमा पर्छौं । चुनावको मुखमा अधिवेशन गरियो भने तिक्तको बाटो हुन्छ । गाह्रो हुँदैन । त्यसैले दुई वर्ष पहिला गर्नुपर्छ । ०८२ सालमा गर्नुपर्छ । गराउन सकिएन भने चुनाव पछि नै गर्नुपर्छ ।’
सांसद कोइरालाले निर्वाचनको मुखमा अधिवेशन गर्दा कसैलाई फाइदा नहुने बताए ।
डेलिभरी भ्यान घरको आँगनभित्र छिर्यो, बालकको ज्यान गयो
नेपालगञ्जमा भ्यानको ठक्करबाट मंगलबार एक जना बालकको मृत्यु भएको छ । सो घटनामा तीन जना घाइते भएका छन् ।
नेपालगञ्ज उपमहानगरपालिका–१२ बेलासपुरमा सडकमा गुडिरहेको भे १ च ३८९५ नम्बरको डेलिभरी भ्यान अनियन्त्रित भएर सञ्जय सिलवालको घरको आँगनभित्र छिर्दा ६ वर्षीय बालक दृश्यसिंह बुढाथोकीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक हिम विकले जानकारी दिए ।
दुर्घटनामा स्थानीय ४३ वर्षीय सिलवाल, ६ वर्षीया सृष्टि गौतम र आठ वर्षीय सञ्जीव सिलवाल घाइते भएका छन् । उनीहरू घरबाहिर आँगनमा बसिरहेका थिए । तीनै जनाको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगञ्जमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय, बाँकेले जनाएको छ ।
भ्यान र भ्यान चालक २३ वर्षीय सुरज थारू र भ्यानमा सवार अर्का एक जना ३८ वर्षीय लियाकत अलीलाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान भइरहेको छ ।
सुनको मूल्य हालसम्मकै उच्च
नेपाली बजारमा सुनको मूल्य बढेर नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज ९मंगलबार० सुन प्रतितोला ५ सय रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएको हो ।
छापावाल सुन प्रतितोला १ लाख ७१ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ । यो हाससम्मकै उच्च मूल्य हो । यसअघि सुन एक लाख ७० हजारसम्म पुगेको थियो । अघिल्लो कारोबार दिन आइतबार सुन प्रतितोला १ लाख ७० हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्य भने १५ रुपैयाँले घटेर १ हजार ९ सय ७० रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो कारोबार दिन आइतबार चाँदी १ हजार ९ सय ८५ रुपैयाँमा कारोबार भएको थियो ।
मछिन्द्र एफसी केपी ओली कपको सेमिफाइनलमा प्रवेश
एफसी ट्रान्सपोर्ट युनाइटेडलाई पराजित गर्दै मछिन्द्र एफसी केपी ओली कप च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।
सादोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा मछिन्द्र ट्रान्सपोर्ट युनाइटेडलाई १–० गोलले पराजित गर्दै मछिन्द्र एफसी सेमिफाइनलमा प्रवेश गरेको हो ।
स्टेफेन जलिले खेलको ८०औं मिनेटमा निर्णयक गोल गरेका थिए । मछिन्द्रले फाइनल प्रवेशका लागि आयोजक केपी ओली एफसीसँग प्रतिस्पर्धा गर्नेछ। यसअघि आजै भएको पहिलो खेलमा एपिएफलाई पराजित गर्दै संकटा क्लब सेमिफाइनलमा प्रवेश गरिसकेको छ ।
फागुन १८ गतेसम्म चल्ने उक्त प्रतियोगिताको विजेताले १५ लाख ११ हजार ११ हजार १११ र उपविजेताले ५ लाख रुपैयाँ पाउँनेछन्।
ट्रम्पले गरे अमेरिका भित्रका युएसएडका १६०० कर्मचारी बिदा
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले युएसएडका १,६०० कर्मचारीहरूको जागिर कटौती गर्ने निर्णय गरेको छ । प्रशासनले आइतबार जारी गरेको विज्ञप्तिअनुसार, युएसएडका उच्च तहका कर्मचारी र आवश्यक सेवामा संलग्न कर्मचारीबाहेक सबैलाई तलबसहितको प्रशासनिक बिदामा पठाइनेछ ।
एलन मस्कको ‘डिपार्टमेन्ट अफ गभर्नमेन्ट इफिसिएन्सी’ ले अमेरिकी अन्तर्राष्ट्रिय विकास निकाय युएसएडलाई कमजोर बनाउने प्रयास गरिरहेको आरोप लागेको छ । युएसएड अमेरिकाको एक महत्त्वपूर्ण निकाय हो, जसले विदेश सहायता कार्यक्रमहरूको व्यवस्थापन गर्दै अमेरिकी प्रभाव विस्तार गर्ने भूमिकामा कार्य गर्छ ।
एक युएसएड कर्मचारीलाई पठाइएका इमेलअनुसार, कटौतीको असर पर्ने कर्मचारीहरूलाई अप्रिल २४ देखि संघीय सेवाबाट हटाइने जानकारी दिइएको छ । युएसएडको आधिकारिक वेबसाइटमा उल्लेख गरेअनुसार, आइतबार राति अमेरिकी समयअनुसार सबै कर्मचारीहरूलाई बिदामा पठाइनेछ ।
यसै क्रममा, अमेरिका भित्रका १,६०० युएसएड पदहरू हटाइने योजना बनाइएको छ । प्रारम्भिक सूचना अनुसार २,००० अमेरिकी कर्मचारीहरूलाई हटाइने बताइएको थियो । ह्वाइट हाउसले यस विषयमा कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन ।
शुक्रबार, एक संघीय न्यायाधीशले ट्रम्प प्रशासनलाई युएसएडका हजारौँ कर्मचारीहरूलाई बिदामा राख्ने अनुमति दिएका थिए । सरकारी कर्मचारी यूनियनहरूले यसलाई युएसएडलाई कमजोर बनाउने प्रयासको रूपमा व्याख्या गरेका छन् । पूर्व युएसएड अधिकारीहरूका अनुसार, करिब ४,६०० अमेरिकी कर्मचारीहरूलाई बिदामा पठाउने सम्भावना छ ।
युएसएडकी पूर्व अधिकारी मार्सिया वोङले यो कदमलाई ‘खतरनाक’ भन्दै प्रतिक्रिया दिएकी छिन् । उनका अनुसार, महामारी र प्राकृतिक प्रकोपजस्ता संकटहरूमा युएसएडका कर्मचारीहरू अग्रपंक्तिमा रहेर सहायता प्रदान गर्ने कार्यमा संलग्न रहन्छन् । यस्तो अवस्थामा कर्मचारी कटौतीले सहायता कार्यक्रमहरूमा गम्भीर प्रभाव पार्न सक्छ ।
यसअघि, राष्ट्रपति ट्रम्पले जनवरी २० देखि ९० दिनसम्मका लागि विदेश सहायता रोक्ने आदेश जारी गरेका थिए । यसले भोकमरी र अन्य मानवीय सहायता कार्यक्रमहरू प्रभावित बनाएको छ । प्रशासनले युएसएडका कार्यक्रमहरूलाई केवल १०० मिलियन डलरको छूट दिएको छ, जबकि यस निकायले वार्षिक रूपमा ४० अर्ब डलरको सहायता व्यवस्थापन गर्दै आएको थियो ।
विश्लेषकहरूका अनुसार, ट्रम्प प्रशासनको यो कदम अमेरिकी अन्तर्राष्ट्रिय सहयोग नीति र मानवीय सहायता प्रयासहरूलाई सीमित गर्नेतर्फ केन्द्रित देखिन्छ । यसले विश्वभर अमेरिकाको कूटनीतिक उपस्थितिलाई कमजोर पार्ने सम्भावना रहेको बताइएको छ ।








