विकास निर्माणले अर्थतन्त्र चलायमान हुन्छ : उपप्रधानमन्त्री

नेपालगञ्ज । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१४ स्थित भवानियापुरमा निर्माण भएको नेपालगञ्ज सिटी हलको मंगलबार शुभारम्भ भएको छ ।
सघन सहरी तथा भवन निर्माण आयोजना बाँकेद्वारा निर्माण भएको सो सिटी हलको उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले शुभाररम्भ गरे । उनले विकास निर्माणका कारण अर्थतन्त्र चलायमान हुने उल्लेख गर्दै यसले आर्थिक गतिविधिलाई बढवा दिने बताए ।
उप्रधानमन्त्री सिंहले भने,“सहरका यस्ता विकासले अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्छ र यसले अर्थतन्त्रमा योगदान गर्छ ।” उहाँले विगतका तुलनामा विकासले गति लिएको उल्लेख गर्दै समाजमा केही नभएको भनेर नकारात्म प्रवृत्ति हावी भएको बताए । उनले सिटी हलको व्यवस्थापन नेपालगञ्ज उपमहानगरपालिकका प्रमुख प्रशान्त विष्टलाई हस्नान्तरण गरे ।
प्रतिनिधिसभाका सदस्य किशोरसिंह राठौरले सहरमा विकासले गति लिँदै जाँदा त्यसबाट स्थानीयले लाभ लिन सक्नेमा जोड दिँदै समाजमा गलत भाष्य निर्माण गरेर केही नभएको प्रचार गरिएको बताए ।
प्रतिनिधिसभाका सदस्य दीपा शर्माले महानगर बन्नका लागि यस्ता पूर्वाधार सहयोगी हुने विश्वास व्यक्त गरे । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले सिटी हललाई शीघ्र सञ्चालनमा ल्याइने जानकारी दिए ।
कूल रू २८ करोड बढी लागतमा निर्माण भएको सिटी हलको क्षमता सात सय ९५ सिट रहेको छ । विसं २०७५ मा निर्माण सुरू गरिएको सिटी हल २०८१ साउनमा निर्माण सम्पन्न भएको थियो ।








