वर्किङ क्यालेण्डर बनाएर समितिको बैठक सञ्चालन गरौँ : सूर्य थापा

काठमाडौँ । नेकपा एमालेका सांसद सूर्यबहादुर थापा क्षेत्रीले वर्किङ क्यालेण्डर बनाएर समितिको बैठक सञ्चालन गर्न माग गरेका छन् ।
आइतबार अर्थ समितिको बैठकमा भन्सार सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक उपर छलफलमा सहभागी हुँदै उनले यस्तो माग गरेका हुन् ।
उनले १५ दिनमा समितिका दुई वटा बैठक बस्ने र पनि समयमै बस्न नसकेकोप्रति आपत्ति जनाए । १५ दिन आफूले जिल्लाका सबै कार्यक्रमहरू रोकेर विधेयकलाई टुंगो लगाउन बसेको भएपनि समितिको बैठक दुई पटक मात्रै बसेको बताए । यसैगरी समितिका बैठक बोलाउने भए समय दिन नसक्ने उनको भनाइ छ ।
दफावार छलफललाई कति दिनभित्र सक्ने भन्ने विषयलाई लिएर क्यालेण्डर बनाउन माग गरे ।
उनले भने ‘वर्किङ क्यालेण्डर बनाएर यो विधेयक ठिक ढंगले टुंग्याउने काममा लागौँ । अब १५ दिनसम्म जिल्लाका कार्यक्रम छोडेर यता विधेयकका लागि भनेर बसेको छु । तर १५ दिन पर्खिँदा २ वटा बैठक हुन्छ भने म यो ढंगले समय दिन सक्दिन । दफावार छलफललाई कति दिनभित्र सक्ने यो विषयलाई ध्यान दिनुपर्छ । डट टाइममा बैठक बे परिपाटी बसाइएन भने म अर्को चोटि घोषणा गरेरै भन्छु, तपाईँले १० बजे बैठक बोलाउनु भयो भने म १२ बजे आउँछु । डट टाइममा बैठक नगर्ने हो भने ।’
उनले बैठक बोलाएको समय भन्दा एक घण्टा ढिलो बस्ने गरेको भन्दै आगामी बैठकमा पनि यस्तै गर्ने भए दुई घण्टा पछि आउने घोषणा गरे ।








