सिटिजन्स बैंकको १९९औं शाखा ललितपुरको हरिसिद्धीमा

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा ललितपुरको हरिसिद्धीमा १९९औं शाखा संचालनमा ल्याएको छ । यससँगै काठमाडौं उपत्यकाभित्र बैंकका ४० शाखा तथा वाग्मती प्रदेशमा ५६ शाखा पुर्याइएको छ ।
आईतबार आयोजित उद्घाटन समारोहमा बैंक संचालक समितिका अध्यक्ष प्रबल जंग पाण्डेले शाखाको औपचारिक उद्घाटन गरे । सो अवसरमा उनले बैंकले ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै सर्वसुलभ र सुरक्षित बैंकिङ सेवा प्रदान गर्दै आएको उल्लेख गर्दै, हरिसिद्धी शाखाले स्थानीय ग्राहकहरूको पहिलो रोजाइ बन्ने विश्वास व्यक्त गरे ।
समारोहमा बैंक संचालक समितिका सदस्यहरू, प्रमुख कार्यकारी अधिकृत, उच्च व्यवस्थापन टोलीका साथै स्थानीय निकायका प्रतिनिधिहरू, उद्योगी, व्यापारी, संघसंस्थाका प्रमुखहरू तथा नागरिक समाजका अगुवाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
नयाँ शाखाबाट ग्राहकहरूलाई सम्पूर्ण रिटेल बैंकिङ सेवा प्रदान गरिनेछ । विशेषगरी साना तथा मझौला व्यवसायीहरूका लागि वित्तीय पहुँच विस्तार गर्ने लक्ष्य राखिएको छ । शाखा संचालनको अवसरमा खाता खोल्ने ग्राहकहरूलाई पहिलो वर्ष निःशुल्क कर्पोरेट मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङ सेवा प्रदान गरिनेछ । साथै, डि-म्याट खाता खोल्दा लाग्ने शुल्कमा छुट, लकर सेवा लिँदा अनिवार्य मौज्दातमा २५% छुट तथा पहिलो वर्षको लकर शुल्कमा ५०% छुट उपलब्ध गराइनेछ ।
सिटिजन्स बैंकले हालै विश्व प्रसिद्ध “बैंक अफ द ईयर २०२४” उपाधि जित्न सफल भएको छ। यससँगै, नेपालमै पहिलो पटक फोनपेसँगको सहकार्यमा “सिटिजन्स फोनपे क्रेडिट कार्ड” (भर्चुअल क्रेडिट कार्ड) सञ्चालनमा ल्याएको छ । थप रूपमा, मोबाइल बैंकिङ एपमार्फत नै शेयर आवेदन र CRN नम्बर सेवा उपलब्ध गराउने सुविधा समेत प्रदान गरिएको छ ।
हाल सिटिजन्स बैंकले देशभर ६० जिल्लामा आफ्नो सेवा विस्तार गरिसकेको छ । १९९ शाखा, १६४ एटीएम, ३ विस्तारित काउन्टर र ७४ शाखारहित बैंकिङ इकाइमार्फत १८ लाख ५० हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।








