पाहुना गएका अधिकारीको तीन तलामाथिबाट खसेर मृत्यु
२०८१ फागुन १० गते

सांकेतिक तस्बिर
मकवानपुर । मकवानपुरमा घरको तीन तलामाथिबाट खसेर पाहुना गएका एक व्यक्तिको मृत्यु भएको छ । शुक्रबार हेटौंडा–५ सानोपोखरामा पाहुना गएका बेला ती व्यक्तिको मृत्यु भएको हो ।
चितवनको कालिका–६ खोलेसिमलका ६० वर्षीय गोविन्द अधिकारीको मकवानपुरमा भिनाजु हरि लामिछानेको घरमा गएका बेला मृत्यु भएको हो । शुक्रबार घरको तीन तलामाथि छतमा बसिरहेको अवस्थामा उनी अचानक छतबाट तल भुइँमा खसी घाइते भएका थिए ।
टाउकाको अगाडिको भागमा चोट लागी गम्भीर घाइते अवस्थामा रहेका उनलाई आफन्तले उपचारका निम्ति हेटौँडा अस्पताल पुर्याएका थिए । उनलाई थप उपचारका लागि नयाँ मेडिकल कलेज चितवन भरतपुर रिफर गरिएको थियो । उनको उपचारका क्रममा दिउँसो दुई बजे मृत्यु भएको हो । मृतकको शव अहिले सोही अस्पतालमा राखिएको छ ।
२०८१ फागुन १० गते
प्रतिक्रिया
सम्बन्धित








