खबर दिनभर : कांग्रेसको महाधिवेशन समयमै गर्न शेखरको दबाब, एक खेलअगावै फाइनलमा नेपाल

सानो देशको भनेर हिनताबोध नगर्नुहोस्, कुनैपनि देशको सार्वभौमसत्ता सानो वा ठूलो हुँदैन : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले कुनैपनि देशको सार्वभौमसत्ता सानो वा ठूलो नहुने उल्लेख गर्दै सानो देशको नागरिक भनेर हिनताबोध नगर्न आग्रह गरेका छन् ।
बिहीवार पोखरा विश्वविद्यालयको २० औं दिक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो । उहाँले नेपाल दुई ठूला देशको बीचमा परेर सानो देखिएको भएपनि प्राकृतिक र सांस्कृतिक रुपमा ठूलो रहेको बताए ।
उनले इमानदारिताले मात्र सफलता प्राप्त हुने उल्लेख गर्दै इमानका साथ मेहेनत गर्न विद्यार्थीलाई आग्रह गरे । सफलता बेइमानीले नभई इमानदारिताले मात्र प्राप्त गर्न सकिने उहाँको भनाइ छ । उहाँले इमानदारिताका साथ मेहेनत गरेर समाज र देशको लागि उपयोगि हुन समेत विद्यार्थीलाई आग्रह गरे ।
उनले भने,‘मैले धेरै ठाउँमा भन्ने गरेको छु, सधैं इमानदार हुनुस् । इमानदारिताको फलमात्र श्रेययुक्त हुन्छ र सफल पनि हुन्छ । चोरले चोर्न सक्यो र पकेटमारले पकेट मार्नसक्यो भने त्यो सफलता होइन, सफलता सकरारात्मक कुरालाई मात्र भनिन्छ, समाजको हितको लागि गरिने कुरालाई मात्र भनिन्छ । आफ्ना निम्ति राम्रो अरुका लागि नराम्रो हुदैन । सफलता इमानदारिताले मात्र पाइन बेइमानीले पाइँदैन । बैइमानीले लुट्न कोही सफल भयो भने त्यो चरम असफल भयो । कुनैदिन कसैले केही थाहा पायो भने त्यो जेल गयो । त्यसलाई सफलता भनिदैन । सफल हुनका लागि हामीले इमानदार हुनैपर्दछ, सफल हुनका लागि हामी मेहेनती हुनैपर्दछ । इमान र इमादारितामा आधारित सफलता पाउनुपर्दछ । तपाईहरु समाज र देशका लागि उपयोगि हुनुपर्दछ ।’
उनले विद्यार्थीलाई असल आचरण घरपरिवारबाटै सिकाउन समेत अभिभावकलाई आग्रह गरे ।
मुलुकमै केही गर्नुपर्छ भन्ने भाष्यलाई बलियो गरी स्थापित गर्न आवश्यक : प्रचण्ड
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाललाई समृद्ध देश बनाउन सकिने आधार तयार हुँदै गएको बताएका छन् ।
गोरखाको पालुङटार नगरपालिका–१०, मिरकोटमा आजदेखि सुरु भएको चौथो मिरकोट कोटगढी महोत्सव–२०८१ को उद्घाटन गर्नुहुँदै उहाँले देशभित्रै रोजगारीका अवसर सिर्जना गर्न योजनाबद्ध पहल थालिएको बताए ।
“कृषि उत्पादन, पर्यटन विकास र आर्थिक क्रियाकलाप बढाउँदै युवाका लागि देशभित्रै रोजगारीका अवसर सिर्जना गर्न हाम्रो पार्टीले पनि योजनाबद्ध पहल थालेको छ”, अध्यक्ष दाहालले भन्नुभयो, “नेपालमा धेरै कुराको सम्भावना रहेकाले युवालाई आफ्नै देशमा केही गर्नुपर्छ भन्ने भाष्यलाई बलियो गरी स्थापित गर्नु आवश्यक छ ।”
उनले देशमा कृषि क्षेत्रमार्फत रोजगारीका थुप्रै सम्भावना हुँदाहुँदै पनि गाउँहरू विस्तारै युवाविहीन हुँदै जानु, खेतीयोग्य जमिन बाँझो हुँदै जानु डरलाग्दो अवस्था भएकाले सबैपक्ष गम्भीर हुनुपर्ने बेला आएको उल्लेख गरे ।
“आमजनताले आफ्ना छोराछोरीलाई विदेश होइन, आफ्नै माटोमा केन्द्रित गर्नेगरी सोच्ने बेला आएको छ”, अध्यक्ष दाहालले भने, “राज्यले योजनाबद्ध पहल अघि बढाउने हो भने केही वर्षभित्र नेपाललाई सम्पन्न देश बनाउन सकिने प्रशस्त आधार बढ्दै गएको छ ।”
आफूले सरकारको नेतृत्व गर्दा महत्त्वपूर्ण कामको थालनी गरेर नेपाली जनतालाई आशावादी बाटोमा अघि बढाउन सफल भएको भन्दै उहाँले स्पष्ट दृष्टिकोणका साथ काम गर्ने हो भने हाम्रै जीवनमा परिवर्तन सम्भव छ भन्ने उदाहरण दिनसक्ने गरी धेरै क्षेत्रमा सुधारको थालनी गरेको दाबी गरे ।
“मैले सरकारले नेतृत्व गर्दा जलविद्युत् विकासमा जे योगदान गरेँ, त्यसले यो पुस्तालाई मात्र होइन, अर्को पिँढीलाई पनि समृद्ध बनाउने खाका तयार भएको छ”, अध्यक्ष दाहालले भने, “नेपाललाई विद्युत् भार कटौतीमुक्त बनाउने मात्र होइन, १० वर्षमा १० हजार मेगावाट विद्युत् निर्यात सम्झौतादेखि देशभित्र निजी क्षेत्रसँग विद्युत् उत्पादनको सम्झौता मैले थालेका नमुना काम हुन् ।”
प्रधानन्यायाधीश राउतको घोषणा- २०८२ असार मसान्तसम्म ८ वर्ष नाघेका मुद्दा शून्यमा झार्छौँ
प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले २०८२ साल असार मसान्तभित्र सर्वोच्च अदालतमा ८ वर्ष नाघेका मुद्दाको संख्या शून्यमा झार्ने घोषणा गरेका छन् ।
बिहीबार सर्वोच्च बार एशोशिएशनको ५१ औँ स्थापना दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो घोषणा गरेका हुन् ।उनले सर्वोच्च अदालतमा आठ वर्ष नाघेका मुद्दाहरू हजारौँको संख्याबाट घटाएर ७८ थान मात्र बाँकी रहेको बताए ।
उनले बाँकी ७८ थान मुद्दा समेत आउँदो वर्षको असार मसान्तसम्म शून्यमा झार्ने बताए । उनले पाँच वर्ष नाघेका मुद्दाहरू समेत २०८३ सालसम्म शून्यमा झार्ने लक्ष्य राखिएको बताए ।
उनले अहिले सर्वोच्चमा पाँच वर्ष नाघेका मुद्दाको संख्या दुई हजार चार सय रहेको समेत उल्लेख गरे । उनले सर्वोच्चबाट फैसला हुने आदेश र फैसलाहरूमा सशक्त टिप्पणी गर्न समेत कानुन व्यवसायीहरूलाई आग्रह गरे । उनले आदेशप्रति आग्रह पूर्वाग्रह नराखी टिप्पणी गर्न अनुरोध गरे ।
उनले भने ‘मैले बनाएको प्रक्षेपणभित्रमा २०८२ साल असार मसान्तसम्ममा आठ वर्षीय मुद्दा जिरोमा ल्याउने अभियानमा छौँ । आज फागुन ८ गते हो । अब मसँग धेरै समय छैन चार महिना बाँकी छ । अब आठ वर्ष नाघेका मुद्दा सर्वोच्च अदालतमा हजारौँबाट घटेर आज ७८ थान मा बाँकी छन् । यी मुद्दाहरू आउँदो वर्षको असार मसान्तसम्म शून्यमा ल्याउँछौँ । २०८३ सालभित्र पाँच वर्ष नाघेका मुद्दा शून्यमा ल्याउने भनेको छ । पाँच वर्ष नाघेका मुद्दाहरू २४०० हाराहारी रहेका छन् । त्यसलाई ०८३ असार मसान्तसम्म शून्यमा ल्याउने भनिएको थियो ।’
प्रधानन्यायाधीश राउतले कानुन व्यवसायीहरूसँग भएको ज्ञान र क्षमता कानुन निर्माणको क्षेत्रमा सम्प्रेषण हुन नसकेको बताए । उनले कानुन बनाउँदा कानुन व्यवसायी र संसदबीच पर्याप्त छलफल नहुँदा अन्यायपूर्ण र दोषपूर्ण कानुन बन्ने गरेको बताए । उनले आफूसँग भएको ज्ञान, अनुभव र निपूर्णता कानुन निर्माण गर्ने क्रममा लबिङ हुनुपर्ने बताए । उनले कानुन व्यवसायी र संसदबीच पर्याप्त छलफल र सहकार्य नहुँदा आवश्यकता नपर्ने कानुनहरू समेत बनेको बताए ।
उनले भने ‘हामी कानुन व्यवसायीहरू सबै कुरा जान्दछौँ, बुझेका पनि छौँ । तर हामीले जाने र बुझेको ज्ञान जुन ठाउँमा सम्प्रेषण हुनुपर्ने हो त्यो ठाउँमा भइरहेको छैन । जस्तो कानुन बनाउने कुरामा संसदले कानुन बनाउँछ । यदि कुनै विषयवस्तु छ जहाँ कानुन बन्ने हो त्यो कानुनको रूपमा आउँदा त्यो दोषपूर्ण र अन्यायपूर्ण भयो भने फेरि न्यायको याचना नगर्दा पनि हुन्छ । म तपाईँहरूलाई नम्रतापूर्वक के आग्रह गर्न चाहन्छु भने तपाईँहरूसँग भएको ज्ञान, विवेक, अनुभव, क्षमता र निपूर्णता कानुन नहुँदै त्यो ठाउँमा लबिङ हुनुपर्यो । फेयर र रिजनेबल कानुनको लागि पहल र प्रयत्न हुनुपर्यो । थुप्रै कानुनहरू अहिले यस्ता छन् ती कानुनहरूको बारेमा यति त गर्दिऊँ न भन्दा त्यसमा हात बाँधिएको छ । सायद त्यस्तो किसिमको कानुनको आवश्यकता पर्दैन थियो होला नि । यदि त्यस्तो कुरा आयो भने कानुन लागू नहुँदै कानुन व्यवसायी र संसदबीच कसरी समन्वय र सहकार्य गर्ने हो । घनिभूत छलफल चलाउनुपर्यो । र यो कल्चरलाई डेभलव गर्नुपर्यो । सायद आजसम्म भएको छैन कि ।’
कानुन लागू नगर्दै संसद र कानुन व्यवसायीबिच व्यापक छलफल गर्ने परम्पराको विकास गर्न जरुरी रहेको उनको भनाइ छ ।
आगामी चुनावअघि नै कांग्रेसको महाधिवेशन गर्नुपर्छ : डा.कोइराला
नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले आगामी निर्वाचन अघि नै पार्टीको महाधिवेशन गर्नुपर्ने बताएका छन् । सुर्खेतमा बिहीबार नेपाली कांग्रेसले आयोजना गरेको कार्यक्रममा नेता डा।कोइरालाले भने,“अहिले कांग्रेस पूरै संस्थापन पक्ष हो । हामी सबै एउटै हो । कांग्रेसको विधानअनुसार समयमै महाधिवेशन गर्नुपर्छ । चुनावपछि महाधिवेशन गरे पार्टी कमजोर हुन्छ ।”
नेता डा.कोइरालाले आगामी महाधिवेशनमा आफू सभापति पदको उम्मेदवारका रुपमा अघि बढेको बताए । उनले भने,“सबै एकजुट भएर अगाडि बढ्नुपर्ने अवस्था आएको छ । सरकार पनि यसमा गम्भीर बन्नुपर्छ ।”
अहिलेको सत्ता गठबन्धनले सात बुँदे समझदारी गरेको तर त्यो कार्यान्वयन हुन नसकेको नेता डा।कोइरालाको भनाइ थियो । दुई ठूला दल मिले निरङ्कुुशता हुन्छ भन्ने कुरा गलत भएको उनले बताए । कांग्रेस सत्तामा भए पनि आफूहरुले खबरदारी गरिरहेको उनले बताए ।
रास्वपाले सातै प्रदेशमा सर्वाङ्गीण संवाद गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सातै प्रदेशमा राष्ट्रिय तथा सामाजिक जीवनमा महत्वपूर्ण योगदान दिएका व्यक्तित्वलाई भेटघाटरसंवाद गर्नेगरी सर्वाङ्गीण संवादको तयारीका लागि प्रदेश समितिलाई निर्देशन दिएको छ ।
पार्टीका केन्द्रीय पदाधिकारीहरुको संलग्नतामा फागुन तेस्रो सातादेखि सातै प्रदेशमा सर्वाङ्गीण संवाद गर्ने निर्णय आज बसेको रास्वपाको सचिवालय बैठकले गरेको कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए ।
बैठकमा पार्टी कार्यवाहक सभापति डोलप्रसाद अर्याल र उपसभापति डा स्वर्णिम वाग्लेले समसामयिक राजनीतिक परिस्थितिकाबारे समीक्षा प्रस्तुत गरे । पार्टीले सदनमा उठाउनुपर्ने प्रधान राष्ट्रिय मुद्दा र जनजीविकाका सवालमा सुझाव लिँदै सदनलाई जनता र राष्ट्रप्रति थप जवाफदेही बनाउन प्रयत्नशील रहने विषयमा छलफल गरिएको थियो ।
बैठकले पार्टीका विविध गतिविधिलाई प्रभावकारी रुपमा सञ्चालन गर्न प्रवास नेपाली सम्पर्क विभाग नियमावली २०८१, निर्वाचन आयोगको नियमावली २०८१, ¥यापिड एक्सन टिम (र्याट) नियमावली २०८१, पालिका अधिवेशन कार्यविधि २०८१ र सम्पर्क विभाग नियमावली २०८१ पारित गरेको पनि उनले सुनाए ।
पार्टीका केन्द्रीय सदस्यको राजनीतिक अभिमुखीकरणका लागि यही फागुन ९ र १० गते आयोजना हुन लागेको केन्द्रीय प्रशिक्षण कार्यक्रमलाई प्रभावकारी बनाउन आवश्यक तयारी भएको र क्रमशः प्रदेश, जिल्ला र पालिका तहसम्म यस्तो प्रशिक्षण सञ्चालन गर्दै जाने रास्वपाले जनाएको छ ।
यसैगरी पार्टीको केन्द्रीय सङ्गठन विभाग सदस्यमा कृष्णमान श्रेष्ठलाई मनोनयन गरिएको छ । बागमती प्रदेश समितिको रिक्त सहमहामन्त्रीको जिम्मेवारीमा प्रदेश समितिबाट प्राप्त सिफारिसबमोजिम कविन्द्र कार्की ९काठमाडौँ० र राधिका तिमल्सिना ९चितवन० लाई अनुमोदन गरिएको हो ।
पार्टीका पदाधिकारी तथा सदस्यको कार्यसम्पादन मूल्याङ्कनसम्बन्धी कार्यविधि तयार गरी १५ दिनभित्र पेस गर्ने निर्णय पनि रास्वपा सचिवालय बैठकले गरेको छ ।
त्रिभुवन विश्वविद्यालयका आङ्गिक क्याम्पसमा आउँदो चैत ५ गते सम्पन्न हुन गइरहेको स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा विशुद्ध विद्यार्थी मात्र संलग्न हुनुपर्ने रास्वपाको निर्णय छ ।
शैक्षिक प्रतिष्ठान राजनीतिमुक्त हुनुपर्ने पार्टीको नीति भएकाले उक्त निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार नहुने साथै पार्टीको कुनै संलग्नतासमेत नरहने पनि कार्यवाहक महामन्त्री बुर्लाकोटीले बताए । स्वतन्त्र विद्यार्थी युनियनको चुनावलाई स्वस्थ रुपमा सञ्चालन गर्न सम्बन्धित सबैमा अपिल गर्ने निर्णय पनि रास्वपाले गरेको छ ।
भ्रष्ट नेताहरुकै कारण देश लथालिङ्ग भयो : ज्ञानबहादुर शाही
राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले अमेरिकाबाट विभिन्न शिर्षकमा आएको रकमको हिसाव माग्नुपर्ने बताएका छन् ।
बिहीवार प्रतिनिधि सभाअन्तर्गत अर्थ समितिको बैठकमा बोल्दै प्रमुख सचेतक शाहीले यस्तो बताएका हुन् ।
उनले नेपालमा संघीयताको नाममा आएको रकम अमेरिकी राष्ट्रपतिले भ्रष्टाचार भनेकाले कसले र किन ल्यायो छानविन गरी कारबाही गर्नुपर्ने बताए ।
उनले नेपालले अमेरिकाबाट लिएको सहयोग अमेरिकी राष्ट्रपतिले नै भ्रष्टाचार भनेपछि अमेरिकामा बस्ने नेपालीको शिर झुकेको भन्दै भ्रष्ट नेताहरुकै कारण यस्तो भएको जिकिर गरे ।
नेपाल राष्ट्र बैंकको अनुमति बिना विदेशी रकम भित्र्याउन नपाउने भन्दै गभर्नरलाई समिति बैठकमा बोलाएर रिपोर्ट माग्नुपर्ने उनको भनाइ छ ।
प्रमुख सचेतक शाहीले एमसीसी पास गर्नेहरुप्रति व्यङ्ग्य गर्दै अमेरिकाले चिलिम देखाएपछि उनीहरु देशै छोडेर भाग्नुपर्ने अवस्थामा पुग्न लागेको जिकिर गरे । उनले एमसीसीमा नेपालको पनि पैसा परेको र त्यो खेर जाने अवस्था पुगेको दाबी गरे ।
उहाँले भन्नुभयो, ‘एउटा गीत थियो अमेरिका जाऔँ चीन जाऔँ ६० अर्ब मागौँ, भारत जाऔँ ५० अर्ब मागौँ । अमेरिकाले चिलिम देखाइदियो अब देश छोडेर भागौँ भन्ने भाछ । एमसीसी भनेर बहुत कराउनुभएको थियो त्यतिखेर । एमसीसीमा हाम्रो पनि पैसा परेको छ । १९।७ करोड अमेरिकी डलर झन्डै २१ अबै पैसा हुन्छ । आज लथालिङ्ग भएका छन् आयोजना योजनाहरु । यो सेतो भ्रष्टाचार भएको हुनाले सिग्नेचर गर्ने को को हुन् रु हुलदंगा गरेर पास गर्ने को को हुन् रु यसको जवाफ माग्छु’ उनले भने ।
भ्रष्ट नेताहरुकै कारण नेपालको अर्थ व्यवस्था तथा अयोजना योजनाहरु लथालिङ्ग भएको भन्दै उनले सेतो भ्रष्टाचार गर्नेहरु को को हुन् छानविन गरेर कारबाही गर्नुपर्नेमा जोड दिए ।
संविधान सभा सदस्य सापकोटाको निधन
संविधानसभा सदस्य एवं नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का पोलिटब्युरो सदस्य विदुर सापकोटाको निधन भएको छ । जिल्लाको मण्डनदेउपुर नगरपालिका-७ नौबिसे निवासी ५९ वर्षीय सापकोटाको काठमाडौँको चाबहिलस्थित हेल्पिङ ह्याण्डस् सामुदायिक अस्पतालमा उपचारका क्रममा आज बिहान निधन भएको हो ।
उनी लामो समयदेखि उच्च रक्तचाप र मधुमेहबाट पीडित थिए । फोक्सोमा समस्या भएपछि यही फागुन ४ गते उनलाई उपचारार्थ अस्पतालमा भर्ना गरिएो सोही पार्टीका पोलिटब्युरो सदस्य टोकबहादुर वाइबाले जानकारी दिए । दिवङ्गत नेता सापकोटाका पत्नी र एक छोरी छन् ।
आफ्ना पोलिटब्युरो सदस्य विदुर सापकोटाको निधन भएपछि नेकपा एकीकृत समाजवादीले आज बस्ने भनिएको केन्द्रीय कमिटीको बैठक स्थगन गरेको छ ।
कीर्तिमानी उचाइमा सुनको मूल्य
नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ५ सय रुपैयाँले बढेको हो ।
बिहीबार छापावाल सुन प्रतितोला १ लाख ७१ हजार रुपैयाँमा कारोबार भईरहेको छ । यो मूल्य यसअघि कात्तिक १५ गते बनेको सुनको मूल्यको रेकर्डसँग बराबरी हो । अघिल्लो कारोबार दिन बुधबार सुन १ लाख ७० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्य १० रुपैयाँले बढेर १ हजार ९ सय ९५ रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो कारोबार दिन बुधबार चाँदी एक हजार ९ सय ८५ रुपैयाँमा कारोबार भएको थियो ।
लेबनानलाई पराजित गर्दै नेपाल फाइनलमा
नेपाल अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भर्खरै सम्पन्न खेलमा लेबनानलाई १–० गोलअन्तरले पराजित गर्दै नेपाल एक खेलअगावै प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो ।
प्रतियोगितामा म्यानमार पनि एक खेलअगावै फाइनलमा प्रवेश गरिसकेको छ । आजै भएको पहिलो खेलमा म्यानमारले किर्गिस्तानलाई ५–० गोलअन्तरले पराजत गरेको थियो ।
नेपालको जितमा सावित्रा भण्डारी नायक बनिन् । खेलको ४२औँ मिनेटमा सावित्राले प्रहार गरेको बल लेबनानी खेलाडी फराहलाई डिफ्लेक्ट हुँदै गोलमा परिणत भएको थियो । यस नतिजासँगै नेपालले ६ अङ्क बटुलेको छ ।
चार देश सहभागी प्रतियोगितामा नेपालले यही फागुन ११ गते म्यानमारसँग खेल्नेछ । उक्त खेल साँझ ६ बजे हुनेछ । त्यस्तै सोही दिन दिउँसो २ बजे हुने पहिलो खेलमा लेबनान र कीर्गिस्तानबीच प्रतिस्पर्धा हुनेछ ।








