योगेश भट्टराईको दाबी- ०८४ पछि एमालेको बहुमत सरकार

वीरेन्द्रनगर । नेकपा एमालेका सचिव योगेश भट्टराईले आगामी निर्वाचनपछि एमालेले एकल बहुमत प्राप्त गरी सरकार गठन गर्ने दाबी गरेका छन्। आज बिहान वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले संसदमा सशक्त पक्ष र विपक्षीको आवश्यकता औंल्याउँदै एमालेको बहुमत सुनिश्चित हुने विश्वास व्यक्त गरे।
“संसदमा पक्ष र विपक्षी बलियो हुनुपर्छ। ०८४ पछि एमालेले एक्लै बहुमत ल्याएर सरकार बनाउने छ। यो हाम्रो दाबी हो,” भट्टराईले भने। उनले हालको राजनीतिक समीकरण ०८४ सम्म कायम रहने र त्यसपछि एमाले तथा अन्य दलहरूले आ-आफ्नै तरिकाले निर्वाचन लड्ने स्पष्ट पारे।
सचिव भट्टराईले नेपालमा निर्वाचनका लागि राजनीतिक समीकरण बनाउने गलत परम्परा अन्त्य गर्नुपर्नेमा जोड दिए। “अब बिस्तारै नेपालमा राजनीतिक समीकरण गरेर निर्वाचन लड्ने परम्परा अन्त्य हुनुपर्छ। दलहरूले आफ्नै बलबुतामा चुनाव लड्नुपर्छ। समीकरणका कारण सरकार फेरबदल भइरहने परम्परा समाप्त गर्नुपर्छ,” उनले भने।
सरकारले हालै २९ वटा कानुनलाई परिमार्जन गर्ने उद्देश्यले ६ वटा अध्यादेश जारी गरेको विषयमा बोल्दै भट्टराईले कुनै शङ्का नगर्न आग्रह गरे। “हामीले ल्याएको अध्यादेशले आर्थिक क्षेत्र चलायमान हुन्छ। सबैले अध्यादेशलाई सकारात्मक रूपमा लिएका छन्। यसबाट रोजगारीका अवसर सिर्जना हुनेछन्,” उनले दाबी गरे।
भू-सम्बन्धी अध्यादेशबारे सरकार उपेन्द्र यादवसँग छलफलमा रहेको जानकारी दिँदै उनले सो विधेयक पनि पारित हुने विश्वास व्यक्त गरे।
सामाजिक सञ्जाल नियमनको विषयमा सरकार पहिलेदेखि नै संलग्न रहेको उल्लेख गर्दै भट्टराईले फेसबुक र युट्युब जस्ता प्लेटफर्महरू मार्फत अपराध बढेको कारण त्यसलाई नियन्त्रण गर्न आवश्यक भएको बताए। “हाम्रो उद्देश्य निषेध होइन, नियमन हो। फेसबुक, युट्युबबाट आपराधिक गतिविधिहरू बढेका छन्, त्यसैले दर्ता गरेर सञ्चालन गर्ने व्यवस्था गर्नु आवश्यक छ,” उनले स्पष्ट पारे।
एमाले सचिव भट्टराईका अनुसार आगामी निर्वाचनमा पार्टीको रणनीति स्पष्ट छ। एमालेले सशक्त रूपमा बहुमत प्राप्त गर्दै एकल सरकार बनाउने लक्ष्यसहित अगाडि बढ्नेछ।








