प्रकृति मृत्यु प्रकरणमा केआईआईटी विश्वविद्यालयका महानिर्देशकसहित पाँच जना पक्राउ

काठमाडौं । भारतको ओडिसा प्रहरीले नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु र विद्यार्थी दुर्व्यवहारमा जिम्मेवार रहेको भन्दै केआईआईटी विश्वविद्यालयका महानिर्देशकसहित पाँच जनालाई पक्राउ गरेको छ ।

नयाँ दिल्लीस्थित नेपाली दूतावासले दिएको जानकारी अनुसार, पक्राउ पर्नेमा कलेजका मानव स्रोत महानिर्देशक ५९ वर्षीय शिवनन्द मिश्र, कलेजका प्रशासन निर्देशक ५० वर्षीय प्रतापकुमार चमुपती, छात्रावास निर्देशक ५९ वर्षीय सुधीरकुमार राठ छन् । यस्तै, सुरक्षा गार्डहरू रमाकान्त नायक र जोगेन्द्र बेहेरा पनि प्रहरी नियन्त्रणमा छन् । पक्राउ लगत्तै उनीहरूलाई अदालतमा पेस गरिएको थियो । यसअघि केआईआईटीले २ सुरक्षा गार्डलाई बर्खास्त र ३ कर्मचारीलाई निलम्बन गरेको थियो ।

चौतर्फी विरोध र दबाबपछि माफी मागे पनि उनीहरू घटनामा जिम्मेवार रहेको भन्दै प्रहरीले पक्राउ गरेको हो । यसअघि विश्वविद्यालयले विद्यार्थीलाई छात्राबासमा फर्कन आह्वान गरे पनि नेपाली विद्यार्थीहरू त्रासमा छन् । मंगलबार दिउँसो भुवनेश्वर पुगेका नेपाली दूतावासका अधिकारीहरुसँग उनीहरूले छात्रावासमा आफूहरुमाथि जे पनि हुन सक्ने भन्दै सुरक्षित सुरक्षित महसुस गर्न नसकेको बताएका थिए । दूतावासले घटनाबारे बुझ्न दूतावासका प्रतिनिधि सञ्जीव शर्मा दास र नवीनराज अधिकारीलाई खटाएको थियो ।

केआइआइटी विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्युको घटना छानबिनको माग गर्दै प्रदर्शनमा उत्रिएका विद्यार्थीमाथि दुव्र्यवहारप्रति चौतर्फी विरोधपछि विश्वविद्यालयले माफी मागेको थियो । विश्वविद्यालयले नेपाली विद्यार्थीमाथि हातपात गर्ने दुई सुरक्षागार्डलाई बर्खास्त गर्नुका साथै छात्रावासका तीन अधिकारीलाई निलम्बन गरेको छ ।

यस्तै सबै विद्यार्थीको सुरक्षालाई प्राथमिकता दिने पनि विश्वविद्यालयले जनाएको थियो । तर, हिजो बिहान कुटिँदै लखेटिएका विद्यार्थी सुरक्षाप्रति निश्चिन्त हुन सकेका छैनन् । सम्पर्कमा आएका विद्यार्थीहरुका अनुसार विश्वविद्यालयले छात्रावासमा फर्कन बारम्बार आह्वान गरे पछि मंगलबार साँझसम्म जम्मा ३९ विद्यार्थी मात्र फर्किएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + 15 =