कृषि उद्यमीहरूको जोड- कृषि अनुदान र सहुलियत ऋण वास्तविक किसानलाई मात्रै दिनुपर्छ

काठमाडौँ । सरकारले दिने अनुदान र सहुलियत ऋण वास्तविक किसानलाई मात्रै दिनुपर्नेमा कृषि उद्यमीहरूले जोड दिएका छन् ।
सरकारले कृषि क्षेत्रमा पर्याप्त लगानी गर्नुपर्ने उनीहरूको भनाइ छ । बज्रबराई च्याउ उत्पादन उद्योगका सञ्चालक विकास देशारले नियमित मौसमी खेती गर्नेहरूले नभई नियमतिक कृषि खेती गरिरहेका कृषकहरूले सरकारी अनुदान सहयोग पाउनुपर्ने बताए । उनले अनुदान पाउनकै लागि कृषि खेती गर्ने प्रवृत्ति मौलाउँदै जाँदा सरकारी बजेटको दुरुपयोग भइरहेको बताए ।
कृषि अनुदान र सहुलियतमा ऋण कृषि उत्पादनको आधारमा दिनुपर्ने उनको भनाइ छ । उनले खेती र उत्पादनसम्बन्धी आधारभूत ज्ञान समेत नभएका किसानलाई अनुदान दिँदा समस्या झनै जटिल बन्दै जाने बताए ।
उनले भने ‘नियमित कृषि खेती गरिरहेका किसानहरूले अनुदान पाउनैपर्छ । अहिले बढी हल्ला गर्ने किसानहरू कस्ता किसानहरू हुन्छन् भने मौसमी किसान हुन्छन् । यदि अनुदानसम्बन्धी कुनै कार्यक्रम आयो भने उनीहरु नयाँ किसान भनेर एकैचोटि हाम फाल्ने गर्छन् । आउने अनुदान आउँछ नयाँ किसानलाई दिन्छ । आफूले नगरेको काममा ५० प्रतिशत अनुदानको लोपमा हाम फालिदिन्छन् । फलस्वरूप किसान आफैँ पनि डुब्बछन्, अनुदान दिने निकायहरु समेत डुब्छन् । यसरि नै सरकारको कृषि क्षेत्रको अनुदानलाई दुरुपयोग गरिरहेका छन् । अनुदान उत्पादनको आधारमा दिनुपर्छ । किसानको खेती कस्तो हो, कुन स्केलमा जानुपर्छ । राम्रो गर्ने किसानलाई अनुदान दियौँ भने त निखारिएर जान्छ नि त । भर्खर हाम फालेको किसानलाई दिँदा समस्या भएको छ ।’
एसएस एग्रीकल्चर फार्मका सञ्चालक प्रदीप सिम्खडाले कृषि व्यवसाय गर्ने किसानले सुरुवाती चरणमा सरकारी अनुदान पाउनुपर्ने बताए । उनले स्थापित भइसके पछिका किसानले अनुदान नपाए पनि व्यवसाय अगाडि बढाउन सक्ने उनको भनाइ छ । आइतबार सम्पन्न नेपाल एग्रीटेक तथा नेपाल फुड एण्ड बेभरेज इन्टरनेशनल एक्स्पोमा सहभागी उनले सुरुवाती दिनहरूमा कृषि क्षेत्रमा काम गर्न गाह्रो हुने भएको कारण सरकारले आवश्यक सहयोग गर्न जरुरी रहेको बताए । उनले गरिखाने किसानले सरकारी अनुदान पाउन सकेमात्रै कृषि क्षेत्र फस्टाउने उनको धारणा छ ।
उनले भने ‘किसानले सुरुका दिनमा अनुदान पायो भने उसले केही गर्नसक्छ । स्थापित भइसकेपछि अनुदानको अर्थ हुँदैन । स्थापित भइसकेका कृषि फर्मलाई अनुदानको जरुरत नै हुँदैन । सरकारले दिने अनुदान वास्तविक किसानको हातमा परोस् भन्ने मेरो चाहाना हो । त्यो परिरहेको देखिएको छैन । सुरुवातमा कृषि क्षेत्रमा काम गर्न बहुत गाह्रो हुन्छ । किनभने उ स्थापित हुन सक्दैन । उसको लगानीमाथि लगानी भइरहेको हुन्छ । उसको उत्पादन पनि भइरहेको हुँदैन । साँच्चिकै गरिराखेको किसानले अनुदान पायो भने देश बन्छ ।’
कनेक्ट किसान डिजिटल प्लेटफर्मका सहसंस्थापक राजन दाहालले कृषि क्षेत्रमा सरकारले पर्याप्त लगानी गर्न नसकेको बताए । उनले कृषि क्षेत्रमा भएको लगानी बिस्तारै खस्कँदै गएको देखिएको बताए । उनले नेपालले कृषि क्षेत्रसँग सम्बन्धित कार्यक्रमहरू भारतको कृषि क्षेत्रसँग सम्बन्धित रहेर गर्नुपर्ने उनको बुझाई छ ।
कृषि मेसिनरीको बढीभन्दा बढी सदुपयोग गर्न नसके नेपालमा कृषि उत्पादनमा ह्रास आउने र कृषक पलायन बढ्दै जाने बताए ।
उनले भने ‘सरकारको लगानी अलिकति कृषि क्षेत्र कम नै छ भन्न सकिन्छ । अहिलेको बजेटलाई नै हामीले हेर्दै गयौँ भने कृषि क्षेत्रमा पहिले जति लगानी भएको थियो अहिले त्यो बजेटको प्रतिशत घट्दै गएको छ । हुन त हाम्रो अर्थतन्त्र पहिलेको तुलनामा अहिले डाउन भएको छ । त्यसो भएको हुनाले पनि यो क्षत्रमा लगानी गर्न नसकिएको हुनसक्छ । यसमा म नेगेटिभ वा पोजेटिभ न्यारेसनमा पनि गइन् । त्यो राज्यको स्थितिअनुसार योजना बनाएको होला । तर कृषिलाई भारतसँग तुलना गरेर जति हामीले फोकस गर्नुपर्थ्यो त्यस्तो भएको छैन । अहिले भारतको र नेपालको उत्पादनमा ठूलो फरक आउन थालेको छ । त्यसको कारण के हो भने भारतले कृषि क्षेत्र र आफ्ना किसानहरूलाई ठूलो सहयोग गरिरहेको छ । र प्रविधिको पनि ठूलो सदुपयोग गर्न थालसक्नु भएको छ । उनीहरुले त अहिले ड्रोनको माध्यमबाट समेत कृषि खेती कसरी गर्ने भनेर सिकिरहेका छन् । तर हामी ट्रेलर कसरी चलाउने भन्नेमा अब पुग्दैछौं । यसले भारत र नेपालबिच ठूलो ग्याप आउने र भोलिको दिनमा हाम्रो कृषि क्षेत्र कोल्याप्स हुँदै जाने र किसानहरूले उत्पादनको मूल्य नपाएर कृषि क्षेत्रबाटै पलायन हुने स्थिति बन्नसक्छ । त्यसैले राज्यले यसमा राम्रो लगानी गर्नुपर्छ ।’
सरकारले कृषि क्षेत्रमा पर्याप्त लगानी गर्न नसके कृषि उत्पादनमा ह्रास आउने र कृषक पलायन बढ्ने उनको भनाइ छ । आइतबार सम्पन्न नेपाल एग्रीटेक तथा नेपाल फुड एण्ड बेभरेज इन्टरनेशनल एक्स्पोमा कृषक र कृषिसम्बन्धी चासो राख्नेहरूको उल्लेख्य उपस्थिति रहेको आयोजकको भनाइ छ । प्रदर्शनीले कृषि सम्बन्धी प्रविधि, बीउबिजन, उत्पादन, बजारीकरणका लागि सहयोग पुगेको आयोजकले बताएको छ ।








