त्रिवि मैदानमा प्यारापिट र फ्लडलाइट निर्माणका लागि बोलपत्र स्वीकृत


काठमाडौं । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा प्यारापिट निर्माण र फ्लडलाइट जडानका लागि आह्वान गरिएको बोलपत्र स्वीकृत भएको छ ।
अन्तर्राष्ट्रिय मापदण्डको प्यारापिट र फ्लडलाइट जडानका लागि छुट्टा छुट्टै कम्पनीको बोलपत्र स्वीकृत गरिएको हो ।
प्यारापिटका लागि बिकेओआई–केसिडिसी–बिजी जेभी, टंगलले दर्ता गराएको ४३ करोड ७७ लाख ३० हजार १३ रुपैयाँको बोलपत्र स्वीकृत भएसँगै ठेक्का पाएको छ ।
फ्लडलाइट जडानका लागि ललितपुरको विशन–इश्वरी जोइन्ट भेन्चरले ठेक्का पाएको छ । कम्पनीले ४२ करोड १९ लाख ९१ हजार ६ सय ५३ रुपैयाँमा ठेक्का पाएको हो ।
सार्वजनिक खरिद ऐनअनुसार ठेक्का पाएका कम्पनी र अरु विवरणको सार्वजनिक सूचना प्रकाशित गर्नु पर्छ । त्यहीअनुसार त्रिवि मैदानको प्यारापिट र फ्लडलाइटका ठेक्का पाएका कम्पनीको नाम प्रकाशित गरिएको हो ।
यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले पदभार ग्रहणपछि त्रिवि मैदानको स्तरोन्नति गर्ने निर्णय गरेका थिए । सोहीअनुरूप सहरी विकास मन्त्रालयले डिपिआर तयार गरेर ठेक्का आह्वान गरेको थियो ।
