खबर दिनभर : दल विभाजन विधेयक ल्याइँदै,विनावर्षा काठमाडौंमा बाढी,अध्यादेशमा सत्तापक्ष नै विपक्षमा

स्रष्टाहरूलाई सम्मान गर्न राज्यले कञ्जुस्याइँ गर्नु हुँदैन : राष्ट्रपति

राष्ट्रपति रामचन्द्र पौडेलले मानवीय संवेदनाका विविध पक्षलाई अभिव्यक्त गर्ने सामथ्र्य रहेको गीतसङ्गीतका क्षेत्रमा लाग्ने स्रष्टाहरूलाई सम्मान गर्न राज्यले कञ्जुस्याइँ गर्न नहुने बताएका छन् ।

नातिकाजी स्मृति समाजद्वारा बुधवार आयोजित ‘नातिकाजी राष्ट्रिय विशिष्ट सङ्गीत सम्मान तथा पुरस्कार समारोह’ लाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले गीतसङ्गीत सभ्य र सुसंस्कृत समाजको एउटा परिचायक पनि हो, त्यसैले स्रष्टाको सम्मान, संस्कृतिको संरक्षण र गीतसङ्गीतको विकासको लागि सरकार र सम्बद्ध पक्षले सदैव सहयोग गर्नुपर्ने बताए ।

राष्ट्रपति पौडेलले नेपाली लोकभाका पछ्याउँदै आधुनिक गीतसङ्गीतको सिर्जनामा नातिकाजीले पुर्‍याउनुभएको योगदान अनुकरणीय रहेको चर्चा गर्दै नातिकाजीका सिर्जनाहरूमा रहेको चेतना, प्रेम, देशभक्ति र मानवीय संवेदनाका अनुभूतिले उनलाई नेपाली गीत सङ्गीतप्रेमीहरूको माझ सदैव अमर बनाइराखेको बताए ।

उनले भने,“विशेषत नातिकाजीका देशभक्तिपूर्ण कालजयी गीतहरूले मातृभूमिप्रतिको स्नेहलाई प्रगाढ बनाउँदै नेपाली सङ्गीतको गौरवलाई बढाएको छ ।”

सङ्गीतको शक्ति अपरम्पार छ, यो साझा भाषा, सम्पत्ति र राष्ट्रिय पहिचानको आधार पनि हो भन्दै राष्ट्रपति पौडेलले बहुजाति, बहुभाषा, बहुसंस्कृति र अनुपम भौगोलिक विविधता रहेको हाम्रो देशमा साहित्य, कला, गीत, सङ्गीत आपसमा प्रेम, मित्रता र भ्रातृत्व बढाउँदै राष्द्रिय एकतालाई बलियो बनाउने आधार रहेको बताए।

उनले कलाकार, सिर्जना र संस्कृति राष्ट्रका निधि हुन् भन्दै हामीलाई एउटै सूत्रमा बाँध्ने तत्व हाम्रो कला, साहित्य र सङ्गीत हो, यसले समाजमा एकता, सहिष्णुता र समृद्धिको विकासमा योगदान पुर्‍याउने बताए ।

राष्ट्रपति पौडेलले नातिकाजी स्मृति समाजले नेपाली गीत सङ्गीतको क्षेत्रमा क्रियाशील स्रष्टालाई सम्मान गर्ने परम्परा बसालेर प्रशंसनीय कार्य गरेको बताउँदै स्रष्टाहरूलाई थप प्रेरणा र ऊर्जा थपेर सम्पूर्ण नेपाली गीतसङ्गीत क्षेत्रको विकासमा योगदान दिने मैले विश्वास लिएको बताए ।

त्यस अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले सङ्गीत महर्षी एवं बहुप्रतिभाका धनी नातिकाजी शब्द, सङ्गीत र स्वरको त्रिवेणी भएको चर्चा गर्दै देशभित्र आशा जगाउने किसिमले उहाँले राष्ट्रभक्तिका कालजयी गीतहरू गाउनु भएको बताए ।

समाजका अध्यक्ष एवं वरिष्ट सङ्गीतकार शम्भुजित बास्कोटाले सङ्गीत महर्षी नातिकाजी श्रेष्ठको १ सयऔँ जन्मजयन्तिको अवसरमा देशका नयाँ पुराना गीत सङ्गीत साधकहरूलाई सम्मान एवं पुरस्कृत गरिएको जानकारी दिए ।

त्यस अवसरमा नातिकाजीले गाउनु भएका ‘नेपाली हामी रहूँला कहाँ, नेपालै नरहे’, ‘यो नेपाली शीर उचाली’ बोलका गीत सहित अन्य राष्ट्रभक्तिले ओतप्रोत गीतहरू प्रस्तुत गरिएको थियो । नवगायिका स्मीता दाहालले तारादेवीको गीत ‘साँगुरी वारि नि हौ, त्यो धारा पानी’ बोलको गीत प्रस्तुत गरेका थिए ।

नातिकाजी स्मृति समाजका अनुसार नातिकाजीले ३३७ वटा आधुनिक नेपाली गीत, ९१ वटा देशभक्ति गीत, १० वटा बाल गीत र १९० वटा भजनमा सङ्गीत दिनु भएको छ । साथै उहाँले २२ वटा जति गीतिनाटकमा सङ्गीत दिए ।

वि.सं. २०६० कात्तिक १६ गते निधन हुनु भएका नातिकाजीको स्मृतिमा २०६२ सालमा नातिकाजी स्मृति समाज स्थापना भएको थियो । यस संस्थाले नातिकाजीको योगदानलाई चिरस्थायी बनाउन हरेक वर्ष गीत सङ्गीतका क्षेत्रमा सक्रिय स्रष्टाहरूलाई सम्मान र पुरस्कार प्रदान गर्नुका साथै उनका योगदानमाथि चर्चा गर्ने गरेको छ ।

समाजले स्थापना गरेको नातिकाजी राष्ट्रिय विशिष्ट सङ्गीत सम्मानबाट वरिष्ट सञ्चारकर्मी धन लामा, गतिकार बुद्धवीर लामा, गायक दिवाकर खड्का, गीतकार किरण केसी क्रोधी, यशोदा पराजुली, विमल भौकाजी, प्रकाश सायमीलाई सम्मानित गरिएको छ ।

यस्तै, नातिकाजी राष्ट्रिय सङ्गति पुरस्कारबाट गायक हिमाल सागर, गायिका विन्दु परियार, गीतकार बि पाण्डे, सङ्गीतकार आशिष अविरल र सङ्गीत संयोजक सम्राट थापा सम्मानित हुनुभयो । नातिकाजी राष्ट्रिय प्रतिभा पुरस्कार गीत रेकर्डिस्ट भोला पौडेल, गायक डेभिड शङ्कर, गायिका स्मीता दाहाल र सङ्गीतकार कल्याण सिंह सम्मानित भएका थिए ।

नातिकाजी राष्ट्रिय शास्त्रीय सङ्गीत पुरकारबाट डा.रमेश पोखरेललाई सम्मान गरिएको थियो । त्यसैगरी नातिकाजी राष्ट्रिय कला पत्रकारितातर्फ पत्रकारद्वय सुशील अर्याल र सुकृत नेपाल सम्मानित भए ।

नातिकाजी राष्ट्रिय लोक सङ्गीत पुरस्कार भने लोक गायकहरू रामप्रसाद अवस्थी, सुष्मा शाही ठकुरी र कृष्ण विकले प्राप्त गरे । सम्मानित सबै कलाकर्मीलाई राष्ट्रपति पौडेलले सम्मानपत्र सहितले सम्मानित गरेका थिए ।

राजनीतिक दल सम्बन्धी विधेयक संसदमा ल्याउँछौँ : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक दल सम्बन्धी ऐन बनाउन संसदमा विधेयक ल्याउने बताएका छन् । बुधवार नेपाल निजामती कर्मचारी संगठनको १२ औ महाधिवेशन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

उनले राजनीतिक दल सम्बन्धी कानुनको अभाव रहेको भन्दै अभाव परिपूर्ति गर्न विधेयक ल्याउन लागेको बताए । उनले कुनैपनि पार्टी फुटाउने उद्देश्यअनुसार विधेयक नल्याइने पनि स्पष्ट पारे । उनले दुई तिहाइको सरकार भएको समयमा साना मसिना पार्टी फुटाउनुको तुक नरहेको बताए ।

पार्टी फुटाउने आवश्यकता र सौख आफलाई नरहेको जिकिर गरे । प्रधानमन्त्री ओलीले विगतमा ४० प्रतिशत पार्टीको वा संसदको ४० प्रतिशत पुर्‍यायो भने पार्टी अलग हुन अध्यादेश आफूले ल्याउँदा पार्टी फुटाउन खोज्यो भनेर कराउनेहरू नेकपा एमाले फुटाउन २० वा २० भए हुन्छ भनेर अध्यादेश ल्याउन तयार भएको बताए ।

राजनीतिक दलसम्बन्धी ऐन बनाउन अध्यादेश नभई विधेयक संसदमा ल्याउने र विधेयक पास गरेर ऐन स्थापित गर्ने बताए ।

प्रधानमन्त्री ओलीले भने ‘जथाभाबी अध्यादेश ल्याएर, मैले ४० प्रतिशत पार्टीको वा संसदको ४० प्रतिशत पुर्‍यायो भने पार्टी अलग हुन पाउँछ भनेर फुटेको मानिने छैन । अलग हुन पाउँछ भन्नेछ । नयाँ पार्टी खोल्न पाउँछ भन्ने अध्यादेश ल्याउँदा ल पार्टी फुटाउन खोज्यो भनेर कराउनेहरू नाम पनि म लिइरहन्न । तपाईँहरू चिनिहाल्नुहुन्छ । तिनीहरू त पछि हाम्रो पार्टी फुटाउन २५ प्रतिशत भए फुटाउन हुन्छ भनेर २० वा २० भए हुन्छ भनेर अध्यादेश २० वा २० भनेर अध्यादेश ल्याएर नेकपा एमाले फुटाउने तत्त्वहरू होइनन् । तिनीहरू अहिले फेरि ४० वा ४० ल्याउँदै छ रे पार्टी फुटाउँदैछ रे भने । हामीलाई पार्टी फुटाउने कुनै सौख छैन तर कानुन त चाहियो नि । कानुनको अभाव छ अहिले । अब संसदमा हामी विधेयक ल्याउँछौँ । विधेयक ल्याउँछौँ । संसदबाट विधेयक, अध्यादेशबाट होइन । त्यसैकारण हामीले अध्यादेश नल्याएको । अध्यादेश चाहिँदैन । संसदमा विधेयक ल्याउँछौँ, विधेयक पास गरेर ऐन बनाउँछौँ । ऐन स्थापित गर्दछौँ । हामीलाई कसैको पार्टी फुटाउन आवश्यक नै छैन । हामीसँग झन्डै दुई तिहाइको सरकार छ । किन फुटाउने पार्टी बेकार । फेरि फुटाउने पनि कत्रा कुनै चट्टान फोर्ने हो र यत्रायत्रा गिटी ढुंगा फुटाएर को बस्छ । त्यो आवश्यकता पनि छैन, सौख पनि छैन ।’

प्रधानमन्त्री ओलीले नेकपा एमाले र नेपाली काँग्रेस मिलेर बनेको संयुक्त सरकार बलियो सरकार भएको दाबी गर्दै देशका लागि काम गर्न अग्रसर रहेको बताए । विदेशीको दाम लिएर नेपालमा अराजकता मच्चाउन खोज्ने, सामाजिक शान्ति सुव्यवस्था, बिगार्ने, देशको लोकतान्त्रिक प्रणालीलाई ध्वस्त पारेर अराजकता मच्चाउन खोजे भने आन्दोलनमा उत्रिनुपर्ने हुनसक्ने बताए ।

मेडिकल कलेजमा विदेशी विद्यार्थीको सङ्ख्या बढाउन छलफल

प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आज भएको चिकित्सा शिक्षा आयोगको १७ औँ बैठकले निजी मेडिकल कलेजमा अध्ययन गर्ने विदेशी विद्यार्थीको सिट सङ्ख्या वृद्धि गर्ने विषयमा छलफल भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको आयोगको बैठकमा निजी मेडिकल कलेजले आवासीय चिकित्सकलाई सरकारी सरह निर्वाह भत्ता उपलब्ध गराउने यसघिको आयोगको निर्णय कार्यान्वयनको सहजीकरणका लागि विदेशी विद्यार्थीको सङ्ख्या बढाउने प्रस्ताव आएको हो ।

यसबारे छिट्टै बस्ने आयोगको बैठकमा प्रस्ताव आउनेछ । हालसम्म मेडिकल कलेजहरुले १० प्रतिशतको सङ्ख्यामा विदेशी विद्यार्थी अध्यापन गराउने प्रबन्ध रहेको छ ।

यसअघि यही माघ २५ गतेको आयोगको १६ औँ बैठकले आवासीय चिकित्सक ९विद्यार्थी०हरुको आन्दोलनको माग सम्बोधन गर्दै निजी मेडिकल कलेजले सरकारी सरह ९आठौँ तह० को मासिक रु ४८ हजार ४३६ निर्वाह भत्ता कायम गर्नुपर्ने निर्णय गरेको थियो ।

चिकित्सा शिक्षाको एकीकृत नियमन, अनुुगमन, प्रवेश परीक्षा सञ्चालन, शिक्षण संस्थाको विद्यार्थी सिट सङ्ख्या र शिक्षण शुल्क निर्धारणसम्बन्धी कार्यहरु गर्दै आएको आयोगको आजको बैठकले स्नातकोत्तर तहमा २०९ सिट सङ्ख्या थप गर्ने निर्णय गरेको छ ।

यस्तै बैठकले नर्सिंङ शिक्षाको अध्ययन अध्यापन तथा क्षमता विस्तारसम्बन्धी कार्यदलको प्रतिवेदनलाई पारित गरेको छ भने शैक्षिक संस्था र कार्यक्रम गाभ्ने मापदण्डका विषयमा बैठकमा छलफल भएको छ ।

बैठकमा प्रधानमन्त्री ओलीले सरकारले सबै विद्यार्थीलाई निःशुल्क पढाउन नसक्ने र निजी कलेजको पनि साथ लिन आवश्यक पर्ने भएकाले उठेका समस्याहरुलाई थप गृहकार्य गरेर निष्कर्ष निकाल्नुपर्नेमा जोड दिए ।

उनले नर्सिङ शिक्षालाई सुक्न नदिने ठोस प्रस्ताव ल्याउन र नर्सहरुको सेवा र सुविधा बढाउन आग्रह गरेका थिए ।

हिन्दुराष्ट्र बनाउने अभियानमा डा।रामचन्द्र अधिकारीलाई साथ दिन देउवाको आग्रह

पूर्वमन्त्री एवं विश्व हिन्दु महासंघका पूर्वअध्यक्ष डा.रामचन्द्र अधिकारीको आत्मवृत्तान्त पुस्तक विमोचन भएको छ । बुधवार काठमाडौंमा एक कार्यक्रमबिच नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पुस्तक विमोचन गरेका हुन् ।

विमोचन कार्यक्रममा बोल्दै सभापति देउवाले डा.अधिकारी नेपाल हिन्दु राष्ट्र बन्नुपर्छ भनेर हिँडिरहेको उल्लेख गर्दै बन्नसक्छ वा सक्दैन यसै भन्न नसकिने बताए ।

उनले हिन्दुराष्ट्र बनाउने अभियानमा उनलाई साथ दिन पनि आग्रह गरे ।

सभापति देउवाले भने ‘उहाँ मेरो सानै देखिको साथी हो । अहिले हिन्दुराष्ट्र बनाउने अभियानमा हुनुहुन्छ, कतिको सफल हुन्छ थाहा छैन, उहाँलाई साथ दिनुस् ।’

सभापति देउवाले डा. अधिकारीसँग धेरै कुराहरूको अनुभव रहेको भन्दै देशका लागि आत्मवृत्तान्त पुस्तकले महत्वपूर्ण भुमिका खेल्ने बताए ।

ओली सरकार कांग्रेसले चाहेर निर्माण भएको होइन : गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकार नेपाली कांग्रेसले चाहेर निर्माण नभएको बताएका छन् । बुधवार बुटवलमा नेपाल मुस्लिम संघको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै महामन्त्री थापाले यस्तो बताएका हुन् ।

उनले सरकार बनाउने कुरामा अरुसँग सहकार्य गर्ने विकल्प नरहेको उल्लेख गर्दै बाँकी यही सरकारमा बसेर बाँकी समयको सदुपयोग गर्ने उनको दाबी छ । सरकार चलाउने सम्बन्धमा पार्टीका आधारभुत मूल्य र मान्यतामा कुनै सम्झौता नहुने उनले बताए ।

उनले पार्टीले विधिको शासन, प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रता जस्ता आधारभुत मूल्य र मान्यताहरुमा सम्झौता नगरिने समेत बताए ।

उनले भने,‘नेपाली काँग्रेस र नेकपा (एमाले) मिलेर सरकार बनाउने परिस्थिति निर्माण भयो । हामीले गरेको होइन । त्यो आफैं निर्माण भएको हो । अब नेपाली काँग्रेसले के गर्ने हो ? नेपाली काँग्रेससँग एक्लै सरकार चलाउनका निम्ति बहुमत छैन । कुनै न कुनै पार्टीसँग मिलेर सरकार चलाउनुपर्ने स्थिति छ । हामीले अहिले नेकपा एमालेसँग मिलेर सरकार बनाएका छौं । यसको पनि विकल्प खोज्ने भनेर कसैले भन्यो भने विकल्प भनेको के हो ? फेरि अर्को पार्टीसँग मिलेर जानुपर्यो । चलचल गरेर बसिराख्ने ? कि नेपाली काँग्रेस पार्टीले एउटा जिम्मा लिउँ । हामी सबै काँग्रेसको नेतृत्व पंक्तिको एउटै अठोट के हो भने समय खेर नफालौँ । यो तीन वर्षको समयको अधिकतम सदूपयोग गर्ने । यो बीचमा सरकार पनि नबदल्ने हो । हामी आलोपालो सरकार चलाउने गरी अहिले नेकपा एमालेको नेतृत्वमा सरकार अघि बढिरहेको छ । निश्चित समयपछि हाम्रो सभापतिको नेतृत्वमा सरकार जान्छ । हामीले सात बुँदै सहमति गरेका छौं । त्यही सहमतिको आधारमा तीन वर्ष सरकार चलाउँछौं । नेपाली काँग्रेस प्रष्ट क कि यदि नेपाली विधिको शासन, प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता जस्ता आधारभूत मूल्य र मान्यताहरुका सम्बन्धमा सम्झौता गर्नुपर्छ भन्ने आधारमा आउँछ भने ति कुराहरु नेपाली काँग्रेसका लागि सरकारभन्दा महत्वपूर्ण कुरा हो । यसमा काँग्रेस स्पष्ट छ । विश्वास छ एमाले पनि यसमा स्पष्ट छ ।’

सरकार गठन हुँदाका बखत गरिएको सात बुँदे सहमतिको आधारमा काँग्रेस–एमालेले आलोपालो सरकार चलाउने उनको भनाइ छ ।

सत्तारुढ दल लोसपा भूमी सम्बन्धी अध्यादेशको विपक्षमा

सत्तारुढ दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) भूमिसम्बन्धी अध्यादेशको विपक्षमा उभिएको छ । लोसपा अध्यक्ष महन्थ ठाकुरले बुधवार एक विज्ञप्ति जारी गर्दै यथास्थितिमा यो अध्यादेश स्वीकार्न नसक्ने बताएका छन् । उक्त अध्यादेशले वन फडानी र अवैध कब्जा गर्ने प्रवृत्तिलाई बढावा दिने जारी विज्ञप्तिमा उल्लेख छ ।

राष्ट्रियसभामा अध्यादेश पारित गर्न निर्णायक रहेको जनता समाजवादी पार्टी (जसपा) नेपालले यसअघि नै भूमी सम्बन्धी अध्यादेश अस्वीकार गर्ने निर्णय गरिसकेको छ ।

खानेपानी मन्त्रीले भने – विद्युत् प्राधिकरणको कमजोरीले बबरमहल जलमग्न भयो

नेपाल विद्युत् प्राधिकरणको कमजोरीका कारण मेलम्ची खानेपानी आयोजनाको पाइप फुटेको खानेपानी मन्त्री प्रदीप यादवले बताएका छन् । बुधवार पाइप फुटेर बबरमहल जलमग्न भएको थियो ।

विद्युत् प्राधिकरणको गल्तीले बबरमहल जलमग्न भएको बताउँदै उनले भने,‘विद्युत् प्राधिकरणले मन्त्रालय र काठमाडौं उपत्यका खानेपानी लिमिटेडसंग समन्वय नगरी काम गर्‍यो । त्यसकै कारणले यस्तो घटना घटेको हो ।’ लाइन बिछ्याउने क्रममा गरेको कमजोरीका कारणले पाइप फुटेको उनको भनाई छ ।

काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) का सीईओ अशोक पौडेललाई लिएर मन्त्री यादव बबरमहल पुगेका थिए ।

नतिजालाई खर्चमा होइन, भौतिक उपलब्धिसंग दाँजौ : बालेन शाह

काठमाडौं महानगरपालिकाको प्रमुख बालेन्द्र शाह (बालेन) ले नतिजालाई खर्चमा नभई भौतिक उपलब्धिमा दाँजेर हेर्नुपर्ने बताएका छन् । चालु आर्थिक वर्षको अर्धवार्षिक समीक्षा कार्यक्रममा उनले खर्चमा मात्र नभई कामको प्रभावकारितालाई ध्यान दिनुपर्ने बताए ।

“पैसा खर्च गरे प्रगति हुने, खर्च नगरी काम गरे प्रगति नहुने विधि सच्याउनुपर्छ”, उनले भने,“महत्त्वपूर्ण कुरा भनेको नागरिकलाई दिनुपर्ने सेवा सहजै प्राप्त भएको छ कि छैन । तर्जुमा गरिएका कामको प्रभावकारी कार्यान्वयन भएको छ कि छैन भन्ने हो । लक्षित कार्यक्रम प्रभावकारी कार्यान्वयन भएका छन् भने खर्च भएन भनेर गुनासो गर्नु पर्दैन ।”

आन्तरिक राजस्व सङ्कलनका विषयमा भएको छलफलका क्रममा प्रमुख शाहले सार्वजनिक निकायले सञ्चालन गरेका व्यावसायिक क्षेत्रको करका विषयमा स्पष्ट पार्दै भने,“व्यवसाय सञ्चालन गरेपछि सबैले कर तिर्नुपर्छ । चाहे त्यो व्यक्ति होस् । निजी क्षेत्र होस् या सार्वजनिक निकाय होस् । यसमा कोही पनि दोधार हुनुपर्दैन ढुक्कले काम गर्दा हुन्छ ।”

समीक्षा कार्यक्रमपछि उपप्रमुख सुनिता डङ्गोलले आफ्नो लक्ष्यप्रति दृढ भएर काम गर्न सबैलाई आग्रह गर्नुभयो । चालु आर्थिक वर्षको यस अवधिमा कामपाले ४० दशमलव ६६ किलोमिटर सडक कालोपत्रे, १० दशमलव ३२ किलोमिटर सडक ढलान र ४१ दशमलव ३२ किलोमिटर सडकमा ब्लक छापेको जानकारी गराइएको छ । सो अवधिमा १२ दशमलव १६ किलोमिटर ढल राखेको छ । सोह्र वटा भवन र नौ वटा पार्क निर्माण गरेको छ ।

त्यसैगरी चौबीस वटा सम्पदा निर्माण र २६ वटा अमूर्त सम्पदा संरक्षण कार्य सम्पन्न भएका छन् । सार्वजनिक खरिदमार्फत ३२ वटा र उपभोक्ताबाट ७७ वटा योजना कार्यान्वयनमा गएका छन् । पन्ध्र वटा योजना खरिद प्रक्रियामा छन् । एक सय १५ वटा योजनाको विस्तृत परियोजना प्रतिवेदन ९डिपिआर० र नक्साङ्कन भइरहेका छन् ।

सहरी योजना आयोगबाट रु ८१ करोड ८१ लाख बराबरका ५३ वटा परियोजनाको विस्तृत परियोजना प्रतिवेदन तयार पारेको छ । थप ७४ वटा योजनाको डिपिआर तयार हुँदैछ । रु १० करोडभन्दा धेरै लागत भएका १५ वटा, रु १० करोड २१ वटा, मालसामानको ५१ वटा र वडा कार्यालयका १४ वटा खरिदसम्बन्धी सूचना प्रकाशन गरेर प्राप्त प्रस्तावको मूल्याङ्कन र सम्झौता भएको छ ।

माग सम्बोधनको आश्वासनपछि ग्यास व्यवसायीले गरे आन्दोलन स्थगित

सरकारकासंगको छलफलपछि नेपाल ग्यास उद्योग संघले घोषणा गरेको आन्दोलन स्थगित गरिएको छ। ग्यास व्यवसायी र सरकारबीच छलफलपछि व्यवसायीले १५ दिनका लागि आन्दोलन स्थगित गरेका हुन् ।

नेपाल ग्यास उद्योग संघले सरकारले माग पूरा नगरे ग्यास बिक्री वितरण रोक्ने चेतावनी दिएको थियो । आजको छलफलमा व्यवसायीका सबै माग १५ दिनभित्र पूरा गर्ने सरकारले आश्वासन दिएपछि आन्दोलन स्थगित भएको हो ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीसहित नेपाल आयल निगम सञ्चालक समितिका पदाधिकारी र नेपाल एलपी ग्याँस उद्योग संघका पदाधिकारीहरुबीच उद्योग मन्त्रालयमा बुधवार छलफल भएको थियो ।

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प गएको छ । दिउँसो ३ बजेर ३८ मिनेटमा बुधवार दोस्रो पटक भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

पातमारा केन्द्रविन्दु भएर भूकम्प गएको हो । यसअघि आज नै बिहान ११ बजेर ५६ मिनेट जाँदा जुम्लाको उर्थु चौतारा केन्द्रविन्दु भएर ३.८ म्याग्निच्युडको भूकम्प गएको थियो ।

संवैधानिक पदाधिकारी नियुक्तिविरुद्धको मुद्धाको सुनुवाइ हेर्दाहेर्दैमा

सर्वोच्च अदालतमा विचाराधीन विभिन्न संवैधानिक परिषद्मा नियुक्त भएका ५२ पदाधिकारीविरुद्धको मुद्धाको सुनुवाइ हेर्दाहेर्दैमा राखिएको छ ।

बुधबार प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको अध्यक्षतामा संवैधानिक इजलासमा भएको बहस नसकिएपछि मुद्धा हेर्दाहेर्दैमा राखिएको हो । आज अधिवक्ता ओमप्रकाश अर्याल र वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवालीले बहस गरेका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ मा संसद विघटन भएका बेला संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गर्दै संवैधानिक परिषद्ले विभिन्न संवैधानिक निकायमा ५२ जना पदाधिकारी नियुक्त गरेको थियो । त्यस विरुद्ध सर्वोच्चमा मुद्धा दायर गरिएको थियो ।

विद्यालय बस दुर्घटना अपडेट स् मृतकको पहिचान खुल्यो

काठमाडौंको शंखरापुर नगरपालिका वडा नम्बर ५ कात्तिकेस्थित साँखु सडक खण्डमा बुधवार साँझ विद्यालय बस ‘ब्रेक फेल’ भई दुर्घटना हुँदा मृत्यु भएका तीन जनाको पहिचान खुलेको छ ।

मृत्यु हुनेमा मोरङ उर्लाबारी नगरपालिका-७ का ११ वर्षीय क्रिसल पुरी, सिन्धुपालचोक बलेफी गाउँपालिका-७ का २४ वर्षीय सुरेश तामाङ र सिन्धुपाल्चोकै १४ वर्षीया शुशा‌ङ्का डोटेल रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक (एसपी) अपिलराज बोहराले बताए ।

चाबहिलस्थित एसएस एकेडेमीको बा२ख ७९५८ नम्बरको बस नगरकोटमा पिकनिक मनाएर फर्किरहेको अवस्थामा दुर्घटना भएको थियो । दुर्घटनामा घाइते ४० जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

बढ्यो नेप्से परिसूचक,८ अर्ब ७१ करोडको कारोबार

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । बुधवार नेप्से परिसूचक एक दशमलव ८६ अङ्कले बढेर दुई हजार छ सय ८५ दशमलव ७३ को विन्दुमा कायम भएको हो ।

आज तीन सय सात कम्पनीको एक करोड ५५ लाख २० हजार पाँच सय ५९ कित्ता शेयर ८२ हजार आठ सय ५० पटक खरिदबिक्री हुँदा रु ८ अर्ब ७१ करोड ७८ लाख ४७ हजार बराबरको कारोबार भएको छ ।

आजको कारोबारमा विकास बैंक एक दशमलव ३३, वित्त एक दशमलव ५६, लगानी एक दशमलव २२ र जीवन बिमा समूह एक दशमलव ४८ प्रतिशतले बढेको छ । अरु सबै समूहको उपसूचक घटेको छ ।

बैंकिङ शून्य दशमलव शून्य नौ होटल तथा पर्यटन शून्य दशमलव ६३, जलविद्युत् शून्य दशमलव शून्य चार र उत्पादन तथा प्रशोधन शून्य दशमलव ३१ प्रतिशतले घटेको छ ।

त्यस्तै, लघुवित्त शून्य दशमलव ११, म्युचुअल फण्ड शून्य दशमलव शून्य नौ, निर्जीवन बिमा शून्य दशमलव शून्य तीन, व्यापार शून्य दशमलव ९१ र अन्य समूह शून्य दशमलव ४७ प्रतिशतले घटेको छ ।

गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने उपकार लघुवित्त वित्तीय संस्था लिमिटेड र सुपर मादी हाईड्रोपावर लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको सबैभन्दा बढी रु ३९ करोड ६० लाख २२ हजार बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने सबैभन्दा बढी सनराइज फोकस्ड इक्विटी फण्डको पाँच लाख १४ हजार एक सय कित्ता शेयर किनबेच भएको छ ।

सुनको मूल्यमा भारी गिरावट

नेपाली बजारमा सुनको मूल्य ह्वात्तै घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज ९शुक्रबार० सुन प्रतितोला २ हजार ७ सय रुपैयाँले घटेको हो ।

आज छापावाल सुन प्रतितोला १ लाख ६७ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो कारोबार दिन मंगलबार सुन १ लाख ७० हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाँले घटेर १ हजार ९ सय ३० रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबार चाँदी प्रतितोला १ हजार ९ सय ४५ रुपैयाँमा कारोबार भएको थियो ।

आहा रारा पोखरा गोल्डकप : पुलिस ११ औँ पटक फाइनलमा प्रवेश

विभागीय नेपाल पुलिस क्लब पोखरामा सञ्चालन भइरहेको राष्ट्रिय तथा अन्तरराष्ट्रिय अन्तर क्लब आमन्त्रित आहा १ रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । पोखरा रङ्गशालास्थित फुटबल मैदानमा बुधवार सम्पन्न पहिलो सेमिफाइनल खेलमा चर्च ब्वाइज युनाइटेड फुटबल क्लबलाई १–० गोल अन्तरले हराउँदै पुलिस उपाधि नजिक पुगेको हो । यससँगै पुलिस ११औँ पटक फाइनल प्रवेश गर्न सफल भएको छ ।

पहिलो हाफको खेल गोल रहित बराबरीमा सकिएकामा खेलको ५८औँ मिनेटमा पुलिसका सञ्जिव लामाले उत्कृष्ट गोल गर्दै टोलीलाई अग्रता दिए । पेनाल्टी बक्सको बाहिरबाट सञ्जिवको कडा प्रहारलाई चर्चका गोलकिपर टिकेन्द्र थापाले रोक्ने मौकानै पाएनन् ।

लामाले गरेको एक मात्र गोल खेलमा निर्णायक बन्यो र पुलिसले फाइनलमा स्थान बनाउन सफल भयो । पुलिस आहा राराको सर्वाधिक उपाधि जित्ने टोली हो । पुलिसले हालसम्म ६ पटक उपाधि चुमेको छ ।

पुलिसले आगामी फागुन ३ गते उपाधिका लागि थ्रीस्टार क्लब र उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसीबिचको भोली हुने खेलको विजेतासँग खेल्नेछ । सहारा क्लब पोखराको आयोजनामा यही माघ २२ गतेदेखि सञ्चालन भएको प्रतियोगिताको च्याम्पियन टोलीले नगद रू १२ लाख सहित शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार पाउनेछन् । यसैगरी उपविजेताले रू छ लाखसहित शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार पाउने आयोजकले जनाएको छ ।

यसैगरी प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले स्कुटर पुरस्कार प्रदान गरिने छ । प्रतियोगितामा विधागत रूपमा सर्वाधिक गोलकर्ता, उत्कृष्ट डिफेन्डर, गोलरक्षक, मिडफिल्डर, स्ट्राइकर र प्रशिक्षकले जनही रू २५ हजार नगदसँगै ट्रफी पुरस्कार पाउने छन् ।

बङ्गलादेशी क्रिकेटरलाई भ्रष्टाचारको आरोपमा पाँच वर्षको प्रतिबन्ध

बङ्गलादेशकी अन्तर्राष्ट्रिय खेलाडी सोहेली अख्तरलाई आइसिसीको भ्रष्टाचार विरोधी संहिताको पाँचवटा उल्लङ्घन गरेको स्वीकार गरेपछि पाँच वर्षका लागि सबै प्रकारका क्रिकेटबाट प्रतिबन्धित गरिएको खेलको नियामक निकायले जनाएको छ ।

अख्तरले सन् २०२३ मा दक्षिण अफ्रिकामा भएको महिला टी–२० विश्वकपमा एक बङ्गलादेशी खेलाडीलाई हिट विकेट आउट हुन १३ हजार पाउन्ड ९१६ हजार डलर० को प्रस्ताव गरेकी थिइन् ।

नाम नखुलाइएकी खेलाडीले अख्तरका बारेमा रिपोर्ट गरेकी थिइन् । उनी त्यो प्रतियोगितामा संलग्न थिइनन् ।

बङ्गलादेश क्रिकेट बोर्डका निर्देशक तथा महिला विभाग प्रमुख नजमुल आबेदिन फहिमले अख्तरको कार्य दुर्भाग्यपूर्ण भएको बताए ।

“हामी यस विषयमा शून्य सहनशीलताको नीति अपनाउँछौँ र बङ्गलादेश क्रिकेटका सबै तहमा फिक्सिङ रोक्न कडा प्रयास गरिरहेका छौँ”, फहिमले भने ।

छत्तीस वर्षीया स्पिनर अख्तरले आफ्नो देशका लागि १३ टी–२० र दुई एकदिवसीय खेल खेलेकी छन् । उनले सन् २०२२ मा बङ्गलादेशका लागि अन्तिम पटक खेलेकी थिइन् ।

आरोपहरू मध्ये अख्तरले आफ्नो आचरणको अनुसन्धानमा ढिलाइ वा बाधा पु¥याएको पनि स्वीकार गरेकी छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + 3 =