बझाङ्गको धलौनमा एभरेष्ट बैंकको नयाँ शाखा विस्तार

काठमाडौँ । एभरेष्ट बैंक लिमिटेडले बझाङ्गको उत्तरपूर्व साईपाल गाउँपालिका वडा नं. १ स्थित धलौनमा आफ्नो नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।
नेपाल राष्ट्र बैंकका गभर्नर महा प्रसाद अधिकारीद्वारा औपचारिक रुपमा उद्घाटन गरिएको उक्त समारोहमा साईपाल गाउँपालिकाका अध्यक्ष मानवीर बोहोरा, एभरेस्ट बैंक लिमिटेड सञ्चालक समितिका अध्यक्ष डा। बालगोपाल वैद्य, प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ्ग उपस्थित थिए ।
साथै नेपाल राष्ट्र बैंकका निर्देशक केशव बहादुर के।सी।, साईपाल गाउँपालिकाका सबै वडाका वडाअध्यक्षहरु, एभरेष्ट बैंक सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख उज्ज्वल पोख्रेल, नेपाल सरकार तथा स्थानीय सघसंस्थाका प्रतिनिधिहरू, बैंकका कर्मचारीहरू लगायत स्थानीयवासीको उत्साहजनक उपस्थिति रहेको थियो ।
मिति २०८१ साल माघ २८ गतेका दिन औपचारिक रुपमा उद्घाटित यो बैंकको १२९औं शाखा कार्यालय हो । वित्तीय पहुँच बाट टाढा रहेको साईपाल गाऊँपालिकामा बैंकको यो शाखा कार्यालय सञ्चालनमा आएसँगै अब देशका ७५३ वटै स्थानीय निकायमा क वर्गको बाणिज्य बैंकको उपस्थिति रहन गएको बैंकले जनाएको छ ।
भौगोलिक तथा पूर्वाधार बिकासकोे हिसाबले पनि अति दुर्गम मानिने मोटर बाटोको समेत पहुँच नभएको ७,८ घण्टा को पैदल यात्रा गरी पुग्न सकिने यो पालिकामा शाखा कार्यालय खोली सञ्चालनमा ल्याउने जस्तो कठिन तथा चुनौतीपूर्ण कार्य सफल हुन सकेकोमा खुसी व्यक्त गर्दै यस कार्यमा सहयोग गर्ने नेपाल राष्ट्र बैंक तथा साइपाल गाउँपालिकाप्रति बैंकले विशेष धन्यवाद दिएको छ । देशको सम्पूर्ण पालिकामा बैंक तथा वित्तीय संस्थाको पहुँच पुर्याउने सरकारको महत्वपूर्ण अभियानलाई पूर्णता दिने गरी शाखा सञ्चालन गर्न सकेकोमा बैंकले खुसी व्यक्त गरेको छ ।
उक्त उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकको यस शाखाको स्थापनासँगै सङ्घीय राष्ट्रको सम्पूर्ण पालिकामा बैक पुर्याउने सरकारी लक्ष्यले पूर्णता पाएको बताए ।
साथै अब सानोतिनो बैङ्किङ सेवाको लागी पनि सदरमुकाम धाउनुपर्ने साइपाल बासीको बाध्यताको अन्त्य भएको बताउँदै अन्य सुविधाहरू पनि बिस्तारै गाँसिँदै आउने र यस क्षेत्रको समग्र आर्थिक क्रियाकलाप समेत चलायमान हुने विश्वास रहेको बैंकले जनाएको छ ।
यस बैंकको शाखा कार्यालय स्थापनासँगै अब यस क्षेत्रको आर्थिक गतिविधि बढ्न गई समग्र आर्थिक विकासमा थप टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।
पन्जाब नेशनल बैंक भारतसँग संयुक्त साझेदारमा स्थापित रहेको यस बैंकमा हालसम्म करिब १४ लाख भन्दा बढी ग्राहक संख्या रहेका र देशैभरीे १३१ शाखा सञ्जाल, ४ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालयहरू, १६७ ATM छन ।
विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल, इन्टरनेट र SMS बैकिंग सुविधा प्रदान गर्दै आइरहेको यस बैंकले नेपाल सरकारको राजस्व सङ्कलनको लागि ३२ वटा संकलन केन्द्रबाट सेवा दिँदै आइरहेको छ । यस बैंकले भारतको नयाँ दिल्ली लगायत अन्य मुलुकमा पनि आफ्नो प्रतिनिधि कार्यालय स्थापना गरि सेवा प्रदान गर्दै आइरहेको छ ।








