प्रचण्डको सचिवालयबाट बाहिरिए मल्ल, दीपशिखाको असन्तुष्टि

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का स्वकीय सचिव रमेश मल्ल सचिवालयबाट बाहिरिएका छन् । उनले सामाजिक सञ्जालमार्फत आइतबारदेखि स्वकीय सचिवको जिम्मेवारी छोडेको जानकारी गराएका हन् ।
मल्लले एक फेसबुक पोस्टमार्फत भनेका छन्, ‘अध्यक्ष प्रचण्डको स्वकीय सचिवका रूपमा तीन वर्ष तीन महिना सेवा गरेपछि पार्टी केन्द्रीय कार्यालयको निर्णयअनुसार सचिवालयबाट बिदा लिएको छु ।’
सचिवालयमा रहँदा उनले ‘खुमलटारदेखि बालुवाटार र बालुवाटारदेखि खुमलटारसम्मको कार्ययात्रा’ सहज बनाउने जिम्मेवारी बहन गरेका थिए । मल्लले आफ्नो कार्यकालमा सहकार्य गर्ने सचिवालयका अन्य सदस्यहरू गंगा दाहाल, सन्तकुमार दरै लगायत सम्पूर्ण टिमप्रति आभार व्यक्त गरेका छन् ।
यता माओवादी नेता एवं वाईसीएलका पूर्वअध्यक्ष रामप्रसाद सापकोटा ‘दीपशिखा’ले माओवादीले तोकेको जिम्मेवारीप्रति असन्तुष्टि जनाएका छन् । उनले सामाजिक सन्जालमार्फत नै आफूले वाईसीएलका सिनियर नेतालाई उचित मूल्यांकन गरिदिन सिफारिस गर्दा नसुनेको जनाएका छन् । उनी भने वाईसीएलको पार्टी इन्चार्जसँगै माओवादी उपत्यका सह इन्चार्ज तोकिएका छन् ।








