प्रचण्डको आरोप– प्रधानमन्त्री बन्न ओलीले संविधानको सैद्धान्तिक जामा पहिर्याए

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले वर्तमान सरकार संविधानसम्मत नरहेको बताएका छन् ।
आईतवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले अहिलेको नेतृत्वपंक्तिले संविधान मिच्ने काम गरिरहेको बताए । अहिलेको सरकार संविधान मिचेर बनेको आरोप लगाए ।
उनले संविधान संशोधनको सैद्धान्तिक जामा पहि¥याएर प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री पद र सरकार खोजेको आरोप लगाए । ‘सरकार बनेको पनि मलाई संविधानसम्मत लागेकै छैन । मलाई संविधानसम्मत बिल्कुलै लागेको छैन । यो संविधान मिचेर बनेको सरकार हो’ उनले भने ।
उनले पुनः एक पटक ठूलो आन्दोलनको आवश्यकता देशलाई परेको जिकिर गरे । उनले प्रदेशलाई अधिकार दिन र स्थानीय तहलाई बलियो बनाउन कसैले नमानेको बताए ।
अध्यक्ष दाहालले शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउन जरुरी रहेको बताए । उनले शान्ति सम्झौताका पक्षधर दलहरुले शान्ति प्रक्रियाका बाँकी काम टुंग्याएर देशमा स्थायी शान्ति दिनुपर्ने बताए । ‘मैले कहिले कहीँ के सोच्ने गरेको छु भने नेपालमा एउटा ठूलो आन्दोलन फेरि आवश्यक भएको हो की क्या हो भन्ने मलाई पनि लाग्न थाल्यो भनेपछि । किनभने कसैले नि नमान्ने’ उनले भने, ‘प्रदेशलाई अधिकार दिन पनि नमान्ने । स्थानीय तहलाई बलियो बनाउन पनि नमान्ने । भनेपछि त के देशले फेरि एक पटक अर्को आन्दोलन खोजेको हो त ?’
उनले देशमा स्थायी शान्तिको स्थापना गर्न प्रमुख दलहरु मिलेर जानुको विकल्प नरहेको जिकिर गरे ।
ठूलो कामका लागि ठूला दल मिलेको हो भन्ने भ्रम दिने उद्देश्यले संविधान संशोधनको कुरा उठाएको बताए ।
उनले भने– ‘जनतामा असन्तुष्टि बढेको बढ्यै छ । निराशा बढेको बढ्यै छ । एउटा अर्को विद्रोह आवश्यक भएको हो त ? भन्ने प्रश्न चाहीँ अब बिस्तारै मानिसहरुको मनमा आउँदैछ । हामी कसैले पनि के नसोचौँ भने, म त्यो विद्रोह गर्ने निस्कर्षमा पुगेँ भनेको अर्थ पनि नलागोस् ।’
अध्यक्ष दाहालले राष्ट्रपतिलाई जबरजस्ती दबाब दिएर अहिलेको सरकार बनेको आरोप लगाए । अहिलेको सरकार संविधानसम्मत र लोकतान्त्रिक नरहेको पनि बताए ।








