खबर दिनभर : रविलाई झुटो मुद्दा लगाएर फसाइएको रास्वपाको आरोप,जितविहीन बन्यो नेपाल

निजी मेडिकल कलेजका आवासीय चिकित्सकलाई समान निर्वाह भत्ता दिने निर्णय
प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीका अध्यक्षतामा आज भएको चिकित्सा शिक्षा आयोगको १६ औँ बैठकले निजी मेडिकल कलेजमा अध्ययनरत आवासीय चिकित्सकलाई सरकारी सरह (आठौँ तह) को निर्वाह भत्ता उपलब्ध गराउने निर्णय गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको आयोगको बैठकमा यसबीचमा सम्बन्ध पक्षसँग भएका छलफल र प्राप्त प्रतिवेदनसमेतका आधारमा आवासीय चिकित्सकको समान सुविधा (मासिक रु ४८ हजार सात सय) कायम गर्नुपर्ने निर्णय भएको हो ।
अन्य विषयमा थप छलफल गरी छिट्टै आयोगको बैठकबाट निर्णय लिने निष्कर्ष निकालिएको छ ।
बैठकले सम्बन्धित कलेजमा दुई वर्ष अध्ययन र कामको सम्झौता गर्न नमान्ने विद्यार्थीसँग वार्षिक रु २३ लाख शुल्क लिने विषयमा पनि छलफल भएको छ ।
हाल निजी मेडिकल कलेजले मासिक रु २० हजार निर्वाह भत्ता दिँदै आएका छन् । पोष्ट ग्राजुएट तहका विद्यार्थीले समान सुविधाका लागि आन्दोलन जारी राखेको र आयोगका परीक्षासमेत प्रभावित हुने स्थितिमा प्रधानमन्त्री एवं अध्यक्ष ओलीको अग्रसरतामा समस्या समाधानको पहल भएको हो ।
बैठकमा निजी मेडिकल कलेज एसोसिएनका अध्यक्ष प्रा डा ज्ञानेन्द्रमान सिंह कार्कीले कार्यविधि बनेपछि निर्णय गर्न आग्रह गरेका थिए तर आयोगका प्रधानमन्त्री ओली, सहअध्यक्षहरु स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेल र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भटराईले आवासीय चिकित्सकको समान सुविधाको प्रतिबद्धताबाट पछि हट्न नसकिने स्पष्ट गरेका थिए ।
चिकित्सा शिक्षाको एकीकृत नियमन, अनुगमन, प्रवेश परीक्षा सञ्चालन, शिक्षण संस्थाको विद्यार्थी सिट सङ्ख्या र शिक्षण शुल्क निर्धारणसम्बन्धी कार्यहरु गर्दै आएको आयोगको बैठकमा राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ मा आवश्यक संशोधनको प्रक्रिया थाल्ने विषयमा पनि छलफल भएको थियो ।
मुलुकमा समाजवादी क्रान्तिको सुरुवात : प्रचण्ड
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुलुकमा समाजवादी क्रान्तिको सुरुवात भएको बताएका छन् ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) काभ्रेपलाञ्चोक जिल्ला समन्वय समितिले आज धुलिखेलमा आयोजना गरेको ‘राजनीतिक तथा वैचारिक प्रशिक्षण एवं पार्टीको पालिकास्तरको नयाँ निर्वाचित समितिलाई बधाई’ कार्यक्रममा उनले आफू तेस्रो पटक प्रधानमन्त्री हुँदा सुशासन, सामाजिक न्याय र समृद्धिकोे थालनी गरेसँगै समाजवादी क्रान्तिका सुरुवात भएको बताएका हुन् ।
उनले भने,“आर्थिक सङ्कट समाधान र समृद्धिका पक्षमा सरल काम गरेर नयाँ र महत्वपूर्ण सन्देश दिन सफल भएको छु ।” उनले आफू १८ महिना प्रधानमन्त्री हुँदा गरेको कामले विस्तारै जनतामा परिवर्तन ल्याउने विश्वास व्यक्त गरे ।
अब ०८४ मा बहुमत ल्याएर समाजवादतिर देशलाई डोर्याउने लक्ष्य रहेको उनले बताए । पार्टीले प्रतिस्पर्धाकै बाटोबाट समाजवादी क्रान्तिको थालनी गरिरहेको उनले उल्लेख गरे ।
जनताबाट ऊर्जा प्राप्त भएको बताउँदै उनले अब हुलाकी मार्ग र पूर्वपश्चिम मार्ग, मध्यपहाडी लोकमार्ग र हिमाली अभियान आगामी फागुन १२ गतेबाट सुरु गरिने जानकारी दिए ।
कार्यक्रममा पार्टीका उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले वर्ग सङ्घर्षमा भन्दा अन्तरसङ्घर्षमा रम्न थालेर बिग्रेको बताउँदै अब विचार र राजनीतिलाई जोड दिन आग्रह गरे ।
बालयौन दुर्व्यवहारमा मदन राईलाई साढे २ वर्ष कैद सजाय
बालयौन दुरुपयोगको आरोपमा दोषी ठहर भएका मदन राईलाई जिल्ला अदालत खोटाङले २ वर्ष ६ महिना कैद सजाय र एक लाख जरिवाना हुनै फैसला गरेको छ ।
न्यायाधीश नारायणप्रसाद दाहालको इजलासले शुक्रबार राईलाई सो सजाय तोकेका हुन् । पीडित बालिकालाई एक लाख ५० हजार क्षतिपूर्तीको पनि सजाय न्यायाधीश दाहालको इजलासले सुनाएको छ ।
राईमाथि नैतिक पतन देखिनेगरी कसूर ठहर भएको भट्टराईले बताए । आफैंले स्थापना गरेको शुभद्रा मदन फाउण्डेसनमा पढ्ने बालिका र किशोरीहरुलाई यौन दुर्व्यवहार गरेको आरोपमा यसअघि नै उनी दोषी ठहर भएका थिए ।
माघ १० मा दोषी ठहर भएका राईलाई सजाय निर्धारणका लागि शुक्रबारको पेसी तोकिएको थियो ।
रविलाई झुटो मुद्दा लगाएर फसाउने सरकारको कुनियत जनताले बुझिसके : डिपी अर्याल
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डोलप्रसाद अर्यालले पार्टीका सभापतिमाथिको सरकारको रवैयालाई संसदले पनि समर्थन गरेको भन्दै आपत्ति जनाएका छन् ।
शुक्रवारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले यस्तो आपत्ति जनाएका हुन् । उनले सरकारले प्रतिशोध साँधेर पार्टी सभापति रवि लामिछानेमाथि रवैया देखाएको आरोप लगाए ।
उनले चौथो ठूलो दलको सभापतिमाथि यो हदसममको प्रतिशोधको मूल्य सरकारले चुकाउनुपर्ने चेतावनी दिए । ‘एउटा व्यक्ति जो चौथो ठूलो दलको सभापतिमाथि यो हदसममको प्रतिशोधको मूल्य सरकारले पक्कै पनि चुकाउनुपर्नेछ । झुटो मुद्दा लगाएर फसाउने सरकारको कुनियत जनताले बुझिसकेका छन् । सरकारको यस्तो रवैयालाई सार्वभौम संसदले समर्थन नगरोस्’ उनले भने ।
सांसद अर्यालले थुनामा नरहेको अवस्थामा सांसद पद निलम्वन नहुने व्यवस्थालाई कार्यान्वयन गर्दै रवि लामिछानेको सांसद पदको निलम्वन तत्काल फुकुवा गर्न माग गरे ।
उनले भने– ‘प्रतिनिध सभाको नियमावली २०७९ को नियम १४८ को उपनियम ३ को सही प्रयोग होस् भन्ने चाहन्छु । थुनामा नरहेको अवस्थामा सांसद पद निलम्वन नहुने व्यवस्थालाई कार्यान्वयन गर्दै रवि लामिछानेको सांसद पदको निलम्वन तत्काल फुकुवा गर्न मान्य सभामुख महोदयसँग् माग गर्दछु ।’
देश विकास गर्ने अनुकुल समय यही हो : पूर्वराष्ट्रपति भण्डारी
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको शिक्षा क्षेत्र बरालिएको महशुस गरेको बताएकी छन् ।
शुक्रवार अरुणोदय माध्यामिक विद्यालयको ६० औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् । उनले शिक्षा राष्ट्र निर्माणको मुल खम्बा हुनुपर्नेमा त्यसो हुन नसकिरहेको बताएकी हुन् ।
माध्यामिक तह पास गरिसकेपछि विदेश अध्ययनका लागि विद्यार्थी जाने वातावरणलाई अन्त्य गर्न स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्न सक्नुपर्ने बताइन् ।
पूर्वराष्ट्रपति भण्डारीले अब कस्तो विकासको नमूना प्रश्तुत गर्ने रु भन्नेमा सोच्न जरुरी रहेको बताइन् । देशमै परिवारसँग बसेर केही गरौँ भन्ने स्थिति निर्माण गर्न जरुरी रहेको बताइन् ।
देशको शिक्षा प्रणाली अध्ययनपछि रोजगारी दिनसक्ने वातावरण बनाउन जरुरी रहेको बताइन् । राष्ट्रिय जीवनलाई गरिमामय बनाउन सबैले आफ्नो गति बढाउनुपर्ने बताइन् ।
उनले शिक्षा प्रणालीमा अमुल परिवर्तन गरेर, देशको उत्पादकत्व वृद्धि गर्ने र जीवनस्तरलाई गरिमामय बनाउन जरुरी रहेको बताइन् ।
रोजगारीका लागि भौंतारिनुपर्ने अवस्थाको अन्त्य गर्नु नै अहिले नेपालको आवश्यकता रहेको बताइन् ।
शिक्षा प्रणालीमा सुधार गरेर राष्ट्रिय अर्थतन्त्रलाई मजबुत गर्नेतर्फ प्रयास गर्नुपर्ने बताइन् । देशको अर्थतन्त्र कमजोर भए सामाजिक, सांस्कृतिक क्षेत्रमा पनि कमजोर हुने बताइन् ।
उनले देश विकास गर्ने अनुकुल समय अहिले रहेको बताइन् । विगतमा तीनरतीन महिनामा सरकार परिवर्तन हुने समस्या रहेकोमा अहिले सरकार स्थायी रहेको बताइन् ।
उनले अहिले गर्न नसके कहिले पनि गर्न सकिँदैन भन्ने चासो र चिन्ता आम नागरिकमा रहेको बताइन् ।
उनले जिडिपी सन्तोष गर्ने ठाउँमा नरहेको र व्यापार घाटा चुलिएको बताइन् ।
काम गर्नेहरूलाई गफ गर्नेसँग तुलना नगरौँ : प्रकाशमान सिंह
उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले काम गर्नेहरूलाई गफ गर्नेहरूसँग तुलना गर्न नमिल्ने बताएका छन् ।
आज काठमाडौँ महानगरपालिका–२९ को वडा भवन उद्घाटन गर्दै उनले कतिपयले संविधान जारी गर्ने कुरालाई पनि केही होइन भन्ने गरेको भन्दै आपत्ति जनाए ।
‘संविधान जारी गर्नु पनि केही होइन भन्छन् । के गर्दा ठूलो काम हुने रहेछ यहाँ ? काम गर्नेहरूलाई त्यसै हावादारी गफ गर्नेहरूसँग तुलना गरेर हुन्छ ?’
उनले प्रश्न गरे ‘तपाईंहामीले होहल्ला गर्नेहरूको नियत के हो बुझ्नुपर्यो, राजनीतिमा लागेर सेवा गर्ने र ठगी खानेहरूबारे ठण्डा दिमागले लेखाजोखा गर्न आवश्यक छ ।’
उपप्रधानमन्त्री सिंहले नागरिकको चाहनाअनुसार स्थिर सरकारका लागि कांग्रेस–एमाले मिलेको भन्दै सोहीअनुसार काम भइरहेको र अर्थतन्त्र चलायमान बनाउँदै लयमा ल्याउनका लागि अध्यादेश ल्याइएको जिकिर गरे ।
यसैगरी उनले उपयोगविहीन सार्वजनिक जग्गा जनताका लागि हुनुपर्ने र स्थानीयले उपभोग गर्न पाउनुपर्नेमा जोड दिँदै सरकारले त्यसका लागि काम गरिरहेको बताए ।
उपप्रधानमन्त्री सिंहले आफूले प्रतिनिधित्व गर्ने काठमाडौँ क्षेत्र नं १ मा सडक, सामुदायिक विद्यालयका पूर्वाधारमा धेरै काम भएको उल्लेख गर्दै अब स्वास्थ्य क्षेत्रमा ध्यान दिने प्रतिबद्धता व्यक्त गरे ।
सरकारले संसदको प्रक्रिया मिच्यो : हितराज पाण्डे
नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले सरकारले संसदको प्रक्रिया मिचेको आरोप लगाएका छन् ।
बिहीवार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुसँग बोल्दै उहाँले विधयानसम्बन्धी विधेयकमा आफूलाई मन लागेको कुरा समावेश गरेर पास गर्न खोजेको आरोप लगाएका हुन् । उनले समितिबाट सर्वसम्मत पास भएर आएको प्रतिवेदन संसदमा प्रश्तुत गर्दा जनतालाई झुक्याउने प्रयास गरेको बताए ।
कानून निर्माण जस्तो गम्भिर विषयमा आफूलाई मन लागेका कुराहरु घुसाउने र बहुमतको धाक लगाउने कार्य गलत भएको जिकिर छ । उहाँले सरकारले कानून मिचेर अध्यादेश ल्याएको समेत आरोप लगाए ।
पाण्डेले भने,‘आज सदनमा सरकारले सदनलाई पनि लटरपटर गरेर कानून बनाउनेतिर लैजान खोज्यो । आज हाम्रो कानून, न्याय तथा मानव अधिकार समितिको प्रतिवेदनउपर छलफल थियो । त्यो प्रविदेन सर्वसम्मत रुपमा पारित भएर आएको थियो । तर सरकारले के घुसाउनुपर्ने थियो त्यसमा माननीय कानून मन्त्रीले स्पष्टताका साथ पनि राख्नु भएन । तर केही विषयवस्तु राख्ने प्रयत्न पनि गर्नुभयो । के भएको भनेर संसद सचिवालयसँग कुरा गरियो । त्यसबाट पनि जवाफ आएन । यसरि कानून निर्माणजस्तो विषयवस्तुमा आफूलाई मन लागेका कुराहरु कानूनमा घुसाउने र हामीसँग बहुमत छ भनेर जसरि जनतालाई झुक्याउन खोजियो यो एकदम गलत भएको छ । अध्यादेशमा पनि त्यसै गरेर कानून मिच्न थालिएको छ । अब संसदको प्रक्रिया मिच्न थालियो । हाम्रो प्रक्रियाका त छलफल आयो भने पनि छलफल त्यहाँ राख्ने र त्यसपछि सरकारले जवाफ दिने थियो । तर त्यसो गरेर कानूनमा आफूलाई मन लागेको कुरा हालेर जुन पास गर्ने प्रयत्न गरियो । त्यसका विरुद्ध प्रमुख प्रतिपक्षी दलको प्रमुख सचेतकको हिसावले मैले विषयवस्तु उठाए ।’
आजको बैठकमा कानून न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसियाले विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संसदमा पेस गरेका थिए ।
कांग्रेस नेता विश्वकर्माविरुद्ध मेयर साम्पाङले दिए अख्तियारमा उजुरी
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माविरुद्ध शुक्रबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमा उजुरी परेको छ ।
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले विश्वकर्मामाथि कारबाही माग गर्दै अख्तियारमा उजुरी दिएका हुन् ।
एक टेलिभिजन अन्तर्वार्तामा विश्वकर्माले एडीबीबाट ऋण तथा अनुदान लिएर धरानमा खानेपानी आयोजना बनाएको कुरा विश्वकर्माले उल्लेख गरेको र उक्त अन्तर्वार्तामा उल्लेख गरेकोजस्तो रकम आएको नदेखिएको वा हिनामिना भएको देखिने विषय मा मेयर साम्पाङले विश्वकर्माविरूद्ध अख्तियारमा उजुरी दिएका हुन् ।
घट्यो सुनको मूल्य
नेपाली बजारमा साताको कारोबारको अन्तिम दिन सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज ९शुक्रबार० सुनको मूल्य तोलामा ४ सयले घटेको हो ।
आज छापावाल सुनको मूल्य तोलामा १ लाख ६८ हजार १ सय रुपैयाँ कायम भएको छ । यसअघि बिहीबार सुनको मूल्य तोलामा १ लाख ६८ हजार ५ सय रुपैयाँ कायम भएको थियो ।
चाँदीको ५ रुपैयाँ बढेर १ हजार ९ सय ८५ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन चाँदीको मूल्य तोलामा १ हजार ९८० रुपैयाँ थियो ।
घरेलु मैदानमा जित विहीन बन्यो नेपाल, छैटौँ खेलमा पनि पराजित
महिला टी–ट्वान्टी श्रृङ्खलामा नेपाल जित विहीन बनेको छ । लगातार छैटौँ खेलमा पनि नेपाल पराजित भयो ।महिला टी–ट्वान्टी श्रृङ्खलाको अन्तिम खेलमा नेपाल थाइल्यान्डसँग पराजित भयो । जारी सिरिजमा नेपालले लगातार खराब प्रदर्शन गर्यो ।
सिरिजको अन्तिम खेलमा थाइल्यान्डले नेपाललाई ७ विकेटले पराजित गर्यो । जितका लागि ८२ रनको सामान्य लक्ष्य पाएको थाइल्यान्डले १७ औँ ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो ।
थाइल्यान्डका लागि चाइवाईले सर्वाधिक २७ रन बनाइन् । नन्नपत कोन्चरोएनकाईले २३ रनको योगदान दिइन् ।
नटय बुचथमले ११ रन बनाइन् भने फन्निता मायाले ९ रन थपिन् । अपिसरा सुवान्चोराथी ९ रनमा नटआउट रहिन् ।
बलिङमा भने नेपालका लागि इन्दु बर्माले सर्वाधिक २ विकेट लिइन् । पूजा महतोले १ विकेट हात पारिन् । अन्य बलर विकेट विहीन रहे ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ७ विकेट गुमाउँदै ८१ रनमा समेटियो ।
नेपालका लागि सम्झना खड्काले १७, कविता जोशीले १४, राजमती ऐरीले अविजित ११ तथा कप्तान इन्दु बर्माले १० रन बनाइन् ।
बलिङतर्फ थाइल्यान्डकी ओनिचा कामचोम्फुले तीन तथा चानिदा सुत्थीरुआंग, नाट्टाया बुचाथम र सुलेपोर्न लाओमीले समान एक एक विकेट लिइन् ।
नेपाल यसअघि खेलेका पाँचवटै खेलमा पराजित भएको थियो । यसअघि नेपाल नेदरल्याण्डससँग २० रन, १५ रन र १० विकेटले तथा थाइल्यान्डसँग चार विकेट र पाँच रनले पराजित भएको थियो । प्रतियोगितामा थाइल्याण्ड च्याम्पियन बनेको छ ।
आहा!रारा पोखरा गोल्डकप : थण्डर बोल्डले सङ्कटा क्लबलाई हरायो
पोखरामा जारी राष्ट्रिय तथा अन्तरराष्ट्रिय अन्तर क्लब आमन्त्रित आहा ! रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगितामा पाहुना टोली भारत सिक्किमको थण्डर बोल्ड नर्थ युनाइटेड क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
पोखरा रङ्गशालामा शुक्रवार भएको खेलमा प्रतियोगिताको तीन पटकको च्याम्पियन सङ्कटा फुटबल क्लबलाई ३–१ गोलले पराजित गर्दै पाहुना टोली थण्डर बोल्डले प्रतियोगिताको अन्तिम आठमा स्थान बनाउन सफल भयो ।
खेलको १७औँ मिनेटमा सङ्कटाका मनिष पौडेलले पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । खेलको २४औँ मिनेटमा थण्डर बोल्टले गोल फर्काउँदै खेल बराबरीमा ल्याउन सफल भयो । सङ्कटाका पौडेलले डी बक्सभित्रबाट पासाङ लामाको पासलाई सदुपयोग गर्दै गोल गरका थिए । थण्डर बोल्टले भने पेनाल्टीमा गोल ग–यो । थन्डरका टालाले पेनाल्टीलाई सहजै गोलमा परिणत गरे । करन राईलाई लडाएपछि थण्डरले पेनाल्टीको मौका पाएको थियो ।
खेलको ७७औँ मिनेटमा थण्डरका करन राईले टिमका लागि दोस्रो गोल गरे । खेलमा फर्किन संघर्ष गरिरहेको सङ्कटाले ८४औँ मिनेटमा पुनः अर्को गोल खायो । थण्डरका आदर्श तामाङले विपक्षी टिमका किपर डिबक्सबाट बाहिर रहेको अवस्थामा मैदानको मध्यभागबाट गरेको प्रहार गोलमा परिणत भएको थियो ।
प्रतियोगितामा शनिबारदेखी क्वाटरफाइनलका खेलहरु सञ्चालन हुनेछन् । पाहुना टोली ब्रिगेड ब्वाइज क्लब यूके र विभागिय टोली नेपाल पुलिस क्लबबीच पहिलो क्वाटरफाइनल खेल हुनेछ । २४औँ संस्करणको आहा रारा पोखरा गोल्डकपमा नेपालका नौ र तीन विदेशी गरी १२ टोलीले सहभागिता जनाएका छन् ।
प्रतियोगिताको विजेताले नगद रु १२ लाख सहित शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्दा उपविजेताले रु छ लाखसहित शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार पाउनेछन् । यसैगरी प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले स्कुटर पुरस्कार प्राप्त गर्ने छ ।
प्रतियोगितामा विधागत रूपमा सर्वाधिक गोलकर्ता, उत्कृष्ट डिफेन्डर, गोलरक्षक, मिडफिल्डर, स्ट्राइकर र प्रशिक्षकले रु २५ हजार नगदसँगै ट्रफी पुरस्कार पाउने र फेयर प्लेको रूपमा एक टोलीलाई पुरस्कृत गरिने आयोजकले जनाएको छ ।
ट्रम्पले लगाए अन्तर्राष्ट्रिय फौजदारी न्यायालयलाई प्रतिबन्ध
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) माथि विभिन्न प्रतिबन्धहरू लागु गर्ने एक कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् ।
उनले उक्त निकायमाथि ‘अवैध र आधारहीन कदमका भरमा अमेरिका र हाम्रो निकट साझेदार इजरेललाई निशानामा पारेको’ भन्ने आरोप पनि लगाएका छन् ।
सो कार्यकारी आदेश अनुसार अमेरिकाको नागरिक वा उस्का साझेदारहरूविरुद्धका आईसीसी अनुसन्धानमा संलग्न व्यक्ति र तिनका परिवारलाई आर्थिक तथा भिसा प्रतिबन्ध लागु हुनेछन् । इजरेली प्रधानमन्त्री बेन्जमिन नेतन्याहू वासिङटन भ्रमणमा रहँदा ट्रम्पले ती कदमहरूमा हस्ताक्षर गरेका हुन् ।
गत नोभेम्बरमा आईसीसीले गाजामा भएको भनिएका ‘युद्ध अपराध’ का लागि नेतन्याहूविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो। उक्त आरोप इजरेलले अस्वीकार गर्छ । आईसीसीले हमासका एक कमाण्डरविरुद्ध समेत पक्राउ पुर्जी जारी गरेको थियो ।
बिहीवार ह्वाइटहाउसभित्र पठाइएको एक लिखित निर्देशनमा हमास र इजरेलविरुद्ध एकै समयमा त्यस्तो पुर्जी जारी गरेर द हेगस्थित आईसीसीले हमास र इजरेलबीच ‘लाजमर्दो तरिकाले नैतिक समानता’ देखाएको आरोप लगाएको छ।
ट्रम्पको कार्यकारी आदेशले आईसीसीका पछिल्ला कदमले ‘एक खतरनाक नजिर’ खडा गरेको भन्दै त्यसले अमेरिकीहरूलाई ‘अनावश्यक झमेला , दुर्व्यवहार र सम्भावित गिरफ्तारी’को जोखिममा पार्ने जनाएको छ । ‘यस गलत आचरणले अमेरिकाको सार्वभौमसत्तामा असर पार्ने खतरा रहेको र इजरेलसहित अमेरिका र हाम्रा साझेदारको महत्त्वपूर्ण राष्ट्रिय सुरक्षा र विदेश नीतिका कामलाई प्रभावित तुल्याउन सक्छ,’ सो आदेशमा भनिएको छ । बीबीसी








