काम गर्नेहरूलाई गफ गर्नेसँग तुलना नगरौँ : प्रकाशमान सिंह

काठमाडौँ । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले काम गर्नेहरूलाई गफ गर्नेहरूसँग तुलना गर्न नमिल्ने बताएका छन् ।

आज काठमाडौँ महानगरपालिका–२९ को वडा भवन उद्घाटन गर्दै उनले कतिपयले संविधान जारी गर्ने कुरालाई पनि केही होइन भन्ने गरेको भन्दै आपत्ति जनाए ।

‘संविधान जारी गर्नु पनि केही होइन भन्छन् । के गर्दा ठूलो काम हुने रहेछ यहाँ ? काम गर्नेहरूलाई त्यसै हावादारी गफ गर्नेहरूसँग तुलना गरेर हुन्छ ?’

उनले प्रश्न गरे ‘तपाईंहामीले होहल्ला गर्नेहरूको नियत के हो बुझ्नुपर्यो, राजनीतिमा लागेर सेवा गर्ने र ठगी खानेहरूबारे ठण्डा दिमागले लेखाजोखा गर्न आवश्यक छ ।’

उपप्रधानमन्त्री सिंहले नागरिकको चाहनाअनुसार स्थिर सरकारका लागि कांग्रेस–एमाले मिलेको भन्दै सोहीअनुसार काम भइरहेको र अर्थतन्त्र चलायमान बनाउँदै लयमा ल्याउनका लागि अध्यादेश ल्याइएको जिकिर गरे ।

यसैगरी उनले उपयोगविहीन सार्वजनिक जग्गा जनताका लागि हुनुपर्ने र स्थानीयले उपभोग गर्न पाउनुपर्नेमा जोड दिँदै सरकारले त्यसका लागि काम गरिरहेको बताए ।

उपप्रधानमन्त्री सिंहले आफूले प्रतिनिधित्व गर्ने काठमाडौँ क्षेत्र नं १ मा सडक, सामुदायिक विद्यालयका पूर्वाधारमा धेरै काम भएको उल्लेख गर्दै अब स्वास्थ्य क्षेत्रमा ध्यान दिने प्रतिबद्धता व्यक्त गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *