सरकारले जनताको सुसूचित हुन पाउने अधिकारमाथि बन्देज लगाउन खोज्यो : सुमना श्रेष्ठ

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले सामाजिक सञ्जालसम्बन्धी विधेयक यही अवस्थामा पास हुन दिन नहुने बताएकी छन् ।

बिहीबार संसद भवनमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएकी हुन् ।

उनले सामाजिक सञ्जालसम्बन्धी विधेयकमार्फत स्वतन्त्र पत्रकारिता र जनताको सुसूचित हुन पाउने अधिकारमाथि बन्देज लगाउन खोजेको बताइन् । उनले नयाँ सांसदहरूको मुख नै बन्द गर्नेगरी सरकारले पेलेर विधेयक पास गर्ने मनसाय बनाएको उल्लेख गर्दै त्यसो गर्न नदिने बताइन् ।

उनले भनिन् ‘दलहरूका लागि जताततै भ्रातृ सङ्घहरूको बिगबिगी छ । तर सामाजिक सञ्जालले आम नागरिकलाई आफ्नो धारणा राख्नको लागि अवसर दिएको छ । बेथिति भइरहेका ठाउँहरू देखाउनका लागि पनि सामाजिक सञ्जालले सहयोग गरेको छ । त्यो पावर जनतामा गएपछि जनता सुसूचित हुन्छ भनेर सरकारले सामाजिक सञ्जाल विधेयकको माध्यमबाट अख्तियारी लिन खोजेको देखिन्छ । स्वतन्त्र पत्रकारितामा पनि बन्देज गर्न खोजे जस्तो लाग्छ । अनि हामी नयाँ आएका सांसदहरूको मुखमा बुझो लाउन खोजिएको छ । यो विधेयक संघीय संसदको राष्ट्रिय सभामा दर्ता भएको विधेयक जुन तरिकाले आएको छ सरकारले त्यही तरिकाले पेलेर लान्छ । त्यसकारण यो सामाजिक सञ्जाल विधेयकका सन्दर्भमा सरकारले बोलेको अर्कै छ गरेको अर्कैतिर छ । सामाजिक सञ्जालसम्बन्धी विधेयक फिर्ता जानुपर्छ । यसमा कस्ता कुराहरू राख्ने, यसका नियम र नीतिहरू कस्ता हुन्छन् भनेर कन्टेन्ट क्रियटरहरुसँग छलफल गरेर मात्र अघि बढ्नुपर्छ ।’

उक्त विधेयक अगाडि बढाउनुभन्दा अगाडि कन्टेन्ट क्रियटरहरुसँग आवश्यक छलफल गरेर मात्र विधेयक अगाडि बढाउन सरकारलाई आग्रह समेत गरिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *