संविधान संसोधनको फिल्म चलेन : अध्यक्ष दाहाल

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारले गरेको संविधान संसोधन फिल्म नचलेको बताएका छन् । उनले बिहीबार प्रतिनिधि सभा बैठकमा बोल्दै सो कुरा बताएका हुन् ।
‘म अलिकति संविधान संशोधनबारे पनि बोल्न चाहन्छु । यो सरकार बन्दै गर्दा चारैतिर संविधान संशोधनको गानाबजाना थियो । के के संशोधन हुन्छ, कसरी संशोधन हुन्छ, कहाँ संशोधन हुन्छ, पूरा व्याख्या र विश्लेषण थियो । अहिले लोडसेडिग भयो कि के भयो ? त्यो फिल्म धेरै चलेको देख्दिनँ । प्रधानमन्त्री ओलीजीले पार्टीकै औपचारिक कार्यक्रममा दोहर्याइदोहोर्याइ संविधान संशोधन ०८७ सालमा हुन्छ भनेको सुनेँ । आज म विशेष गरी नेपाली कांग्रेसका साथीहरुलाई सोध्न चाहन्छु, अब म संविधान संशोधनबारे म बोलौं कि नबोलौं ? हिजो दुई प्रतिस्पर्धी दल मिले भन्ने समाचार अलि लज्जापूर्ण हुन्छ भनेर तपाईहरुले त्यसलाई संविधान संशोधनको सैद्धान्तिक जामा लगाइलिनुभएको छ भनेर मैले यही रोष्टमबाट भनेको थिएँ, जुन अहिले पुष्टि भएको छ,’अध्यक्ष दाहालले भने ।








