अर्जुन ट्रफी क्रिकेटमा धनगढीको पहिलो जित

फाप्ला । कैलालीको धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आइतबार सम्पन्न दोस्रो खेलमा डिसिए धनगढी विजयी भएको छ ।

पहिलो जित दर्ता गर्ने क्रममा धनगढीले घोडाघोडी–११ सुखडलाई ६९ रनले पराजित गर्‍यो । जितका लागि पाएको १५० रनको लक्ष्य पछ्याएको सुखड १६ दशमलव पाँच ओभरमा ८० रनमा समेटियो ।

टेक रावतले १८ र दीपक टमटाले १३ रन बनाउनुबाहेक अन्यले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । बलिङमा धनगढीका ललित राजवंशीले तीन, मिलन बोहरा र राहुल भण्डारीले दुई/दुई विकेट लिए ।

यसअघि फाप्ला क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको धनगढीले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा १४९ रन बनायो । जसमा राजु रिजालले ३७, लोकेश बमले ३१ र अभिषेक पालले २८ रनको योगदान गरे । सुखडका लागि लकी स्मिथले तीन र नरेन साउदले दुई विकेट झारे ।

गो ड्रिमर्सको आयोजनामा सुरु भएको प्रतियोगिताका विजेताले नगद रु १० लाख र उपविजेताले नगद रु पाँच लाखसहित ट्रफी पाउनेछन् । प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई नगद रु एक लाख प्रदान गरिनेछ ।

उत्कृष्ट ब्याटर, उत्कृष्ट बलर र उदीयमान खेलाडीले जनही रु ५०–५० हजार पाउनेछन् । प्रत्येक खेलका म्यान अफ दी म्याचलाई नगद रु १० हजार प्रदान गरिनेछ ।

यही माघ १९ गतेदेखि सुरु भएको प्रतियोगितामा आठ टोलीको सहभागीता रहेको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) को वार्षिक क्यालेन्डरमा समावेश यो प्रतियोगिता यही माघ २८ गतेसम्म सञ्चालन हुनेछ ।

सुदूरपश्चिम प्रदेशको क्रिकेटमा योगदान पुर्‍याएका स्व.अर्जुन खड्कालाई समर्पित गर्दै प्रतियोगिता आयोजना गरिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 5 =