खबर दिनभर : अध्यादेशमा परिमार्जन गर्न सुझाव,थाइल्याण्डसंग हार्‍यो नेपाल

प्रधानमन्त्रीसमक्ष सहकारीसम्बन्धी अध्यादेशमा परिमार्जनको सुझाव

प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रीय सहकारी तथा गरिबी निवारण विभाग र राष्ट्रिय सहकारी महासङ्घ लिमिटेड नेपालले हालै जारी भएको सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न ल्याइएको अध्यादेशका कतिपय प्रावधानलाई प्रतिस्थापन विधेयकमार्फत परिमार्जन गर्न सुझाएको छ ।

प्रधानमन्त्री निवासमा एमालेको केन्द्रीय सहकारी विभागका प्रमुख खगराज अधिकारी र महासङ्का अध्यक्ष ओमदेवी मल्लले आज बेग्लाबेग्लै सुझावपत्र प्रधानमन्त्रीलाई हस्तान्तरण गरी अर्थतन्त्रको सुदृढीकरणमा महत्वपूर्ण भूमिका रहेको सहकारी क्षेत्रलाई व्यवस्थित गर्न अध्यादेशमार्फत लिइएको कदम सकारात्मक भए पनि कतिपय व्यवस्था परिवर्तनयोग्य विषयहरुबारे ध्यानाकर्षण गराएका हुन् ।

कुनै व्यक्ति बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको सञ्चालकमा दुई कार्यकाल भन्दा बढी अवधिका लागि निर्वाचित हुन नपाउने र बहाल रहन नसक्ने अध्यादेशको व्यवस्थालाई संशोधन गरी एकै पदमा लगातार दुई कार्यकालभन्दा बढी अवधिका लागि निर्वाचित हुन नपाउने व्यवस्था गर्न माग गरिएको छ ।

सुुझावपत्र ग्रहण गर्दै प्रधानमन्त्री ओलीले प्रतिस्थापन विधेयकमार्फत प्रस्तुत विषयमा छलफल गरिने र सत्तासाझेदार दलसँग पनि सरकारको ध्यानाकर्षण गराइएका विषयमा परामर्श गर्नुपर्ने बताए ।

जनतामा राजनीतिक चेतना बढ्दै गएको छ : प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली जनतामा राजनीतिक चेतना बढ्दै गएको बताएका छन् ।

नेकपा (माओवादी केन्द्र) चितवनले आज आयोजना गरेको पार्टी प्रवेश एवं प्रशिक्षण कार्यक्रममा अध्यक्ष दाहालले देशभरि जनताको तहमा, वामपन्थी तहमा र समग्र राजनीतिक तहमा नयाँ चेतनाको विकास भएको पाइएको बताए ।

उनले भने ‘माओवादी केन्द्रप्रति जनतामा ठूलो भरोसा बढेको छ ।’ अहिले पार्टीका वर्गीय सङ्गठनलाई बलियो बनाउनतर्फ आफू लागेको अध्यक्ष दाहालले बताए ।

सो अवसरमा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का जिल्ला उपाध्यक्ष गङ्गा लामा, केन्द्रीय सल्लाहकार अरुणपीडित भण्डारी, केन्द्रीय लेखा आयोगका सदस्य कृष्णराज न्यौपानेसहितका नेता कार्यक्रकर्ता नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका थिए ।

कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य घनश्याम दाहाल, माओवादी केन्द्रका जिल्ला संयोजक रामचन्द्र अधिकारीलगायतले आ–आफ्नो धारणा राखे ।

कांग्रेस भूमिहीन बसोबास समन्वय विभागमा १० सदस्य मनोनीत

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भूमि व्यवस्था तथा भूमिहीन बसोबास समन्वय विभाग सदस्यमा १० जनालाई मनोनयन गरेका छन् ।

कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम पार्टीका केन्द्रीय सदस्य नृपबहादुर वड प्रमुख रहेको विभाग सदस्यमा १० जनालाई मनोनयन गरेको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

मनोनयन हुनेमा राजकुमार पाण्डे (काठमाडौँ), ज्ञानबहादुर शाही (जाजरकोट), देवकीदेवी सिंह (डडेल्धुरा), कल्पना श्रेष्ठ (भक्तपुर), श्यामकृष्ण महर्जन (काठमाडौँ), सरिता बिसी (रुकुम पूर्व), विजयजङ्ग बस्नेत (मोरङ), प्रेमबहादुर विक (नवलपरासी), सञ्जीव पुडासैनी (गोरखा) र सपुतबहादुर कार्की (रौतहट) रहेका छन् ।

एम्बुलेन्स चालकको समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराउँछु : प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एम्बुलेन्स चालकहरूको समस्या समाधानका लागि आफू प्रतिबद्ध रहेको बताएका छन् ।

शनिवार आयोजित संयुक्त एम्बुलेन्स चालक सङ्घ नेपालको सातौँ वार्षिकोत्सव तथा साधारणसभालाई सम्बोधन गर्दै उनले समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराउनेसमेत बताए ।

अध्यक्ष दाहालले सङ्घले राखेका माग कार्यान्वनका लागि सडक र सदन दवैै ठाउँबाट सरकारको ध्यानाकर्षण गराउने आश्वासन दिए । ‘एम्बुलेन्स चालकहरूका समस्या समाधानका लागि म मेरो तर्फबाट प्रतिबद्ध छु । यसमा सरकारको ध्यान केन्द्रित गर्न मेरो भूमिका हुनेछ’ उनले भने ।

पूर्वप्रधानमन्त्री दाहालले नेपाली जनतामा राजनीतिक चेतना बढ्दै गएको उल्लेख गर्दै अब हरेक क्षेत्रमा देखिएको बिचौलियाको प्रभाव रोक्न सबै वर्ग एकताबद्ध हुन आवश्यक रहेको धारणा राखे । उनले पार्टी मातहतका जनवर्गीय सङ्गठनहरुलाई बलियो बनाउने नीतिअनुसार पार्टीलाई चलायमान बनाइएको बताए ।

कार्यक्रममा भरतपुर महानगरप्रमुख रेनु दाहाल, सङ्घका कानुनी सल्लाहाकार एकराज भण्डारी, चितवन मेडिकल कलेजका निर्देशकहरू डा.दयाराम लम्साल, प्रताप देवकोटा, नेसनल सिटी अस्पतालका सञ्चालक सरोज ढकाललगायतले आफ्ना धारणा राखेका थिए । सङ्घका अध्यक्ष नवराज लामिछानेले एम्बुलेन्स चालकहरूले भोग्नुपरेका समस्याबारे जानकारी दिएका थिए ।

स्वागत मन्तव्य दिएर मञ्चबाट ओर्लिएका वडाध्यक्ष मियाँको निधन

नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को कावासोती नगरपालिका–१ का अध्यक्ष तवारक अहमद मियाँको हृदयघातका कारण निधन भएको छ ।

आज दिउँसो गैँडाकोटमा राष्ट्रिय युवा सङ्घको जिल्ला अधिवेशनमा सहभागी भइरहेको बेला हृदयघातका कारण निजको मृत्यु भएको युवा सङ्घका केन्द्रीय सदस्य मदन गिरिले बताए ।

राष्ट्रिय युवा सङ्घ नेपाल नवलपुरको दशौँ जिल्ला अधिवेशनमा स्वागत मन्तव्य व्यक्त गरेर मञ्चबाट ओर्लिएका उनी त्यहीँ लडेका थिए । उनलाई तत्काल चितवन मेडिकल कलेज लगिएकामा चिकित्सकले उनलाई मृत घोषित गरेका सदस्य गिरिले बताए ।

सैतीस वर्षका उनका श्रीमती, तीन छोरी र एक छोरा छन् । राष्ट्रिय युवा सङ्घ नेपाल नवलपुरका सहसचिवसमेत रहेका उनी स्थानीय तह निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का तर्फबाट निर्वाचित भएका थिए ।

प्रशिक्षक देशाईको सम्झौता नवीकरण नगर्ने क्यानको निर्णय

नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक मोन्टी देशाईको सम्झौता नवीकरण नगर्ने भएको छ । उनीसँगको सम्झौता सकिएसँगै सम्झौता नवीकरण नगर्ने निर्णय भएको क्यानका प्रवक्ता छुम्बी लामाले बताए ।

उनीसंग सन् २०२३‌ मा भएको दुई वर्षको सम्झौता सकिएको हो ।

मोन्टीको प्रशिक्षणमा नेपाली क्रिकेट टिमले १० वर्षपछि आईसीसी टी–२० विश्वकप पनि खेलेको थियो ।

उनले केही दिनअघि नेपालका युवाहरूलाई ब्याटिङ क्लिनिकमा पनि समावेश गराएका थिए ।

क्यानले उनको योगदानका लागि धन्यवाद पनि दिएको छ ।

त्रिकोणात्मक महिला क्रिकेट श्रृङ्खला : थाइल्याण्डद्वारा नेपाल ४ विकेटले पराजित

त्रिकोणात्मक अन्तर्राष्ट्रिय महिला टी–ट्वान्टी सिरिजअन्तर्गत दोस्रो खेलमा नेपाल थाइल्याण्डसँग पराजित भएको छ । थाइल्याण्डले नेपाललाई चार विकेटले हराएको हो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालकी कप्तान इन्दु बर्माले टस जितेर ब्याटिङ गर्ने निर्णय लिइन् । नेपाली महिला टोलीले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर एक सय एक रन बनायो । नेपालका लागि कविता कुँवरले २५ रन बनाइन् । उनले ३२ बल खेल्ने क्रममा दुई चौकासमेत प्रहार गरिन् । यस्तै बिन्दुले २५ बलमा तीन चौका हानिन् । यस्तै कप्तान इन्दु बर्माले १५ रन बनाइन् ।

बलिङतर्फ थाइल्याण्डका लागि थिपचा पुत्थावोङ्गले तीन, फन्निता माया र नाट्टाया बुचाथमले दुई दुई तथा चानिदा सुत्थीरुआङ्गले एक विकेट लिइन् ।

एक सय दुई रनको विजयी लक्ष्य थाइल्याण्डले १९ ओभरमा ६ विकेट गुमाएर पूरा गर्‍यो । थाइल्याण्डका लागि नान्नापत खोन्चरोएन्कले अविजित ६० रनको योगदान दिइन् । उनले ५८ बल खेल्दै ६ चौका प्रहार गरिन् । यस्तै सुवानान खियाओतोले १४ तथा कप्तान नारुइमोल चाइवाईले १३ रन बनाइन् ।

बलिङतर्फ नेपालका लागि मनिषा उपाध्यायले दुई तथा कविता कुँवर, रुविना क्षेत्री र कविता जोशीले एक एक विकेट लिइन् । यसअघि नेपाल पहिलो खेलमा नेदरल्याण्ड्ससँग २० रनले पराजित भएको थियो । थाइल्याण्डले भने आफ्नो पहिलो खेलमा नेदरल्याण्ड्सलाई आठ विकेटले पराजित गरेको थियो ।

सहकारीमा रकम बचतको ग्यारेन्टी आजको आवश्यकता : देउवा

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सहकारीमा रकम जम्मा गर्नेहरूको रकमको ग्यारेन्टी हुनु आजको आवश्यकता भएको बताएका छन् ।

शनिवार पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले यस्तो बताएका हुन् । उनले वर्तमान अवस्थामा सहकारी क्षेत्रमा देखापरेका विभिन्न किसिमका विकृति, विसंगतिहरुको अन्त्य गर्न जरुरी रहेको बताए ।

उनले वास्तविक सहकारी आन्दोलनको विकास, बिस्तारका लागि सबै सहकारीहरू सहकारीको सर्वमान्य आधार, मूल्य, मान्यता र सिद्धान्तअनुसार सञ्चालन हुनुपर्छ भन्नेमा पार्टी प्रतिबद्ध रहेको बताए ।

उनले आम नागरिकहरूले दुःख कष्ट, मेहनत गरेर सहकारीमा जम्मा गरेको लाखौँ रकम सहकारी सञ्चालकले अपचलन र दुरुपयोग गर्दा बचत कर्ताहरू पीडित भएको बताए । सरकारले समयानुकूल सहकारीमैत्री ऐन, नियमहरूको व्यवस्था गर्नुपर्ने महसुस गरेर अध्यादेश ल्याएको बताए । उनले सहकारी आन्दोलनमा गुणात्मक सुधार हुँदा समग्र अर्थतन्त्रमा नै सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गरे ।

सभापति देउवाले भने ‘वर्तमान अवस्थामा सहकारी क्षेत्रमा देखा परेका विभिन्न किसिमका विकृति, विसंगतिहरुको अन्त्य गरी वास्तविक सहकारी आन्दोलनको विकास, बिस्तारका लागि सबै सहकारीहरू सहकारीको सर्वमान्य आधार, मूल्य, मान्यता र सिद्धान्तअनुसार सञ्चालन हुनुपर्छ भन्नेमा पार्टी प्रतिबद्ध छ । आम नागरिकहरूले अत्यन्त दुःख कष्ट, मेहनत गरेर सहकारीमा जम्मा गरेको लाखौँ बचत कर्ताहरू सहकारी पीडित भएका छन् । त्यो रकम सहकारी सञ्चालकले अपचलन र दुरुपयोग गरेको सन्दर्भमा बचतकर्ताहरूको बचतको ग्यारेन्टी हुनुपर्दछ र आजको आवश्यकता पनि त्यही हो । सहकारीकै कारण सामुदायिकको स्वावलम्वीकरण, गरिवीउन्मुलन, लोकतान्त्रिक समाजवादको संस्थागत हुन्छ भन्नेकुरामा विश्वास राख्दछ । यसका लागि सरकारले समयानुकूल सहकारीमैत्री ऐन, नियमहरूको व्यवस्था गर्नुपर्ने महसुस गरेर अध्यादेश ल्याएको छ । सहकारी आन्दोलनमा गुणात्मक सुधार हुँदा समग्र अर्थतन्त्रमा नै सकारात्मक प्रभाव पर्दछ ।’

सभापति देउवाले नेपाली काँग्रेसले सहकारीको मर्म र भावनाअनुसार समाजका विभिन्न वर्गको जीवनस्तर उकास्न सहकारी आन्दोलनलाई आम नागरिक समक्ष पुर्याउन अभियानको रुपमा बिस्तार गर्न लागिपरेको बताए ।

कांग्रेस नगर सभापति सडकपेटीमै मृत भेटिए

नेपाली कांगेसका नगर सभापति मृत अवस्थामा भेटिएका छन् । भीमदत्त नगरपालिकाका नगर सभापति अच्युत कलौनी शनिबार बिहान सडकपेटीमा मृत भेटिएका हुन् ।

कलौनी भीमदत्त नगरपालिकाको–१८ को वडा कार्यालयबाट सय मिटर पश्चिमतिर सडक पेटीमा घोप्टो परेको अवस्थामा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी चक्रराज जोशीले जानकारी दिए ।

‘शरीरमा घाउ चोट केही पनि छैन,’ उनले भने, ‘अनुसन्धान सुरु गरेका छौं ।’ कलौनीको घर पनि सोही क्षेत्रमा हो । उनको घर घटनास्थलबाट ५०० मिटरको दूरीमा छ । अहिले घटनास्थलमा प्रहरी पुगेको छ । प्रहरीले घटनास्थल शिल गरेको छ । चिकित्सकसहित टोली मगाइएको प्रहरीले जनाएको छ । मृत्युको कारण खुलेको छैन ।

नेपाल विद्यार्थी संघको राजनीतिबाट कांग्रेसको मूल राजनीतिमा आएका कलौनी हाल भीमदत्त नगर कार्यसमितिको सभापति थिए । नेपाल विद्यार्थी संघको केन्द्रीय सहमहामन्त्री समेत भइसकेका उनी महेन्द्रनगरको बैजनाथ माध्यमिक विद्यालयको व्यवस्थापन समितिको अध्यक्ष थिए ।

अर्जन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा डडेल्धुराको विजयी सुरुवात

आज (शनिवार) बाट धनगढी स्थित फाप्ला अन्तराष्ट्रिय क्रिकेट मैदानमा अर्जन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको पहिलो खेलमा धनगढी क्रिकेट एकेडेमी (डिसीए) माथि फ्रेडस क्लब डडेल्धुराले ८ विकेटको जित हासिल गर्दै विजयी सुरुवात गरेको छ । डिसीएले दिएको १ सय ३३ रनको लक्ष्य फ्रेडस क्लब डडेलधुराले १५.५ ओभरमा २ विकेट गुमाएर लक्ष्य पूरा ग¥यो ।

डडेलधुराका लागि कुशलले नट आउट रहँदै ५१ बलमा सर्वाधिक ८७ रन जोडे । विनोद भण्डारीले ४२ रन जोडे । धनगढीका ललित राजवंशी र अमित श्रेष्ठले समान १ विकेट लिए । खेलका म्यान अफ द म्याच डडेल्धुराका कुशल भए । उनले नगद १० हजार सहित ट्रफी पाए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको धनगढीले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ३२ रन बनायो । रनिङ ट्रफीको रुपमा रहेको टी–२० प्रतियोगिताको विजेताले नगद १० लाख र उपविजेताले नगद ५ लाख सहित ट्रफी पाउनेछन् ।

देशभरका ८ वटा क्लबका टीमहरुको सहभागीता रहेको प्रतियोगितामा सर्वोकृष्ट खेलाडीलाई नगद रु १ लाख प्रदान गरिनेछ । उत्कृष्ट ब्याट्सम्यान, उत्कृष्ट बलर र उदयमान खेलाडीले जनही ५० हजार पाउनेछन् । प्रत्येक खेलका म्यान अफ द म्याचलाई नगद १० हजार प्रदान गरिनेछ ।

कुम्भ मेलाबाट फर्किँदै गरेको गाडी दुर्घटना हुँदा ५ नेपालीको मृत्यु,४ जना गम्भीर घाइते

भारतको कुम्भ मेलामा सहभागी भएर फर्किँदै गरेको गाडी शनिबार साँझ दुर्घटनामा परेको छ ।

भारतको बिहारस्थित मुज्फरपुरमा नेपाली तीर्थयात्री बोकेको भारतीय गाडी दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

प्रहरी नायव उपरीक्षक (डीएसपी) वरुणबहादुर सिंहका अनुसार दुर्घटनामा ५ नेपालीको मृत्यु भएको छ । मृतक धनुषा र महोत्तरी जिल्लाका रहेको उनले बताए ।

दुर्घटनामा परी मृत्यु हुनेमा ४५ वर्षिया मन्तार्नी देवी,३० वर्षिया अर्चना ठाकुर, ६० वर्षिया बालाकृष्ण झा,५५ वर्षिया इन्दु देवी र चालक रहेका छन् ।

दुर्घटनामा ४ जना नेपाली गम्भीर घाइते समेत भएका छन् । गम्भीर घाइते हुनेहरुमा ३० वर्षिय मनोहर ठाकुर, २५ वर्षिया कामिनी झा, ७ वर्षिया सृष्टि ठाकुर र ५० वर्षिया जगतारण देवी गम्भीर घाइते रहेको प्रहरी नायव उपरीक्षक सिंहले बताए ।

शनिवार तीन इजरायली बन्धक रिहा, बदलामा १८० प्यालेष्टिनी बन्दी रिहा

हमासका लडाकूसमूहले युद्धग्रस्त गाजा पट्टीमा करिब १६ महिना बन्धक बनाएर बसेका इजरायली बन्धक यार्डेन बिबास, ओफर काल्डेरोन र किथ सिगेललाई शनिबार रिहा गरेका छन् । युद्धविराम सम्झौता अनुसार इजरायलले बन्धकको रिहाइको बदलामा १८० जनाभन्दा धेरै प्यालेस्टिनी बन्दीहरूलाई छोडेको छ ।

इजरायलले शनिवार छाड्नेमा १०० भन्दा धेरै प्यालेस्टिनी बन्दीहरू गाजाका छन् र करिब ७० जना भन्दा धेरै लामो अवधिको सजाय वा आजीवन कारावास सजाय तोकिएका व्यक्तिहरू हुन् ।

इजरायल र प्यालेस्टिनी इस्लामिक समूह हमासबीच जनवरी १९ देखि लागू भएको युद्धविराम र बन्धक बन्दी आदानप्रदान सम्झौताअन्तर्गत मुक्त हुने बन्धकहरूको यो चौथो समूह हो ।

प्यालेस्टिनी समूह हमासले दक्षिणी गाजाको खान युनिसबाट रेडक्रसलाई बुझाइएका ३४ वर्षीय यार्देन बिवास र फ्रान्सको समेत नागरिकता भएका ५३ वर्षीय ओफर काल्दरोन इजरायल आइपुगेको इजरायली सुरषा बल(आईडीएफ)ले जनाएको छ ।

अर्का बन्धक ६५ वर्षीय किथ सिगललाई भने शनिवार नै गाजासिटीबाट मुक्त गरिएको थियो । उहाकोँ इजरायल र अमेरिकाको दोहोरो नागरिकता रहेको छ । उनीहरू जनवरी १९ मा इजरायल र हमासबीच युद्धविराम सम्झौता भएयता चौथो चरणमा छाडिने बन्धक हुन् ।

यसैबीच, बिवासकी श्रीमती र दुई छोराहरूको बन्धक रहेकै अवस्थामा गाजामा मृत्यु भएको भनिएको घटनाबारे इजरायलले मध्यस्थकर्ताबाट स्पष्ट जानकारी मागेको छ । बन्धक बनाइँदा बिवासका एक छोरा चार वर्षका र अर्का १० महिनाका थिए ।

हमासले इजरायली हवाइ हमलामा परेर सन् २०२३ नोभेम्बरमा उनीहरूको मृत्यु भएको दाबी गरेपनि इजरायलले त्यसको अझै पुष्टि गरेको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + fifteen =