सामूहिक खेतीमा आकर्षित बन्दै किसानहरू

मनाङ । जिल्लाका किसानहरू सामूहिक खेतीतर्फ आकर्षित भएका छन् । खेतीयोग्य भूमि कम रहेको यहाँका स्थानीयवासी सामूहिक खेतीतर्फ आकर्षित भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

यहाँ उत्पादित खाद्यवस्तु जिल्लाभित्रै खपत हुने हुँदा सामूहिक खेतीतर्फ किसान आकर्षित भएको कृषि ज्ञान केन्द्र प्रमुख मदन रेग्मीले बताए । ‘मनाङ आउने पर्यटकलाई यहीँ उत्पादित खाद्यवस्तु उपयोग गरिने भएकाले किसानलाई प्रोत्साहन मिलेको छ’, उनले भने, ‘यसले हामीलाई उत्साहित बनाएको छ ।’

उनका अनुसार केही कृषक समूहले बाँझो जमिन भाडामा लिएर पनि खेती गरिरहेका छन् । यसले खेतीयोग्य भूमिको उपयोग वृद्धि भएको उनी बताउछन् ।

सामूहिक खेती गर्दा बीउ, मल, सिँचाइमा ज्ञान केन्द्रले सहयोग गर्ने भएकाले सहज भएको नासो गाउँपालिका–१ ताल छहरा कृषि समूहका अध्यक्ष रोशनी घलेले बताइन् ।

उनले भनिन्, ‘बाँझो जग्गा पनि उपयोग हुने र ज्ञान केन्द्रबाट अनुदान पाइने भएकाले सहज भएको छ ।’ सामूहिक खेतीले महिलालाई आर्थिक रुपमा सबल बनाउनसमेत सहयोग पुगेको उनको बुझाइ छ ।

यहाँ हाल दुई वटा मिश्रित समूह छन् भने नौ वटा महिलाका मात्रै कृषक समूह छन् । नासो गाउँपालिका–१ ताल गाउँ, नासो–२ नाचे गाउँ, नासो–३ खोत्रोपाखा र निगालाघारी, नासो–४ ओडार गाउँ, चामे गाउँपालिका–२ थान चोक, चामे–१ तिमाङ, चामे–५ वडा, मनाङ ङिस्याङमा तीन वटा समूहमार्फत सामूहिक खेती भइरहेको छ ।

यहाँ आलु, करु, गहुँ, फापर, उवा, कोलु बोडीलगायतका रैथाने बाली उत्पादन हुने गरेको छ । यहाँका किसानले प्रविधिको प्रयोग गर्दै रैथाने अन्नबाटै पर्यटकका लागि खाना, नास्ताका रुपमा खाद्यान्न उपयोग गर्ने गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + 8 =