१५ बुँदे निर्णय गर्दै सकियो राप्रपाको बैठक

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसमिति बैठक सकिएको छ । १५ बुँदे विभिन्न निर्णय गर्दै केन्द्रीय कार्यसमिति बैठक सम्पन्न भएको प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन कुमार श्रेष्ठले बताए ।

बैठकले सात बुँदे सहमतिको जगबाट गठन भएको नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धन सरकार आफ्नो उद्देश्यबाट च्युत भएको निष्कर्ष निकालेको प्रवक्ता बताए ।

आफ्नो राजनीतिक एजेण्डा र जनजीविकाका पक्षमा आगामी दिनमा सडक र सदनमा सशक्त र प्रभावकारी ढंगबाट प्रस्तुत हुने निर्णय समेत बैठकले गरेको उनले बताए ।

राप्रपाले आफ्ना मूल राजनीतिक एजेण्डा, नेपाल सरकार समक्ष पेस गरेको ४० बुँदे माग र जनजीविकाका सवालहरूलाई लिएर विरोध सभाका कार्यक्रमहरू सञ्चालन गर्ने समेत निर्णय गरेको छ ।

पार्टीको सदस्यता वितरण अभियानलाई तिब्रता दिने, ०८१ लाई पार्टी प्रवेश वर्षको रुपमा अभियान सञ्चालन गर्ने विगतको निर्णयलाई निरन्तरता दिने र २०८२ वैशाख मसान्तभित्र सबै स्थानीय तह र जिल्ला अधिवेशनहरु सम्पन्न गर्ने गरी सक्रिय हुन मातहतका सबै निकायलाई बैठकले निर्देशन दिने निर्णय गरेको राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले बताए ।

केन्द्रिय सदस्यहरुलाई ७७ वटै जिल्लामा हुने जिल्ला अधिवेशनमा पर्यवेक्षकको रुपमा खटाउने र जिल्लामा हुने सबै प्रकारका निर्वाचनको प्रक्रिया र नतिजाको अनुगमन गर्ने जिम्मेवारी दिने निर्णय गरेको उल्लेख गर्दै समान विचार भएका व्यक्ति, समूह र दलसंग सहकार्य र मोर्चा निर्माण गर्न राप्रपाले संवाद र सहकार्यको प्रयासलाई निरन्तरता दिने निर्णय गरेको पनि उनले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × two =