खबर दिनभर : कांग्रेस एक ढिक्का भएर संसदमा बोल्ने,८४ मा माओवादी एक्लै लड्ने,एपिएफलाई ‘पिएम’ कपको उपाधि

एकढिक्का भएर संसदमा एउटै आवाज उठाउन पार्टीका सांसदहरूलाई देउवाको निर्देशन

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले एकढिक्का भएर संसदमा एक स्वरका साथ एउटै आवाज उठाउन पार्टीका सांसदहरूलाई निर्देशन दिएका छन् ।

शनिवार पार्टीको संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको पार्टीका पदाधिकारी, पूर्वपदाधिकारी र सांसद एवं पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूसँगको छलफलमा सभापति देउवाले यस्तो निर्देशन दिएका हुन् ।

सभापति देउवाको भनाइ उद्धृत गर्दै बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टीका प्रमुख सचेतक श्याम घिमिरेले सभापति देउवाले केही असन्तुष्टि भए पार्टीको बैठकमा राख्न र संसद र बाहिर प्रस्तुत हुँदा व्यक्तिगत नभई पार्टीको रुपमा आफ्ना धारण राख्न निर्देशन दिएको बताए ।

बैठकमा मन्त्रीहरूले सरकारमा भएका काम, कारबाहीबारे जानकारी गराएको बताए । उनकाअनुसार बैठकमा वर्तमान सरकारको अवस्था, सरकारले गरिरहेका काम, कारबाही, संसदमा प्रस्तुत भएका विधेयकहरू, अध्यादेश र आउने विधेयकहरूका विषयमा गहन रुपमा छलफल भएको छ । नेपाली काँग्रेस एक ढिक्का भएर एउटै आवाज र एउटै स्वरका साथ संसदमा प्रस्तुत हुने र बाहिर पनि एकढिक्का भएर प्रस्तुत हुने निर्णय भएको बताए ।

आर्थिक पक्षमा तत्काल केही सुधार गर्नुपर्ने भएकाले र मुलुकमा आर्थिक गतिविधि चलायमान बनाउन केही विधेयक संशोधन गर्नैपर्ने बाध्यता भएकाले अध्यादेश ल्याएको कुरा पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूले राखेको बताए ।

उनले भने ‘वर्तमान सरकारको अवस्था, सरकारले गरिरहेका काम, कारबाही, संसदमा प्रस्तुत भएका विधेयकहरू, अध्यादेश र आउने विधेयकहरूका विषयमा गहन रुपमा छलफल भयो । नेपाली काँग्रेस एक ढिक्का भएर एउटै आवाज र एउटै स्वरका साथ संसदमा प्रस्तुत हुने र बाहिर पनि एकढिक्का भएर प्रस्तुत हुने । आर्थिक पक्षमा तत्काल केही सुधार गर्नुपर्ने भएकाले र मुलुकमा आर्थिक गतिविधि चलायमान बनाउन केही विधेयक संशोधन गर्नैपर्ने बाध्यता भएकाले यसलाई अध्यादेशको रुपमा ल्याइएको हो । केही समस्या छन् भने संसदीय दलमै कुरा राख्न र संसद अधिवेशनमा एकढिक्का भएर प्रस्तुत हुन निर्देशन दिनुभयो ।’

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टीका प्रवक्ता डा। प्रकाशशरण महतले संविधान संशोधनका विषयमा सरकारले गम्भीरताका साथ गृहकार्य थालेको जानकारी दिए । उनले पार्टी बाहेक पनि सरकारको तर्फबाट संविधान संशोधनका लागि छुट्टै संयन्त्र बनाएर काम अघि बढाउनेबारेमा सरकारमा सहभागी मन्त्रीहरूले जानकारी गराएको बताए । उनले आर्थिक गतिविधि चलायमान गर्नको लागि अध्यादेश ल्याएको र सबैले स्वागत गरेको बताए ।

उनले भने ‘संविधान संशोधनका विषयमा हामीले गम्भीर गृहकार्य थालनी गरेका छौँ । त्यसमा एउटा छुट्टै संयन्त्र पनि बन्छ । त्यसमाथि पार्टीगत पनि बन्छ । संशोधनका विषयवस्तुहरू हुन सक्दछन् । सरकारबाट पनि एउटा संयन्त्र बनाएर त्यसउपर गम्भीर गृहकार्य गर्ने भन्ने नै हो । धेरै विधेयकहरू संसदमा धेरै वर्षदेखि पेण्डिङ रहेको र समयमा कार्यान्वयन नभएको अवस्थामा आर्थिक गतिविधि चलायमान गर्नको लागि अध्यादेशमार्फत छिटो छरितो हुने आशयले ल्याएको कुरा राख्नुभयो । त्यसलाई सबैतिरबाट स्वागत भइरहेको छ । संसदमा तत्काल नै अध्यादेश प्रस्तुत हुनेछ ।’

प्रवक्ता महतले अध्यादेश, सरकारको स्थितिबारे पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूले जानकारी गराएको बताए । विचाराधीन विधेयक संसदबाट छिटो पारित गर्नेबारेमा छलफल भएको बताए ।

माओवादीप्रति जनता सकारात्मक छन् : प्रचण्ड

तुलसीपुर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू जनताका पीरमर्का बुझ्न जनतामाझ गइरहेको बताउँदै माओवादीप्रति उनीहरुको धारणा सकारात्मक रहेको बताएका छन् ।

प्रेस सेन्टर दाङले शनिबार घोराहीमा आयोजना गरेको पत्रकार भेटमा उनले यो सरकार आगामी चुनावसम्म सत्तामा रहे नेकपा माओवादी केन्द्रलाई फाइदा हुने बताए ।

‘जनताले हामीप्रति धेरै आशा गर्नुभएको छ, त्यसैले सरकार गिराउनेतिर हामी लागेका छैनौँ’ उनले भने ।

सत्तारुढ राजनीतिक दलहरुमा समस्या रहेको र माओवादी केन्द्रभित्र पनि केही त्रुटि रहेका स्वीकार गर्दै तिनलाई सच्च्याएर अगाडि बढ्ने उनले जोड दिए । साथै उनले आगामी चुनावमा माओवादी एक्लैले प्रतिस्पर्धा गर्ने बताए ।

संस्कृति, कला र साहित्य देशको अमूल्य निधी : सभामुख

सभामुख देवराज घिमिरेले संस्कृति, कला र साहित्य देशको अमूल्य निधी भएको बताएका छन् ।

शनिवार काठमाडौंमा प्रथम गलबन्दी फिल्म्स एण्ड म्युजिक अवार्डको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले कला क्षेत्र मनोरञ्जन र हेर्न तथा देख्नका लागि मात्रै नभई सही कुराहरू आत्मसाथ गर्न र गलत कुराहरू परित्याग गर्नका लागि महत्वपूर्ण औजार भएको बताए । उनले राष्ट्रलाई राष्ट्रिय समुन्नतिले बलियो बनाउनुपर्ने आवश्यकता रहेको बताए । संस्कार र संस्कृतिको विकासमा सबैले सहयोग गर्नुपर्ने बताए ।

राष्ट्रिय एकता र राष्ट्रिय संस्कृतिको जगेर्ना गर्न आग्रह गरे ।

सभामुख घिमिरेले भने ‘हाम्रो संस्कृति, हाम्रो कला, हाम्रो साहित्य अमूल्य निधी हुन् । खासगरी कला, कलाका विभिन्न विधाहरू हुन्छन् । कला क्षेत्र मनोरञ्जन र हेर्न तथा देख्नका लागि मात्रै होइन । सही कुराहरू आत्मसाथ गर्न र गलत कुराहरू परित्याग गर्नका लागि महत्वपूर्ण औजार हो । लोकगीत, लोकसंस्कार, लोकभाकाको जगेर्ना गर्नुपर्नेछ ।’

सभामुख घिमिरेले सही कुरा अघि बढाउँदा राष्ट्रको समुन्नति हुने बताए ।

शिक्षाको विकासमा तीनै तहका सरकारबीच समन्वय आवश्यक : शिक्षामन्त्री भट्टराई

विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले शिक्षा क्षेत्रको विकासका लागि तीनै तहका सरकारबीच समन्वय र सहकार्य आवश्यक रहेको बताएकी छन् ।

प्रेस चौतारीले आज सदरमुकाममा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले संविधानले शिक्षा क्षेत्रको विकासका लागि तीनैवटै तहको सरकारले भूमिका खेल्नुपर्ने कुरालाई स्पस्ट व्याख्या गरेको उल्लेख गरे ।

सरकारले विसं २०८३ सम्म अनिवार्य निःशुल्क शिक्षाको अभ्यास गर्ने गरी कार्ययोजना बनाएर अघि बढेको उनले बताइन् । ‘सबैले साथ दिने हो भने हामी त्यसलाई सम्पन्न गर्न सक्छौँ’, मन्त्री भट्टराईले भने ‘अनिवार्य शिक्षा ऐनले स्पष्ट गरेको व्यवस्थालाई स्थानीय सरकारले पनि पूर्ण रुपमा पालना गरी कार्यान्वयन गरेर अघि बढ्नुपर्छ ।’

गुणस्तरीय शिक्षाले मात्र समृद्धि राष्ट्र निर्माण गर्न सकिने भन्दै शिक्षालाई अब उद्यमशीलतासँग जोडेर लैजाउनुपर्ने मन्त्री भट्टराईले बताउइन् । शिक्षासँग जोडिएका नीति निर्माणमा शिक्षाकर्मीको भूमिका पनि उत्तिकै रहेको उल्लेख गर्दै उनले सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्नुपर्नेमा जोड दिइन् ।

‘हामीले प्राविधिक शिक्षा त भन्यौँ तर प्राविधिक शिक्षा कस्तो हुनुपर्छ, प्राविधिक शिक्षालाई प्रविधिमैत्री बनाउँदै उद्यमशीलतातर्फ जोड्न छलफल र बहस कम भएकै हो’, मन्त्री भट्टराईले भने ‘खाली बजेट कति भन्नेमा मात्र केन्द्रित हुँदा पनि समस्या भयो ।’ उनले विद्यालय शिक्षा ऐन संसद्को शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिमा अहिले छलफलमा रहेको र थुप्रै विषय संशोधनको तयारी भइरहेको बताइन् ।

‘शिक्षा विधेयक अहिले समितिमा लगभग संशोधन प्रस्तावकर्तासँगको छलफल सकेर तीन दिनसम्म दफावार छलफल गरी उहाँहरु प्रदेशमा जानुभएको छ’, मन्त्री भट्टराईले भनिन् ‘प्रदेशहरुमा पनि छलफल सकिएपछि समितिले थप दफावार छलफल गर्नेछ, यसबाट के बुझ्न सकिन्छ भने अब प्रक्रिया अगाडि बढ्यो अब कानुन बन्ने एउटा अवस्थामा पुगेका छौँ ।’ उनले शिक्षा विधेयकको छलफल आफूले मन्त्रालयको जिम्मेवारी सुरु गरेपछि मात्र सुरु गरेको दाबी गरिन् ।

पर्यटकीय सेवा बिस्तारसँगै सुरक्षा पनि प्रमुख सरोकारको विषय हुनुपर्दछ : प्रहरी महानिरीक्षक कुँवर

नेपाल प्रहरीका प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले पर्यटकीय सेवा बिस्तारसँगै पर्यटकहरूको सुरक्षा प्रमुख सरोकारको विषय भएको बताएका छन् ।

४६ औं पर्यटक प्रहरी दिवसको अवसरमा काठमाडौंमा शनिवार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले नेपाल सुन्दर मात्र नभई सुरक्षित रहेको महसुस पर्यटकहरूलाई दिलाउनसके मात्रै नेपालमा पर्यटकको संख्या बढ्ने बताए । उनले पर्यटकीय सुरक्षा नै पर्यटनको प्रमुख आधारशिला भएको बताए ।

उनले पर्यटकीय सुरक्षा व्यवस्थापन कार्य प्रहरीको एकल प्रयासले मात्रै सम्भव नरहेको भन्दै यसमा सरोकारवाला सबै निकायहरूको सम्मानजनक भुमिका अनिवार्य रहेको बताए ।

उनले भने ‘पर्यटकीय सेवा बिस्तारसँगै पर्यटकहरूको सुरक्षा पनि प्रमुख सरोकारको विषय हुनुपर्दछ । नेपाल सुन्दर मात्र होइन, सुरक्षित पनि छ भन्ने विश्वास विश्वमाझ आफूलाई चिनाउन सके मात्रै पर्यटन क्षेत्रमा थप आकर्षण बढाउन सकिन्छ । पर्यटकीय सुरक्षा नै पर्यटनको प्रमुख आधारशिला हो । पर्यटकीय सुरक्षा व्यवस्थापन कार्य प्रहरीको एकल प्रयासले मात्रै सम्भव छैन । यसका लागि सरोकारवाला सबै निकायहरूको सम्मानजनक भुमिका अनिवार्य छ ।’

प्रहरी महानिरीक्षक कुँवरले पर्यटकीय दृष्टिकोणबाट नेपाल आकर्षणको केन्द्र रहेको उल्लेख गरे । पर्यटकीय प्रहरीको क्षमता वृद्धि गर्न जरुरी रहेको बताए ।

आफैलाई गोली हानेका २८ वर्षीय प्रहरी जवान विष्टको मृत्यु

आफैंलाई गोली प्रहार गरेका प्रहरी जवान वकिल विष्टको उपचारका क्रममा मृत्यु भएको छ । सुदूरपश्चिम प्रदेश विपद व्यवस्थापन गुल्म महेन्द्रनगर कञ्चनपुरमा कार्यरत प्रहरी जवान २८ वर्षीय विष्टले गत माघ ०९ गते बुधबार राति ड्युटीमा रहेका बेला आफैंलाई गोली हानेका थिए । गोली लागेर विष्टको टाउकोमा गम्भीर चोट लागेको थियो ।

उनलाई थप उपचारका लागि कैलालीस्थित निसर्ग अस्पतालमा लगिएको थियो । उपचारकै क्रममा विष्टको मृत्यु भएको कञ्चनपुर प्रहरीले जनाएको छ ।

यसअघि गत पुस १२ गते राति जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा कार्यरत प्रहरी जवान चक्रप्रसाद न्यौपानेले पनि ड्युटीकै समयमा आफैंमाथि गोली प्रहार गरेका थिए । टाउकोमा गम्भीर चोट लागेका प्रहरी जवान न्यौपाने भने अहिले उपचारपछि घर फर्किसकेका छन् ।

प्रहरी जवानहरूले के कारण आत्मघाती गोली प्रहार गरे भन्ने विषयमा थप अनुसन्धान भइरहेको कञ्चनपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक उमेशराज जोशीको भनाई छ ।

झापामा समर्थन मूल्यभन्दा बढीमा धान बिक्री

यस वर्ष झापाका धान उत्पादक किसानले सरकारले तोकेको न्यूनतम समर्थन मूल्यभन्दा बढी मूल्यमा धान बिक्री गरेका छन् । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुख्य शाखा कार्यालय विर्तामोडले किसानको धान खरिद गर्न गत मङ्सिरमा न्यूनतम समर्थन मूल्य तोकेको थियो ।

‘यस वर्ष ५० हजार क्विन्टल धान किसानबाट खरिद गर्ने तयारी थियो, किसानले धान बिक्री नै गरेनन्’, कार्यालय प्रमुख चुलमाया लोवाले भने ‘किसानले सरकारले तोकेकोभन्दा बढी मूल्य बजारमै पाएपछि उतै बिक्री गरे, किसानलाई फाइदा नै भयो ।’ कम्पनीले गत मङ्सिरमा धानको समर्थन मूल्य प्रतिक्विन्टल रु तीन हजार ५८० दशमलव ६२ तोकेको थियो, जुन तत्कालीन बजार मूल्यभन्दा बढी रहेको प्रमुख लोवाले बताए ।

सरकारले धानको न्यूनतम समर्थन मूल्य तोक्दा यस वर्ष रञ्जित मन्सुली धान प्रतिक्विन्टल रु चार हजारसम्ममा बिक्री गरेको अर्जुनधारा नगरपालिका–४ का किसान पहलमान खड्काले बताए । गत वर्ष रु तीन हजारदेखि रु तीन हजार २०० सम्म बिक्री गर्नुभएका खड्काले आर्थिक रुपमा राहत पाएकामा खुसी व्यक्त गरे ।

बाह्रदशी गाउँपालिकाका स्थानीय कृषक एवं व्यापारी मानप्रकाश सङ्ग्रौलाका अनुसार किसानको खेतबाटै धान खरिद बिक्री भइरहेको जानकारी दिए ।

रु चार हजारदेखि चार हजार २०० प्रतिक्विन्टलसम्म रञ्जित मन्सुली धान खरिद बिक्री भइरहेको उनले बताए । खेतबाटै धान बिक्री भएपछि धान उत्पादक किसानलाई निकै फाइदा पुगेको कृषक सङ्ग्रौलाको दाबी छ । कृषि ज्ञान केन्द्र झापाका अनुसार जिल्लामा यस वर्ष तीन लाख ८५ हजार १९६ दशमलव पाँच मेट्रिक टन धान उत्पादन भएको छ ।

सुदुरपश्चिमलाई पराजित गर्दै प्रधानमन्त्री कपको उपाधि एपिएफलाई

धनगढीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय टि–२० क्रिकेट प्रतियोगीताको उपाधि एपिएफ क्लबले जितेको छ । शनिवार सम्पन्न फाइनल खेलमा घरेलु टोली सुदूरपश्चिम प्रदेशमाथि नौ विकेटको जित निकाल्दै एपिएफले उपाधि हात पारेको हो ।

योसँगै एपिएफले लगातार दोस्रोपटक उपाधि जितेको हो । उपाधिसँगै एपिएफले रु पाँच लाख पुरस्कार पाएको छभने सुदूरपश्चिम उपविजेता हुँदै रु तीन लाख हात पार्‍यो ।

जितका लागि पाएको ६८ रनको विजयी लक्ष्य एपिएफले १२ दशमलव पाँच ओभरमा एक विकेटको क्षतिमा पूरा गर्यो । एपिएफका ममता चौधरीले अविजित ४३, कप्तान इन्दु बर्मा नटआउट १८ रन जोडिन् ।

यसअघि फाप्ला क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिम १८ दशमलव एक ओभरमा ६७ रनमा समेटियो । जसमा ममता बोहराले १८ र कप्तान विन्दु रावलले १७ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।

बलिङतर्फ एपिएफका कविता जोशीले तीन, कप्तान इन्दु बर्मा र सवनम राईले दुईरदुई विकेट हात पारे । कविता ‘प्लेयर अफ द म्याच’ चुनिएका छिन् । यसैबीच प्रतियोगिताभर व्यक्तिगत एक सय ७२ रन र पाँच विकेट हात पारेकी एपिएफकी कप्तान बर्मा ‘प्लेयर अफ द सिरिज’ भएकी हुन् ।

एपिएफका लागि दुई सय नौ रन बनाएकी ममता चौधरी वेस्ट ब्याटर र बागमतीका लागि १० विकेट हात पारेकी मनिषा उपाध्याय बेस्ट बलर हुन सफल भइन् । प्लेयर अफ द सिरिजले रु ५० हजार, वेस्ट ब्याटर र वेस्ट बलरलाई रु २५र२५ हजार पुरस्कार पाएका छन् ।

यही माघ १ गतेदेखि सुरू भएको प्रतियोगितामा १२ टोलीको सहभागिता थियो । राष्ट्रिय खेलकुद परिषद्को कार्यक्रमअनुसार नेपाल क्रिकेट सङ्घको आयोजना र सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घको व्यवस्थापनमा प्रतियोगिता सञ्चालन भएको हो ।

बन्धक बनाइएका चार इजरायली महिला रिहा

गाजा युद्धमा युद्धविराम सम्झौता अन्तर्गत हमासले सन् २०२३ अक्टोबर ७ मा बन्धक बनाइएका चार जना इजरायली महिला सैनिकलाई रिहा गरिएको इजरायल सुरक्षा एजेन्सी (आईएसए) ले जनाएको छ ।

इजरायली बन्धक र बेपत्ता परिवार फोरमका अनुसार रिहा हुनेमा करिना एरिभ, डानिएला गिल्बोआ, नामा लेवी र लिरी अल्बाग रहेका छन् ।“चार बन्धकहरू इजरायली क्षेत्र फर्किँदा इजरायल डिफेन्स फोर्स (आईडीएफ) र आईएसए बलहरूसँगै थिए, जहाँ तिनीहरूको प्रारम्भिक चिकित्सा परीक्षण हुनेछ,“ विज्ञप्तिमा भनिएको छ ।

चारै जनाले गाजा पट्टी सीमा नजिकैको आईडीएफको शिविरमा आफ्नो परिवारलाई भेट्ने कार्यक्रम छ । त्यहाँबाट उनीहरूलाई मध्य इजरायलको बेलिन्सन अस्पतालमा हेलिकप्टरबाट सारिनेछ ।

गाजाको रेडक्रसमा हमासबाट चार सैनिकको स्थानान्तरण प्रत्यक्ष प्रसारण गरिएको थियो । चारैजना मुस्कुराउँदै थिए ।बन्धक रिहाई हमास र इजरायल बीचको बन्दी–बन्धक आदानप्रदानको दोस्रो चरणको भाग हो, जुन युद्धविराम सम्झौताको प्रारम्भिक सर्तहरू अन्तर्गत लागू गरिएको थियो ।

छ हप्ताको युद्धविरामको पहिलो चरण जनवरी १९ मा लागू भएको थियो । इजिप्ट, कतार र संयुक्त राज्य अमेरिकाको मध्यस्थतामा भएको वार्ताले १५ महिनाको तीव्र लडाइँपछि हमास र इजरायलबीच युद्धविराम सम्झौता भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *