‘अस्वस्थ प्रतिस्पर्धाबाट आएकाहरूको मात्रै जयजयकार हुने हो भने देश कहाँ पुग्छ ?’


काठमाडौँ । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले विकास निर्माणका काम सुरु गर्दा विरोध गर्ने प्रवृत्तिको अन्त्य गर्न जरुरी रहेको बताएका छन् ।
काठमाडौंमा शनिवार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले केही भएन र गरेन भन्ने तर काम सुरु गरेपछि आफ्नो जग्गा थोरै पर्यो भने विरोध सुरु गर्ने प्रवृत्तिको अन्त्य गर्न जरुरी रहेको बताए । उनले माघ १८ गतेबाट संसदको अधिवेशन आह्वान भएकाले बाँकी रहेका विधेयकहरू पारित गर्नेगरी अघि बढ्ने बताए ।
उनले अस्वस्थ प्रतिस्पर्धाबाट आएकाहरूको जयजयकार हुने गरेको भन्दै त्यसबाट देश कहाँ पुग्छ ? भन्दै प्रश्न गरे । उनले सबैले नियमअनुसार आफ्नो कर्तव्य पूरा गर्नुपर्ने बताए ।
उनले भने ‘अस्वस्थ प्रतिस्पर्धा भएपछि जसले जे गरेपनि, जे बोलेपनि, जे लेखेपनि हुने, त्यस्तैको मात्रै जयजयकार हुने हो भने त देश कहाँबाट कहाँ पुग्छ र ? सिस्टममा त हामी जानुपर्छ नि । यी सबै कुरालाई मनन गरेर अहिले सार्वजनिक जग्गाको जुन अहिले पार्क बनाउने कुरा भइरहेको छ । त्यो प्रोसेस अगाडि बढाउँला । बागमती, विष्णुमतीदेखि लिएर अरु नदीनालाहरू सबैको तपाईँहरूले एउटा कुरा के ख्याल गर्नुपर्याे भने सुप्रिम कोर्टले के निर्देश गर्याे भन्दा नदीनालाको अहिले जे जति छ, त्यसको किनार अझ २० मिटर थप गर्ने भनेको छ । मान्छेहरूमा यहाँ त असुरक्षाको वातावरण भयो । बैङ्कहरूले पनि जसले धितो राखेको छ, त्यो चाँडै पक्राउ, किनभने तिमीहरूको केही बाँकी रहँदैन । सरकारले यो हटाउने भयो । सुप्रिम कोर्टको निर्देशनअनुसार भन्यो । त्यसमा हामीले भ्याकेटमा जानको लागि सहरी विकास मन्त्रालयकै नेतृत्वमा कमिटी गठन गरेर १६/१७ लाख जनताको आवास असुरक्षित हुने भएको कारणले अहिले लागू गर्न सकिँदैन भन्नेकुरालाई कोर्टमा गएर भ्याकेटको मुद्दा चलिरहेको छ । यो गर्नुपर्याे , त्यो गर्नुपर्याे भन्छ । लागू गर्न लाग्यो भने आफ्नो त्यहाँ एक इन्च जग्गा पर्यो भने विरोध गर्न सुरु गर्छ । अहिले यो सरकार बनेको छ । यो सरकारले खास गरेर बाँकी रहेको समयमा १८ गतेदेखि त हाम्रो अधिवेशन सुरु हुन्छ । बाँकी रहेका बिल्सहरुलाई कानुनमा परिणत गर्ने कामदेखि लिएर सबै त्यसमा हामीले जोड दिएर अघि बढ्छौँ ।’
उपप्रधानमन्त्री सिंहले जनताले चाहेअनुसारको व्यवस्था र सुधार आएको बताए । काठमाडौंको एक नम्बर निर्वाचन क्षेत्रका मतदाताहरूको विश्वासका कारण नै आफू अहिलेको स्थानमा रहेको बताए ।
