सरकार र निजी क्षेत्र मिलेर आर्थिक सुधारमा लाग्नुपर्छ : अर्थसचिव घिमिरे

काठमाडौँ । अर्थ मन्त्रालयका सचिव डा.रामप्रसाद घिमिरेले सरकार र निजी क्षेत्रसँगै मिलेर आर्थिक सुधारमा लाग्नुपर्ने बताएका छन् ।
बुधवार काठमाडौं ७३ औं भन्सार दिवसको अवसरमा नेपाल चेम्बर अफ कमर्सले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै सचिव घिमिरेले यस्तो बताएका हुन् । उनले सरकारले निजी क्षेत्रका मागहरूलाई सम्बोधनका लागि नीतिगत अप्ठ्याराहरू सहज बनाउँदै लगिने बताए । उनले सरकारले आर्थिक क्षेत्रमा देखिएका जटिलता अन्त्य गर्नका लागि विभिन्न अध्यादेश ल्याएको बताए ।
उनले सरकारले निजी क्षेत्रको मनोबल उकासिने गरी काम गरिरहेको बताए । उनले सुधार भएका ऐनहरूको कार्यविधि चाँडै बनाउने गरी काम भइरहेको बताए । सरकारले ऐन मात्रै बनाउने भन्दा पनि कार्यान्वयनमा लैजाने गरी काम गरिरहेको बताए । उनले भन्सारमा देखिएका समस्याहरूलाई पनि समाधान गर्ने गरी काम गरिरहेको बताए ।
चेम्बरका अध्यक्ष कमलेशकुमार अग्रवालले भन्सार प्रशासन सुधारमार्फत व्यापार सहजीकरण गरिनुपर्ने बताए । अध्यक्ष अग्रवालले भन्सार प्रशासन सुधार गर्दै सीमामा हुने चोरी पैठारीलाई नियन्त्रण गर्नुपर्नेमा जोड दिए । विश्व भन्सार संगठनबाट निर्धारित मूल्याङ्कन पद्धतिअनुसार भन्सारमा सन्दर्भ मूल्यलाई खारेज गरी कारोबार मूल्यलाई मान्यता दिनुपर्ने अध्यक्ष अग्रवालको भनाई छ । सबै प्रकारका हार्मोनिक कोडहरूमा अध्ययन पुनरावलोकन गरी १० डिजिटको हर्मोनिक कोड कायम गरिनुपर्ने अध्यक्ष अग्रवालले बताए ।
चेम्बर अफ कमर्सले ७३ औं अन्तर्राष्ट्रिय भन्सार दिवसका अवसरमा भन्सार विभागका शाखा अधिकृत गोपालप्रसाद भट्टराईलाई सम्मान गरेको छ । भन्सार विभागमा उत्कृष्ट सेवा प्रवाह गरेकाले भट्टराईलाई ७३ औं अन्तर्राष्ट्रिय भन्सार दिवसका अवसरमा सम्मान गरिएको चेम्बर अफ कमर्सले जनाएको छ ।








