देश बनेन भनेर चिन्तित हुनुपर्दैन : उपप्रधानमन्त्री

बागलुङ । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले स्वदेशमा सीप विकास, रोजगारीका अवसर सृजना गर्दै युवालाई स्वदेशमा बस्ने वातावरण बनाउने पक्षमा काम भइरहेको भन्दै अब देश बनेन भनेर चिन्तित हुनुपर्ने अवस्था नभएको बताएका छन् ।
बुधवार बागलुङ नगरपालिकालाई ‘स्थानीय शासनयुक्त बालमैत्री नगर घोषणा’ सभामा मन्त्री सिंहले पछिल्लो समय सकारात्मकभन्दा नकारात्मक टीकाटिप्पणी बढी हुने गरेको भन्दै बाहिर हुने हल्लाको पछाडि नलाग्न उनले आग्रह गरे ।
सरकारले नागरिकका निराशा चिर्दै हाशा जगाउने काम गरिररहेको बताए । शिक्षा, स्वास्थ्य, रोजगार र व्यावसायिक क्षेत्रको सुधार गमा सरकार योजना बनाएर अघि बढिरहेको उनले उल्लेख गरे । वर्तमान सरकारले नागरिक पक्षमा केन्द्रित रहँदै नागरिकमा आशा जगाउने काम गरिरहेको बताए ।
सरकारले शिक्षालाई गुणस्तरीय, व्यवहारिक र जीवनउपयोगी बनाउनका लागि काम गरिरहेको भन्दै अबको शिक्षा दक्ष जनशक्ति उत्पादन गर्ने खालको हुने मन्त्री सिंहले बताए ।
लामो समय सरकारले स्थायित्व नपाउँदा धेरैमा निराशा छाएको भन्दै उहाँले वर्तमान सरकारले विकास निर्माण र जनताको आवश्यकताअनुसार काम गर्ने प्रतिबद्धता जनाए ।
उपप्रधानमन्त्री सिंहले भने, “केही हुँदै भएन भन्नु गलत हो, देशमा धेरै परिवर्तन भएको छ, आम नागरिकका इच्छाचाहाना असीमित छन्, त्यसलाई सरकारले क्रमैसँग समबोधन गर्दै गएको छ, देशमा कहिले कोभिडले, कहिले अन्य प्रकोपले गर्दा आर्थिक अवस्था खस्कँदो थियो, अहिले चलायमान हुँदै गएको छ । नयाँ सरकार बनेपछि जनतामा भएको निराशा पनि चिरिँदै गएको छ ।”
सो अवसरमा मन्त्री सिंहले बागलुङ नगरपालिका–१३ मा पर्ने गणेशमान सिंह मार्ग समयमा निर्माण सम्पन्न गर्न आवश्यक बजेट व्यवस्थापन गर्ने प्रतिबद्धता जनाए । बागलुङ नगरपालिकाले जस्तै अन्य पालिका पनि चाँडै बालमैत्री बन्नुपर्नेमा उनले जोड दिए ।








