प्रधानमन्त्री कप महिला क्रिकेट

मधेसलाई ४७ रनले पराजित गर्दै कोशीको लगातार दोस्रो जीत

धनगढी । कोशी प्रदेश धनगढीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा लगातार आफ्नो दोस्रो खेलमा विजयी भएको छ । सोमबार भएको खेलमा कोशीले मधेस प्रदेशलाई ४७ रनले पराजित गरेको हो ।

कोशीले यसअघि पहिलो खेलमा बागमती प्रदेशलाई हराएको थियो । जितसँगै समूह ‘बी’ मा रहेको कोशी ४ अङ्कका साथ तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

धनगढीस्थित फाप्ला मैदानमा भएको दोस्रो खेलमा कोशीले दिएको एक सय ७ रनको लक्ष्य पछ्याएको मधेसले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा ५९ रन मात्रै बनाउन सक्यो । मधेसका लागि प्रतिमा शाहले सर्वाधिक १७ रन जोडिन् ।

अन्य ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । बलिङतर्फ कोशीका लागि कप्तान रूविना क्षेत्रीले ३ तथा अलिशा खडिया र ज्योती दनुवारले दुई/दुई विकेट लिइन् ।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको कोशीले २० ओभरमा ५ विकेटको क्षतिमा एक सय ६ रन बनायो । उसका लागि कप्तान रूविना क्षेत्रीले अर्धशतकीय पारी खेल्दै ५७ रन बनाइन् । यस्तै टिका शाहले २१ रन बनाइन् ।

बलिङतर्फ मधेसका लागि प्रतिमा साहले दुई विकेट हात पारिन् । कोशीकी कप्तान रूविना प्लेयर अफ दी म्याच भइन् । आजै भएको अर्को खेलमा बागमती प्रदेशले त्रिभुवन आर्मी क्लबलाई १४ रनले हराएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − fifteen =