‘विपद् पूर्वतयारीमा स्वास्थ्यलाई प्राथमिकतामा राखौँ’

काठमाडौं । विपद् पूर्वतयारी गर्दा स्वास्थ्यका कार्यक्रमलाई पनि सँगै अघि बढाउनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । विपद्पछि विभिन्न रोगहरु फैलिनसक्ने अवस्थालाई मध्यनजर गरेर सरकारले विपद्का लागि पूर्वतयारी गर्दा स्वास्थ्य क्षेत्रलाई पनि सँगै अगाडि बढाउनुपर्नेमा जोड दिएका हुन् ।
बाढी, पहिरो, भूकम्पप लगायतका विपद्पछि विभिन्न खालका रोगहरु फैलिनसक्ने भएकाले समयमै ध्यान दिनुपर्ने उनीहरुको सुझाव छ । केही वर्षदेखि विपद्पछिको स्वास्थ्यका क्षेत्रमा काम गर्दै आएकी स्टार्ट फण्ड नेपालकी कार्यक्रम व्यवस्थापक प्रमिला सुवेदीले सरकारले विपद् पूर्वतयारीमा स्वास्थ्यलाई पनि सँगै लैजानुपर्ने आवश्यकता रहेको बताइन् । ‘हामीले २०२१ सालदेखि काम गर्दै आएका छौँ । डिजास्टरपछि हुने हेल्थका इस्युहरुबारे हामीले काम गर्दछौँ । बाढी, पहिरो, भूकम्पपछिको स्वास्थ्यमा हामीले काम गर्दछौँ । कोल्ड वेब, हिट वेब, डेंगु लगायतमा हामीले काम गर्दै आएका छौँ,’ उनले भनिन्, ‘डिजास्टरको बेलामा नेपालमा हामीले विगतको अनुभवलाई हेर्दा के पायौँ भने हेल्थलाई अलिकति इग्नोर गरेको पायौँ । त्यति धेरै सँगसँगै लैजान नसकेको पायौँ । हेल्थलाई पनि प्रायोटाइज गर्नुपर्छ भन्ने हाम्रो आग्रह हो ।’
इन्स्टिच्युट अफ हिमालयन रिस्क रिडक्शनका कार्यकारी निर्देशक सुरज गौतमले नेपाल बहुप्रकोपिय जोखिममा रहेको भन्दै पछिल्लो समय विभिन्न प्रकोपहरु विपद्मा परिणत भइरहेको बताए । उनले बाढी, पहिरो लगायतका विपद्जन्य घटनाहरुको पूर्वतयारी गर्दा स्वास्थ्यको तयारी पनि गर्नुपर्ने बताए। विपद्पछि फैलिनसक्ने रोगहरुको न्युनिकरण गर्न स्वास्थ्यलाई प्राथमिकता दिनुपर्ने उनको सुझाव छ ।
उनले भने,‘नेपालको अवस्था हेर्ने हो भने नेपालमा बहुप्रकोपिय जोखिम छ । पछिल्लो समय विभिन्न किसिमका प्रकोप विपद्मा परिणत भइरहेको छ । यसै वर्ष मात्रै आरिघोप्टे वर्षातदेखि लिएर काठमाडौंदेखि नेपालभर नै बाढी आयो । समग्र विपद्मा बाढी, पहिरो मात्रै नभइ त्यससँग सम्बन्धित रहने स्वास्थ्यसँग सम्बन्धित रहने विशेष विभिन्न प्रकारका रोगदेखि लिएर अन्य पाटोमा अझ बढी काम गर्नुपर्ने आवश्यकता देखिएको छ । विपद् आइसकेपछि काम गर्ने भन्दा पनि पूर्वतयारी राम्रोसँग गरे यस्त जोखिम घटाउन सक्छौँ । राष्ट्रिय आपत्कालीन केन्द्रहरुमा पनि यो चिजहरुको इन्टिग्रेसन हुन आवश्यक छ । विभिन्न प्रकारका ५२ रोगहरुको बारेमा हामीले हाजार्ड प्रायोटाइजेशन गरिसकेका छौँ भने यस्ता प्रकारका रोगहरु विपद्पछि कसरी हुनसक्छ । यस्ता किसिमका रोगका लागि पूर्वतयारी कसरी गर्नुपर्छ भन्ने सन्दर्भमा यो कार्यशालामा जानकारी प्राप्त गरेका छौँ । विपद्का तयारी गर्दा स्वास्थ्यलाई पनि सँगै जोडेर लैजानुपर्छ । विभिन्न प्रकारका रोगहरु केही स्थानमा मात्रै सिमित हुन्थे भने अहिले देशभर नै डेंगु लगायतका रोगहरुको संक्रमण हुन थालेको छ । जलवायु परिर्वतनसँग सम्बन्धित रहेर यि रोगहरु फैलिरहेको छ ।’
कार्यकारी निर्देशक गौतमले जलवायु परिवर्तनका कारण तराईमा मात्रै सिमित हुने रोगहरु बिस्तारै पहाड र हिमालतिर पुगिरहेको अवस्थालाई मध्यनजर गरेर सरकारले आफ्ना योजनाहरु अघि बढाउन जरुरी रहेको बताए । विपद्का तयारी गर्दा स्वास्थ्यलाई पनि सँगै जोडेर लैजानसके रोगबाट नागरिकलाई सुरक्षित राख्न सकिने उल्लेख गरे ।








