खबर दिनभर : विपक्षी दलले माग्यो ओलीको राजीनामा,पाकिस्तानका पूर्वप्रधानमन्त्रीलाई १४ वर्षको जेल सजाय

काम गर्नका लागि अध्यादेश ल्याइएको हो : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले कानून निर्माण काम रोक्नका लागि नभइ काम गर्नका लागि बनाउनुपर्ने बताएका छन् ।
शुक्रवार काठमाडौंमा स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था (इप्पान) को २५ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले अहिले सरकारले काम गर्नका लागि अध्यादेश ल्याएको बताए ।
उनले कतिपयले यसको बिरोध गर्न खोजिरहेको भन्दै १५र२० दिनमा संसदमा पेश भएर दुई महिनाभित्र कानूनको रुप लिइसक्ने बताए । उनले दुई महिनासम्म देशका कामहरु रोकेर राख्न नमिल्ने बताए ।
‘अहिले हामीले भर्खर कानून अध्यादेशमार्फत ल्याएका छौँ । कतिपयले त्यसको बिरोध गर्न खोजिरहेका छन् । अध्यादेशले शासन खोज्यो भने । १५/२० दिनभित्र संसद आइसक्छ । संसद आएको पहिलो दिन त्यहाँ पेश गर्छौं,’उनले भने ‘त्यहाँ छलफल गर्छौं । र अगाडि बढाउँछौँ । दुई महिनाभित्र त्यसको टुंगो लागिसक्नुपर्छ । तर दुई महिनासम्म काम रोकेर बस्न मिल्दैन । एउटा देशको दुई महिना भनेको महत्वपूर्ण छ । अत्यन्त जरुरी कुराहरु । अहिले खोल्न जरुरी छ ।’
उनले एउटा देशका लागि दुई महिनाको समय धेरै नै महत्वपूर्ण रहेको बताए । उनले विकासका काम अघि बढाउने र जनतको सेवा गर्ने व्यवसायमैत्री सकारात्मक कानूनहरुको निर्माण जरुरी रहेको बताए ।
प्रधानमन्त्री ओलीले नेपाली जनतालाई अब गरिब छोडिरहन नसक्ने बताए । उनले आत्मविश्वासका साथ अघि बढे गरिबी निवारण सम्भव रहेको बताए ।
सम्पूर्ण जनता अधिकार सम्पन्न हुनुपर्ने र अधिकारको निर्वाध उपयोग गर्न पाउनुपर्ने बताए । ‘उद्यमी व्यवसायीहरु अहिले तड्पिएका छन् । हाम्रा नीतिहरु, कानूनहरु बन्नुपर्दछ, काम गर्नका लागि, काम रोक्नका लागि होइन । रोक्न कानून बनेका छन् भने त्यस्ता कानूनलाई फेर्न पर्दछ । कामलाई अघि बढाउने, विकासलाई अघि बढाउने, जनतालाई सेवा पुर्याउने र व्यवसायीलाई पुग्ने सकारात्मक कानूनहरु परिवर्तन गर्नुपर्छ । एक हप्ता ढिलो हुन्छ भने एक हप्ता अगाडि गर्नुपर्दछ । अध्यादेश भनेको कुनै छुट्टै पृथक केही कुरा होइन’ उनले भने ।
प्रधानमन्त्री ओलीले अधिकारको उपयोगको नाममा सभ्य समाजलाई पाच्य नहुने कुरा बोल्न नहुने बताए । उनले उर्जाको प्रयोग नबढाइ नहुने बताए ।
नेपालसँग १ लाख २० हजार मेगावाट भन्दा बढी उर्जा क्षमताको भरपुर प्रयोग गर्नुपर्ने बताए ।
वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि कुटपिट गर्ने ललितकुमार पक्राउ
वरिष्ठ अधिवक्ता दिनेशकुमार त्रिपाठीमाथि कुटपिट गर्ने व्यक्ति पक्राउ परेका छन् ।
काठमाडौं प्रहरीले यही माघ २ गते काठमाडौं जिल्ला अदालत अगाडि सडक पार गर्ने क्रममा उहाँमाथि आक्रमण गर्ने दोलखाको तामाकोशी गाउँपालिका–१ का ४८ वर्षीय ललितकुमार केसीलाई पक्राउ गरेको हो ।
निजलाई ज्यान मार्ने उद्योग कसुरमा काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाठौँका सूचना अधिकारी नवराज अधिकारीले जानकारी दिए ।
सो दिन अदालतबाट बहस गरी सडक पार गर्ने क्रममा कुटपिट भएपछि वरिष्ठ अधिवक्ता त्रिपाठीलाई प्रहरीले उद्धार गरी सुरक्षित स्थानमा लगेको थियो । उक्त घटनामा संलग्न अन्य व्यक्तिहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
रास्वपा कोशी सभापति राजेश तिम्सीना निलम्बित
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रीय सदस्य एवं कोशी प्रदेश सभापति राजेश तिम्सीना निलम्बनमा परेका छन् । पार्टी केन्द्रीय अनुशासन आयोगका प्रमुख भरतमणी देवकोटाले तिम्सिनालाई निलम्बन गरिएको जानकारी गराएका हुन् ।
साधारण सदस्यबाटै निकालिएका तत्कालिन महामन्त्री मुकुल ढकाललाई पूर्ववत जिम्मेवारीमा फर्काउन माग गर्दै कार्यवाहक सभापति डिपी अर्याललाई पत्र लेखेपछि उनलाई पार्टीले निलम्बन गरेको हो ।
जिबी राईको राहदानी रद्द गर्न अदालतको आदेश
सहकारी ठगी प्रकरणमा फरार गितेन्द्रबाबु (जिबी) राईको राहदानी रद्द गर्न कास्की जिल्ला अदालतले आदेश दिएको छ । शुक्रवार कास्की अदालतका न्यायाधीश हिमलाल बेल्बासेको इजलासले जिबीको राहदानी रद्द गर्न आदेश दिएको हो ।
राहदानी रद्द गर्न राहदानी विभागमा पत्र पठाउने निर्णय भएको कास्की अदालतका स्रेस्तेदार राजन खनालले बताए ।
जिल्ला प्रहरी कार्यालय कास्कीले सरकारी वकिल कार्यालयमार्फत् जिबीलाई विदेशबाट पक्राउ गरी नेपाल ल्याउनका लागि राहदानी रद्द गर्न माग गर्दै अदालतमा निवेदन दिएको थियो ।
फेडोद्वारा दलित समुदायका पत्रकारलाई सम्मान
दलित महिला सङ्घ (फेडो) ले दलित समुदायबाट पत्रकारिता गर्ने पत्रकारलाई सम्मान गरेको छ । फेडोद्वारा शुक्रवार आयोजित कार्यक्रममा फेडोका संस्थापक अध्यक्ष दुर्गा सोव र महासचिव रेणु सिजामतिले भर्खरै सम्पन्न नेपाल पत्रकार महासङ्घको निर्वाचनबाट निर्वाचित दलित समुदायका पत्रकारलाई सम्मान गरे।
फेडोले महासङ्घका उपाध्यक्ष उमित बागचन्द, सचिव प्रकाश धौलाकोटी, केन्द्रीय सदस्य रीता बुढाथोकी, पत्रकार महासङ्घ प्रतिष्ठान प्रदेशका सचिव रमेश टमाटा, सोही प्रतिष्ठानका कार्यसमिति सदस्य ईश्वरी विश्वकर्मा र महासङ्घ भक्तपुर जिल्लाका कार्यसमिति सदस्य अन्जितसिंह विकलाई सम्मान गरेको छ ।
सोही अवसरमा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का उपाध्यक्ष सोवले विषयवस्तु र सहभागिताका हिसाबले सरकारी र निजी क्षेत्रका आमसञ्चारमाध्यम समावेशी बन्नुपर्नेमा जोड दिए ।
“दलित समुदायबाट पत्रकार महासङ्घको पदाधिकारी र कार्यसमिति सदस्यमा निर्वाचित हुनुमात्र ठूलो कुरा होइन, दलित समुदायबाट प्रतिनिधित्व गर्ने पत्रकारले महासङ्घमा रहँदा आफ्नो कार्यकाल अवधिभित्र दलित समुदायका पत्रकारका लागि के काम गर्यो भन्ने महत्त्वपूर्ण कुरा हो, त्यसैले जो अहिले निर्वाचन जितेर महासङ्घमा पुग्नुभएको छ, उहाँहरू दलितका पत्रकारको हकहितको पक्षमा बढी लाग्नुपर्छ”, उनले भनिन् ।
महासङ्घका नवनिर्वाचित उपाध्यक्ष बागचन्दले आफू महासङ्घमा रहुञ्जेल दलित समुदायका पत्रकारको हकहितसँगै समावेशिताको पक्षमा काम गर्ने प्रतिबद्धता व्यक्त गरे । खासगरी सरकारी र निजी सञ्चारमाध्यममा दलित समुदायको विषयवस्तुसँगै भौतिक सहभागिाताको निम्ति काम गर्ने उनको भनाइ छ ।
महासचिव सिजापतिले नेपालको संविधानमै दलित समुदायको समानुपातिक सहभागिताको व्यवस्था गरेको सन्दर्भ उल्लेख गर्दै राज्यको चौथो अङ्ग सञ्चारमाध्यम सबै हिसाबले समावेशी बन्नुपर्ने धारणा राखे।
महिलावादी दलित सङ्गठन ९फेडो० नेपालमा जातीय र लैङ्गिक भेदभाव उन्मूलन गर्ने जोशका साथ दलित महिलाको समूहद्वारा सन् १९९४ मा एक गैरलाभकारी, गैरराजनीतिक र धर्मनिरपेक्ष गैरसरकारी संस्थाको रूपमा स्थापना भएको थियो ।
यो दलित अधिकार र महिला अधिकारको एकैसाथ वकालत गर्ने अग्रणी संस्था हो । यो लैङ्गिक समानता र सामाजिक समावेशीकरणमा एक प्रमुख स्रोत सङ्गठनको रूपमा खडा छ । ‘न्यायपूर्ण र समतामूलक समाज’को दर्शनका साथ फेडोले दलित महिलाहरूलाई आफ्नो पहलको केन्द्रविन्दुमा राख्दै आएको छ ।
विपक्षी दलहरुले मागे प्रधानमन्त्रीको राजीनामा
प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्र सहित विपक्षी दलहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेका छन् ।
नेकपा माओवादी केन्द्र सहित नेकपा एकीकृत समाजवादी,राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा),राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायत विपक्षी दलहरुले शुक्रवार पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेको हो ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नैतिकताको आधारमा प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने बताए । आफुहरुको सरकारमा जाने योजना नरहेको समेत उनले प्रष्ट पारे ।
सरकारको गतल कदमको निरन्तर विरोध गर्ने बताउँदै उनले भने,‘प्रतिपक्षले आफ्नो जिम्मेवारी,राष्ट्र,जनता,संविधान र लोकतन्त्रप्रति पूरा गर्नुपर्ने बोधका साथ हामी एकठाउँमा केन्द्रित भएका छौँ ।’
सरकारले प्रतिपक्षका कुरालाई नजरअन्दाज गरेमा विशेष अधिवेशन मात्रै नभई जरुरी पर्दा सडक संघर्षमा जाने समेत अध्यक्ष प्रचण्डले बताए । वर्तमान सरकार गठन भएको ६ महिना वितिसक्दा पनि जनअपेक्षा अनुरुप अघि बढ्न नसेकको उनको भनाई छ ।
ओलीले संसद छलेर अध्यादेश मार्फत साशन गर्न खोजेको उल्लेख गर्दै ओली नेतृत्वको सरकारले गरिरहेको निरंकुश गतिविधिका कारण जनताको भरोसा गुम्दै गएको अध्यक्ष प्रचण्डले बताए ।
सहज ढङ्गको सेवा प्रवाह र अपराध नियन्त्रणका लागि राष्ट्रिय परिचयपत्र अपरिहार्य : गृहमन्त्री
गृहमन्त्री रमेश लेखकले सुशासन प्रवर्द्धन, सहज ढङ्गले सेवा प्रवाह र अपराध नियन्त्रणका लागि राष्ट्रिय परिचयपत्र अपरिहार्य भएको बताएका छन् ।
प्रतिनिधिसभा, राज्यव्यवस्था तथा सुशासन समितिको शुक्रवारको बैठकमा राष्ट्रिय परिचयपत्रका सम्बन्धमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै उनले सम्पत्ति शुद्धीकरणसम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिबद्धताको प्रभावकारी कार्यान्वयन गर्न पनि राष्ट्रिय परिचयपत्र अनिवार्य भएको बताए ।
राष्ट्रिय परिचयपत्रमा समावेश गरिएका नागरिकका जैविक तथा व्यक्तिगत विवरणको सुरक्षाप्रति सरकार संवेदनशील रहेको दोहोर्याउँदै गृहमन्त्री लेखकले ती विवरणको सुरक्षाका गरिने प्रतिबद्धता व्यक्त गरे ।
“नागरिकको व्यक्तिगत विवरण राज्यसँग हुनुपर्छ, तर त्यसको दुरुपयोग हुन दिँदैनौँ”, उहाँले भन्नुभयो, “डेटा सुरक्षामा सरकारले ध्यान दिन्छ ।” गहन अध्ययन गरेर राज्यका नीतिका रुपमा अघि सारिएको राष्ट्रिय परिचयपत्रको कार्यान्वयन अनिवार्य भएको जनाउँदै गृहमन्त्रीले ज्येष्ठ नागरिक, बालबालिका, अपाङ्गता भएका तथा अशक्त व्यक्तिका हकमा राष्ट्रिय परिचयपत्र अनिवार्य नगरिएको स्पष्ट पारे ।
उनले राष्ट्रिय परिचयपत्रको विवरण सङ्कलन, प्रशोधन र छपाईसम्बन्धी कार्य तथा तथ्याङ्कको सुरक्षा र भण्डारणको अवलोकन गरी आमनागरिकलाई यसप्रति आश्वस्त पार्ने भूमिका निर्वाह गर्न सांसदहरुलाई आग्रह गरे ।
गृह मन्त्रालयका सचिव गोकर्णमणि दुवाडी र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक युवराज कट्टेलले राष्ट्रिय परिचयपत्र लागू गर्ने सन्दर्भमा भएका गतिविधिबारे जानकारी दिएका थिए ।
परिचयपत्रका विवरण सुरक्षामा सांसदको चासो
छलफलमा सांसदहरुले राष्ट्रिय परिचयपत्र प्रणालीमा राखिएका नागरिकको जैविक र व्यक्तिगत विवरणको सुरक्षा सम्बन्धमा चासो राखेका थिए । सांसद हृदयराम थानीले उक्त प्रणालीमा रहेका नागरिकका व्यक्तिगत विवरणको सुरक्षामा संवेदशील हुनुपर्ने बताए ।
सांसद सरिता प्रसाईंले राष्ट्रिय परिचयपत्रका तथ्याङ्कको सुरक्षाका सम्बन्धमा राज्यले नागरिकलाई आश्वस्त पार्नुपर्नेमा जोड दिए । समितिका अर्का सदस्य कृष्णगोपाल श्रेष्ठले राष्ट्रिय परिचपयपत्रको आवश्यकता र महत्वबारे सरकारले नागरिकलाई बुझाउनुपर्ने बताए ।
समितिका सभापति रामहरि खतिवडाले राष्ट्रिय परियचपत्रसम्बन्धी नागरिकका विवरणको सुरक्षामा ध्यान दिन सरकारलाई आग्रह गर्दै यसको कार्यान्वयनका क्रममा उत्पन्न जटिलतालाई सरलीकृत गर्नुपर्ने बताए ।
प्रधानमन्त्री र इजरायली राजदूतबीच शिष्टाचार भेटवार्ता
प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि इजरायलका राजदूत स्मुलिक ए बासले शिष्टाचार भेटवार्ता गरेका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रवार अपराह्न भएको भेटमा द्विपक्षीय सम्बन्ध र आपसीहितका विविध विषयका साथै सूचना प्रविधि, लगानी, पर्यटन, रोजगारी, कृषिको आधुनिकीकरण, शिक्षा र संस्कृतिलगायत पारस्परिक साझेदारीका बारेमा विचारविमर्श भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
त्यस अवसरमा राष्ट्रियसभाका सदस्य एवं इजरायलका लागि पूर्व नेपाली राजदूत डा।अञ्जान शाक्य र परराष्ट्र मन्त्रालयका उच्च अधिकारीको सहभागिता थियो ।
प्रमुख सचेतकहरूको निष्कर्ष– कानुन निर्माणमा तीव्रता दिन एकजुट हुन्छौँ
संसदका प्रमुख चार दलका प्रमुख सचेतकहरुको बैठकले संसदलाई प्रभावकारी बढाउन सबै दलहरु एकठाउँमा उभिएर काम गर्ने निस्कर्ष निकालेको छ ।
शुक्रवार सिंहदरबारमा भएको प्रमुख समेतकहरुको बैठकले यस्तो निस्कर्ष निकालेको एमाले प्रमुख सचेत महेश बर्तौलाले बताए ।
उनले सरकारले संसदलाई दिएको बिजनेस वा विधेयकहरु छिटो–छरितो ढंगबाट कानून निर्माणको तहमा पुर्याउन संसदीय दलहरुले भुमिका खेल्ने विषयमा छलफल भएको बताए । ‘आजको बैठकमा हामीले विधेयक निर्माणका सन्दर्भमा कसरी अगाडि बढ्नसक्छौं । हामीले साझा ढंगबाट संसदभित्रका कामहरु कसरी प्रभावकारी बनाउन सक्छौं भन्ने विषयमा छलफल चलायौं,’उनले भने,‘सामान्यतया हामी संसदीय काम र प्रक्रियाहरुका सन्दर्भमा समय समयमा छलफल गरेर विधेयकका सन्दर्भमा होस्, कन्टेन्टका सन्दर्भमा र अन्य विषयमा पनि एकमत निर्माण गरेर अगाडि बढ्ने गरेको इतिहास नै छ । र यो नियमित प्रक्रियाभित्र रहेर आज हामीले छलफल गरेका हौं ।’
उनले सरकारले संसदमा ल्याएका विधेयकहरु संसदले पूर्णता नदिँदा वर्षौं होल्ड भएर बस्ने समस्यालाई हल गरेर जान प्रमुख चार दलहरुबीच सहमति भएको बताए ।
उनले कानून निर्माणको सवालमा संसद अब्बल छ भनि प्रमाणित गर्नको लागि आवश्यक छलफल र सहकार्य गर्दै अघि बढ्ने विषयमा समेत छलफल भएको बताए । ‘आम रुपमा हाम्रो आजको बैठकको निश्कर्ष भनेको संसदको प्रभावकारिता हासिल गर्न र विधेयक निर्माणमा संसद अब्बल छ भन्ने कुरा स्थापित गराउनका लागि सिंगो दलहरु एक ठाउँमा उभिएर काम गर्ने निस्कर्षमा पुग्यौैं’ उनले भने ।
बैठकमा नेपाली काँग्रेसका प्रमुख सचेतक श्याम घिमिरे, नेकपा ९माओवादी केन्द्र० का प्रमुख सचेतक हितराज पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियार सहभागि थिए ।
‘विद्युत् उत्पादनको लक्ष्य प्राप्त गर्न ६२ खर्ब लगानी आवश्यक’
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले विद्युत् उत्पादनको लक्ष्य प्राप्त गर्न रु ६२ खर्ब लगानी आवश्यक पर्ने बताएका छन् ।
इप्पानाको शुक्रवार आयोजित रजत जयन्ती समारोहमा उनले विद्युत् उत्पादनको लक्ष्य प्राप्त गर्न रु ६२ खर्ब लगानी आवश्यक पर्नेमा रु ४० खर्ब स्वदेशमा रहने प्रक्षेपण गरिएको जानकारी दिए ।
ऊर्जा क्षेत्रबाट वार्षिक सात लाख रोजगारी सृजना हुने जनाउँदै कार्कीले यसले मुलुकको अर्थतन्त्र चलायमान बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने धारणा राखे ।
उनका अनुसार नेपालको कुल विद्युत् उत्पादन क्षमता तीन हजार पाँच सय मेगावाट पुग्दा निजी क्षेत्रबाट मात्रै २५ वर्षको अवधिमा दुई हजार सात सय ४० मेगावाट विद्युत् उत्पादन भइसकेको छ ।
कार्यक्रममा दिइएको जानकारी अनुसार कुल उत्पादनमा निजी क्षेत्रको योगदान करिब ८० प्रतिशतभन्दा बढी रहेको छ । चार हजार मेगावाट क्षमताका आयोजना निर्माणाधीन रहँदा चार हजार तीन सय मेगावाट क्षमताका आयोजना खरिद बिक्री सम्झौता ९पिपीए० सम्पन्न गरेर वित्तीय व्यवस्थापनको पर्खाइमा छन् भने १२ हजार नौ सय ६५ मेगावाट क्षमताका आयोजना अध्ययन सकेर पिपीएको पर्खाइमा रहेका इपपानले जनाएको छ ।
यीमध्ये पनि ८० प्रतिशतभन्दा बढी आयोजना निजी क्षेत्रले विकास गरिरहेका छन् । मन्त्रिपरिषद्बाट स्वीकृत भएको ‘ऊर्जा विकास मार्गचित्र तथा कार्ययोजना, २०८१’ ले २८ हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गर्ने र मार्गचित्रमा १३ हजार पाँच सय मेगावाट विद्युत् नेपाला खपत गर्ने लक्ष्य राखिएको अध्यक्ष कार्कीले जानकारी दिनुभयो । त्यसबाहेक बढी भएको विद्युत् मात्र छिमेकी मुलुकमा निर्यात गर्ने लक्ष्य लिइएको उनले बताए ।
भ्रष्टाचारबाट आर्जन गरेको दुई अर्ब बराबरको सम्पत्ति जफत गर्दै गृह मन्त्रालय
गृह मन्त्रालयले भ्रष्टाचारबाट आर्जन गरेको सम्पत्ति सरकारका नाममा फिर्ता ल्याउन सक्रियता बढाएको छ ।
त्यस क्रममा सर्वोच्च अदालतबाट जफत हुने भनेर फैसला भएका घरजग्गा सरकारका नाममा ल्याउने प्रस्ताव गृह मन्त्रालयमार्फत मन्त्रिपरिषद् पठाइएको कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागका महानिर्देशक सुरेश पन्थीले जानकारी दिए ।
‘पाँच जना पूर्वप्रशासक र आपराधिक गतिविधिबाट एक भारतीले नेपालमा खरिद गरेको घरजग्गा जफतका लागि प्रस्ताव पठाइएको छ’, उनले भने, ‘हामीले अदालतबाट सोसम्बन्धी भएका फैसलाको लगत सङ्कलनका लागि शाखा अधिकृतको नेतृत्वमा पाँच वटा समूह बनाएर खटाएका छौँ ।’ महानिर्देशक पन्थीले सम्पत्ति जफतसम्बन्धी विभिन्न अदालतबाट तीन हजार पाँच सय फैसला भएको जानकारी दिए ।
उनले दुई अर्ब बराबरको सम्पत्ति जफतको तयारी भइरहेको बताए । पहिलो चरणमा पाँच पूर्व प्रशासकले भ्रष्टाचारबाट आर्जन गरेको काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा रहेको सम्पत्ति जफतको प्रक्रिया अघि बढाइएको जानकारी दिए ।
अदालतबाट फैसला भई जफत गर्नुपर्ने घरजग्गा लामो समयदेखि कसुरदारले नै प्रयोग गर्दै आएको अवस्थामा मन्त्रालयले जफत गर्ने कार्यलाई सक्रियताका साथ अघि बढाएको गृहमन्त्रालयले जनाएको छ ।
कसुरजन्य सम्पत्ति जफतसम्बन्धी ऐनअनुसार सर्वोच्चबाट फैसला भएका घरजग्गा जफत गरी सरकारका नाममा ल्याउने कार्य तीव्र गतिमा अघि बढाइने महानिर्देशक पन्थीको भनाइ छ ।
विभागका अनुसार पूर्वप्रशासक, कर्मचारी तथा परिवारका सदस्यहरू, आमोनन्द मिश्र, सरस्वती ढुङ्गाना, मुरारीबहादुर कार्की, केशरजङ्ग खड्का र रामात्रा चतुर्वेदीको काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा रहेका घरजग्गा जफत गर्ने प्रक्रिया मन्त्रिपरिषद्मा पुगेको हो ।
यस्तै, आपराधिक गतिविधिबाट एक भारतीले नेपालमा खरिद गरेको घरजग्गा पनि जफतका लागि मन्त्रिपरिषद्मा प्रस्ताव पेस भएको छ ।
विगतमा आपराधिक गतिविधिमा संलग्न भारतको असाम राज्यका निरञ्जन होजाइले नेपाली महिलाका नाममा काठमाडौँको जोरपाटीमा राखेको जग्गा र घर जफतका लागि गृह मन्त्रालयले अघि बढाएको हो ।
डेढ वर्षअघि कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागले सो घर खाली गराए पनि सरकारको नाममा आउन नसकेको महानिर्देशक पन्थीले बताए । ‘होजाइसँग विवाह गरेकी सरिता गिरीको नाममा सो घरजग्गा छ’, उनले भने, ‘होजाइले नेपालमा निर्मल राईका नाममा नागरिकता लिई आफ्नो पहिचान लुकाएर आतङ्कवादरआपराधिक गतिविधिको पैसा ल्याएका थिए । सिन्धुपाल्चोककी सरितासँग बिहे गरी उनी र उनको परिवारका नाममा सम्पत्ति लुकाएको अनुसन्धानमा भेटिएपछि मुद्दा दायर भएको थियो ।’ महानिर्देशक पन्थीले कसुरजन्य सम्पत्ति जफतको कामलाई तीव्रता दिइने बताए ।
जफतको ठहर भएका घरजग्गा लिलामी गर्ने वा सरकारका नाममा ल्याउने दुवै विकल्प कानुनले दिएको छ ।
भ्रष्टाचारसम्बन्धी मुद्दामा जफत गर्न लागिएका घरजग्गा भने सरकारका नाममा ल्याएर सरकारी प्रयोजनमा प्रयोग गरिने विभागले जनाएको छ ।
रास्वपाले तोक्यो नयाँ कार्यवाहक प्रवक्ता
राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले नयाँ कार्यवाहक प्रवक्ता तोकेको छ ।
हाल कार्यवाहकको जिम्मेवारीमा रहेका मनिष झा निजी कार्यमा व्यस्त हुने भएपछि रास्वपाले प्रतिभा रावललाई कार्यवाहक प्रवक्ताको जिम्मेवारी दिएको हो ।
रास्वपाका कार्यवाहक सभापति डोलप्रसाद अर्यालले रावललाई कार्यवाहक प्रवक्ताको जिम्मेवारी दिएका हुन् ।
रावल रास्वपाकी सह प्रवक्ता समेत हुन् ।
फेरि बढ्यो सुनको मूल्य
नेपाली बजारमा साताको अन्तिम कारोबार दिन सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज ९शुक्रबार० सुनको मूल्य प्रतितोला १ हजार ३ सय रुपैयाँले बढेको हो ।
छापावाल सुन प्रतितोला १ लाख ५७ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो कारोबार दिन बिहीबार सुन प्रतितोला १ लाख ५६ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।
चाँदी १० रुपैयाँले बढेर प्रतितोला १ हजार ८ सय ९० रुपैयाँमा कारोबार भईरहेको छ । बिहीबार चाँदी प्रतितोला १ हजार ८ सय ८० रुपैयाँमा कारोबार भएको थियो ।
आज प्रति १० ग्राम सुनको मूल्य १ लाख ३५ हजार ३ सय ७५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ६ सय ६० रुपैयाँ ५० पैसा कायम भएको छ ।
रविको हिरासतभित्रको तस्बीर खिच्ने डा.भुषाललाई ५० हजार धरौटीमा रिहा गर्न आदेश
डा. निकोलश भुषाल ५० हजार धरौटीमा रिहा गर्न जिल्ला अदालत कास्कीले आदेश दिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको हिरासतभित्रको तस्बीर सार्वजनिक गर्ने डा। भुषाल ५० हजार धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको हो ।
न्यायाधीश शंकरबहादुर राईको इजलासले डा.भुषाललाई ५० हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश गरेको हो । साइबर अपराधको कसुरमा बिहीबार दोस्रो पटक पक्राउ परेका उनीविरुद्ध शुक्रबार सरकारी वकिल कार्यालयले अदालतमा मुद्दा दर्ता गरेको थियो ।
यसअघि भुषाल गत पुस ७ गते पक्राउ परेका थिए । त्यसपछि जिल्ला अदालत कास्कीले उनलाई हिरासतबाहिरै राखेर अनुसन्धान गर्न भनेको थियो ।
गण्डकीलाई ६ विकेटले पराजित गर्दै लुम्बिनी विजयी
प्रधानमन्त्री कप टी-२० महिला राष्ट्रिय क्रिकेटमा लुम्बिनीले गण्डकी प्रदेशलाई पराजित गरेको छ ।
धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा शुक्रवार भएको खेलमा लुम्बिनीले गण्डकीलाई ६ विकेटले पराजित गर्दै पहिलो जित दर्ता गरेको हो । गण्डकीले दिएको ९८ रनको लक्ष्य लुम्बिनीले १६.२ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्यो ।
लुम्बिनीका लागि प्लेयर अफ द म्याचसमेत चुनिएकी सरस्वती पुन ३१ रनमा अविजित रहिन् । रञ्जु श्रेष्ठले २० र आङ्गी पाठकले १८ रन बनाइन् । गण्डकीका लागि अपेक्षा बुढाथोकीले २ विकेट लिइन् । यसअघि गण्डकीले पूरै २० ओभर खेलमा ४ विकेटको क्षतिमा ९७ रन बनाएको थियो ।
गण्डकीका लागि सलिना सेनले अविजित ३३ र रेखा तामाङले २५ रन बनाइन् । लुम्बिनीका लागि मनिष रानाले २, मधु डीसी र आङ्गी पाठकले १–१ विकेट लिइन् ।
महिला विश्वकप क्रिकेटको पहिलो खेल नेपालले बङ्गलादेशसँग खेल्ने
मलेसियामा आयोजना हुने आइसिसी यु–१९ महिला विश्वकप क्रिकेटमा नेपालले बङ्गलादेशको सामना गर्दै प्रतियोगिताको उद्घाटन गर्ने भएको छ ।
पहिलो पटक विश्वकपमा सहभागिता जनाएको नेपालले बङ्गलादेश विरुद्ध जित निकाल्दै प्रतियोगितामा सुखद् सुरुवात गर्ने लक्ष्य लिएको छ । उक्त खेल नेपाली समयअनुसार शनिबार दिउँसो १२ः१५ बजेदेखि सुरु हुनेछ ।
गत वर्षको नोभेम्बरमा युनाइटेड अरब इमिरेट्स ९युएई०मा भएको विश्वकपका लागि एसियाली छनोट खेल भएको थियो । उक्त खेलमा नेपाल विश्वकपका लागि छनोट भएको हो । त्यतिबेला नेपाल पहिलो खेलमा युएईसँग पराजित भएको थियो भने अन्तिम खेलमा नेपालले युएईलाई पराजित गर्दै विश्वकपमा स्थान बनाएको थियो ।
विश्वकप छनोटसँगै पहिलो पटक आयोजना हुन लागेको यु–१९ महिला एसिया कपमासमेत नेपाल सहभागी हुने अवसर पाएको हो । विश्वकपमा विभिन्न १६ राष्ट्रको सहभागिता रहेको छ । जसलाई चार समूहमा विभाजन गरिएको छ । प्रतियोगितामा नेपाल समूह ‘डी’ मा परेको छ ।
नेपालको समूहमा स्कटल्यान्ड, बङ्गलादेश र अस्ट्रेलिया छन् । नेपालले दोस्रो खेल माघ ७ गते स्कटल्यान्डसँग खेल्नछ भने तेस्रो खेल माघ ९ गते अस्ट्रेलियासँग खेल्नेछ ।
यसैगरी प्रतियोगिताको समूह ‘ए’ मा आयोजक मलेसियासहित साविक विजेता भारत, श्रीलङ्का र वेस्ट इण्डिज छन् । त्यस्तै समूह ‘बी’ मा इग्ल्याण्ड, आयरल्याण्ड, पाकिस्तान र अमेरिका छ्न । समूह ‘सि’ मा न्युजिल्याण्ड, समोआ, दक्षिण अफ्रिका र नाजेरिया छन् ।
प्रत्येक समूहका शीर्ष तीन टोली सुपर सिक्समा प्रवेश गनेछन् । सुपर सिक्समा समान छ देशको दुई समूह हुनेछ । सुपर सिक्समा स्थान बनाएमा नेपालले भारत, श्रीलङ्का तथा वेस्ट इण्डिजसँग खेल्न पाउने सम्भावना रहनेछ । सुपर सिक्सका दुवै समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् ।
नेपाली टोलिमा कप्तान पूजा महतोसँगै सोनी पाख्रिन, किरनकुमारी कुँवर, कृष्मा गुरुङ, साना प्रविन, स्नेहा महरा र सावित्रा धामी छन् । त्यस्तै तृषना विक, रिया शर्मा, अलिशाकुमारी यादव, कुसुम गोदार, सिमाना केसी, ज्योत्सिका मरासिनी, रचना चौधरी र अनु कडायत छन् ।
भारतमा सडक दुर्घटनामा परी नौ जनाको मृत्यु
पश्चिमी भारतको महाराष्ट्र राज्यमा शुक्रबार तीव्र गतिमा रहेको मिनी ट्रकले भ्यानलाई ठक्कर दिँदा कम्तीमा नौ जनाको मृत्यु हुनुको साथै अन्य छ जना घाइते भएको प्रहरीले जनाएको छ।
दुर्घटना महाराष्ट्रको राजधानी सहर मुम्बईबाट करिब १८५ किलोमिटर पूर्वमा पुणे जिल्लाको नारायणगाउँ नजिक पुणे(नासिक राजमार्गमा भएको हो । दुर्घटना लगत्तै स्थानीयवासी र प्रहरी घटनास्थलमा पुगेर घाइतेहरुलाई नजिकैको अस्पतालमा लगेका थिए ।
प्रहरीले मुद्दा दर्ता गरी दुर्घटनाको अनुसन्धान गर्न आदेश दिएको छ । भारतमा ओभरलोडिङ, सडकको खराब अवस्था र लापरबाहीका कारण सडक दुर्घटना हुने गरेको छ ।
पाकिस्तानका पूर्वप्रधानमन्त्री खानलाई भ्रष्टाचार मुद्दामा १४ वर्षको जेल सजाय
पाकिस्तानको एक अदालतले पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान र उनकी पत्नी बुशरा बीबीलाई भ्रष्टाचारको मुद्दामा दोषी ठहर गरेको छ । फैसलामा खानलाई १४ वर्षको जेल सजाय सुनाएको छ ।
न्यायाधीश नासिर जावेद राणाले फैसलाबारे भने,“अभियोजन पक्षले आफ्नो मुद्दा प्रमाणित गरेको छ । खानदोषी ठहरिएका छन् ।”
खानकी पत्नी बीबीलाई सात वर्षको जेल सजाय सुनाइएको छ ।भ्रष्टाचार विरोधी अदालतले खानलाई राखिएको राजधानी इस्लामावाद नजिकैको जेलमा भएको सुनुवाईपछि फैसला सुनाएको हो ।
उनीहरूले मिलेर स्थापना गरेको अल–कादिर ट्रस्ट नामक कल्याणकारी फाउन्डेसनका नाममा भएको आर्थिक अनियमितताका कारण उनीहरूलाई दोषी ठहर गरिएको फैसलामा उल्लेख छ ।
खान सन् २०२३ को अगष्टदेखि जेलमा हुनुहुन्छ र उहाँमाथि करिब २०० वटा मुद्दा लगाइएका छन् । ती मुद्दा उहाँलाई सत्तामा फर्कनबाट रोक्नका लागि राजनीतिक प्रतिशोधबाट प्रेरित भएको दावी खानले गरेका छन् ।
उनकी पत्नी बुशरा बीबी हालसालै जेलबाट रिहा भएकी थिइन् भने उनलाई फैसलापछि शुक्रबार अदालतबाटै पक्राउ गरिएको छ । शुक्रबार बिहान अदालतको सुनुवाइमा भाग लिन उनी खानलाई राखिएको जेलमा उपस्थित भका थिए ।








