खबर दिनभर : यी हुन् आजका शीर्ष समाचार

विदेश पलायन हुने भन्दा आफ्नो देश बनाउने कुरामा बढी ध्यान दिनुस् : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले प्राविधिक शिक्षामा बढी जोड दिइरहेको बताएका छन् । बिहीवार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले आइटी र प्रविधिको क्षेत्रमा सरकारले जोड दिएर काम गरिरहेको उल्लेख गरे।
उनले च्याट जिपिटी, एआई अब नेपालका लागि नयाँ कुरा नभएको भन्दै यसको प्रयोगबाट नेपाल अघि बढ्नुपर्ने बताए । उनले प्रविधिबाट शतर्क हुनुपर्ने अवस्था रहेको पनि बताए ।
उनले भने, ‘अब हामी उठ्न नसक्ने कुनै कारण छैन । अब हामीले प्राविधिक शिक्षामा जोड दिनेछौँ । आइटीमा जोड दिनेछौँ । अब हाम्रा लागि नयाँ कुरा होइन । च्याट जिपिटी पनि नयाँ कुरा होइन । एआई पनि नयाँ कुरा होइन । हामी त्यसको प्रयोग गरेर बाँकी दुनियाँ जस्तै अघि बढ्न सक्छौँ । त्यसका खतरनाक पक्षहरु छन् । ति कुराहरुमा पनि हामीले ध्यान दिनुपर्छ । त्यसले अह्राएको गर्छ, साँचो र झटो धेरै छुट्याउँदैन । त्यो कुनै चित्रगुप्त होइन । अह्राएको गर्ने भएकाले गलत अह्रायो भने गलत गर्दछ । त्यो बुझ्न शतर्क हुनुपर्छ ।’
प्रधानमन्त्री ओलीले विदेश पलायन हुने भन्दा आफ्नो देश बनाउने कुरामा बढी ध्यान दिनुपर्ने बताए ।
सरकारका कामलाई प्रभावकारी बनाउन सभापति देउवाको निर्देशन
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारका काम कारबाहीलाई प्रभावकारी बनाउन पार्टीबाट प्रतिनिधित्व गर्ने मन्त्रीलाई निर्देशन दिएका छन् ।
बुढानीलकण्ठस्थित निवासमा आज भएको पार्टी पदाधिकारीसहित सरकारमा सहभागी मन्त्रीसँगको बैठकमा सभापति देउवाले जनतासँग सरोकार भएका विषयमा सहज र प्रभावकारी ढङ्गले सेवा प्रवाह गर्न निर्देशन दिएका कानुन न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले जानकारी दिए ।
‘जनतासँग सरोकार भएका विषयमा सेवा प्रवाहलाई चुस्त, पारदर्शी र प्रभावकारी बनाउनुस्’, सभापति देउवाको भनाइ उद्धृत गर्दै मन्त्री चौरसियाले भने, ‘पार्टीको कामभन्दा सही तरिकाले समय व्यवस्थापन गरेर मन्त्रालयको कामलाई प्राथमिकताका साथ अगाडि बनाउनुस् ।’
कांग्रेस सभापति देउवाले सरकारलाई थप प्रभावकारी बनाउन आवश्यक सहयोग गर्न पनि मन्त्रीहरूसमक्ष आग्रह गरे ।
बैठकमा पार्टी उपसभापति, महामन्त्री, नेता, प्रतिनिधिसभा र राष्ट्रियसभाका प्रमुख सचेतकलगायत व्यक्तिको उपस्थिति थियो ।
सभापति देउवाले सम्बन्धित मन्त्रालयका मन्त्रीसँग भइरहेका काम र बाँकी कामका बारेमा जानकारी दिएका थिए ।
उनले संसद् अधिवेशन सुरु हुनु पूर्व सम्बन्धित मन्त्रालयअन्तर्गतका कानुन कहाँ पुगेर अड्किएका छन् सोको टुङ्गो लगाउन पनि मन्त्रीहरूलाई निर्देशन दिए ।
कांग्रेस संसदीय दलका प्रमुख सचेतक श्यामप्रसाद घिमिरेका अनुसार आजको भेटमा सरकारलाई प्रभावकारी र सफल बनाउन सक्रिय ढङ्गले काम गर्न र महत्वपूर्ण विषयमा नियमित छलफल गर्ने निर्णय भएको छ ।
विभिन्न समितिमा विचाराधीन विधेयकलाई टुङ्गोमा पुर्याउन सक्रियताका साथ कार्य गर्ने, आआफ्नो मन्त्रालयको कार्यक्षेत्रमा रहेका विगतदेखिका भौतिक परियोजना र अन्य कार्यक्रम सम्पन्न गराउने प्रक्रियामा गति बढाउनुपर्नेलगायत विषयमा छलफल गरिएको उनले बताए ।
चालु आर्थिक वर्षको बजेटमा परेर पनि स्रोत सुनिश्चितताको पर्खाइमा रहेका, बोलपत्र आह्वान हुन नसकेका, निर्माण सुरु भएर अपेक्षित गतिमा काम नभइरहेका विकास आयोजना सम्पन्न गर्नरगराउन आवश्यक पहलकदमी लिने निर्णय भएको प्रमुख सचेतक घिमिरेले बताए ।
सातामा दुई निश्चित दिन खुल्ला भेटघाट गर्ने, नागरिकको गुनासो सुन्ने, सुझाव लिने र बाँकी पाँच दिन सम्पूर्ण रूपले मन्त्रालयको काममा केन्द्रित हुने निर्णय गर्दै सांसदको चासो, सुझाव, अपेक्षालाई छलफलमार्फत संसदीय दल कार्यसमिति र मन्त्रीहरूले समन्वय गर्ने निर्णय भएको छ ।
सभापति देउवाले पार्टीको प्रदेश समिति, जिल्ला, क्षेत्र एवं स्थानीय तहमार्फत पार्टी केन्द्रीय कार्यालयमा आउने गरेका नागरिकका सुझाव र मागका सम्बन्धमा महिनामा एक पटक पार्टी केन्द्रीय पुग्न पनि निर्देशन दिएका छन् ।
नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारमा कांग्रेसकातर्फबाट १० मन्त्री र दुई राज्यमन्त्री सहभागी रहेका छन् ।
बैठकमा मन्त्रीहरूले आ–आफ्नो मन्त्रालयको काम, आइपरका समस्या र गुनासोबारे सभापति देउवालाई जानकारी गराएका थिए ।
सदन छलेर ल्याइएको अध्यादेश संविधान र लोकतन्त्रको मर्म विपरीत : प्रचण्ड
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सदन छलेर अध्यादेश ल्याउनु उचित नभएको बताएका छन् । सरकारले संविधान र लोकतन्त्रको मर्म विपरीत अध्यादेश ल्याएको उनको आरोप थियो ।
संविधान र लोकतन्त्रको मर्म र भावना अनुरुप काम गर्न अध्यक्ष दाहालले सरकारसंगग आग्रह गरे। जनताले प्राप्त गरेको उपलब्धिको रक्षा गर्न सबैले आ-आफ्नो ठाउँबाट आवाज उठाउनुपर्ने बताए ।
चितवनको माडीस्थित सोमेश्वर माध्यमिक विद्यालयको स्वर्ण महोत्सब समारोहलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले सबैको चिन्ता संविधान, समावेशिता र सङ्घीयताको संरक्षण गर्ने हुनुपर्नेमा जोड दिए । सरकारले नियमित सदन बोलाएर विधेयक ल्याउनुपर्ने उनको भनाइ थियो ।
सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धिका लागि अभिभावक, जनप्रतिनिधि र शिक्षक सबैको मेहनत आवश्यक पर्ने अध्यक्ष दाहालले बताए ।
कार्यक्रममा बागमती प्रदेशसभा सदस्य ठाकुर ढकाल, माडी नगरपालिकाका प्रमुख ताराकुमारी काजी महतो, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लेखबहादुर गुरुङलगायतले आ-आफ्नो धारणा राखेका थिए ।
पर्यटकको आगमन बढ्दा पूर्वाधारमा ध्यान दिऔँ : मन्त्री गुरुङ
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पर्यटकको आगमन बढ्दै जाँदा पर्यटकीय पूर्वाधारमा ध्यान दिन आग्रह गरेका छन् ।
कास्कीको मादी गाउँपालिका–१ सिक्लेसस्थित सिक्लेस युवा क्लबको आयोजनामा भएको क्लबको ३० औँ वार्षिकोत्सव तथा माघेसङ्क्रान्ति मेलाको उद्घाटन समारोहमा मन्त्री गुरुङले गण्डकी प्रदेशले प्राकृतिक स्रोतसाधनको उचित प्रयोग गर्नुपर्नेमा जोड दिए ।
प्राकृतिक स्रोतसाधन र सौन्दर्यतका हिसाबले गण्डकी प्रदेश आफैँमा सम्पन्न रहेको उल्लेख गर्दै उहाँले लक्ष्य लिएर काम गरे मुलुकको विकासमा गण्डकी प्रदेशले धेरै ठूलो योगदान दिन सक्ने बताए ।
नेपालमा आउने पर्यटकमध्ये आधा पर्यटक गण्डकी प्रदेशको भ्रमण आउने गरेका जिकिर गर्दैै मन्त्री गुरुङले गाउँमा हुने मेला महोत्सवले त्यस ठाउँको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने भएकाले गाउँगाउँमा व्यवस्थित रुपमा मेला आयोजना गरी मौलिक संस्कार संस्कृति प्रदर्शनी गर्नुपर्ने सुझाव दिए।
सिक्लेसको पर्यटन पूर्वाधार विकासका लागि पोखरादेखि सिक्लेससम्म पुग्ने सडक कालोपत्र गर्न पहल गर्ने उल्लेख गर्दै मन्त्री गुरुङले मन्त्रालयले यस वर्षभित्रमा नेपालका सबै घरघरमा इन्टरनेट सेवा उपलब्ध गराउने योजना बनाएकाले सिक्लेसको सबै ठाउँमा टेलिफोन सेवा पुर्याइने बताए ।
सिक्लेस हुँदै मनाङसम्म पुग्ने पदमार्गसहित अन्य पदमार्गका लागि स्थानीयसँगै अन्य पर्यटन व्यवसायीको सहकार्यमा अघि बढ्न सकिने उनको भनाइ थियो ।
जनताका समस्यालाई केन्द्रमा राखेर काम गर्न मन्त्री खड्काको निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले जनताका समस्यालाई केन्द्रमा राखेर काम गर्न निर्देशन दिएका छन् ।
ऊर्जा मन्त्रालय र त्यस मातहतका उच्च कर्मचारीको बैठकमा उनले ऊर्जा र सिँचाइ क्षेत्र जनतासँग प्रत्यक्ष जोडिएको क्षेत्र भएकाले जनताको समस्यालाई केन्द्रमा राखेर काम गर्न निर्देशन दिएका हुन् ।
“विद्युत्, सिँचाइ, जल मौसमलगायत क्षेत्रमा यस मन्त्रालय प्रत्यक्ष रुपमा जनतासँग जोडिएको छ, जनताले यस मन्त्रालयको कामबाट अनुभूति हुनेगरी तपाईँहरुले काम गर्नुहोस्”, उनले भने ।
मन्त्री खड्काले मुलुकको विकासमा ऊर्जा र सिँचाइ क्षेत्रको महत्वपूर्ण भूमिका हुने भएकाले सरकारले राखेको लक्ष्य प्राप्त हुनेगरी इमान्दारीपूर्वक कार्यसम्पादन गर्नुपर्ने बताए ।
उनले अहिले दुई ठूला राजनीतिक दल मिलेर सरकार बनेको र काम गर्ने वातावरण अनुकूल भएकाले निर्धक्क भएर काम गर्न कर्मचारीलाई निर्देशन दिए ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर ९कान्छाराम० तामाङले स्रोत सुनिश्चित भइसकेका आयोजना तीव्र गतिमा अगाडि बढाउन कर्मचारीलाई निर्देशन दिनुभयो । उहाँले बाढीपहिरोले क्षति पुर्याएका आयोजनाको पुनःनिर्माण गर्नुपर्ने उल्लेख गरे।
मन्त्रालयका सिँचाइ सचिव सरिता दवाडी मन्त्रालयले राखेको लक्ष्यप्राप्तिमा कमी भएको भन्दै स्रोत सुनिश्चित भएका आयोजनालाई चाँडो अगाडि बढाउनुपर्ने बताए।
जल तथा ऊर्जा आयोगको सचिवालयका सचिव मधुप्रसाद भेटुवालले ऊर्जा क्षेत्रको विकासका लागि एकआपसमा सहकार्य आवश्यक रहेको बताए । उनले आगामी छ महिनामा सरकारले राखेको लक्ष्य पूरा गर्नेगरी काम गर्नुपर्ने बताए।
बैठकमा विद्युत् विकास विभागका महानिर्देशक नवीनराज सिंह, जल तथा मौसम विज्ञान विभागका महानिर्देशक कमलराम जोशी, जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक देवराज निरौला, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक नवराज ढकाललगायत मन्त्रालयका विभिन्न महाशाखाका प्रमुखले छ महिनाको भौतिक र वित्तीय प्रगतिका बारेमा जानकारी गराएका थिए ।
सरकारमा काँग्रेस–एमालेबीच कुनै समस्या छैन : गृहमन्त्री लेखक
गृहमन्त्री रमेश लेखकले नेपाली काँग्रेस र नेकपा एमाले मिलेर बनेको सरकारमा कुनै समस्या नरहेको दाबी गरेका छन् ।
बिहीवार नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा निवासमा पार्टीको तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुसँग कार्यप्रगति विवरणबारे जानकारी गराइसकेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताए ।
उनले काँग्रेस र एमाले सम्मिलित सरकारमा कुनै बाधा, व्यवधानहरु नरहेको जिकिर गरे । उनले सभापतिसँग आफ्नो मन्त्रालयका कामहरु अझ कसरी प्रभावकारी बनाउने भन्नेबारेमा छलफल भएको बताए ।
नेकपा एमाले र नेपाली काँग्रेसको बीचमा बनेको सात बुँदे सहमतिअनुसार अहिलेको सत्ता समीकरणलाई अघि बढाउने र राम्रो ढंगबाट जनतामा सेवा प्रवाह गर्ने विषयमा छलफल केन्द्रित रहेको बताए ।
मुलुकमा आर्थिक समृद्धि र सुशासन कायम गर्नेकुरामा केन्द्रित भएर काम गर्ने विषयमा छलफल भएको बताए । ‘नेपाली काँग्रेस र नेकपा एमाले मिलेर सरकार बनेको छ । हाम्रो बीचमा कुनै समस्या छैन । दुई दलको सम्मिलित सरकारमा कुनै बाधा, व्यवधान र अफ्ठ्याराहरु छैनन्,’ उनले भने ‘आफ्ना आफ्ना मन्त्रालयमा थप राम्रो काम कसरी गर्ने रु भन्नेकुरामा छलफल भएको छ । हामी दुई दलका बीचमा कुनै समस्या छैन भन्ने नै हाम्रो निस्कर्ष हो ।’
गृहमन्त्री लेखकले काठमाडौं जिल्ला अदालत परिसरमा बुधवार अधिवक्ता दिनेश त्रिपाठीमाथि भएको हातपात निन्दनीय भएको बताए । उनले अराजक गतिविधि गर्नेलाई कारबाही हुने बताए ।
उनले नेपालमा व्यवसायिक स्वतन्त्रता रहेको बताए । बुधवार स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दामा थुनछेक बहस सकिएपछि बाहिर निस्किने क्रममा अधिवक्ता त्रिपाठीमाथि हातपात भएको थियो । ‘जोसुकैले गरेपनि यो देशमा लोकतन्त्र छ । व्यवसायिक स्वतन्त्रता छ । मानिसले आफ्नो आफ्नो व्यवसाय गर्न पाउँछ । वकीलले वकालत गर्न पाउँछ, डाक्टरले डाक्टरको काम गर्न पाउँछ । बिजनेसम्यानले व्यापार गर्न पाउँछ,’ उनले भने ‘त्यसमा बाधा, व्यवधान गर्ने, उश्रृंखलता गर्ने, अराजकता गर्ने, कानून विपरित काम गर्ने, जो सुकैलाई पनि दण्डित गरिन्छ । जहाँसम्म दिनेश त्रिपाठीमाथि घटना भएको छ । यो अत्यन्त निन्दनीय काम हो । अत्यन्त गलत काम भएको छ । यस्तो अराजकता गर्ने जो सुकै पार्टीका मानिस भएपनि कारबाही हुन्छ ।’
गृहमन्त्री लेखकले पुनः सर्च कमिटी बनाएर संक्रमणकालीन न्यायसँग सम्बन्धित दुई वटै आयोगहरु गठन गर्ने पनि जानरकारी दिए ।
यी हुन् काँग्रेस संसदीय दल कार्यसम्पादन समितिका निर्णय
नेपाली काँग्रेसले संसदीय दल अनुशासन समिति बनाएको छ ।
बिहीवार पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बसेको काँग्रेस संसदीय दल केन्द्रिय कार्यसम्पादन समितिको बैठकले सो निर्णय गरेको हो । बैठकले समितिको संयोजकमा सांसद दिलेन्द्रप्रसाद बडूलाई तोकेको छ ।
प्रमुख सचेतक श्यामकुमार घिमिरेका अनुसार बैठकले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि भएको दुव्र्यवहारको भत्र्सना गर्नुका साथै दोषीमाथि कारबाहीको माग गरेको छ ।
संसदीय समितिमा रहेका विधेयकहरुलाई तत्काल पास गर्न सहजीकरण गर्ने र नयाँ विधेयक ल्याउन सरकारलाई आग्रह गर्ने निर्णय भएको बताए । बैठकले संविधान कार्यान्वयनका केही अत्यावश्यक विधेयकहरु संसदमा छिटो भन्दा छिटो ल्याउन आग्रह गर्ने निर्णय पनि गरेको छ ।
बैठकले सरकारलाई प्रभावकारी र सफल बनाउन सक्रिय ढंगले कार्य गर्ने, महत्वपूर्ण विषयहरुमा नियमित छलफल गर्ने निर्णय गरेको पनि प्रमुख सचेतक घिमिरेले बताए ।
चालु आर्थिक वर्षको बजेटमा रहेका तर श्रोत सुनिश्चितको पर्खाइमा रहेका, टेण्डर हुन नसकेका, निर्माण शुरु भएका तर गतिमा काम नभइरहेका विकास आयोजनाहरुलाई सम्पन्न गराउन आवश्यक पहलकदमी लिने निर्णय गरेको छ ।
प्रमुख सचेतक घिमिरेले बैठकमा अध्यादेशको बारेमा पनि छलफल भएको तर काँग्रेस स्पष्ट रहेको बताए । दुई राजनीतिक दलबीच सल्लाह गरेर ल्याइएको र अध्यादेश ल्याउन तत्काल नै जरुरी रहेको बताए ।
केही आर्थिक सुधारका पक्षमा र सुशासनका पक्षमा तत्काल अध्यादेश ल्याएर सम्बोधन नगरे समय प्रक्रिया लम्बिने र सरकारले केही गर्न नसकेको भन्ने सन्देश जनतामा प्रवाह हुने भएकाले अध्यादेश ल्याइएको बताए ।
बैठकले दुई दिन पार्टीका नेतारकार्यकर्ताहरुसँग पार्टी कार्यालयमा भेटेर जनताका आवाज सुन्ने र ५ दिन मन्त्रालयको काममा लाग्न पनि निर्देशन दिएको छ ।
प्रमुख सचेतक घिमिरेले सांसदहरुको चासो, सुझाव र अपेक्षालाई छलफलमार्फत संसदीय दल कार्यसमिति र मन्त्रालयहरुले समन्वय गर्ने निर्णय भएको पनि बताए ।
पार्टीको प्रदेश समिति, जिल्ला, क्षेत्र एवं स्थानीय तहहरुमार्फत पार्टी केन्द्रिय कार्यालयमा आउने गरेका नागरिकका सुझाव र मागहरुका सम्बन्धमा महिनामा एक पटक पार्टी केन्द्रिय कार्यालयमा छलफल गर्ने निर्णय भएको बताए ।
यी हुन कांग्रेस बैठकका निर्णय
अहिले संसदीय दलसँग सम्बन्धित तीन कुराहरु पास गरेको छ । संसदीय दल अनुशासन समिति निर्माण गर्ने, जसमा दिलेन्द्रप्रसाद बडूको संयोजकत्वमा गठन गर्ने । संसदीय दलको विधानअनुसार प्रत्येक संसदीय समितिमा एकरएक जना संयोजक तोक्ने व्यवस्थाअनुसार पहिला तोकिएका संयोजकहरु एक जना मन्त्री, एक जना समितिको सभापति, एक जना प्रमुख सचेतक भएकाले त्यसमा अर्थ समितिमा डा। प्रकाशशरण महत, मेरो समिति खालि थियो, त्यसमा सञ्जय गौतम, अर्को समितिमा कृषि समिति खालि थियो त्यसमा चन्दा चौधरीलाई नियुक्त गर्ने निर्णयलाई सदर गरियो ।
पेशागत व्यवसायका कारणबाट अदालतमा बहस गरेर निस्किने क्रममा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि जुन किसिमको दुव्र्यवहार भयो, यसमा कार्यसमितिको बैठकले घोर निन्दा गरेको छ । दोषीमाथि कडा भन्दा कडा कारबाहीको माग गरेको छ ।
यो संसदीय समितिमा रहेका विधेयकहरुलाई तत्काल पास गर्ने कुरा पनि यो समितिले निर्णय गरेको छ । सँगै नयाँ विधेयक ल्याउन सरकारलाई आग्रह गरेको छ । सरकारको ध्यानाकर्षण गराएको छ ।
केही महत्वपूर्ण विधेयकहरु, जुन नभइकन नेपालको संविधान २०७२ कार्यान्वयन गर्न समस्या छ, त्यसको कार्यान्वयनको लागि ति विधेयकहरु चाँडो भन्दा चाँडो संसदमा ल्याउनका लागि सरकारसँग आग्रह गर्ने ।
सरकारलाई प्रभावकारी र सफल बनाउन सक्रिय ढंगले कार्य गर्ने, महत्वपूर्ण विषयहरुमा नियमित छलफल गर्ने । विभिन्न समितिमा विचाराधिन विधेयकलाई टुंगोमा पु¥याउन सक्रियताका साथ काम गर्ने ।
आफ्नो आफ्नो मन्त्रालयको कार्य क्षेत्रमा रहेका विगतदेखिका भौतिक परियोजना र अन्य कार्यक्रमहरु सम्पन्न गराउने प्रक्रियामा गति बढाउने, कतिपय अधुरा आयोजनाहरु बजेटका अभावले थन्किएर बसेका छन् । त्यसलाई चाँडो अगाडि बढाउने ।
चालु आर्थिक वर्षको बजेटमा रहेका तर श्रोत सुनिश्चितको पर्खाइमा रहेका, टेण्डर हुन नसकेका, निर्माण शुरु भएका तर गतिमा काम नभइरहेका विकास आयोजनाहरुलाई सम्पन्न गराउन आवश्यक पहलकदमी लिने ।
हप्तामा दुई निश्चित दिन खुला भेटघाट गर्ने, मन्त्रीहरुले । आलोपालो सिस्टमबाट हप्तामा दुई दिन पार्टीबीचमा गएर भेटघाट गर्ने । कार्यकताहरुसँग भेट्ने, नागरिकको गुनासो सुन्ने । सुझाव लिने । बाँकी पाँच दिन मन्त्रालयको काममा केन्द्रित हुने ।
सांसदहरुको चासो, सुझाव र अपेक्षालाई छलफलमार्फत संसदीय दल कार्यसमिति र मन्त्रालयहरुले समन्वय गर्ने ।
पार्टीको प्रदेश समिति, जिल्ला, क्षेत्र एवं स्थानीय तहहरुमार्फत पार्टी केन्द्रिय कार्यालयमा आउने गरेका नागरिकका सुझाव र मागहरुका सम्बन्धमा महिनामा एक पटक पार्टी केन्द्रिय कार्यालयमा छलफल गर्ने ।
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले दिए जाहेरी
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले आफूलाई दुव्र्यवहार गरिएको भन्दै जाहेरी दिएका छन् ।
अधिवक्ता त्रिपाठीले जिल्ला प्रहरी परिसर, काठमाडौँमा जाहेरी दिएका हुन् । उनले ज्यान मार्ने उद्योग र आपराधिक उपद्रव सम्बन्धी कसुरको जाहेरी दर्ता गराएका हुन् ।
बुधवार सहकारी पीडितको पक्षबाट बहस गरेका वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि आक्रमण भएको थियो ।
स्वर्णलक्ष्मी सहकारीको बचत अपचलन मुद्दामा त्रिपाठीले रास्वपाका सभापति लामिछानेलाई थुनामा राख्न माग गरेका थिए ।
रवि लामिछानेलाई थुनाउने यही हो भन्दै केही युवाहरूले उनलाई आक्रमण गर्न खोजेका थिए ।
त्रिपाठीमाथि आक्रमण गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।
रविको हिरासतभित्रको तस्बीर खिचेका डा.निकोलश भुषाल फेरी पक्राउ
डा.निकोलश भुषाल फेरी पक्राउ परेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने हिरासतभित्र सुतिरहेको तस्वीर खिचेको आरोपमा यसअघि पक्राउ परेर छुटेका भुषाल फेरि पक्राउ परेका हुन् ।
पोखराको सूर्यदर्शन सहकारी प्रकरणमा मुछिएका पूर्व गृहमन्त्री समेत रहेका लामिछानेको हिरासतभित्रको तस्वीर खिचेको आरोपमा पुस ७ गते उनी पक्राउ परेका थिए ।
न्यायाधीश नारायण दाहालको इजलासले हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति नदिँदा छुटेका भुषाल सोही समयकै साइबर अपराधको अभियोगमा पक्राउ परेका हुन् ।
प्रहरीलाई हिरासतबाहिरै राखेर अनुसन्धान गर्न भनेपछि भुषाल छुटेको र अहिले प्रहरीले अनुसन्धान सकेर प्रमाण भेटाएपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी श्याम ओलियाले बताए ।
आशिकालाई पाँच दिन हिरासतमा राख्न अनुमति
जिल्ला प्रशासन कार्यालय काठमाडौंले आशिका तामाङलाई पाँच दिन हिरासतमा राख्न अनुमति दिएको छ ।
अभद्र व्यवहारको आरोपमा पक्राउ परेकी तामाङलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न आदेश दिएको हो । तामाङलाई प्रहरी वृत्त गौशालामा राखिएको छ ।
अभद्र व्यवहारसम्बन्धी मुद्दामा बुधवार तामाङलाई पक्राउ गरिएको थियो । तामाङलाई पक्राउ गरि अनुसन्धान गरिरहेको प्रहरी वृत्त गौशालाका डिएसपी शुकदेव खनालले मकालुखबरलाई जानकारी दिए ।
‘हामीलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमित प्राप्त भएको छ,’उनले भने, ‘आशिका तामाङलाई बुधवार पक्राउ गरेर अनुसन्धान अगाडी बढाएका छौँ ।’
बिहीबार बढ्यो सुनको मूल्य
नेपाली बजारमा साताको पाँचौँ कारोबार दिन सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज ९बिहीबार० सुनको मूल्य प्रतितोला १ हजार २ सय रुपैयाँले बढेको हो ।
छापावाल सुन प्रतितोला १ लाख ५६ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो कारोबार दिन बुधबार सुन प्रतितोला १ लाख ५५ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।
चाँदी प्रतितोला ५० रुपैयाँले बढेर प्रतितोला १ हजार ८ सय ८० रुपैयाँमा कारोबार भईरहेको छ । बुधबार चाँदी प्रतितोला १ हजार ८ सय ३० रुपैयाँमा कारोबार भएको थियो ।
सात अङ्कले घट्यो नेप्से परिसूचक
धितोपत्र कारोबार मापक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बिहीबार सात दशमलव ३३ अङ्कले घटेर दुई हजार पाँच सय ८८ दशमलव ६२ बिन्दुमा कायम भएको छ ।
आज दुई सय ९६ कम्पनीका एक करोड १७ लाख ४९ हजार सात सय एक कित्ता शेयर ७० हजार छ सय ३४ पटक खरिदबिक्री हुँदा रू पाँच अर्ब ९३ करोड ३७ लाख ११ हजार बराबरको कारोबार भएको छ ।
आज कारोबार भएका १३ उपसमूहमध्ये जलविद्युत, उत्पादन तथा प्रशोधन, म्यूचुअलल फण्ड, व्यापार र अन्य पाँचको सूचक बढेका छन् भने बाँकी उपसमूहको घटेका छन् ।
बोटलर्स नेपाल लिमिटेड, विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड र मन्दाकिनी हाइड्रोपावरको शेयरमूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।
आजको कारोबारमा अपर हेवाखोला हाइड्रोपावरको शेयरमूल्य नौ दशमलव ९९ प्रतिशत र पिपुल्स पावर लिमिटेड छ दशमलव ६५ प्रतिशतले बढेको छ ।
त्यसैगरी पोखरा फाइनान्स १० प्रतिशतले घटेर नकारात्मक सर्किट लाग्दा जानकी फाइनान्स नौ दशमलव ३९, खानिखोला हाइड्रोपावर नौ दशमवल १५ र रिलायन्स फाइनान्सको शेयर मूल्य सात दशमवल ५७ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै सिन्धु विकास बैंकको रु २८ करोड ५७ लाख बराबरको कारोबार भएको छ ।
दसौँ राष्ट्रिय खेलकुदको लोगो र मस्कट पारित
कर्णाली प्रदेशमा आयोजना हुने दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको लोगो र मस्कट पारित पारित भएको छ ।
सिहंदरबारस्थित युवा तथा खेलकुद मन्त्रालयमा आज राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अध्यक्ष एवं युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीको अध्यक्षतामा बसेको ११९औँ बोर्ड बैठकले उक्त निर्णय पारित गरेको हो ।
कर्णाली प्रदेशमा आयोजना हुने उक्त प्रतियोगिता आगामी चैतमा हुने तय भएको छ । बैठकले नेपाल ओलम्पिक कमिटीको चुनाव र साधारणसभा अवैध भएको ठहर गर्दै आवश्यक प्रक्रिया अगाडि बढाउन सम्बन्धित निकायमा पठाउने निर्णय समेत गरेको छ ।
साथै ओलम्पिक कमिटीको चुनाव तथा साधारणसभामा सहभागी राष्ट्रिय खेल सङ्घले राखेपसमक्ष पेस गरेको स्पष्टीकरण उचित कारण र आधारविना पेस गरेका सङ्घका लागि थप आवश्यक प्रक्रिया अगाडि बढाउने गरी निर्णय भएको राखेपका सदस्य(सचिव टङ्कलाल घिसिङले जानकारी दिए ।
धनगढीमा माघ १९ देखि ‘अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता’ हुने
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले धनगढीमा आयोजना हुने ‘अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता’को ट्रफी बिहीबार अनावरण गरेका छन् ।
मुख्यमन्त्री शाहले अर्जुन ट्रफी जस्ता प्रतियोगिताको आयोजनाले खेलप्रेमीमा हौसला बढ्ने भई समग्र क्रिकेट खेलको विकासमा थप योगदान पुग्ने विश्वास व्यक्त गरे । उनले भने,“खेलकुद क्षेत्रको विकासका लागि प्रदेश सरकार सक्दो सहयोग गर्न तयार छ ।”
धनगढीको फाप्ला क्रिकेट मैदानमा यही माघ १९ गतेदेखि २८ सम्म अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता हुँदैछ । ट्रफी अनावरणकै क्रममा धनगढी क्रिकेट एकेडेमीमा आज आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिइयो ।
धनगढीको क्रिकेट विकासमा महत्वपूर्ण योगदान दिनुभएका स्वर्गीय अर्जुन खड्काको स्मृतिमा उक्त प्रतियोगिता आयोजना गर्न लागिएको हो ।
यसवर्षदेखि नेपाल क्रिकेट सङ्घ ९क्यान० को वार्षिक ‘क्यालेण्डर’ मा समावेश गरेर उक्त प्रतियोगिताको आयोजना गर्न लागिएको प्रतियोगिताका आयोजक ‘गो ड्रिमर्स’ का अध्यक्ष सुवाश शाहीले जानकारी दिए । प्रतियोगिताका लागि फाप्ला क्रिकेट मैदानमा प्यारापिटसमेत निर्माण गरिएको छ ।
प्रतियोगिताको विजेताले रु १० लाख र उपविजेताले रु पाँच लाखसहित ट्रफी पाउने छन् । सर्वोत्कृष्ट खेलाडीलाई रु एक लाख तथा उत्कृष्ट ब्याटर, उत्कृष्ट बलर र उदीयमान खेलाडीलाई जनही रु ५० हजार पुरस्कार प्रदान गरिने छ ।
प्रत्येक खेलको ‘म्यान आफ दि म्याच’ लाई रु १० हजार पुरस्कार प्रदान गरिने छ । लिगकम नकआउटका आधारमा खेलाइने उक्त प्रतियोगितामा देशभरका आठ टोलीको सहभागिता रहनेछ ।
नेपाल पुलिस क्लबले जित्यो जय ट्रफीको उपाधि
नेपाल पुलिस क्लबले जय ट्रफी मेन्स एलिट कप प्रतियोगिताको उपाधि जितेको छ ।
फाइनलमा त्रिभुवन आर्मी क्लबलाई हराउँदै पुलिस क्लबले उपाधि जितेको हो । जितका लागि १ सय ३ रनको लक्ष्य पाएको आर्मी ७४ रनमै अल आउट भयो ।
पुलिसको जितमा सागर ढकाल र ललित राजवंशीले कसिलो बलिङ गरे । पुलिसका लागि सागर ढकालले ६ तथा ललितनारायण राजवंशीले ४ विकेट लिए ।
आर्मीका लागि इम्रान शेखले सर्वाधिक २८ रन जोडे । कप्तान विनोद भण्डारी र सोमपाल कामीले समान ११ रन जोडे । आर्मीका अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
पहिलो संस्करणको यस प्रतियोगितामा पिएम कप पुरुष क्रिकेटका शीर्ष ४ टोली सहभागी थिए । नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, मधेश प्रदेश र बागमती प्रदेशले पहिलो संस्करणको जय ट्रफी खेलेका थिए ।








