च्याम्पियन्स ट्रफी खेल्ने अष्ट्रेलियन टोलीको घोषणा


काठमाडौं । पाकिस्तानमा हुने च्याम्पियन्स ट्रफीका लागि अष्ट्रेलियाले १५ सदस्यीय टोली घोषणा गरेको छ ।
अष्ट्रेलियाको क्रिकेट बोर्डले सोमबार विहान प्याट कमिन्स र जोस हेजलउडलाई समेट्दै कमिन्सको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो ।
कमिन्स र हेजलउड अष्ट्रेलियाको श्रीलंका टुरमा सहभागी थिएनन् । कमिन्सको दोस्रो बच्चा जन्मिने समय आएकाले उनी बिदामा छन् । यो बिदामा उनको घुँडाको पनि स्क्यानिङ गरिनेछ ।
अष्ट्रेलियाका मुख्य चयनकर्ता जर्ज बेलीका अनुसार स्क्यानिङको नतिजापछि केही परिवर्तन आवश्यक भएमा नियमअनुसार परिवर्तन गरिनेछ ।
आज घोषणा भएको टोलीले आगामी चार हप्तासम्म मनासिब कारण देखाएर टोलीमा परिवर्तन गर्न सक्नेछ ।
हेजलउड अहिलेसम्म काफको चोटबाट पूर्ण रूपमा निको भइसकेका छैनन्, तर उनी च्याम्पियन्स ट्रफीका लागि फिट हुने टोलीको विश्वास छ ।
यो १५ सदस्यीय टोलीमा अलराउन्डर आरोन हार्डी र म्याथ्यु शर्ट पनि परेका छन् । टोलीमा एलेक्स केरी र जोस इङ्गल्स दुई विकेटकिपर ब्याट्सम्यान छन् । क्यारीले टोलीमा विशेषज्ञ ब्याट्सम्यानको रुपमा पनि खेल्न सक्छन् ।
नाथन एलिस टोलीका चौथो बलर हुन् । उनले यस दौडमा शान एबट र जेभियर बार्टलेट जस्ता बलरलाई पराजित गरे । टोलीमा एडम जाम्पासँगै ग्लेन म्याक्सवेल र सर्टले स्पिनको कमाण्ड गर्नेछन् ।
युवा ओपनिङ ब्याट्सम्यान जेक फ्रेजर–म्याकगुर्कले टोलीमा स्थान बनाउन सकेका छैनन् । बीबीएलमा उनको फार्म पनि खराब छ र उनले आठ इनिङ्समा २६ रन मात्र बनाएका छन् ।
अष्ट्रेलियाले टेष्ट शृंखलापछि श्रीलंकासँगको एकमात्र एकदिवसीय खेल पनि खेल्नेछ । त्यसपछि टोली पाकिस्तान प्रस्थान गर्नेछ । च्याम्पियन्स ट्रफीमा अष्ट्रेलिया रहेको समूहमा इंग्ल्याण्ड, दक्षिण अफ्रिका र अफगानिस्तान छ ।
अष्ट्रेलियाको टोली : प्याट कमिन्स (कप्तान), एलेक्स केरी, नाथन एलिस, आरोन हार्डी, जोस हेजलवुड, ट्राभिस हेड, जोश इङ्गल्स, मार्नस लाबुस्चेन, मिचेल मार्स, ग्लेन म्याक्सवेल, म्याथ्यू सर्ट, स्टिभ स्मिथ, मिचेल स्टार्क, मार्कस स्टोइनिस, एडम जाम्पा ।
