अन्तर्वार्ता

काँग्रेसको महाधिवेशन रोक्ने चेष्टा नहोस् : गुरुराज घिमिरे (भिडिओ)

काठमाडौं । गुरुराज घिमिरे नेपाली काँग्रेसका प्रभावशाली नेता हुन् । नेविसंघका पूर्व अध्यक्ष समेत रहेका नेता घिमिरे पार्टीभित्रका प्रतिपक्षका रूपमा परिचित छन् । उनको सक्रियता पार्टी नेतृत्वको भन्दा कम छैन । राजनीतिमा सक्रियता बढाएका नेता घिमिरेले १५ औँ महाधिवेशन लक्षित गतिविधि गरिरहेका छन् ।

उसो त, काँग्रेसको १५ औँ महाधिवेशन आउन एक वर्षभन्दा बढी समय बाँकी छ । तर, उनले काठमाडौँमा सम्पर्क कार्यालय स्थापना गरेर महाधिवेशन लक्षित कार्य गरिरहेका छन् । काँग्रेसको इतर समूहका नेता शेखर कोइराला निकट मानिने नेता घिमिरेको देश दौडाहा पार्टीभित्र चर्चाको विषय बन्न पुगेको छ । यी नै विद्रोही नेता घिमिरेसँग समसामयिक विषयमा मकालुखबरकर्मी एकेन्द्र खत्रीले कुराकानी गरेका छन् । प्रस्तुत छ, घिमिरेसँग गरिएको कुराकानीको सम्पादित अंश–

महाधिवेशन लक्षित सम्पर्क कार्यालय स्थापना गर्नु भएको छ । यो सम्पर्क कार्यालय स्थापना गर्नुको उद्देश्य के हो ?

हाम्रो पार्टीको विधानको व्यवस्था अनुसार हामीले हरेक चार वर्षमा पार्टीको महाधिवेशन आयोजना गरेर सम्पन्न गर्नु पर्छ । त्यसका लागि अव हामीसँग ११ महिना पनि समय छैन । तर पार्टी त्यो दिशा तर्फ उन्मुख भएको जस्तो लागेन । गत वर्षको महामितिको बैठकमा एक मतले सर्वसम्मतले महामन्त्रीज्यू ले प्रस्तुत गर्नु भएको प्रस्तावलाई हामीले पास गर्‍यौँ । त्यो प्रस्तावमा ८२ साल मङ्सिर महिना सम्ममा हामीले पार्टीको महाधिवेशन सम्पन्न गरी सक्ने निर्णय गरेका थियौँ । तर निर्णय मुताबिक पार्टी महाधिवेशनको तयारी तर्फ अग्रसर भएको देखिएन । हाम्रो पार्टीका झन्डै ८ लाख ६० हजार सदस्यको सङ्ख्या छ, त्यसलाई हामीले नवीकरण गर्नुपर्छ । र अरू २५ प्रतिशत क्रियाशील सदस्य थप्ने भन्ने कुरा भएको छ । हामीले यो काम माघ सम्ममा गरी सकेनौँ भने हामीले वडा अधिवेशनको कार्य तालिका हामी प्रकाशित गर्न सक्दैनौ । हाम्रो बारेमा बारम्बार सार्वजनिक रूपबाट एउटा प्रश्न उठ्ने गरेको छ । समयमा बैठक हुँदैन, समयमा क्रियाशील सदस्य नवीकरण हुँदैन, समयमा केन्द्रीय समिति विस्तार हुँदैन, समयमा विभाग बन्दैन, समयमा निर्णय कार्यान्वयन हुँदैन । समयमा अधिवेशन बन्दैन, समयमा महाअधिवेशन हुँदैन भन्ने विषयमा हाम्रो बारेमा सार्वजनिक रूपमा प्रश्न उठेको धेरै वर्ष भयो । त्यसैले हामीले समयमै महाधिवेशन गरौँ भनेर अगाडि बढ्न खोजेको हो । त्यसका लागि माहौल बनाउन जनमत सिर्जना गर्न पार्टीलाई मद्दत पुर्‍याउन हामीले यो कार्यालय स्थापना गरेका हौँ ।

सम्पर्क कार्यालयबाट के–के कामहरू गर्दै आउनु भएको छ ?

नेपाली काँग्रेस अब परिवर्तित भयो । पार्टीको आन्तरिक साङ्गठनिक जीवनको व्यवस्थापन काङ्ग्रेसले सफलतापूर्वक सम्पन्न गर्‍यौँ भन्ने कुरा हामी समयमै महाधिवेशन गरेर प्रमाणित गर्नुपर्छ । हाम्रो विधानको व्यवस्थामा चार वर्ष भित्र महाधिवेशन गर्नपर्छ । असाधारण परिस्थिति सिर्जना भए देखि बाहेक अन्य बेला समयमै महाधिवेशन गर्नुपर्छ । त्यस्तो असाधारण परिस्थिति अहिले छैन । त्यसैले यो ४ वर्ष भित्र हामीले महाधिवेशन सम्पन्न गर्नुपर्छ । महाधिवेशन गरेर ८४ को मङ्सिरमा हुने संसदीय निर्वाचन, ८४ को वैशाखमा हुने स्थानीय तहको निर्वाचनको तयारीमा जुट्नुपर्छ । असाधारण परिस्थिति नभएको बेलामा पार्टीको महाधिवेशन गरौँ भनेर एउटा जनमत तयार गर्नका निम्ति पार्टीलाई सुझाव दिन पार्टीलाई सघाउन, नेपाली कङ्ग्रेस केन्द्रीय समितिलाई सघाउनका लागि हामीले यो कार्यालय खोलेर हामी अगाडि बढेका हौँ ।

१५ औँ महाधिवेशन आउन अझै एक वर्ष बाँकी छ । अहिले नै यो कार्य सुरु गर्नाले काङ्ग्रेसका क्रियाशील सदस्यमा कस्तो सन्देश जाला ?

अहिले सकारात्मक सन्देश प्रवाह गरेको छ र सकारात्मक सोचका साथ हामीले यो कार्यालय स्थापना गरेका छौँ । पार्टीका पोजेटिभ कामलाई बल पुर्‍याउनलाई पार्टी भित्रका साथीहरूले पनि सकारात्मक ढङ्गले सोच्न थाल्नुपर्छ । ४ वर्षभित्र महाधिवेशन गराउने भनेको सकारात्मक कुरा हो । यसले काङ्ग्रेसको बारेको एउटा दृष्टिकोण र मान्छेको आम धारणमा पनि परिवर्तन गर्छ । जे जति कमी कमजोरी भए अब काङ्ग्रेस अगाडिको बाटो एकदमै व्यवस्थित रूपबाट अगाडि हिँड्छ र गल्ती कमजोरी विगतका दोहोर्‍याउँदैन भन्ने सन्देश पनि दिन्छ । ४ वर्षमा महाधिवेशन गराउँदा खेरि त्यसका निम्ति हामीले सहयोगी भूमिका निर्वाह गर्नका लागि हामी अगाडि बढी राखेका छौँ ।

२०८२ को मङ्सिरमा महाधिवेशन गर्न नसकिने भनेर कतिपयले टिप्पणी गरिरहेका छन् । तपाईँहरूको यस्तो दबाबले के प्रभाव पार्छ ?

मङ्सिर भित्र महाधिवेशन गर्न नपर्ने अथवा गर्न नसकिने कारण के हो ? यो हामीले प्रश्न गर्न सक्छौँ । के कारणले गर्न सक्दैनौँ भन्दा केन्द्रले कार्यपालिका बनाएर टाक्स दिने हो । तलका समितिहरूलाई प्रदेश जिल्ला, सङ्घीय निर्वाचन क्षेत्र, प्रदेश निर्वाचन क्षेत्र, पालिका गरी वडा सम्मलाई हामीले जिम्मेवारी दिने हो भने पार्टीका साथीहरू दत्त चित्त भई लाग्छन् । जस्तो विदेशस्थित शाखाहरू छन्, त्यो पनि अस्त व्यस्त छन् । बषौँ देखि अधिवेशन भई राखेका छैनन् । पार्टीका भातृ संस्थाहरूबाट महाधिवेशनमा प्रतिनिधि आउँछन् । पार्टीका भातृ संस्था पनि चल्न सकेका छैनन् । वर्षै देखि सङ्गठन लथालिङ्ग छ, एक प्रकारको अस्तव्यस्त छ । यी सबैलाई हामीले यो वर्ष व्यवस्थापन गर्ने अथवा अस्तव्यस्त हटाउने भनेर लाग्नु पर्छ भन्ने हाम्रो धारणा हो ।

सभापति देउवाले फेरि समयमा महाधिवेशन गराउँदैनन् भन्ने आशङ्का हो तपाईँहरूको ?

होइन, कुरा के हो भने सधैँ एक वर्ष बढाउनुपर्छ भन्ने धारणा छ नेतृत्वको । तर, कारण आधार तर्क केही पनि हुँदैन हामीसँग । गत महाधिवेशनमा एउटा कारण थियो कोभिडले गर्दा हामीले सममै महाधिवेशन गर्न नसकेकै हो । यस्ता कुराहरू विगतमा भएका छन् । त्यो अवस्था हुँदा खेरि महाधिवेशन लम्बिनु अस्वाभाविक होइन । काम गर्दै जाँदा जस्तो अहिले हामीले काम थाल्यौँ एक हात महिना पुगेन भने ४ वर्ष भन्दा केही महिना अगाडि जानु बेग्लै कुरा हो । तर हामी काम नै नथाल्ने हो भने त हुँदैन नि त, हाम्रो मनस्थिति नै एक वर्ष बढी हाल्छ । अहिले काम किन थाल्ने, त्यो किन गर्ने ? परम्परावादी बाटोमा किन हिँड्ने ? अहिले नै काम किन नथाल्ने, हामीले विधानको कुरालाई पालना गर्छौ भने हामीले कामलाई किन प्रारम्भ नगर्ने ? मुख्य कुरा यही हो ।

काँग्रेसको संस्थापन भन्दा इतर पक्षका नेताहरूले महाधिवेशनका लागि तयार गरिरहेको देखियो । फेरी इतर समूह नै एकजुट छैन भन्ने छ, खास के हो ?

विगतको महाधिवेशनमा प्रतिस्पर्धा गरेको तर पराजित भएको समूहलाई इतर पक्ष भन्ने गरिएको छ । तर महाधिवेशन गराउनको लागि त सबै नै संस्थापन हो । क्रियाशील सदस्य देखि ८ लाख ६० हजार क्रियाशील सदस्य देखि पार्टी सभापति देखि सबै संस्थापन हो । इतर वा संस्थापन भन्ने हुँदैन । महाधिवेशन गराउने जिम्मेवारी सबैको हो । पार्टी सभापति देखि क्रियाशील सदस्य सम्मको हो । वडा अधिवेशन गर्नलाई वडा कार्य समिति नै कार्यकारी अधिकार सम्पन्न एउटा निकाय हो । जसरी केन्द्रीय समिति पार्टी सभापति होस्, महामन्त्री जो हुनुहुन्छ उहाँहरू भनेपछि यसलाई पुन परिभाषित गर्नुपर्छ । प्रतिस्पर्धा गर्दा जित्ने हार्ने हुन्छ । तर पार्टी चलाउँदा त्यो हुँदैन । पार्टी चलाउँदा सबैको सहयोग चाहिन्छ । जित्नेले सबैलाई समेट्ने, हार्नेले सहयोग गर्ने तर जितेको पक्षले हारेकोलाई अपमानित गर्ने र हार्ने पक्षले जित्ने पक्षलाई असहयोग गर्ने त्यो छुट छ, अहिले त्यो देखिन्छ त्यो कुरा सही होइन ।

अहिले शेखर–गगनबिच समस्या आएको भनिन्छ । उहाँहरूको भेटघाट र कुराकानी नै हुन छाड्यो भन्ने छ नि ?

झगडा गर्ने मिल्ने एउटा प्रजातान्त्रिक पार्टीमा हुन्छ, त्यस्तो हुँदै पनि आएको छ । आज पनि हुन्छ, भोलि पनि हुन्छ यो निरन्तर चलिरहने कुरा हो यो । १४ औँ महाधिवेशनमा सभापतिले शेखर कोइराला दाइले एउटा समूह बनाएर त्यसमा महामन्त्रीको रूपबाट चुनाव लडेको र जितेको व्यक्तिमा पर्नुहुन्छ । उहाँहरूको बिचमा झगडा छ कि छैन त्यो धेरै हामीले कोट्याएका पनि छैनौँ । हेरेका पनि छैनौँ । उहाँहरूको अभिव्यक्ति सुन्दा होइन हामीहरूको बिचमा केही छैन भन्नु हुन्छ । पार्टीभित्रको व्यक्तिको आफ्नो सार्वभौम अधिकार आफैमा निहित रहन्छ । तर, मैले थाहा पाउने गरी झगडा भएको देखेको छैन । मलाइ आफूलाई समूह फुटिहाल्यो, समूह अलग भइहाल्यो भन्ने महसुस भएको छैन ।

महामन्त्री गगन थापा सभापति देउवाको कित्तामा गइसके भन्ने चर्चा छ नि ?

म चाही यस्तो टिप्पणी गर्दिनँ । उहाँले के गर्नु भो, कसो गर्नु भयो उहाँ आफैले समीक्षा गर्नु होला । महामन्त्री भएपछि दोहोरो दायित्व हुन्छ, एउटा सभापतिको निर्देशन अनुसार काम गर्ने, केन्द्रीय समितिको निर्णय अनुसार काम गर्ने दायित्व हो । उहाँको काम गुटबन्दी गर्ने मात्रै पनि होइन नि, एउटा समूहबाट जित्ने, अर्को समूहमा लाग्ने त्यो काम त उहाँको होइन नि । उहाँले त समग्र पार्टीलाई हाँक्ने काम गर्नुपर्छ । तर, गगनजीले के गर्नुहुँदैन भन्ने कुरा समय क्रममा मूल्याङ्कन होला । हामी मूल्याङ्कन गर्ने नै छौँ । तर, हल्लाको पछि लाग्नु भन्दा पनि आफ्नो जिम्मेवारी पुरा गर्नुपर्छ ।

तपाईँहरूको समूहको बैठक नबसेको धेरै भइसक्यो । शेखर–गगनबिच मतभेद छैन भने बैठक किन बस्न नसकेको हो ?

आवश्यकता महसुस नगरेर नराख्नु भएर हो की, उहाँहरूबिच मतभेद भएर नबसेको हो हामी हेरिरहेका छौँ । पार्टीको अन्य जिम्मेवारी र अन्य साझा जिम्मेवारीका कारण बैठक बस्न नसकेको होला । उहाँहरूले हामीसँग मतान्तर छैन भन्नु भएको छ । हामीले बैठक राख्नु पनि भनेका छौँ, तर बैठक बस्न सकेको छैन । मलाई लाग्छ उहाँहरूले नभ्याएर बैठक नबसेको होला ।

कांगेसको महाधिवेशन समयमै हुन्छ भन्नेमा कत्तिको विश्वस्त हुनुहुन्छ ?

यो महाधिवेशनलाई पर सार्नुपर्ने तर्कपूर्ण कुनै आधार छैन । काम गर्दै जाँदा कार्य तालिका अनुसार काम भएन भने सार्न सकिन्छ । तर, अहिले त्यो अवस्था छैन । परिस्थिति सामान्य रहने, तर समयको सुविधा चाही असाधारण परिस्थितको उपयोग गर्न खोजियो, त्यसो गर्न मिल्दैन । समग्र नेपाली काँग्रेसमाथि औँला ठड्याइएको छ । काँग्रेसलाई समयमा केही पनि गर्दैन भन्ने प्रश्न छ । अब यो प्रश्नको जवाफ समयमै महाधिवेशन गरेर दिनुपर्छ ।

अहिले काँग्रेस र एमालेको नेतृत्वमा सरकार बनेको छ । वर्तमान सरकारको कामलाई कसरी हेरिरहनु भएको छ ?

यो सरकार विगतको सरकारको निरन्तरता हो । जनहित विपरीत काम नभए पनि यो सरकारको काम गुणत्मकरुपमा सुधारको अवस्थामा छ भन्ने आधार छैन । हामीले ७ बुँदेको जगमा यो सरकार बनाएका हौँ, तर त्यो कार्यान्वयन भएको छैन । यो सरकार बनेपछि सुशासनको अपेक्षा गरिएको थियो, भ्रष्टाचार नियन्त्रणको अपेक्षा थियो, विकासको अपेक्षा गरिएको थियो, तर त्यो भएको छैन । यो सरकार पनि परम्पराको निरन्तरता जस्तै भयो । दुई ठुला पार्टी सरकारमा गए, गणितको समस्या भएन । सरकार ढल्ने, बन्ने यो नहुने भयो, यसैलाई राजनीति स्थिरता मान्ने हो भने त ठिकै छ, तर ७ बुँदे सहमति अनुसार सरकारले काम गर्न सकेन ।

यो सरकारले चाहे जस्तो काम गर्न सकेको छ की छैन ?

नेपाली काँग्रेस र एमालेको सरकार बन्नु भनेको संसद्को सर्वाधिक विकल्प हो । यद्यपि यो कति सान्दर्भिक छ, कति राजनीतिक छ त्यसमा बहस गर्न सकिन्छ । संसद्मा यो भन्दा ठुलो सङ्ख्याको गठबन्धन अब बन्न सक्दैन, तर यी दुई पार्टीबिच भएका सहमति अनुसार सरकार नचलाउने हो, मूलक र जनतालाई भरोसा नदिने हो भने यो सरकार बनेको औचित्य हुन्न । दर्जनौँ काण्डहरू छन् अहिले, यी काण्डहरूको बारेमा जवाफ नदिने हो भने, निरूपण नगर्ने हो भने अब गर्ने चाही कसले हो त ? यस्तै हो भने त जनताको विश्वास उठ्ने भो नि, अब कसलाई विश्वास गर्ने ? कसको भर पर्ने ? सरकार त जनताले बनाएको हो नि, जनताले तिरको करबाट सरकार चल्छ । तर, सरकार पंगु जस्तै भएको छ । काँग्रेस एमालेको सरकारले गुणात्मक सुधार गरेको मैले देखेको छैन ।

काम गर्न सरकार कहाँ चुक्यो ? की प्रधानमन्त्रीलाई काँग्रेसले असहयोग गरेको हो ?

सबैभन्दा पहिले त काम गर्ने इच्छाशक्ति हुनु पर्‍यो । जिम्मेवारी र कर्तव्य बोध हुन आवश्यक छ । तर, वर्तमान सरकारको नेतृत्वमा इच्छा नै नभएको जस्तो देखियो । जनतालाई सुखी बनाउन र देश विकासको लागि दायित्वबोध भएको जस्तो लाग्दैन । सरकार किन बनायौँ भन्ने कुरा महसुस हुन आवश्यक छ । हामीलाई सरकार बनाउनु थियो बनायौँ, प्रधानमन्त्री र मन्त्री हुनका लागि सरकार बनायौँ, हामी बन्यौँ भनेर यो सरकार बनाएको अर्थ छैन । मन्त्री र प्रधानमन्त्री भएर मात्रै देश बन्दैन । सरकार बन्ने र फेरिने प्रक्रिया चलेको छ, तर जनताको जीवनमा परिवर्तन आउन सकेको छैन । युवा पुस्ता अवसरको खोजीमा मात्रै विदेश गएको होइन, युवाहरू नेपालमा मेरो भविष्य छैन भनेर, सरकारले दुव्र्यवहार गरेको हुनाले आफ्नो भविष्य खोज्दै बिदेसिएका हुन् । यो कुरा बुझ्नु पर्दैन ?

संविधान संशोधन सरकारको प्रमुख एजेन्डा थियो । संविधान संशोधन गर्नुपर्ने अवस्था आइसकेको हो ?

१० वर्षमा पुनरावलोकन गर्ने भन्ने त संविधानमै व्यवस्था छ । हामीले संविधान त निर्माण गर्‍यौँ, संविधान कार्यान्वयन गर्दा कहाँ कहाँ समस्या आयो त ? समानुपातिक व्यवस्थामा प्रश्न उठेको छ । समानुपातिक प्रणालीलाई हामीले दुरुपयोग गर्‍यौँ, जसका लागि यो व्यवस्था ल्याइएको हो त्यसको ठाउँमा बारम्बार अवसर पाएको, सामथ्र्य भएको, धनी भएको व्यक्तिलाई त्यो बाटो प्रयोग गरेर ल्याइदियौँ । राष्ट्रिय सभामा समानुपातिक प्रणालीको दुरुपयोग गर्‍यौँ, संसद्मा सांसदको सङ्ख्या धेरै बनायौँ । ७ वटा प्रदेश संरचना पनि भद्दा भएको जस्तो देखियो, स्थानीय तहको सङ्ख्या पनि धेरै भयो भन्ने गुनासो छ । निर्वाचन प्रक्रिया पनि फेर्नुपर्ने कुराहरू पनि आएका छन् । यी समग्र समस्याको पहिचान गरेर संविधान परिमार्जन गर्नुपर्छ ।

संविधान संशोधन गर्दा के के कुरामा संशोधन गर्न आवश्यक छ ?

जनतासँग छलफल गरेर त्यहाँबाट छानिएका विषयहरूमा संशोधन गर्नुपर्छ । छलफल गर्दा सबै ढोका खुल्ला राख्नुपर्छ । हामीले संविधान बनाएर गरेको अभ्यास र राजा हटाएर गरेको अभ्यासलाई हेर्न आवश्यक छ । राजनीतिक परिवर्तनमा के के भयो त ? हामीले मुलुक कसरी चलायौँ ? जुन उद्देश्यका लागि राजनीतिक परिवर्तन गरेका हौँ, त्यो बेला हामीले के के गर्ने भनेका थियौँ । त्यो अनुसार काम भएकी भएनन् त ? त्यो महत्त्वपूर्ण कुरा हो । हामीले बनाएको संविधानले गतिलो परिणाम दिन सकेको छैन । हामीले यो संविधानको प्रयोग गरेर राजनीतिक दरबन्दी सिर्जना गर्‍यौँ,धेरै वटा आयोग बनायौँ, धेरै वटा भद्दा संरचना बनायौँ । यस्तो कुन देशमा हुन्छ ? यो संविधानलाई दुरुपयोग गरेर हामीले जात्रा मनाइरहेका छौँ । यो रोक्नुपर्छ । जनताले राजनीतिक दलका नेताहरूलाई पाल्नुपर्ने अवस्थाको अन्त्य गर्नुपर्छ । जनमुखी सरकार बनाउन आवश्यक छ । यसका लागि जनताका बिचमा गएर सूचि नै बनाएर संविधान संशोधन गर्नुपर्छ । यो प्रणाली नेताको मनोगत चाहनाले चलेको छ, जनभावना अनुसार चलेको छैन । केही नेताहरूको स्वार्थ पुरा गर्ने माध्यम भएको छ यो शासन प्रणाली । त्यसैका लागि हो हामीले सङ्घर्ष गरेको ?

तर, प्रधानमन्त्री ओलीले संविधान संशोधन अहिले नहुने अभिव्यक्ति दिनु भएको छ । यसलाई कसरी लिनु भएको छ ?

उहाँले २०८७ सालमा संविधान संशोधन हुन्छ भन्नु भएको छ । उहाँले यस्तो भन्न पाउनुहुन्न, कसैसँग छलफल नै नगरेर यस्तो अभिव्यक्ति दिन मिल्दैन । छलफल नै नगरेर विषयान्तर गर्न मिल्दैन । उहाँको यस्तो बोलीले सत्ताका लागि मात्रै गठबन्धन बनाइएको भन्ने प्रमाणित हुन्छ । प्रधानमन्त्रीले जनताको भावनामा फेरी खेल्ने प्रयास गरे । उहाँले यो कुरा अगाडी बढाउनु हुँदैन, उहाँले यसअघि पनि पटक पटक गल्ती गरिसक्नु भएको छ । उहाँले त्यसलाई करेक्सन गरेर र आफ्ना अनुभवबाट उहाँले जनतामा आशा जगाउनुपर्छ । उहाँले जनताको विश्वासलाई टुट्न दिने हो, तर उहाँले जनतालाई फेरी निराश बनाउन तिर लागेको जस्तो देखिन्छ । ७ बुँदे सहमतिलाई बेवारिसे छाड्ने अधिकार ओलीलाई छैन ।

अब सरकार धेरै समय नचल्ने भन्ने चर्चा पनि छ । यो सरकारको आयु कति हो ?

राजनीतिमा सम्भावनाको ढोका सधैँ खुला रहन्छ । हिजोको निकट विगत त्यस्तै छ । एउटा समीकरण बन्ने त्यो भत्किने फेरी अर्को बन्ने त्यो भत्किने अवस्था छ । कहिले काँग्रेस र माओवादी मिल्ने, कहिले माओवादी र एमाले मिल्ने त कहिले एमाले र काँग्रेस मिल्ने यो प्रक्रिया चलिरहेको छ । यसअघि पनि सरकारहरू धेरै टिकेको अवस्था छैन । तर, अहिले काँग्रेस–एमाले कोबिचमा दरार आउँछ, सरकार परिवर्तन हुन्छ भन्ने अवस्था छैन । बारम्बार सरकार परिवर्तन भइरहनु पनि हुँदैन । यो सरकार चल्नुपर्छ । फेरी पनि ७ बुँदे सहमति कार्यान्वयन नगर्ने हो भने यो सरकारको औचित्य छैन ।

अब अन्तिममा, फेरी पनि काँग्रेस सभापति देउवा प्रधानमन्त्री बन्ने लाइनमा हुनुहुन्छ ? उहाँ प्रधानमन्त्री बन्नुहोला त ?

अहिलेको सहमति अनुसार ओलीपछि हाम्रो सभापति नै प्रधानमन्त्री बन्ने सहमति हो । काँग्रेस र एमालेबिचको सहमति नबिग्रिएसम्म र यो समीकरण कायम रहेसम्म सभापति नै प्रधानमन्त्री बन्नुहुन्छ । अन्यथा नयाँ घटनाक्रमहरू विकसित भए भने के हुन्छ भन्न सकिन्न ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *