खबर दिनभर : यी हुन् आजका शीर्ष समाचार

अब नेपाली आइटी कम्पनीहरूले विदेशमा लगानी गर्न पाउँछ : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले अब नेपाली आइटी कम्पनीहरूले विदेशमा लगानी गर्न पाउने बताएका छन् ।

उनले शुक्रवार (हिजो) को मन्त्रिपरिषद् बैठकले अध्यादेश मार्फत आइटीमा गरेको कमाइलाई स्वदेश भित्र्याउन सहज बनाउने कानुन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको जानकारी दिए ।

उनले शनिवार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै उक्त कुरा जानकारी दिएका हुन् ।

उनले नेपालमा आइटीको क्षेत्रमा काम गर्नेहरूका लागि केही कानुनी अप्ठ्याराहरू रहेको भन्दै अब नेपाली आइटी कम्पनीहरूले विदेशमा लगानी गर्न पाउने उल्लेख गरेका छन् ।

यसका साथै नेपाली आइटी कम्पनीहरूले विदेशमा शाखा कार्यालय खोलेर पैसा कमाउन सक्ने र त्यसरी कमाएको पैसा कानुनी रुपमा स्वदेश भित्र्याउन पाउने पनि जानकारी दिए ।

उनले यस कानुनले आइटीलाई विदेशी मुद्रा आर्जन गर्ने उद्योगका रुपमा विकास गर्ने विश्वास रहेको बताए ।

संसद चाँडै सुरु हुन्छ : देवराज घिमिरे

सभामुख देवराज घिमिरेले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहलाई एकताका प्रतीकको रुपमा लिनुपर्ने बताएका छन् । शनिवार पृथ्वीनारायण शाहको ३०३ औं जन्मजयन्तीको अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालले आयोजना गरेको चियापान समारोहमा सहभागी हुँदै उनले यस्तो बताएका हुन् ।

उनले नेपाल विभिन्न जातजाति, संस्कार, संस्कृतिको देश भएको बताए । नेपालको भूगोललाई एकताबद्ध गरी अरु प्रगति गर्नुपर्ने आवश्यकता रहेको बताए ।
उनले भने ‘हामीले एकताका प्रतीकको रुपमा लिनुपर्छ । विभिन्न जातजाति, संस्कार, संस्कृति, भएको भूगोल हो यो । यो भूगोललाई एकताबद्ध गरी अरु प्रगति गरेर लैजानुपर्छ भन्नेकुरा सिक्नुपर्छ । सदन अब बेला भएको छ, चाँडै चल्छ ।’

संसद कहिलेबाट सुरु हुन्छ भन्ने सञ्चारकर्मीहरूको प्रश्नमा उनले चाँडै अधिवेशन आह्वान हुने बताए ।

पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइयो

संघीय राजधानी काठमाडौंमा पृथ्वीनारायण शाहको जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइएको छ । शनिबार बिहान सिंहदरबारको पश्चिम गेटमा रहेको पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गरी ३०३ औं पृथ्वी जयन्ती मनाइएको हो ।

पृथ्वी जयन्तीका अवसरमा आयोजित कार्यक्रममा सिंहदरबार मूल गेट अगाडि रहेको पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गरेका छन् । माल्यार्पणसहित नेपाली सेनाको टोलीले पृथ्वी नारायण शाहप्रति सम्मान प्रकट गरेका थिए ।

हरेक वर्ष पुस २७ गते काठमाडौंमा भव्यताका साथ पृथ्वी जयन्ती मनाइन्छ । विसं १७७९ पुस २७ गते गोरखामा राजा नरभूपाल शाह र रानी कौशल्यावतीका कोखबाट पृथ्वीनारायण शाहको जन्म भएको थियो । विसं १७९९ चैत २५ गते पृथ्वीनारायण राजा भएका थिए । त्यसअघि नेपाल ५२ राज्यमा विभाजित थियो ।

पृथ्वीनारायण राजा भएपछि पूर्वमा टिस्टादेखि पश्चिममा चेपे नदीसम्म नेपालको सीमा बिस्तार गर्न उनी सफल भएका थिए । पृथ्वीनारायणको शेषपछि उनका उत्तराधिकारीले पश्चिममा किल्ला काँगडासम्म नेपाल राज्यलाई बिस्तार गरेको इतिहास छ ।

प्रहरीसम्बन्धी विधेयक संसद्मा पेस हुने

नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालसम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधयेक सङ्घीय संसद्मा पेस गरिने भएको छ ।

शुक्रबार साँझको मन्त्रिपरिषद् बैठकले दुवै विधेयक संसद्मा पेस गर्न स्वीकृति दिएको गृहमन्त्रीको स्वकीय सचिवालयले आज जनाएको छ ।

गृहमन्त्री रमेश लेखकले प्रहरी सङ्गठनलाई समयसापेक्ष व्यवस्थित, सुदृढ र क्रियाशील बनाउन प्रहरीसम्बन्धी विधेयक परिमार्जन र संशोधनमा जोड दिँदै आएका थिए ।

प्रहरी र सशस्त्र प्रहरी बलसम्बन्धी कानुनलाई संशोधन गर्न अर्थ र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय तथा लोक सेवा आयोगको सहमतिपछि मन्त्रालयले ती विधेयक मन्त्रिपरिषद्मा पेस गरेको हो ।

राजनीतिक भ्रष्टीकरण बढ्यो,सही बाटोमा ल्याउन पत्रकारको भूमिका महत्वपूर्ण : नारायणकाजी श्रेष्ठ

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पत्रकारितालाई मर्यादित बनाउँदै सत्यतथ्य सूचना प्रवाह गर्न सुझाव दिएका छन् ।

आज पोखरामा आयोजित प्रेस सेन्टर नेपाल कास्की शाखाको छैटौँ जिल्ला अधिवेशनमा उनले राजनीति धमिलो भएको अवस्थामा जिम्मेवार र निष्ठावान् पत्रकारिता आवश्यक पर्ने भएकाले सोहीअनुसार भूमिका निर्वाह गर्न आग्रह गरे।

वरिष्ठ उपाध्यक्ष श्रेष्ठले सञ्चारकर्मीले सधैँ सुशासन, राष्ट्रिय स्वाधिनता र जनहितमा कलम चलाउन आग्रह गरे । “पत्रकारिता समाजलाई सही बाटोमा डोर्‍याउने खालको हुनुपर्छ । गलत गर्ने जो कोहीका विषयमा पनि कलम चलाउन छोड्नु हुन्न”,उनले भने,“पछिल्लो समय राजनीतिक भ्रष्टीकरण बढेकाले यसलाई सही बाटोमा ल्याउन पनि पत्रकारका भूमिका महत्वपूर्ण हुने भएकाले यसतर्फ ध्यान दिन आवश्यक छ ।”

पूर्वउपप्रधानान्त्री श्रेष्ठले देश विकास हुन नसक्नुको मूल कारण राजनीति नै भएकाले राजनीतिलाई सङ्लो बनाउन आवश्यक भएको धारणा राखे । नेपाल पत्रकार महसङ्घका केन्द्रीय कोषाध्यक्ष रामकृष्ण अधिकारी, प्रेस सेन्टर नेपालका केन्द्रीय उपाध्यक्ष निर्मल ज्ञवालीलगायतले श्रम अधिकार र पत्रकारिताका विविध पक्षबारे धारणा राखे ।

प्रेस सेन्टर कास्कीका अध्यक्ष कृष्ण दवाडीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा पत्रकार दीपक परियारलाई थमन परियार स्मृति पत्रकारिता पुरस्कारद्वारा सम्मान गरिएको थियो ।

वर्तमान सत्ता समिकरण आगामी तीन वर्षसम्मै चल्छ : महामन्त्री थापा

नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले वर्तमान सत्ता समिकरण आगामी तीन वर्षसम्म चल्ने दाबी गर्नुभएको छ ।

शुक्रबार काठमाडौंमा आयोजित फुटवयर म्यानुफ्याक्चरर्स एशोसिएशन अफ नेपालको २३ औं वार्षिक साधरण सभामा बोल्दै महामन्त्री थापाले यस्तो बताउनुभएको हो ।

उहाँले नेपाली काँग्रेस र एमालले विगतमा ९ महिना, एक वर्ष तीन वर्ष सरकार चलाउँदै गर्दा इतिहासमा गर्व गर्नसक्ने अवस्था बनेको भन्दै वर्तमान सरकारले पनि त्यो खालको काम गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गर्नुभयो । उहाँले विगतमा नेपाली काँग्रेसका गिरिजाप्रसाद कोईराला र एमालेका मनोहन अधिकारी नेतृत्वको सरकारबाट पुष्टि भएको बताउनु भयो । उहाँले यस पटक काँग्रेस र एमाले मिलेर बनाएको सरकार तीन वर्षसम्म चल्ने भन्दै तीन वर्ष भनेको सानो समय नभएकाले नेपाली नागरिकले बेनिफिट पाउनुपर्ने बताउनु भयो ।

उहाँले विगतमा २०४८ सालमा संविधान,२०७० मा संविधान पाएको उदाहरण दिँदै अहिले बिग्रेको अर्थतन्त्रको क्षेत्रमा ठोस रुपमा सुधार हुनुपर्ने बताउनु भयो । उहाँले सुधार भए मात्रै दुई पार्टी मिलेर सरकार बनेको अर्थ रहने बताउनु भयो । उहाँले केही जनता र उद्योगी व्यवसायीहरुको लागि भनेर वर्तमान सत्ता समिकरणले दिनरात नभनि अर्थतन्त्र सुधारको लागि काम गरिरहेको बताउनु भयो । उहाँले सरकारले निजी क्षेत्रलाई व्यापार व्यवसायलाई सुकुलो र नीतिगत रुपमा सुधार गर्ने प्रयास गरिरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘ नेपाली काँग्रेस र एमालले विगतमा ९ महिना, एक वर्ष तीन वर्ष सरकार चलाउँदै गर्दा इतिहासमा गर्व गर्न सक्ने अवस्था बन्दो रहेछ । त्यो विगतमा नेपाली काँग्रेसका गिरिजाप्रसाद कोईराला र एमालेका मनोहन अधिकारी नेतृत्वको सरकारबाट पुष्टि हुन्छ । यो पटक काँग्रेस र एमाले मिलेर बनाएको सरकार तीन वर्षसम्म चल्छ । तीन वर्ष भनेको सानो समय होइन । तीन वर्ष ठूला पार्टी मिलेर बनेको सरकारले चल्दै गर्दा नेपाली नागरिकले बेनिफिट पाउनुपर्छ । पहिला पनि पाएको थियो । २०४८ सालमा संविधान पायो । २०७० मा संविधान पायो । अहिले के पाउने हो । अहिले केही पाउनुपर्दैन सबै कुरा सम्हाल्छौं । अहिलेसबै भन्दा बढी बिग्रेको अर्थतन्त्र हो । अर्थतन्त्रको क्षेत्रमा ठोस रुपमा सुधार हुनुपर्छ । अनि मात्रै दुई पार्टी मिलेर सरकार बनेको अर्थ रहन्छ । नत्र सरकार पहिला पनि थिए चलेकै थियो । वर्तमान सत्ता समिकरणले दिनरात नभनि अर्थतन्त्र सुधारको लागि काम गरिरहेका छौं । निजी क्षेत्रलाई व्यापार व्यवसायलाई सुकुलो र नीतिगत रुपमा सुधार गरौं भन्ने हो । धेरै कुरा बिग्रिएकाले थोरै समय लाग्छ तर वर्तमान सरकारले सम्हाल्छ ।’

उहाँले नेपाल उत्पादन जुत्ता ५० लाख जोर जुनसुकै अवस्थामा पनि निर्यात हुनसक्ने अवस्था रहेको भन्दै नेपाली उत्पादनले नेपालभित्र बजार पाउने सम्भावना ठूलो रहेको बताउनु भयो । उहाँले सम्भावनाको ठूलो क्षेत्र भएकाले सरकारले यो क्षेत्रलाई प्राथमिकता दिएर काम गर्नु जरुरी रहेको बताउनु भयो ।

गृहमन्त्री रमेश लेखकले मुलुकको आर्थिक विकासका लागि सरकारले अध्यादेशमार्फत केही कानुन संशोधन गरेको बताएका छन् । आज नेपाल मसलन्द तथा शैक्षिक सामग्री उद्योग सङ्घको २५औँ वार्षिक साधारणसभामा धारणा राख्ने क्रममा मन्त्री लेखकले सरकारले स्वदेशी उत्पादन प्रयोग गर्ने नीति लिएको समेत उल्लेख गरे ।

‘सरकारले अध्यादेशमार्फत शासकीय सुधार, उद्योग व्यवसायको सहज सञ्चालन र सुशासनसँग सम्बन्धित कानून संशोधन गरेको छ’ उनले भने ।

मन्त्री लेखकले गैरआवासीय नेपालीको लगानीसम्बन्धी केही निर्णय समेत गरेको बताए ।

‘सूचना प्रविधिको प्रयोग गरी सेवा निर्यातको सहजीकरणका लागि कानुन संशोधन गरिएको छ’ उनले भने ।

उक्त अध्यादेशले आइटी कम्पनीहरुले विदेशमा लगानी गर्न, विदेशमा शाखा कार्यालय खोलेर पैसा कमाउन र त्यसरी कमाएको पैसा कानुनी रुपमा नेपाल ल्याउनका लागि सहज हुने उनको भनाइ थियो ।

सिंगापुरको पासपोर्ट विश्वकै शक्तिशाली, नेपालको झन् खस्कियो

सिंगापुरको राहदानी (पासपोर्ट) फेरि पनि विश्वकै शक्तिशाली पासपोर्टको सूचीमा पहिलो नम्बरमा पर्न सफल भएको छ । जापानलाई उछिन्दै सिंगापुरको पासपोर्ट विश्वका राहदानी र्‍याङ्किङ संस्था हेन्ले पासपोर्ट इन्डेक्सको शीर्ष स्थान ओगट्न सफल भएको हो ।

कुनै पनि देशका नागरिकले प्राप्त गर्ने भिसा बिना र आवश्यकताका आधारमा भिसा प्राप्त सक्ने क्षमताका आधारमा विश्वमा यात्रा गर्न पाउने स्वतन्त्रताको मापन गरी यो सूची तयार गरिन्छ । सिंगापुरका नागरिकले विश्वका १९५ गन्तव्यमा बिना भिसा यात्रा गर्न पाउने छन् । दोस्रो स्थानमा रहेको जापानको राहदानीधारीले १९२ गन्तव्यमा बिना भिसा यात्रा गर्न पाउँछन् ।

तेस्रो स्थानमा रहेका फिनल्याण्ड, फ्रान्स, जर्मनी, इटाली, दक्षिण कोरिया र स्पेन राहदानीधारीले १९२ गन्तव्यमा बिना भिसा यात्रा गर्न पाउनेछन् । इराक ९१०४ औं०, सिरिया ९१०५ औं० र अफगानिस्तान ९१०६ औं० पाकिस्तान ९१०३ औँ० भन्दा कमजोर पासपोर्ट भएका देशहरू छन् । सोमालिया, नेपाल, प्यालेस्टाइन र बङ्गलादेश जस्ता राष्ट्रहरू पाकिस्तानभन्दा माथि छन् । सोमालिया १०२ औँ स्थानमा छ, जुन पाकिस्तानभन्दा एक स्थान मात्र अगाडि छ ।

नेपालको राहदानीको भने वरियता झन् खस्किएको छ । यसअघि नेपालको राहदानी ९८ औं स्थानमा रहेकोमा ३९ अंकसहित १०१ औ स्थानमा रहेको छ । यस वर्ष नेपाल ३९ अर्थात् ३९ देशमा अग्रिम भिसा लिनु पर्दैन ।

पासपोर्टको वरियता कसरी निर्धारण गरिन्छ ?
यो वरीयता वर्षमा दुई पटक जारी गरिन्छ । सूचकांक पहिलो पटक जनवरीमा र दोस्रो पटक जुलाईमा जारी गरिन्छ । हेन्ले पासपोर्ट भिसा सूचकांक वेबसाइट अनुसार वास्तविक–समय डाटा वर्षभरि अद्यावधिक गरिन्छ । भिसा नीतिहरूमा परिवर्तनहरू पनि अपडेट गर्ने गरिन्छ ।

कुनै देशको राहदानीधारीले भिसा नलिइकन कति देशको यात्रा गर्न सक्छन् भन्ने आधारमा र्‍याङ्किङ निर्धारण गरिन्छ । यसका लागि उनले अग्रिम भिसा लिनु पर्दैन । यसबाहेक धेरै देशहरूले भिसा फ्री यात्राको विकल्प पनि प्रदान गर्छन् । यसको मतलब कुनै निश्चित देशका मानिसहरु भिसाबिना पनि त्यस देशमा जान सक्ने नीतिलाई आधार बनाइन्छ ।

वामपन्थी शक्तिलाई एकै स्थानमा ल्याउने प्रयास जारी छ : माधव नेपाल

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा वामपन्थी ध्रुवीकरणका लागि विभिन्न कम्युनिष्ट शक्तिहरूलाई एकै ठाउँ ल्याउने प्रयास भइरहेको बताएका छन् ।

आजदेखि सुरु भएको पार्टीको ललितपुर जिल्ला कमिटीको आठौँ अधिवेशनमा अध्यक्ष नेपालले समाजवादी मोर्चालाई क्रियाशील बनाएर समाजवादी, वामपन्थी, कम्युनिष्ट विचार भएकाहरूलाई एकै स्थानमा ल्याउने प्रयास भइरहेको उल्लेख गरे ।

कम्युनिष्ट सिद्धान्त तथा आदर्शप्रति समर्पित सबै समूहलाई एकताबद्ध गरेर राष्ट्रियता, जनजीविकालगायत विषयलाई उचित ढङ्गले अघि बढाइने बताउँदै उनले वैचारिक दृष्टिकोण मिल्ने पार्टीसँगै एकताबद्ध भएर अघि बढ्न सकिने र विचार मिल्न बाँकी रहेका शक्तिसँग सहकार्य गर्न सकिने उल्लेख गरे ।

पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले आफ्नो पार्टीले राजनीतिक क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएकाले आगामी दिनमा निराश नभई जनता केन्द्रित राजनीतिक गतिविधि सञ्चालन गर्न नेता तथा कार्यकर्तालाई निर्देशन दिए ।

उनले मुलुकमा सुशासन कायम गर्न, राष्ट्रिय समस्या समाधान गर्न, जनजीविकामा सुधारलगायत सकारात्मक परिवर्तन ल्याउन सबै एकजुट भई राज्यलाई दबाब दिनुपर्नेमा जोड दिए ।

अध्यक्ष नेपालले सत्ताको फेरबदलसँगै समाजवादी मोर्चा सक्रिय भएर अघि बढ्न नसकेकाले नयाँ नीति र योजना अनुसार पुनः सक्रिय बनाउँदै जाने जानकारी दिए । उक्त जिल्ला अधिवेशन आइतबारसम्म सञ्चालन हुनेछ ।

नुन लिनका लागि वडाको सिफारिस चाहिने

साल्ट ट्रेडिङ कर्पोरेसनले जिल्लाका दक्षिण भेगका चार वटा गाउँपालिकालाई सम्बन्धित वडाको सिफारिसका आधारमा शुक्रबारदेखि अनुदानको नुन वितरण सुरु गरेको छ ।

शुक्रबार सर्केगाड गाउँपालिका–२, ३ र पालिका केन्द्रबाहेक अन्य छवटा वडाका नागरिकलाई नुन वितरण गरिएको उक्त कार्यालयका प्रमुख राजबहादुर लामाले बताए ।

दुई नम्बर रिप र ३ नं उनापानी गाउँ जाने बाटो बिग्रेका कारण नुन वितरण हुन नसकेको हो । पालिकाका अन्य सबै वडाका प्रत्येक घरलाई नुन वितरण गरिएको प्रमुख लामाले जानकारी दिए । पन्धदेखि ३० प्याकेटका दरले नुन वितरण गरिएको छ ।

वडामा कम घर भएकालाई ३० प्याकेट र बढी घर भएका वडालाई १५ प्याकेट जनसङ्ख्याका आधारमा वितरण गरिएको हो । साल्ट टेड्रिङ कर्पोरेसन शाखा कार्यालयले नुन लिन पुग्दा सम्बन्धित वडाको सिफारिसका आधारमा नुन वितरण गरिरहेको बताएको छ । दक्षिण भेगका चारवटा गाउँपालिकामा नुन वितरण कर्पोरेसन शाखा कार्यालयका कर्मचारी स्वयं पुगेर वितरण गरिरहेका छन् ।

कर्पोरेसनले अनुदानमा एक प्याकेट नुनको रु नौ मा बिक्री गर्दै आएको छ । शुक्रबार वडा–१ लाई ८० क्विन्टल, वडा–४ लाई ५१ क्विन्टल, वडा–५ लाई ५० क्विन्टल, वडा–६ लाई ५१ क्विन्टल, वडा–७ लाई ५७ क्विन्टल र वडा–८ लाई ५१ क्विन्टल वितरण गरिएको हो ।

शुक्रबार मात्रै तीन सय ४० क्विन्टल वितरण भएको छभने सर्केगाड गाउँपालिकाका लागि पाँच सय क्विन्टल वितरण गरिने भएको छ ।

मलद्वारमा सुन लुकाएर ल्याउने तीन जना पक्राउ

नेपाल प्रहरीले दोहाबाट मलद्वारमा सुन लुकाएर ल्याएका तीन जनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ गरी कारबाहीका लागि भन्सार कार्यालय चलान गरेको छ ।

प्रहरी प्रधान कार्यालयले आज उक्त घटनाविवरण सार्वजनिक गर्दै सप्तरी घर भएका ३२ वर्षीय कृष्णप्रसाद चौधरी, ३० वर्षीय मोहम्मद इलियास र सुनसरीको इटहरी उपमहानगरपालिका–१९ का २७ वर्षीय शिवशंकर चौधरीलाई पक्राउ गरी कारबाही प्रक्रिया अगाडि बढाइएको जनाएको हो ।

प्रहरी प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीले शुक्रबार पक्राउ परेका उनीहरूलाई आवश्यक कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा बुझाइएको जानकारी दिए ।

हिमालय एयरलाइन्सको उडानद्वारा दोहाबाट काठमाडौँ आएका उनीहरूलाई विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको आगमन टनेल गेटमा जाँचगर्ने क्रममा पक्राउ गरिएको थियो ।

प्रहरीले कृष्णप्रसादको साथबाट करिब ५८ दशमलव ३३ ग्राम तौलको सिक्री १ थान, मोहम्मदको साथबाट करिब ५८ दशमलव ३३ ग्राम तौलको सिक्री १ थान र शिवशंकरको साथबाट करिब ५८ दशमलव ३३ ग्राम तौलको सिक्री १ थान बरामद गरेको जनाइएको छ ।

नख्खुडोल पुल मर्मत नहुँदा यात्रा जोखिमपूर्ण

बाढीबाट क्षति पुगेको नख्खुडोल पुलमर्मत नहुँदा स्थानीयहरु जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन् ।

ललितपुर महानगरपालिका–१४ को नख्खुडोल र वडा नं १५ को सैँवु जोड्ने नख्खु खोला पुल गत असोज १२ गते आएको बाढीले क्षतिग्रस्त बनेको थियो ।

बाढीले प्वाल पारेको पुल फलामको सहायताले दुई पाङ्ग्रे सवारी गुड्न सक्ने गरी अस्थायीरुपमा एकतर्फी सञ्चालनमा ल्याइको छ । ललितपुर महानगरपालिका–२५ का स्थानीय उमेश थापा नख्खुडोल पुल भत्केपछि करिब डेढ किलोमिटर पश्चिमतर्फको नख्खु पुल हुँदै यात्रा गर्नुपर्ने बाध्यता थपिएको सुनाउछन् ।

साँघुरो पुलमा अहिले प्रायःजसो दुईपाङ्ग्रे सवारी साधानको जाम हुने गरेको छ । नख्खुडोलका स्थानीय कमल राईले कार्यालय समयमा पुलमा अत्यधिक जाम हुँदा समस्या भइरहेको बताए ।

उनले भने ‘बाढीले क्षति गरेको चार महिना बित्न आँटिसक्यो, अहिलेसम्म जीर्ण अवस्थामा रहेको नख्खुडोल पुल अझै मर्मत भएको छैन । यसले गर्दा आवातजावत गर्न निकै असहज भएको छ ।’

पुल मर्मतका लागि ललितपुर महानगरपालिकाले रु ६७ लाख विनियोजन गरेको छ । ललितपुर महानगरपालिका-२५ का वडाध्यक्ष दौलतकुमार खत्रीले पुल मर्मत चाँडै सुरु गरिने बताए ।

ललितपुर महानगरपालिका–१४ का वडाध्यक्ष अमृत महतले ठेक्का प्रक्रियामा केही ढिलाइ भएकाले पुल मर्मतमा विलम्ब भएको स्वीकार गरे । उनले भने ‘अहिले अस्थायी रुपमा मोटरसाइकल आवातजावत गर्न मिल्ने बनाइएको छ । पुल मर्मतमा ढिलासुस्ती हुँदा स्थानीयलाई आवातजात गर्न असहज भएको पक्कै हो, अब छिट्टै समस्याको समाधान हुन्छ ।’

जुम्लामा ८ हजार ८ सय २९ छात्रालाई क्यान्सरविरूद्धको खोप दिइने

जुम्लाका आठवटै स्थानीय तहका आठ हजार आठ सय २९ जना छात्रालाई क्यान्सरविरूद्धको खोप दिइने भएको छ ।

नेपाल सरकारको राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत यहाँका सामुदायिक तथा निजी विद्यालयका कक्षा ६ देखि १० सम्म अध्यनरत करिब आठ हजार आठ सय २९ छात्रालाई पाठेघरको मुखको क्यान्सर गराउने एचपिभी (ह्युमन प्यापीलोमा भाइरस) विरूद्धको खोप दिइने जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका प्रमुख कृष्ण सापकोटाले जानकारी दिए ।

उक्त भाइरसविरूद्धको खोप कार्यक्रम सञ्चालनका लागि जिल्लाका सबै स्थानीय तहबाट तथ्याङ्क सङ्कलन भइरहेको छ । देशव्यापी खोप कार्यक्रमअन्तर्गत आगामी माघ २२ गतेदेखि फागुन ६ सम्म एकैपटक सञ्चालन हुनेछ । जुम्लाको हकमा फागुनदेखि सामुदायिक विद्यालय खुल्ने भएकाले त्यसैअनुसार कार्यालयले खोप कार्यक्रम सञ्चालनका लागि स्थानीय तहका स्वास्थ्य शाखासँग छलफल भइरहेको छ ।

कार्यालय प्रमुख सापकोटाले भने ‘विद्यालय बाहिर रहेका १० वर्षदेखि १४ वर्ष उमेर समूहका एक हजार पाँच सय ८६ जना र विद्यालयभित्रका सात हजार दुई सय ४३ गरी आठ हजार आठ सय २९ जना छात्रालाई उक्त खोप लगाउने तयारी गरिएको छ ।’

कार्यालयको तथ्याङ्कअनुसार जिल्लाको चन्दननाथ नगरपालिकाका एक हजार आठ सय ७९ जना, गुठीचौर गाउँपालिकामा पाँच सय २०, हिमामा एक हजार १३ र कनकासुन्दरीमा नौ सय ६७ जनालाई खोप लगाइने छ । त्यस्तै पातारासी गाउँपालिकामा एक हजार एक सय ५८, सिंजामा नौ सय सात, तातोपानीमा एक हजार एक सय ५३ र तिलामा एक हजार दुई सय ३२ जना छात्रालाई खोप लगाउने योजनाबारे छलफल भइरहेको स्वास्थ्य कार्यालय जुम्लाका प्रमुख सापकोटाको भनाइ छ ।

विद्यालय बाहिर रहेका किशोरीको हकमा जन्मदर्ताका आधारमा उमेर हेरेर खोप लगाइने छ । नेपाल सरकारले विश्व स्वास्थ्य सङ्गठन ९डब्लुएच० बाट प्रमाणित उक्त खोप १० वर्षदेखि १४ वर्ष उमेर समूहका किशोरीलाई एचपिभीको सङ्क्रमणबाट सुरक्षित हुन अभियान सञ्चालन गर्न लागिएको जनस्वास्थ्य सेवा कार्यालय जुम्लाले जनाएको छ ।

जनवरी ३० देखी महिला टी-२०आई श्रृंखला हुने

नेपाल, नेदरल्याण्ड्स र थाइल्याण्डको सहभागितामा महिला टी-२०आई श्रृंखला हुने भएको छ । नेपालको आयोजनामा आगामी जनवरी ३० देखि टी( २०आई श्रृंखला हुने भएको हो ।

शनिबार साँझ नेपाल क्रिकेट संघ (क्यान) ले सूचना जारी गर्दै टी-२०आई श्रृंखला हुने जानकारी दिएको छ । सबै टोलीले एक अर्कासँग ३र३ खेल खेल्ने छन् ।

पहिलो खेल जनवरी ३० मा नेपाल र नेदरल्याण्ड्सको बीचमा हुनेछ । त्यसैगरी थाइल्याण्डसँग ३१ जनवरीमा खेल्ने छ । फेब्रुअरी १ मा नेदरल्याण्ड्स र थाइल्याण्ड खेल्ने छन् । ७ फेब्रुअरीसम्म सोही क्रमका खेलहरू सञ्चालन हुने क्यानले जनाएको छ ।

जनवरी ३० देखि फेब्रुअरी ७ सम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टी-२० आई श्रृंखला हुनेछ ।

नाइजेरियामा बन्दुकधारीको आक्रमणबाट २१ जनाको मृत्यु

नाइजेरियाको उत्तरपश्चिमी कात्सिना राज्यमा आपराधिक समूहको आक्रमणमा परी कम्तीमा २१ जना सरकारी लडाकू मारिएका छन् ।

कात्सिना प्रहरीप्रवक्ता अबुबकर सादिक अलियुका अनुसार सफाना जिल्लाको बौरे गाउँमा एक मृत सहकर्मीको परिवारप्रति समवेदना व्यक्त गरी फर्कंदै गरेको सरकारलाई सहयोग गर्दै आएका लडाकूको एक टोलीमाथि डाकुहरूले गोली चलाएका थिए।

“दुःखको कुरा, आक्रमणका कारण २१ जनाको मृत्यु भएको छ”, अलियुले भन्नुभयो, “प्रहरीले आक्रमणका दोषीलाई पक्राउ गर्न प्रयास गरिरहेको छ।”

उत्तरपश्चिमी र मध्य नाइजेरियाका धेरै राज्यहरूमध्ये एक कात्सिना राज्यमा डाकुहरूले गाउँहरूमा आक्रमण गर्ने, बासिन्दाहरूको हत्या गर्ने र अपहरण गर्ने साथै घरहरू जलाउने र लुट्ने गर्दै आएका छन् ।

जाम्फारा, कात्सिना, काडुना र नाइजर राज्यको विशाल जङ्गलमा लुकीछिपी बस्दै आएको गिरोहले हालैका वर्षहरूमा विद्यालयबाट विद्यार्थीहरूको सामूहिक अपहरणका लागि कुख्याति कमाएका छन् ।

सन् २०२३ मा कात्सिना राज्यका गभर्नर डिक्को उमर रड्डाले ‘कात्सिना कम्युनिटी वाच कोर (केसीडब्ल्युसी)’ को स्थापना गरी सरकारलाई सघाउन करिब दुई हजार लडाकूलाई भर्ती गर्नुभएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × one =