खबर दिनभर : यी हुन् आजका शीर्ष समाचार

पर्यटकीय क्षेत्र सोलुखुम्बुको विकासमा सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले पर्यटनमा विशेष योगदान दिइरहेको सोलुखुम्बुको विकासका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
खुम्बु पासाङ ल्हामु गाउँपालिका–२ सुर्केमा आयोजित ङिमदोर्जी शेर्पा पर्यटन सडक उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले यहाँ विकासका पूर्वाधारलाई थप सबल बनाइने बताए ।
प्रधानमन्त्री ओलीले पर्यटन सडकको स्तरोन्नतिका लागि प्रदेश र सङ्घीय सरकारबीच सहकार्य कायम रहने बताए ।
‘यो सडकलाई कालोपत्र बनाउने जिम्मा दुवै सरकारको हुनेछ । यस जिल्लाको विकास अभियानमा सरकारले कुनै कसर बाँकी राख्दैन’ उनले भने ‘राष्ट्रिय विभूति पासाङ ल्हामु शेर्पा र तेन्जिङ नोर्गे शेर्पाजस्ता विश्वविख्यात सहासिक व्यक्तिहरूको जन्मभूमि खुम्बुमा थप विकासका कामले पर्यटन प्रवर्द्धनमा ठूलो सहयोग पुर्याउनेछ ।’
खुम्बु क्षेत्रमा सडक सञ्जाल विस्तार र स्तरोन्नतिका लागि सरकारले गम्भीर प्रयास गर्ने प्रतिबद्धता दोहोर्याउँदै प्रधानमन्त्री ओलीले यहाँ साहसिक पर्यटन र सांस्कृतिक महत्वलाई थप उजागर गर्न आवश्यक पूर्वाधार निर्माणमा सरकारको विशेष ध्यान जाने बताए ।
‘सोलुखुम्बु पर्यटकीय सम्भावनाले भरिपूर्ण जिल्ला हो । विश्वकै सर्वोच्च शिखर सगरमाथाको प्रवेशद्वार भएकाले यस क्षेत्रले साहसिक पर्यटकलाई आकर्षित गर्दै आएको छ । यहाँका जनतालाई आर्थिक रूपमा सबल बनाउने गरी विकासका कार्यक्रम अगाडि बढाउन सरकार तयार छ’ उनले भने ।
सडकको स्तरोन्नति र पूर्वाधारको विस्तारले यहाँको पर्यटन व्यवसायलाई नयाँ उचाइमा पुर्याउने प्रधानमन्त्री ओलीको विश्वास छ । यस सडक निर्माणले खुम्बु क्षेत्रका बासिन्दालाई यातायात सुविधा सहज बनाउनाका साथै जिल्लाको समग्र आर्थिक र सामाजिक विकासमा सहयोग, पर्यटनमा ऐतिहासिक योगदान पुग्ने अपेक्षा गरिएको छ ।
देशको स्थिति अलि जटिल छ, त्यसबारे सत्ता पक्ष र प्रतिपक्ष बीच संवाद रोकिनु दुर्भाग्य : प्रचण्ड
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले राजनीतिक तहमा स्वच्छता कायम हुन जरुरी रहेको बताएका छन् ।
शनिवार काठमाडौंमा नेपाल राष्ट्रिय व्यवसायी महासंघको ७ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले यस्तो बताएका हुन् ।
उनले देशको स्थिति अलि गम्भीर र जटिल अवस्थामा रहेको बताए । उनले देशमा राजनीतिक तहमा सबैभन्दा पहिला स्वच्छता कायम हुनुपर्ने बताए । उनले राजनीतिमा राम्रो नियत र निष्ठाका साथ काम गर्ने संस्कार बसेन भने सबैतिर त्यसको नकारात्मक असर पर्ने उल्लेख गरे ।
उनले राजनीति नीतिहरूको राजा भएकाले राजनीति सफा हुनुपर्ने बताए । सुशासन, सामाजिक न्याय र आर्थिक विकासको निम्ति सहकार्य गर्न आफू तयार रहेको बताए ।
उनले भने ‘स्थिति अलिकति गम्भीर र जटिल छ भन्नेकुरा हो । देशमा राजनीतिक तहमा सबैभन्दा पहिला स्वच्छता कायम भएन, राजनीतिमा राम्रो नियत र निष्ठाका साथ काम गर्ने संस्कार बसेन भने सबैतिर त्यसको नकारात्मक असर पर्छ । राजनीति नीतिहरूको राजा हो भनिन्छ । त्यसकारण राजनीति सफा भएन, राजनीति सही नियतअनुसार अघि बढेन भने त्यसको नकारात्मक प्रभाव चौतर्फी पर्छ नै । हामीले त्यसको सफाइ गर्नैपर्छ । त्यो सफाइ गर्नकै लागि नै मैले राजनीतिक नेतृत्व तहमा पनि लगातार संवाद नगरेको होइन, के सत्ता पक्ष, के प्रतिपक्ष । तपाईँहरूले रेकर्ड हेर्नुभयो भने यति धेरै सत्ता पक्ष र प्रतिपक्षका बैठक भएका छन् । यति धेरै सहमतिको प्रयास गरिएको छ । तर दुर्भाग्य अहिले सत्ता पक्ष र प्रतिपक्षको बीचमा त्यस खालको संवाद रोकिएको छ । त्यसलाई अगाडि बढाउने भन्दा प्रतिपक्ष कहिले कहिले भन्ने गरिन्छ । सत्तामा हुँदा एउटा र प्रतिपक्षमा हुँदा अर्को कुरा । हामी विगतदेखि यो कुरा देखेकै कुरा हो । सुशासन, सामाजिक न्याय र आर्थिक विकासको निम्ति म प्रधानमन्त्री हुँदा पनि त्यही कुरा भनेको थिएँ, सबै सेटिङ भत्काएर विकासको पहल गरेको थिएँ, अहिले प्रतिपक्षमा हुँदा पनि त्यही कुरा भनेको छु ।’
अध्यक्ष दाहालले साना तथा मझौला उद्योगी, व्यवसायीहरूलाई स्थानीय सरकारको सिफारिसमा बिना धितो सहुलियत ब्याजदरमा ऋण उपलब्ध गराउनुपर्ने, व्यवसाय दर्ता प्रणाली एकद्वार प्रणालीबाट हुनुपर्ने, भन्सार दर समय सापेक्ष परिमार्जन गर्नेपर्ने, सहरी क्षेत्रमा उद्योग व्यापार व्यवसाय गर्नका लागि वैज्ञानिक घर भाडा कर लागू गर्नुपर्ने, खाता विवरणहरूको आधारमा कर कार्यालयबाट कर चुक्ता प्रमाणपत्र प्रदान गरेपश्चात् पुनरावलोकन हुन नहुने लगायतका महासंघका एजेण्डा समय सान्दर्भिक रहेको बताए ।
रास्वपाले पार्टीको संगठन निर्माण अभियानलाई सक्रिय रूपमा सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीको संगठन निर्माण अभियानलाई सक्रिय रूपमा सञ्चालन गर्ने निर्णय गरेको छ । शनिवार बसेको रास्वपाको केन्द्रीय समिति बैठकले सो निर्णय गरेको हो । यस्तै बैठकमा सरकारले हालै अध्यादेश मार्फत् ल्याएको सहकारी सम्बन्धी विधेयकका सम्बन्धमा समेत छलफल गरिएको छ ।
बैठकले पार्टीको अधिवेशन तथा महाधिवेशन सम्पन्न गर्दै संगठन निर्माण चरणलाई निर्धारित समयमा पुरा गर्न राष्ट्रव्यापी संगठन निर्माण अभियान सञ्चालन गर्ने छलफलमा केन्द्रीस्य सदस्यको नेतृत्वमा केन्द्रीय विभाग, प्रदेश समिति, प्रदेश विभाग साथै पार्टीको सम्बन्धित निकायहरुले सिफारिस गरेको विज्ञ सदस्यहरु रहेको जिल्ला समिति अन्तर्गतका पार्टीको संरचनाहरुलाई सहयोग तथा सहजीकरण गर्न जिल्ला अनुसारको कार्यदल निर्माण गर्ने विषयमा छलफल भएको छ ।
कार्यदलले सदस्यता विस्तार साथै पालिका तथा वडा समितिहरु निर्माण गर्न जिल्ला समिति तथा पालिका समितिहरुलाई सहजीकरण गर्ने छ । सो अभियान यही माघ २ गतेबाट सुरु गरी दुई महिनासम्म सञ्चालन गर्ने समेत छलफल गरिएको छ ।
बैठकमा पौष १८ गते दिवंगत नेपालकी प्रथम महिला राजदूत विन्देश्वरी शाहप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोक प्रस्ताव पारित भएको छ। पार्टी कार्यवाहक सभापति डोल प्रसाद अर्याल, उपसभापति डा।स्वर्णिम वाग्लेले समसामयिक राजनीति सन्दर्भमा जानकारी गराएका थिए ।
पार्टीको प्रदेश महामन्त्रीहरूको सहभागिता रहेको बैठकमा उनीहरूबाट हालै सम्पन्न स्थानीय तहको उपनिर्वाचनमा समीक्षा प्रतिवेदन समेत पेश गरिएको छ । बैठकमा उक्त निर्वाचनमा पार्टीका अनुभव सिकाई र चुनौतिहरूका सम्बन्धमा छलफल गरिएको छ । केन्द्रिय समिति बैठक दुई दिनसम्म सञ्चालन हुनेछ ।
राप्रपा नेपालको महाधिवेशन आगामी मङ्सिर १३ गतेदेखि हुने
राप्रपा नेपालको महाधिवेशन आगामी मङ्सिर १३ देखि १५ गतेसम्म काठमाडौँमा हुने भएको छ । पार्टी अध्यक्ष कमल थापाको अध्यक्षतामा यही पुस १९ र २० गते बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकले राजनीतिक कार्यपत्र, सङ्गठन विभागको प्रतिवेदन, तराई मधेस उत्थान अभियानसम्बन्धी कार्ययोजना, आर्थिक प्रतिवेदन र सचिवालयको प्रतिवेदन परिमार्जनसहित पारित र महाधिवेशनको मिति तय गरेको महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।
बैठकले बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति निर्माण गर्न समान विचारधारा भएका दल वा समूहसँग सकेसम्म एकता तथा सहकार्य गरी मोर्चा बनाउने र पार्टीले अवलम्बन गरेको सम्वर्द्धनवादको धरातलमा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको मार्गदर्शन र दिव्योपदेशलाई ‘पृथ्वीपथ’को रूपमा अङ्गीकार गर्ने निर्णय गरेको पनि बर्तौलाले जानकारी दिए ।
संवैधानिक निकाय र न्यायपालिकामा हुने नियुक्तिमा राजनीतिकरण र पार्टीगत भागवण्डा अन्त्य गर्न संवैधानिक परिषद् र न्याय परिषद्को गठनविधिमा सुधार र भ्रष्टाचार उन्मुलन गर्न ‘जनलोकपाल’को अवधारणामा आधारित अधिकार सम्पन्न संवैधानिक निकायको व्यवस्था गर्न बैठकले माग गरेको छ ।
यस्तै, सहकारी संस्था सञ्चालनसम्बन्धी सरकारले हालै जारी गरेको अध्यादेश अपूरो रहेको ठहर गर्दै बैठकले सङ्कटग्रस्त सहकारी संस्थाहरूको राष्ट्रियकरण गरी बचतकर्ताको रकम फिर्ता गर्ने जिम्मा सरकारले लिनुपर्ने, मिटरव्याजसम्बन्धी समस्या तत्काल नियन्त्रण गरी पीडितलाई न्याय दिन र बैङ्क तथा लघुवित्तले लिने चर्को व्याज नियन्त्रण गर्न, जनकपुरधामस्थित जानकी मन्दिरलाई विश्वसम्पदा सूचीमा राख्न र जनकपुर क्षेत्रलाई सांस्कृतिक नगरीको रूपमा एकीकृत विकास गर्न सरकारसँग माग गरिएको महामन्त्री बर्तौलाले बताए ।
नेकपाले एक पटक देशको नेतृत्व गर्न चाहेको छः विप्लव
नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले एक पटक देशको नेतृत्व गर्न चाहेको बताउनुभएको छ ।
शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले नेकपाले एक पटक देशको नेतृत्व गर्न चाहेको बताउनुभएको हो । उहाँले देशको लागि ध्रुविकरण गर्दै देशको नेतृत्व गर्न चाहेको उल्लेख गर्नुभयो ।
उहाँले अहिलेको पार्टीको एकता शुरुवात मात्रै भएको उल्लेख गर्दै आगामी दिनमा अझ एकताका अभियानहरु बढ्दै जाने बताउनु भयो । उहाँले आफूहरुको एकता कुनै दरबार खान, टिस्टेट खान र जग्गा हिनामिना तथा मन्त्री भएर विदेशमा पैसा पठाउनका लागि नभएको बताउनु भयो । उहाँले नेपाली नेताहरुले विशेमा टनाटन पैसा पठाएको उहाँको आरोप छ ।
उहाँले भन्नुभयो, ‘हाम्रो पार्टीले पनि हामी क्रान्तिकारीहरुले पनि यो देशको लागि ध्रुविकरण गर्दै देशको नेतृत्व गर्न चाहन्छौँ । एकचोटी यो देशको नेतृत्व र सेवा नेकपाले गर्न चाहन्छ भन्नेकुरा हामीले राखेका छौँ । हामी भन्न चाहन्छौँ, आजको दिनमा जो एकता भएको छ, हाम्रो केन्द्रिय समितिको बैठकपछि ध्रुविकरणको जो निर्णय थियो, त्यसमा पहिलो कदमको रुपमा अज प्रज्ञा भवनमा शुरु भएको छ । यो शुरुवात मात्रै हो । यो एकता कुनै दरबार खानका लागि होइन, कुनै टि स्टेट खानका लागि होइन, कुनै जग्गा हिनामिना गर्नका लागि होइन, कुनै मन्त्री भएर यो देशको पैसा विदेशमा पठाउन होइन । हाम्रो देशको पैसा विदेशमा टनाटन छ ।’
महासचिव चन्दले अरु राजनीतिक दलहरुले गरेका ध्रुविकरणका कुराहरुमा नयाँ चिज नरहेको जिकिर गर्नुभयो ।
गाजामा इजरायली आक्रमणमा १९ जनाको मृत्यु
गाजाका उद्धारकर्ताहरूले शनिबार प्यालेस्टिनी भूमिमा इजरायली आक्रमणमा आठ बालबालिकासहित कम्तीमा १९ जनाको मृत्यु भएको बताएका छन् ।
नागरिक सुरक्षा निकायका अनुसार गाजा शहरमा अल–घोल परिवारको घरमा बिहान भएको हवाई आक्रमणमा परी ११ जनाको मृत्यु भएको थियो । नागरिक सुरक्षा प्रवक्ता महमुद बसालले भने,“विस्थापित बस्दै आएको घरमा भएको आक्रमणबाट घर पूर्णरूपमा ध्वस्त भएको छ भने ११ जनाको मृत्यु भएको छ।”
“आक्रमणमा दुई तले भवनमा क्षति पुगेको र अझै पनि धेरै मानिस भग्नावशेषमुनि रहेका छन्,” उनले भने । इजरायली ड्रोनले एम्बुलेन्सका कर्मचारीमाथि पनि गोली चलाएको प्यालेष्टिनी प्रशासनले जनाएको छ ।
इजरायली सेनाले आक्रमणबारे तत्काल कुनै टिप्पणी गरेको छैन ।गाजा शहरको पूर्वमा रहेको शुजैयाको आसपासबाट एएफपीले खिचेको तस्बिरमा त्यहाँका बासिन्दाहरु आक्रमणपछि आगलागी भएको घरको भग्नावशेषबाट बाहिर निस्किरहेको र भुईंमा सेतो पाताले ढाकिएका मृत शरीरहरू देखिएको छ ।
“ठूलो विस्फोटले हामीलाई ब्यूँझायो। सबै कुरा हल्लिएको थियो,” घटनाका प्रत्यक्षदर्शी अहमद मुसाले भने । उनले भने,“हामीले उठेर सबैले हेर्यौँ,आक्रमण मेरै छिमेकी अल–घोलस्थित एक घरमा भएको थियो । त्यहाँ केही विस्थापित केटाकेटी र महिलाहरूलाई राखिएको थियो ।”
नागरिक सुरक्षा निकायका अनुसार दक्षिणी शहर खान युनिसमा इजरायली आक्रमणमा परी पाँच जना सुरक्षा अधिकारीको मृत्यु भएको छ । बासलले इजरायलले मानवीय आपूर्ति शृङ्खलालाई प्रभावित गर्न र मानिसहरूलाई आतङ्कत पार्न ‘जानाजानी’ उनीहरूलाई लक्षित गरेको आरोप लगाए । सेनाले अहिलेसम्म उक्त आरोपबारे कुनै प्रतिक्रिया जनाएको छैन ।
स्थानीय उद्धारकर्ताका अनुसार खान युनिसमा एक घरमा बम विष्फोट हुँदा एक बालकसहित तीन जनाको मृत्यु भएको थियो । सन् २०२३ को अक्टोबर ७ मा हमासले इजरायलमाथि गरेको आक्रमणको बदलामा इजरायलले गाजामा युद्ध सुरु गरेको थियो । इजरायलमा भएको हमासको उक्त आक्रमणमा एक हजार २०८ जनाको मृत्यु भएको थियो।
इजरायलको जवाफी कारबाहीमा गाजामा कम्तीमा ४५ हजार ७१७ जनाको मृत्यु भएको छ। मृतकमध्ये अधिकांश सर्वसाधारण रहेको संयुक्त राष्ट्रसङ्घले विश्वासिलो मानेको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयको तथ्याङ्कले देखाएको छ ।
१९ वर्ष मुनिको महिला विश्व कपका लागि नेपाली टोलीको घोषणा
नेपाल क्रिकेट संघ (क्यान)ले पुजा महतोको कप्तानीमा १५ सदस्यीय नेपाली टोलीको घोषणा गरेको छ । माघ पहिलो साताबाट मलेसियामा सुरु हुने यु १९ महिला विश्व कपका लागि शनिवार नेपाली टोलीको घोषणा गरेको हो ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) को आयोजनामा आगामी माघ ५ गते अर्थात जनवरी १८ तारिखबाट यु १९ महिला विश्व कप हुन लागेको हो । माघ २० अर्थात फेब्रुअरी २ तारिखसम्म सञ्चालन हुने विश्व कपको दोस्रो संस्करणमा नेपाल सहित १६ देशले सहभागिता जनाउँदै छन् ।
प्रतियोगिता दोस्रो संस्करणसम्म आइपुग्दा नेपालको यो पहिलो सहभागीता हो । एसिया छनोटको खेलमा युएईमाथि ८ विकेटको जितका साथ नेपाल विश्व कपका लागि छनोट भएको हो ।
कुनै पनि स्तरमा नेपाली महिला टिमले खेल्न लागेको यो पहिलो विश्व कप हो । विश्व कपमा नेपाल समूह ‘डी’ मा रहेको छ । यस समूहमा नेपालका अलावा बंगलादेश, अस्ट्रेलिया र स्कटल्याण्ड रहेका छन् ।
विश्व कपको समूह ‘ए’ मा साबिक विजेता भारत, श्रीलंका, आयोजक मलेसिया र वेस्ट इण्डिज छन् । समूह ‘बी’ मा इङ्ग्ल्याण्ड, आयरल्याण्ड, पाकिस्तान र अमेरिका तथा समूह ‘सि’ मा न्युजिल्याण्ड, समोआ, दक्षिण अफ्रिका र नाजेरिया रहेका छन् । समूह चरणको खेलमा शीर्ष तीनमा रहन सकेमा नेपाल सुपर सिक्सका लागि छनोट हुनेछ ।
सुपर सिक्सका दुई समूह हुनेछन् । ग्रुप १ मा समूह ‘ए’ का शीर्ष तीन राष्ट्र तथा समूह ‘डी’ का शीर्ष तीन देश रहनेछ । त्यस्तै, ग्रुप २ मा समूह ‘बी’ का शीर्ष तीन देश तथा समूह ‘सी’ का शीर्ष तीन राष्ट्र रहने छन् । सुपर सिक्समा स्थान बनाएमा नेपालले भारत, श्रीलंका तथा वेस्ट इण्डिज जस्ता मुलुकसँग खेल्ने मौका पाउने छ ।
सुपर सिक्सका दुवै ग्रुपका शीर्ष २ टोली सेमिफाइनल पुग्नेछन् । दुई सेमिफाइनलका विजेताबीच फेब्रुअरी २ अर्थात माघ २० गते फाइनल खेल रहेको छ । नेपालको अन्तिम टोली गत महिना मलेसियामा सम्पन्न एसिया कप खेलेका सबै खेलाडीलाई निरन्तरता दिइएको छ ।
नेपाली महिला टोलीमा कप्तान पूजा महतो सहित सोनी पाख्रिन, किरन कुमारी कुवँर, कृष्मा गुरुङ, साना प्रविन, स्नेहा महरा, सावित्रा धामी, तृषना विक छन् । त्यस्तै रिया शर्मा, अलिशा कुमारी यादव, सिमाना केसी, अनु कडायत,ज्योत्सिका मरासिनी, रचना चौधरी र कुसुम गोदार छन् ।








