यी हुन् आज दिनभरका शीर्ष २० समाचार

सुशासन कायम गर्नेकुरा सरकारको मुख्य लक्ष्यः सञ्चारमन्त्री गुरुङ
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सुशासन कायम गर्नेकुरा अहिलेको सरकारको मुख्य लक्ष्य रहेको बताएका छन् ।
सोमवार काठमाडौंमा द राइजिङ नेपालको ५९ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले सुशासन कायम भएमात्रै राजनीतिक स्थिरता कायम हुने बताए । उनले सरकारको स्थिरताका कायम हुँदै मात्रै विकास निर्माण सम्भव हुने बताए ।
उनले सुशासन कायम गर्नका लागि ठूला राजनीतिक दलहरु एकतावद्ध हुनुपर्ने र सोहीअनुसार अहिले नेपाली काँग्रेस र नेकपा एमाले मिलेर सरकार बनाएको बताए ।
उहाँले पुँजीगत खर्च बढाउने कुरा सरकारले प्रमुख प्राथमिकतामा राखेको बताए । उहाँले अहिलेको सरकारले जनताका माग सम्बोधन गर्नगरी कामहरु अघि बढाइरहेको बताए ।
उनले भने,, ‘सुशासन कायम गर्नेकुरा अहिलेको सरकारको मुख्य लक्ष्य हो । सुशासन कायम भयो भने राजनीतिक स्थिरता पनि कायम हुन्छ, सरकारको स्थिरता पनि कायम हुन्छ । सरकारको स्थिरता कायम हुँदा राजनीतिमा राम्रो हुन्छ । राजनीतिक स्थिरता कायम गर्न, सुशासन कायम गर्न पनि पहिला त ठूला राजनीतिक दलहरुमा एकता कायम हुनुपर्यो । अहिले काँग्रेस र एमालेबीचको सरकार बनाएर सुशासन दिएका छौँ । भ्यागुताको धार्नी पुर्याउनुपर्ने स्थितिको अन्त्य गरेका छौँ । सुशासन आजको मुख्य एजेण्डा हो । पुँजीगत खर्च बढाउने कुरा आजको हाम्रो मुख्य एजेण्डा हो । जनतासँग रेस्पोन्सिब हुनुपर्यो नि । जनतासँग रेस्पोन्सिब ढंगले काम गरिरहेका छौँ ।’
मन्त्री गुरुङले वर्तमान सरकारले आफ्नो कार्यशैलीमा सुधार गरेर काम गरिरहेको बताए । उनले आजको आवश्यकताअनुसार ऋण सहायता लिनुपर्ने उल्लेख गर्दै बिस्तारै राजश्व वृद्धि हुँदै गएको बताए ।
सामान्य लक्ष्य दिएपनि पिचमा ब्याटिङ गर्न सहज भएनः ज्ञानेन्द्र मल्ल
कर्णाली याक्सका प्रशिक्षक ज्ञानेन्द्र मल्लले सामान्य लक्ष्य दिएपनि पिचमा ब्याटिङ गर्न सहज नभएकाले प्लेअफमा पुग्ने विश्वास टोलीमा रहेको बताएका छन् ।
सुदूरपश्चिमको जित १२.२ ओभरभित्र रोकेपछि कर्णालीका प्रशिक्षक मल्लले न्युन लक्ष्य भएपनि पिच सहज नभएकाले रोक्नसक्छौं भन्ने लागेको बताएका हुन् ।
तर पनि उत्कृष्ट क्रिकेट खेल्नुपर्छ भन्ने माइन्ड सेट गरेर खेलेको उनको भनाइ छ । उनले पावर प्लेमा राम्रो बलिङ गरेपछि जितको सम्भावना पनि बढे पनि सफल नभएको बताए । १४० रनको लक्ष्य बनाउन सकेको भए पहिलो क्वालिफायरमा पुग्ने सम्भावा पनि रहेको उनको भनाइ छ ।
तर विकेट सहज नभएकाले सफल नभएको उनले बताए । देव खनालले स्पिनरसँग राम्रो खेल्नसक्ने भनेर उनलाई चौथो नम्बरमा ब्याटिङ गर्न पठाएको प्रशिक्षक मल्ल बताउँछन् । बलरले राम्रो गर्दा यहाँसम्म आइपुगे पनि अब ब्याटरबाट धेरै आशा गरेको उनले उल्लेख गरेका छन् ।
सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरीले अन्य समीकरण भन्दा पनि आफ्नो जित ध्यानमा राखेर खेलेको बताए । आफ्नो जितले अन्य टोली यहाँ पुग्छ भन्ने कुरा नसोची आफ्नो जितलाई ध्यानमा राखेर खेलेको उनको भनाइ छ ।
उनले टोली बलियो रहेकाले शुरुदेखि राम्रो खेलेर उपाधि जित्छौं भन्ने विश्वास रहेको पनि बताए । आगामी खेलमा यही लय जारी राखे लक्ष्य सम्भव हुने उनी बताउँछन् ।
उनले योजना बनाएर जनकपुरसँग पनि राम्रो खेल्ने लक्ष्य रहेको बताएका छन् । अहिलेसम्म दिएको साथ फाइनलसम्म पनि दिन उनले समर्थकलाई आह्वान गरेका छन् ।
सातौँ राष्ट्रिय झण्डा दिवस मनाइयो
सातौँ राष्ट्रिय झण्डा दिवस मनाइएको छ । राष्ट्रिय झण्डा दिवसको अवसरमा आज काठमाडौंको वसन्तपुर दरबार स्क्वायरमा नेपालको राष्ट्रिय झण्डा बोकेर र्याली निकालिएको हो ।
संयुक्त राष्ट्रसङ्घमा नेपालको राष्ट्रिय झण्डालाई विश्वव्यापी रूपमा अङ्गीकृत गरेको दिनको सम्झनामा आज सातौँ झण्डा दिवस मनाइएको हो । हरेक वर्ष पुस १ गतेका दिनलाई राष्ट्रिय झण्डा दिवस मनाइन्छ ।
भ्रष्टाचार गर्नेलार्ई आजीवन कारावासको व्यवस्था हुनुपर्छ : मुख्यमन्त्री सिंह
मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले भ्रष्टाचार गर्नेलार्ई आजीवन कारावासको व्यवस्था गर्न सुझाव दिनुभएको छ ।
मुख्यमन्त्री सिंहले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमवार जनकपुरधाममा आयोजना गरेको “भ्रष्टाचार नियन्त्रण र सुशासन” विषयक प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रममा बोल्दै यस्तो सुझाव दिनुभएको हो ।
उहाँले भ्रष्टाचार गर्नेलार्ई ५ वर्षदेखि १० वर्षसम्मको सजायलाई बढाएर आजीवन कारावासको व्यवस्था गर्नुपर्ने बताउनु भयो । उहाँले भ्रष्टाचार नियन्त्रणका लागि अहिलेको कानून पर्याप्त नरहेको बताउनु भयो ।
राजनीतिक क्षेत्र तथा कर्मचारी सेवामा प्रवेश गरेको केही वर्षमा नै मानिसको जीवनशैलीमा धेरै परिवर्तन आउनु र विलाशी जीवनशैली जिउनुले नै भ्रष्टाचार प्रश्रय पाइरहेको मुख्यमन्त्री सिंहको भनाई थियो । त्यस्ता व्यक्तिमाथि कडा कारवाही गर्नका लागि सुझाव दिनुभयो ।
मुख्यमन्त्री सिंहले कर्मचारीको थोरै तलब भएकाले पनि जीवन धान्नका लागि भ्रष्टाचार गर्ने गरेको सबैमा जानकारी रहेको बताउँदै कर्मचारीको जीवनयापन गर्ने किसिमले तलव बृद्धि गरेर भ्रष्टार गर्नेमाथि कडा सजायको व्यवस्था भए भ्रष्टाचारमा स्वतः कमी आउने दाबी पनि गर्नुभयो ।
कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त जयबहादुर चन्दले बेनामी उजुरीको विरोध गर्नेले मुलुकमा सुशासन नचाहेको बताउदै बेनामी उजुरु नपरेको खण्डमा मुलुकमा थप भ्रष्टाचार बढ्ने दाबी गरे ।
पाचौं नेपाल प्रिन्टप्याक र प्लास्टटेक अन्तर्राष्ट्रिय प्रदर्शनी पुस ५ देखि काठमाडौंमा
पाचौं नेपाल प्रिन्टप्याक अन्तर्राष्ट्रिय प्रदर्शनी पौष ५ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा शुरु हुने भएको छ । मिडिया स्पेस सोलुसन्स प्रा।लि र फ्युचरेक्स ट्रेड फेयर एण्ड ईभेन्ट्स प्रा। लि। को आयोजना पाचौं नेपाल प्रिन्टप्याक अन्तर्राष्ट्रिय प्रदर्शनी तथा पाचौं नेपाल प्लास्टटेक अन्तर्राष्ट्रिय प्रदर्शनी हुने भएको हो ।
प्रदर्शनीमा स्वदेशी तथा विदेशी कम्पनीहरुका सय भन्दा बढी स्टलहरु रहने मिडिया स्पेस सोलुसन्स प्रा।लि।का प्रवन्ध निर्देशक सिर्जल भट्टराईले बताउनु भयो । उहाँले अन्तर्राष्ट्रिय प्रदर्शनीले नेपालभर रहेका प्लास्टिक, पेपर, प्रिन्टिङ, प्याकेजिङ र प्रोसेसिङ्सँग सरोकार राख्ने व्यापार व्यवसायहरुलाई एकै ठाँउ ल्याएर व्यापार साझेदारी, नविनतम प्रविधि प्रदर्शन र संवाद गर्न साझा मञ्च प्रदान गर्ने विश्वास लिएको बताउनु भयो ।
उक्त प्रर्दशनीमा देशभरबाट धेरै उद्यमी, अनुसन्धानकर्ता, संघ संस्थाका प्रतिनिधि आदिले आधुनिक प्रविधिहरुको अनुशरण गर्ने र जिज्ञासा मेटाउने अवसर मिल्ने उद्देश्य राखिएको बताउनु भयो । प्रदर्शनीमार्फत विभिन्न विधामा सञ्चालन भएका उद्योग र व्यापार व्यवसायहरुलाई निर्यातका नयाँ अवसरहरु, नविनतम प्रविधिसँग सात्क्षात्कार गराउनुका साथै विभिन्न उद्योगहरुबीच प्रविधि साटासाट र सहकार्य गर्न प्रोत्साहित गर्ने आयोजकले विश्वास लिएका छन् ।
अन्तर्राष्ट्रिय प्रदर्शनीमा सह—आयोजकका रुपमा नेपाल मुद्रण उद्योग महासंघ तथा सहयोगी संस्थाको रुपमा नेपाल कोरोगेटेड बक्स उत्पादक संघ रहेको कार्यकारी निर्देशक भट्टराईले बताउनु भयो ।
उनले भने,‘यो हाम्रो पुसको ५ देखि ७ गतेसम्म (डिसेम्बर २०,२१ र २२) मा काठमाडौंको भृकुटीमण्डपमा हुँदैछ । नेपाल प्रिन्टप्याक तथा नेपाल प्लास्टटेक इन्टरनेशनल एग्जीबेसन हामीले गर्दैछौँ । यो हाम्रो पाँचौँ संस्करण हो । यसमा फरक के छ भने यो भन्दा पहिला हामी फाइभ पि भनेर समग्रतामा जोडेर ल्याउँथ्यौँ । यो पालि हामीले इण्डस्ट्रबाइजललाई छुट्याएका छौँ । जसमा प्याकेजिङ, प्रिन्टिङ अनि प्लाष्टिक सम्बन्धी टेक्नोलोजीहरु, यसका कम्पनीहरुलाई हामीले एउटै छानामुनि ल्याएर यो प्रदर्शनी आयोजना गर्दैछौँ ।’
प्रदर्शनिमा प्लास्टिक प्रोसेसिङ् मसिनरीका उत्पादकहरु, स्क्रिन प्रिन्टिङ, ईन्डक्सन मोल्डिङ मसिन, प्रिन्टिङ मसिन, टेप, प्लास्टिक हिटर, अफिस स्टेशनरी मसिनरी, प्रिन्टिङ स्पेर पार्टस, पेपर मसिनरी, पेपर कप मसिनरी, सबै खालका कागज र स्पेर पार्टस्,प्याकेजिङ् मसिनरी, लेबल उत्पादक, कोरुगेटेड बक्स उत्पादक लगायतका संस्थाहरुको सहभागिता रहनेछ ।
काठमाडौंका पूर्वमेयर पिएल सिंहको निधन
काठमाडौंका पूर्वमेयर पिएल सिंहको निधन भएको छ ।
सोमवार बिहान चाक्सीबारिस्थित निवासमा उहाँको निधन भएको हो । उहाँ पूर्वमन्त्री समेत हुनुहुन्थ्यो । उहाँको पार्थिव शरीरलाई अहिले चाक्सीबारी निवासमा नै राखिएको छ ।
११ बजे अन्तिम श्रद्धाञ्जलीका लागि पार्टी कार्यालयमा राखिनेछ । सिंह २०४९ सालको स्थानीय तह निर्वाचनमा निर्वाचित भई तत्कालीन काठमाडौं नगरपालिकाको मेयर बनेका थिए ।
एनपिएल : पहिलो क्वालिफायरमा सुदूरपश्चिम र जनकपुर, इलिमिनेटरमा चितवन र कर्णाली
सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सविरुद्ध १२.२ ओभरभित्र जित निकाल्न असफल भएसँगै काठमाडौं गुर्खाजको नेपाल प्रिमियर लिग ९एनपिएल० को प्लेअप पुग्ने सम्भावना समाप्त भएको छ ।
तर सुदूरपश्चिमले सोमवार कर्णालीमाथि ६ विकेटले हराउँदै शिर्ष स्थानमा रहेर पहिलो क्वालिफायरको यात्रा तय गर्यो । लिग खेल सकिएसँगै एनपिएलको प्लेअफमा खेल्ने चारै टोलीको पनि टुङ्गो लाग्यो । समान सात खेलबाट सुदूपश्चिमले ६ जितबाट १२ अंक जोड्दै शिर्षमा रह्यो ।
समान खेलबाट जनकपुर बोल्ट्सले १० अंक जोड्दै दोस्रो भयो । कर्णालीसँग सुदूरपश्चिममाथि जित निकाल्दै दोस्रो स्थानमा उक्लिने अवसर थियो । तर कर्णाली सफल भएन । सुदूरपश्चिम र जनकपुरबीच पहिलो क्वालिफायर तय भएको हो । यी दुईबीच आगामी बुधवार प्रतिष्पर्धा हुनेछ ।
लिगको तेस्रो स्थानको चितवन राइनोज र चौथो स्थानको कर्णालीबीच इलिमिनेटर पनि बुधवार नै हुनेछ । समान सात खेलबाट चितवन, कर्णाली र काठमाडौंले समान आठ अंक नै जोडे । तर नेट रनरेटका आधारमा यी तीन तेस्रो, चौथो र पाँचौं स्थानमा रहे ।
एनपिएलको २८औं खेलमा सुदूरपश्चिमले बलिङ र ब्याटिङ दुवैमा उत्कृष्ट प्रदर्शन गर्दै छैटौं जित निकालेको हो । सुदूरपश्चिमले एक मात्र चितवनसँग व्यहोर्यो ।
कर्णालीले दिएको दिएको १०२ रनको सामान्य लक्ष्य सुदूरपश्चिमले १५.२ ओभरमा चार विकेट गुमाउँदै पूरा गर्यो। ईशान पाण्डे ३८ रनमा अविजित रहँदा कप्तान दीपेन्द्र ३८ रन बनाएर आउट भए ।
यी दुईबीच चौथो विकेटका लागि ६८ रनको साझेदारी बन्यो । दीपेन्द्रले २९ बलमा चार चौका र एक छक्का प्रहार गरे । अलराउण्ड प्रदर्शन गरेका दीपेन्द्र म्यान अफ दी म्याचसमेत भए । ईशानले ३६ बलमा चार चौका हिर्काए । त्यसअघि सामान्य लक्ष्य पछ्याए पनि सुदूरपश्चिमले ब्याटिङमा संघर्ष ग¥यो । पावर प्लेमा ३० रन जोड्दा सुदूरपश्चिमले तीन विकेट गुमाएको थियो ।
ओपनरद्वय सैब जैफ ११ र विनोद भण्डारी ४ रनमा आउट भए । सैब सोमपाल कामीद्वारा र विनोद विपिन शर्माद्वारा एलबिडब्लु आउट भएका हुन् । ब्रान्डन म्याकमुलन पनि ३ रनमा रनआउट भए र सुदूरपश्चिमको इनिङ धरमरायो ।
तर ईशान र दीपेन्द्रले साझेदारी गर्दै इनिङ सम्हाले ।
कर्णालीको बलिङमा सोमपाल, विपिन र नन्दन यादवले समान एक विकेट लिए । जिसान मक्सुदले चार ओभरमा १४ रन मात्र खर्चिए पनि विकेट निकाल्न सकेनन् । टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले १९.५ ओभरमा १०१ रनमा नै अलआउट भयो । मध्य क्रमका ब्याटर जिसानको ३० रन नै कर्णालीका लागि सर्वाधिक ठूलो व्यक्तिगत स्कोर रह्यो । कर्णालीले खराब शुरुवात गर्यो।
दोस्रो ओभरमा ओपनरद्वय बाबर हयात १३ रन र रित गौतम शुन्यमा नै पेभेलियन फर्किए । पहिलो १० ओभरमा ४७ रन जोड्दा सुदूरपश्चिमले चार विकेट मात्र गुमाएको थियो ।
पछिको १० ओभरमा भने सुदूरपश्चिमले ६ विकेट गुमाउन पुग्यो । विलियम बोसिस्टो १६, चाडविक वाल्टनले ११ र देव खनाल ७ रनमा आउट भए । गुलसन झा पनि २ र कप्तान सोमपाल कामीले ११ रनमा पेभेलियन फर्किएपछि कर्णाली सस्तैमा रोकियो ।
सुदूरपश्चिमको बलिङमा हरमित सिंहले तीन विकेट लिए । कप्तान दीपेन्द्र सिंह ऐरीले चार ओभरमा २० रन मात्र खर्चिएर दुई विकेट लिए । स्कट कुगेलिन र सैफ जैबले समान एक विकेट लिए ।
१३ हजार कानून व्यवसायीहरु करको दायरामा आएका छन् : सचिव सापकोटा
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव उदयराज सापकोटाले १३ हजार कानून व्यवसायीहरु करको दायरामा आएको बताउनुभएको छ ।
सोमवार बसेको विधायन व्यवस्थापन समितिको बैठकमा नेपाल कानून व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ माथि सैद्धान्तिक छलफलमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले २१ हजार कानून व्यवसायीहरुमध्ये ३ हजार कानून व्यवसायी करको दायरामा आइसकेको उल्लेख गर्नुभयो । उहाँले कानून व्यवसायीहरुको रिन्यु पनि कर नतिरेसम्म नगर्ने भनेपनि कानून व्यवसायीहरु करको दायरामा आएको उल्लेख गर्नुभयो ।
उनले भने, ‘कानून व्यवसायीलाई पहिलो पल्ट बार एशोसिएशनबाट केही हुने र सर्वसाधारणबाट अधिवक्ता र वरिष्ठ अधिवक्ता दिने बाहेक अरु केही पनि थिएन । त्यसैले कानून व्यवसायीलाई परिषद्मा लैजानुपर्छ भनेर निकै लामो समयदेखि बहस भएको हुनाले त्यो रुपमा लगेको हो । राज्यको रिसोर्सेस कम भएको अवस्था र कानून व्यवसायीहरुले आफैँले प्राप्त गर्ने रकम भएको हुनाले उहाँहरुले पनि खर्च गर्नुपर्छ र त्यहाँबाट पनि जानुपर्छ भन्नेबारेमा धेरै पटक छलफल भयो । न्याय प्रतिष्ठानलाई अहिले न्यायाधीश र कर्मचारीलाई दिने पनि कम बजेट भएको हुनाले केही एउटा वा दुई वटा तालिम नवप्रवेशी कानून व्यवसायीहरुको लागि भइरहेको छ । २१ हजारमध्ये १३ हजार कानून व्यवसायी करको दायरामा आइसक्नुभएको छ । रिन्यु पनि ट्याक्स नतिरेसम्म नगर्ने भनेपछि ट्याक्स तिर्ने परिपाटी बढ्दै गएको छ ।’
सचिव सापकोटाले नवप्रवेशी कानून व्यवसायीहरुलाई कानून व्यवसायी परिषद्ले तालिम दिइरहेको बताए ।
अल–असदको पतनपछि हजारौं सिरियालीहरू लेबनान पलायन
युद्धग्रस्त सिरियामा शक्ति परिवर्तनपछि सुरक्षा चिन्ताका कारण हजारौं सिरियालीहरूले सिरिया छोड्ने निर्णय गरेका छन् ।
बसर अल–असदको सरकारको पतन भएदेखि दैनिक १ हजारदेखि १२ सय व्यक्ति सिरियाबाट कानूनी रूपमा लेबनान प्रवेश गर्ने गरेका छन् । मस्ना नाकामा अझै पनि सयौं मानिसले सीमा पार गर्न पर्खिरहेको बताइएको छ ।
लेबनानले २०११ मा गृहयुद्धको चपेटामा परेपछि देशबाट भागेका करिव २० लाख सिरियाली शरणार्थीहरूलाई होस्ट गरिरहेको छ ।
उपसभामुख रानाको आग्रहः नागरिकमा नकारात्मक प्रभाव पर्नेगरी समाचार संप्रेषण नगरौं
प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानाले नागरिकमा नकारात्मक पार्ने खालका समाचार संप्रेषण नगर्न सञ्चारजगतलाई आग्रह गर्नुभएको छ ।
सोमवार काठमाडौंमा आयोजित ‘संसदीय पत्रकारिता अवधारणा र अभ्यास’नामक पुस्तक विमोचन समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो आग्रह गर्नुभएको हो ।
उनले राज्य सञ्चालनको लागि पत्रकारिताको महत्वपूर्ण भुमिका खेलेको उल्लेख गर्दै कसैले पनि राजनीतिक प्रभावमा परेर समाचार लेख्न नहुने बताउनु भयो । उहाँले संसदको गरिमा बढाउन संसदीय पत्रकारिताको महत्वपूर्ण भुमिका रहेको उहाँको भनाइ छ ।
उहाँले भन्नभयो, ‘तपाईहरुले कस्तो सूचना दिँदा चाँही जनतालाई फरक पर्दैन त्यो कुरा याद गर्नुपर्दछ । हामीले यो राज्यलाई बचाउने र नागरिकलाई नकारात्मक प्रभाव नपर्नेगरि समाचारहरु संप्रेषण गर्नुपर्ने हुन्छ । राज्य संचालनका लागि पत्रकारिताको महत्वपूर्ण भुमिका रहेको छ । अहिले त डिजिटल प्रविधि पाँचौँ अंग पनि आईसक्यो । पत्रकाहरुले राजनीतिक प्रभावमा परेर काइते तरिकाले लेखेको पनि देखिन्छ । त्यसैले यसरी नलेख्न आग्रह गर्दछौं । संसदको गरिमा बढाउनका लागि संसदीय पत्रकारिताको महत्वपूर्ण भुमिका रहन्छ ।’
उहाँले वर्तमान व्यवस्था बचाउँदै मुलुकमा समृद्धि ल्याउनका लागि सबैले एकजुट भएर अगाडि बढ्न जरुरी रहेको बताउनु भयो ।
एकीकृत समाजवादीले तत्काल कुनै पार्टीसँग एकता नगर्ने
नेकपा (एकीकृत समाजवादी)को स्थायी कमिटिको बैठकले तत्काल कुनैपनि कम्युनिष्ट पार्टीसँग एकता नगर्ने निर्णय गरेको छ ।
पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा मंसिर २६ गतेदेखि जारी बैठकबाट पार्टी यस्तो निस्कर्षमा पुगेको पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले बताउनु भयो । उहाँले राष्ट्रिय ऐजेण्डाहरुमा सहकार्यको सम्भावना सधैं जीवित रहेपनि पार्टी एकताको सम्भावना नरेहको बताउनु भयो ।
उनी राष्ट्रिय एजेण्डाहरुमा सहकार्य गर्नको लागि पार्टी सधैं तयार रहेको समेत बताउनु भयो । उहाँले बैठक अगामि निर्वाचनहरुमा नेकपा (एकीकृत समाजवादी)लाई सशक्त प्रतिस्पर्धी पार्टीको रुपमा उभ्याउने र कलम चिन्हका उम्मेदवारहरुलाई देशभरि स्थापित गर्नेबारे केन्द्रित रहेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘हाम्रो पार्टीको स्थायी कमिटिको बैठक आज पाँचौँ दिन पनि छलफल मै व्यवस्त छ । हामीले समसामयीक राजनीतिक विषय र पार्टी सुदृढिकरणका लागि अगामि कार्ययोजनाको विषयमा छलफल गरेका छौं । अब जनताको जनजीविकार मागहरुसँग जनतालाई जोडेर घरघरबाट जनसंघर्षको माध्यमबाट पार्टी निर्माण गर्न सकिन्छ भन्ने दिशामा हाम्रो निर्णय केन्द्रित छ । त्यही अनुरुपको निर्णय भोलि सार्वजनिक गर्नेछौं । त्यसैगरी अगामि निर्वाचनहरुमा नेकपा एकीकृत समाजवादीलाई सशक्त प्रतिष्पर्धी पार्टीको रुपमा उभ्याउने र कलम चिन्हका उम्मेदवारहरुलाई देशभर स्थापित गर्नेबारे छलफल केन्द्रित छ । यसबारे पनि निर्णय भोलि नै आउने छ । हालको अवस्थामा अन्य कुनैपनि कम्युनिष्ट पार्टीहरुसँग एकिकरण गर्ने अथवा पार्टी एकता गर्ने आजको सम्भावना नरहेको तर सहकार्यको सम्भावना सधैं जिवितै रहेको हुँदा विभिन्न राष्ट्रिय एजेण्डाहरुमा सहकार्य गर्न तयार छौं । तर पार्टी एकताको नाममा कुनै पार्टीसँग एकिकरण गर्ने सम्भावना नरहेको पार्टीको धारणा छ ।’
भोलि बस्ने बैठकमा नेताहरूको जिम्मेवारी तोक्ने र पार्टीको सुदृढीकरण, आगामी निर्वाचनको तयारी, राजनीतिक तथा भूराजनीतिक चुनौतीलगायतका विषयबारे निर्णय सार्वजनिक गर्ने उहाँले बताउनु भयो ।
ध्वंसात्मक नभई रचनात्मक आलोचना गरौंः राष्ट्रिय सभा अध्यक्ष दाहाल
राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले संसदीय अभ्यासमा आलोचना गर्दा ध्वंसात्मक नभई रचनात्मक आलोचना गर्नुपर्ने बताउनुभएको छ ।
सोमवार काठमाडौंमा आयोजित ‘संसदीय पत्रकारिता अवधारणा र अभ्यास’नामक पुस्तक विमोचन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले यस्तो बताउनुभएको हो ।
उहाँले संसदमै कतिपय सांसद एवं सचिवालयका पदाधिकारीहरुले गर्ने आलोचनाहरुमा रचनात्मकताको कमी देखिने गरेको बताउनु भयो । सबैले नियतवस ध्वंस फैलाउने गतिविधि गरेको कानून आकर्षित हुने बताउनु भयो ।
उहाँले संसदीय पत्रकारहरुले पनि सकारात्मक सन्देश दिने खालका समाचारहरु संपेषण गर्न जरुरी रहेको बताउनु भयो । उहाँले समाचारबाट नकारात्मक सन्देश गएको खण्डमा ध्वंसात्मक स्थिति सिर्जन हुने भएकाले यसतर्फ सबै सचेत हुन जरुरी रहेको बताउनु भयो ।
उनले भने, ‘संसदीय हाम्रो चेत भनेको आलोचनात्मक चेत नै हो । आलोचनात्मक चेतबाट नै हामीले सोच्नुपर्ने हुन्छ । तर त्यो आलोचना रचनात्मक हुनुपर्दछ । ध्वंसात्मक हुने खालको हुनु हुँदैन । संसदमै यस्तो भएको पाइँदैन । संसदमा माननीयले अथवा पदाधिकारीहरुले गर्ने काममा कमिकमजोरी तथा अपुगता देखिन्छ । नियतमै खराबी छ भने त त्यसको लागि छुट्टै बहस होला । तरपनि कतिपय विषयवस्तुहरु अपुगताका कारणले पैदा भएका विषयवस्तुलाई रचनात्मक ढंगले दिनुपर्छ भन्ने मलाई लाग्छ । तपाईंहरुले दिने समाचारलाई पनि सकारात्मक ढंगले दिनुभयो भने सकारात्मक सन्देश जाने र त्यो अलिकति पनि नकारात्मक गएको अवस्थामा ध्वंसात्मक हुने स्थितिबाट हामी सचेत बनौं, यो मेरो अपिल हो ।’
संसद सेवालाई अझै प्रभावकारी बनाउन सरोकारवाला सबैले सक्रियताका साथ काम गर्न जरुरी रहेको अध्यक्ष दाहालको भनाइ छ ।
नेपालमै अन्तःशुल्क स्टिकर छाप्ने परिस्थिति निर्माण गर्छौं : सञ्चारमन्त्री गुरुङ
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सुरक्षण मुद्रण केन्द्र (सेक्युरिटी प्रिन्टिङ प्रेस)लाई पूर्ण क्षमतासहित सञ्चालन गर्न सरकार लागिपरेको बताउनुभएको छ ।
सोमवार सिंहदरबारमा आयोजित सन् २०२४ का हुलाक टिकटहरुको प्रथम दिवसीय आवरणमा टाँचा प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गुरुङले यस्तो बताउनुभएको हो । उहाँले केन्द्रविरुद्ध अहिले अख्तियारसहितका चार/पाँच वटा मुद्दाहरु बाँकी रहेको बताउनु भयो । उहाँले केन्द्रमा रहेका समस्याहरुलाई समाधन गर्दै नेपालभित्रै अन्तःशुल्क स्टिकरहरु छाप्ने परिस्थितिको निर्माण गर्न सरकारले काम गरिरहेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘हामीले सुरक्षण मुद्रण केन्द्रको सिईओ बनाइसकेका छौं । यस कोषमा अख्तियारसहितका चार/पाँच वटा मुद्दाहरु होलान् । यसमा रहेका सबै समस्याहरुको समाधान गर्दै त्यसलाई पूर्ण क्षमतामा संचालन गर्ने परिस्थिति निर्माण गरेर नेपालभित्रै अन्तःशुल्क स्टिकरहरुदेखि लिएर लापूर्जाको कागज, भिसा कार्ड, नागरिकता, राष्ट्रिय परिचय पत्र, राहादानी लगायतका वस्तुहरु नेपालमै छाप्ने कुरामा मुद्रण कोषलाई व्यवस्थित गरेर लाग्ने कुरा अगाडि बढ्छौं ।’
उहाँले सुरक्षण मुद्रण कोष बेहाल अवस्थामा रहेको उल्लेख गर्दै सरकारले सुधारका लागि निरन्तर प्रयास गरिरहेको बताउनु भयो ।
गत शुक्रवार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय
सरकारले सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा देवराज ढुङ्गानालाई नियुक्त गरेको छ ।
गत शुक्रवार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिनुभयो । उहाँले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको सञ्चालक समितिको सदस्यमा कास्कीका डा. राजेन्द्रप्रसाद बराल र भोजपुरका दीपकराज सापकोटालाई मनोनयन गर्ने निर्णय गरेको बताउनु भयो ।
उहाँले सरकारले राष्ट्रिय शहरी नीति, २०८१ स्वीकृत गर्ने निर्णय गरेको समेत बताउनु भयो । उहाँले सामाजिक तथा साँस्कृतिक अधिकारसम्बन्धी अभिसन्धिको समितिसमक्ष नेपालले पेश गर्नुपर्ने चौथो आवधिक प्रतिवेदन स्वीकृत गर्ने निर्णय भएको समेत जानकारी दिनुभयो ।
उहाँका अनुसार बैठकले सार्वजनिक निकायमा स्वदेशी वस्तुको प्रयोगसम्बन्धी निर्देशिका, २०८१, लघु, घरेलु तथा साना उद्योग प्रवद्र्धन नीति, २०८१ र औद्योगिक तथा लगानी प्रवर्धन कोष सञ्चालन कार्यविधि समेत मन्त्रिपरिषद् बैठकले स्वीकृत गर्ने निर्णय गरेको छ ।
त्यस्तै मंसिर २७ गते बसेको बैठकले सत्य निरुपण तथा मेलमिलाप आयोगका सचिव आलोकचन्द्र श्रेष्ठलाई नेपाल कानून आयोगको सचिव पदमा र नेपाल कानून आयोगका सचिव पाराश्चर ढुङ्गानालाई सत्य निरुपण तथा मेलमिलाप आयोगको सचिव पदमा सरुवा गर्ने निर्णय गरेको छ ।
बाँकी यस्ता छन् मंसिर २७ गतेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू :
१. महान्यायाधिवक्ताको कार्यालयको रणनीतिक योजना कार्यक्रमको लागि आ.व. २०८१÷८२ मा सूचना प्रविधि अधिकृत एक अस्थायी दरबन्दी स्वीकृत गर्ने
२. मिति २०८१ पुस २ र ३ गते थाइल्याण्डको बैंककमा आयोजना हुने एसिया र प्रशान्त क्षेत्रमा विकासका लागि वित्तीय सहयोगसम्बन्धी उच्चस्तरीय परामर्श बैठकमा सहभागिताको लागि उपप्रधानमन्त्री एवं अर्थमन्त्री बिष्णुप्रसाद पौडेल नेतृत्वको प्रतिनिधिमण्डलको भ्रमण स्वीकृत गर्ने
३. काठमाडौँ उपत्यका खानेपानी आपूर्ति सुधार आयोजना (दोस्रो) को लागि एसियाली विकास बैंकबाट प्राप्त हुने १७० मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण र १५ मिलियन अमेरिकी डलर अनुदान एवं जापान प्राप्त हुने ३ मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने
४. सिँचाइ आधुनिकीकरण अभिवृद्धि आयोजना कार्यान्वयनका लागि एसियाली विकास बैंकबाट नेपाल सरकारलाई प्राप्त हुने ८५ मिलियन अमेरिकी डलर (करिब रू.११ अर्ब ५५ करोड) सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने
५. सत्य निरुपण तथा मेलमिलाप आयोगका सचिव आलोकचन्द्र श्रेष्ठलाई नेपाल कानून आयोगको सचिव पदमा र नेपाल कानून आयोगका सचिव पाराश्चर ढुङ्गानालाई सत्य निरुपण तथा मेलमिलाप आयोगको सचिव पदमा सरुवा गन
६. नेपाल न्याय सेवा, न्याय समूहका सात जना राजपत्राङ्कित प्रथम श्रेणीका अधिकृतहरुलाई सरुवा गने
यस्ता छन् मंसिर २८ गतेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू ः
१ एसियाली विकास बैंकबाट हरित, उत्थानशील र समावेशी विकास कार्यक्रमका लागि १०० मिलियन अमेरिकी डलर ऋण सहायता स्वीकार गर्ने
२. नेपाल सरकारको नाममा दर्ता रहेको सर्लाही जिल्ला साविक लक्ष्मीपुर गा. वि. स.को ०–५–२–८ बिघा सरकारी प्रकृतिको जग्गा स्वास्थ्य केन्द्रको भवन निर्माणको लागि हरिपुर नगरपालिका, सर्लाहीलाई उपयोग गर्न स्वीकृति दिने
३ निर्माणाधीन नागढुङ्गा सुरुङ मार्ग आयोजनाअन्तर्गत क्षतिपुर्ति तथा समस्या समाधानको लागि सैद्धान्तिक सहमति दिने
४. अन्तर्राष्ट्रियस्तरको फुटबल, कराँते र बिच भलिबल प्रतियोगितामा विजयी तथा पदक प्राप्त खेलाडी, प्रशिक्षक, व्यवस्थापक र फिजियो गरी जम्मा ३५ जनालाई पुरस्कार तथा सम्मान गर्नका लागि स्वीकृति दिने
५. देवराज ढुङ्गाना, मोरङलाई सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक पदमा नियुक्त गर्ने
६. शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको सञ्चालक समितिको सदस्यमा डा. राजेन्द्र प्रसाद बराल, कास्की र दीपक राज सापकोटा, भोजपुरलाई मनोनयन गर्ने
७. संयुक्त राष्ट्र सङ्घीय सन्धिजनित निकायहरूमा पेश गरिने प्रतिवेदनहरूको अभिन्न अङ्गको रूपमा रहने आधारभूत साझा दस्तावेज स्वीकृत गर्ने
८. आर्थिक, सामाजिक तथा साँस्कृतिक अधिकारसम्बन्धी अभिसन्धिको समितिसमक्ष नेपालले पेश गर्नुपर्ने चौथो आवधिक प्रतिवेदन स्वीकृत गर्ने
९. नेपाल सरकार र गणतन्त्र भारत सरकारबिच हस्ताक्षर हुने सरसफाई र स्वच्छता क्षेत्रको विकाससम्बन्धी समझदारीपत्र स्वीकृत गर्ने
१०. विद्युतीय सुशासन आयोग (गठन तथा सञ्चालन) (पहिलो संशोधन) आदेश, २०८१ स्वीकृत गर्ने
११. सार्वजनिक निकायमा स्वदेशी वस्तुको प्रयोगसम्बन्धी निर्देशिका, २०८१ स्वीकृत गर्ने
१२. लघु, घरेलु तथा साना उद्योग प्रवर्धन नीति, २०८१ स्वीकृत गर्ने
१३. औद्योगिक तथा लगानी प्रवर्धन कोष सञ्चालन कार्यविधि, २०८१ स्वीकृत गर्ने
१४. राष्ट्रिय शहरी नीति, २०८१ स्वीकृत गर्ने
गणपूरक नपुगेपछि अर्थसमितिको बैठक स्थगित
गणपूरक संख्या नपुगेपछि अर्थसमिति बैठक स्थगित भएको छ । प्रतिनिधि सभा अन्तर्गतको अर्थसमिति बैठकमा १२ जना सांसदको उपस्थितिमा हुनुपर्नेमा ८ जना मात्रै सांसद उपस्थिति भएका हुन् ।
गणपूरक संख्या नपुगि बैठक सञ्चालन गरेको भन्दै नेकपा (माओवादी केन्द्र) की सांसद गंगा कार्कीले विरोध जनाउनु भयो । उहाँले सत्तापक्षका सांसदहरु नै बैठकमा उपस्थिति नहुनु राम्रो नभएको र कोरम नपुगि बैठक बस्न नमिल्ने भन्दै विरोध जनाएसँगै समिति सभापति सन्तोष चालिसेले बैठक स्थगित गर्नुभयो ।
चेम्बर र युएनडिपीबीच समझदारीपत्रमा हस्ताक्षर
नेपाल चेम्बर अफ कमर्स र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) बीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । सोमवार चेम्बर अफ कमर्स र ९युएनडिपी० बीच दिगो आर्थिक विकास र प्रकोप न्युनिकरणका लागि सहकार्यको सम्झौता भएको हो ।
नेपाल चेम्बर अफ कमर्श र युएनडीपीबीच दिगो विकास एवं निजी क्षेत्रको क्षमता अभिवृद्धिका लागि सहकार्यको सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौतामा चेम्बर अध्यक्ष कमलेशकुमार अग्रवाल र युएनडीपीका कार्यबहाक आवासीय प्रतिनिधि जुलिएन चेभिलार्डले हस्ताक्षर गर्नुभयो ।
निजी क्षेत्रको क्षमता अभिवृद्धि, जलवायु परिवर्तन अनुकुलन, विपद व्यवस्थापन एंव युनडिपीले तय गरेका विकास लक्ष्य पूरा गर्न सहकार्य गर्नेगरी हस्ताक्षर भएको नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष अग्रवालले बताउनु भयो ।
उहाँले प्राकृतिक प्रकोपजन्य अवस्थामा समुदायको क्षमता अभिवृद्धिका लागि सहकार्य गर्ने विषय पनि सम्झौतामा समावेश गरिएको बताउनुभयो ।
उहाँले जलवायु परिवर्तन न्यूनीकरण र अनुकुलका साथै जोेखिम न्युनिकरण गर्नेबारे समेत प्रतिवद्धता जनाइएको बताउनु भयो । उहाँले चेम्बर अफ कमर्स र युएनडीपीबीच भएको सहमति तत्कालै कार्यन्व्यनमा आउने बताउनु भयो । उहाँले राष्ट्रसंघीय एजेन्सीसँग निजी क्षेत्रको क्षमता अभिवृद्धि, विपद् व्यवस्थापनको पूर्वतयारी र प्रतिकार्यबारे सहकार्य गर्नु निजी क्षेत्रका लागि महत्वपूर्ण भएको अध्यक्ष अग्रवालले बताउनु भयो ।
युएनडीपीका कार्यबहाक आवासीय प्रतिनिधी चेभिलार्डले दिगो विकासका लागि राष्ट्रसंघीय लक्ष्यहरु पूरा गर्न चेम्बरसंग सहकार्य गर्न पाउदाँ खुशी लागेको बताउनु भयो ।
बैंकमा थुप्रिएर बसेको तरलतालाई लगानीमा रुपान्तरण गर्छौं : अर्थमन्त्री पौडेल
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बैंकमा थुप्रिएर बसेको ७ खर्ब रुपैयाँको तरलतालाई लगानीमा रुपान्तरण गर्ने प्रयास गरिरहेको बताउनुभएको छ ।
सोमवार सिंहदरबारस्थित अर्थ मन्त्रालयमा नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिँदै अर्थमन्त्री पौडेलले यस्तो बताउनुभएको हो ।
अर्थमन्त्री पौडेलले सरकारले मुलुकभित्र लगानीको वातावरण बनाउने र बैंकको निक्षेपलाई लगानीमा रुपान्तरण गर्ने, अन्तर्राष्ट्रिय लगानी भित्र्याउने,रोजगारी सिर्जना गर्ने र व्यवसायीहरुको मनोबल उच्च रुपमा बढाउने विषयमा बढी केन्द्रित भएर काम गरिरहेको बताउनु भयो ।
उहाँले अर्थतन्त्रलाई सुधारका लागि सरकारले गरेको प्रयासले अर्थतन्त्रका अधिकांश सूचकहरु सकारात्मक देखिएको दाबी गर्नुभयो । उहाँले सरकारले अर्थतन्त्रमा देखिएका समस्या र चुनौतिलाई सुक्ष्म रुपमा विश्लेषण गरी समाधानका उपायहरु कार्यान्वयनमा ल्याएकाले केही सुधार भएको बताउनु भयो । अर्थमन्त्री पौडेलले अर्थतन्त्रमा देखिएका समस्या र चुनौति समाधानको लागि निरन्तर प्रयास गरिरहेको बताउनु भयो ।
उहाँले पछिल्लो समय अर्थतन्त्रका अधिकांश सूचकहरु सकारात्मक दिशामा फर्किएको बताउनु भयो । अर्थमन्त्री पौडलले सरकारले अर्थतन्त्रका समस्यालाई सुक्ष्म ढङ्गले विश्लेषण गरी समाधानका लागि एक–एक कदमहरु चाल्दै गएको जानकारी दिनुभयो ।
उहाँले अर्थतन्त्रमा देखिएका सकारात्मक सूचकहरु सरकारले गरेका कामको परिणामबाट आएको दाबी गर्नुभयो । अर्थमन्त्री पौडेलले राजश्व संकलन गत वर्ष आर्थिक वर्षको चार महिनामा ३ प्रतिशत मात्रै वृद्धि भएकोमा चालु आर्थिक वर्षमा १७ प्रतिशत पुगेको बताउनु भयो । उहाँले अर्थतन्त्र सुधार गर्ने पृष्ठभूमिमा धेरै काम भएकाले पुँजीगत खर्च पनि केही मात्रामा बढेको उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो,‘वर्तमान सरकारले अर्थतन्त्रका समस्यालाई सुक्ष्म ढङ्गले केलाइरहेको छ । समाधानका लागि एक–एक गरी कदमहरु चाल्दैछ । अर्थतन्त्रका केही सूचकहरु सकारात्मक देखिएका छन् । त्यो सकारात्मकता एक्कासी आएको होइन । बैंकको ब्याजदर एकल अंकमा आयो । तर त्यो त्यत्तिकै आएको होइन । त्यसको लागि सरकारले केही काम गरेको छ । राजश्व संकलन गत वर्ष चार महिनामा ३ प्रतिशत वृद्धि भएको थियो । चालु आर्थिक वर्षमा १७ प्रतिशत पुगेको छ । त्यो त्यत्तिकै भएको होइन अर्थतन्त्र सुधार गर्ने पृष्ठभूमिमा काम भएका छन् । पुँजीगत खर्च पनि केही न केही मात्रामा बढेकै छ । लगानीको वातावरण बनाउने र बैंकको निक्षेपलाई कसरी लगानीमा रुपान्तरण गर्ने, अन्तर्राष्ट्रिय लगानी कसरी भित्र्याउने,रोजगारी कसरी सिर्जना गर्ने र व्यवसायीहरुको मनोबल कसरी बढाउने यस विषयमा बढी केन्द्रित भएर काम गरिरहेका छौं । सरकारले गरेको प्रयासले अर्थतन्त्रका सूचकहरु ओरालो लाग्ने क्रम रोकिएको छ । क्रमशः अर्थतन्त्रमा सूचकहरु सकारात्मक दिशामा फर्किएका छन् । त्यसलाई सरकारले तिब्रता दिएर सरकारले लिएको आर्थिक वृद्धिको लक्ष्य हासिल गर्नसक्छौं । मूल्यवृद्धिलाई सीमाभित्र राख्न सफल भएका छौं । समग्र अर्थतन्त्रलाई गतिशिल बनाउने,उत्पादन,उत्पादकत्व वृद्धि गर्ने र रोजगारी अभिवृद्धि गर्ने उदेश्यमा अर्थतन्त्रका सकारात्मक सूचकहरुलाई सदुपयोग गरेर जानुपर्ने अवस्था छ । त्यसमा सरकार प्रयासरत छ ।’
अर्थमन्त्री पौडेलले समग्र अर्थतन्त्रलाई गतिशिल बनाउने,उत्पादन,उत्पादकत्व वृद्धि गर्ने र रोजगारी अभिवृद्धि गर्ने उद्देश्यमा अर्थतन्त्रका सकारात्मक सूचकहरुलाई सदुपयोग गरेर जानुपर्नेमा जोड दिए ।
लोडसेडिङ हुन नदिन भारतबाट साढे ६ सय मेगावट विद्युत आयात हुन्छ : उर्जामन्त्री खड्का
ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले भारतबाट साढे ६ सय मेगावट विद्युत आयात गर्न लागिएको बताउनुभएको छ । मन्त्री खड्काले नेपाल भित्रको आन्तरिक विद्युत आपूर्तिलाई सहज बनाउनको लागि भारतसँग साढे ६ सय मेगावट विद्युत खरिद गर्न लागिएको बताउनुभएको हो ।
मन्त्री खड्काले न्युज एजेन्सी नेपालसँगको कुराकानीमा हिँउदमा विद्युत आपूर्ति सहज बनाउनको लागि भारतसँग साढे ६ सय मेगावट विद्युत आयात गर्ने सहमति भएअनुरुप पुस महिनादेखि नै खरिद गरिने बताउनु भयो ।
उहाँले गत वर्षको बाढीले जलविद्युत आयोजनाहरुमा धेरै क्षति भएर उत्पादनमा देखिएको कमीको कारण लोडसेडिङ हुन नदिनको लागि भारतसँग विद्युत पुस महिनाबाट खरिद गर्न लागिएको बताउनु भयो । उहाँले सरकारले क्षति भएका आयोजनाहरुको निर्माणमा तिब्रता दिएको भन्दै विद्युत माग र आपूर्ति सहज बनाउने विषयमा गम्भिर रहेको बताउनु भयो ।
मन्त्री खड्काले गत वर्षको भन्दा साढे ३ सय मेगावट जति यस वर्ष उत्पादन थप हुने र हिउँदामा ४० प्रतिशत उत्पादन हुने भएकाले पिक आवरमा समस्या पर्ने भएकाले सकेसम्म लोडसेडिङ हुन नदिने योजनाका साथ कार्यतालिका बनाएको बताउनु भयो । उहाँले बेलुका साँझको बेला भारतले चार घण्टा दिनसक्ने बताए पनि भारतसँग थप छलफल गर्ने तयारी रहेको बताउनु भयो ।
उहाँले भारतका ऊर्जामन्त्री नेपालमा आउने तयारी रहेको भन्दै भारतका ऊर्जामन्त्री नेपाल आएको बेलामा छलफल गरिने बताउनु भयो । उहाँले केही घण्टा बेलुकाको समयमा कुनै ठाउँमा लोडसेडिङ हुने अनुमान भएपनि सकेसम्म हुन नदिने योजना रहेको बताउनु भयो ।
उहाँले भन्नुभयो,‘भारत भ्रमणको समयमा भारतका मन्त्री र सचिवसँग वृहत छलफल भएर सुख्यायाममा साढे ६ सय मेगावट विद्युत खरिद गर्ने निर्णय भयो । पुस देखि लागू गर्दछौं । गत वर्षको बाढीले जलविद्युत आयोजनाहरुमा धेरै क्षति भयो । क्षति भएका आयोजनाहरुको निर्माणमा तिब्रता दिएका छौं । विद्युत माग र आपूर्तिको विषयमा सरकारले हिसाव गरेको छ । गत वर्षको भन्दा साढे ३ सय मेगावट जति यस वर्ष उत्पादन थप हुने र हिउँदामा ४० प्रतिशत उत्पादन हुने भएकाले पिक आवरमा समस्या पर्ने छ । सकेसम्म लोडसेडिङ हुन नदिने योजनाका साथ कार्यतालिका बनाएका छौं । बेलुका साँझको बेला भारतले चार घण्टा दिन सकिदैन भनेको छ । भारतका ऊर्जा मन्त्री नेपालमा आउने कुरा छ । उहाँ आएको बेला नेपालको माग र आपूर्तिलाई हिसाव गरेर दुई घण्टामा छोट्याउन सक्छौं । यसरी विद्युत माग र आपूर्तिलाई सम्बोधन गर्ने गरी तयारी छ । केही घण्टा बेलुकाको समयमा कुनै ठाउँमा लोडसेडिङ हुने अनुमान छ । तर विगतको जस्तो अहिले पनि फरक पर्ने स्थितिमा छैनौं । नेपालले ९ सय मेगावटसम्म आपूर्ति गर्ने गरेका थियौं । साढे ६ सय मेगावट आपूर्ति गर्ने भयौं । नेपालभित्रै साढे ३ सय मेगावट थप हुने भयो । यसले विद्युत सप्लाईलाई खासै ठूलो असर पर्दैन ।’
उनले भारतबाट नेपालले ९ सय मेगावटसम्म आपूर्ति गर्ने गरेको भन्दै यो वर्ष साढे ६ सय मेगावट आपूर्ति गरिने बताए । उनले नेपालभित्रै साढे ३ सय मेगावट थप हुने देखिएकाले कम आपूर्ति गर्न लागिएको बताए ।
असद सरकारको पतनपछि ७ हजार ६ सय सिरियाली टर्किएबाट फर्किए
सिरियाका पूर्वराष्ट्रपति बसर अल–असदको सरकारको पतनपछि डिसेम्बर ९ देखि डिसेम्बर १३ सम्म कुल ७ हजार ६२१ सिरियाली नागरिक स्वेच्छिक रूपमा आफ्नो मातृभूमि फर्किएका टर्कीएका आन्तरिक मन्त्री अली येर्लिकायाले बताएका छन् ।
डिसेम्बर ९ मा १ हजार २५९ र त्यसपछिका दिनहरुमा क्रमशः १ हजार ६६९, १ हजार २९३, १ हजार ५५३ र १ हजार ८४७ जना स्वदेश फर्किएका हुन् ।
उनीहरुको स्वदेश फिर्ता स्वैच्छिक, सुरक्षित, सम्मानजनक र व्यवस्थित तरिकाले गरिएको बताउनु भयो । मन्त्रीकाअनुसार कुल २९ लाख ३८ हजार २६१ सिरियालीहरू अहिले टर्किएमा अस्थायी सुरक्षामा छन् ।








