कर्णालीले विराटनगरलाई दियो १३४ रनको लक्ष्य

काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा कर्णाली याक्सले विराटनगर किंग्सलाई १३४ रनको लक्ष्य दिएको छ ।
टस हारेर पहिले ब्याटिङ गरेको कर्णाली याक्सले निर्धारित ओभरमा अल आउट हुदै १३३ रन जोड्यो ।
कर्णालीका लागि विलियम बोसिस्टोले ६६ रन र ओपनर देब खनालले ५३ रन बनाए । यसबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
बोसिस्टोले ४९ बलमा ६६ रन र देबले ४८ बलमा ५३ रन जोडे । ओपनर शिखर धवनले ५ रनको योगदान दिए । अर्जुन घर्ती र चाडविक वाल्टनले १ र जिशान मकसूदले २ रन बनाए ।
अन्य ब्याटरहरु खाता समेत खोल्न सकेनन् । गुलशन झा, नन्दन यादब, युनिस विक्रम सिंह र बिपिन शर्माले खाता समेत नखोलि आउट भए ।
कप्तान सोमपाल कामी शून्य रनमा नटआउट रहे । उनले १ बल पनि सामना गरेनन् ।
बलिङमा भने विराटनगरका प्रतिश जिसीले सर्वाधिक ४ विकेट लिए । बसिर अहमद र क्रिस सोलले समान २–२ विकेट लिए । अकिब इलियासले १ विकेट लिए ।








