टिपरले ट्याक्टरलाई हान्दा एक जनाको मृत्यु, तीन घाइते

काठमाडौं । महोत्तरीको बर्दिवासमा टिपरले ट्याक्टरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने तीन घाइते छन् । पूर्वपश्चिम राजमार्गमा पर्ने बर्दिवास-५ स्थित टुटेश्वर जंगलमा माईस्थानबाट सर्लाहीतर्फ जाँदै गरेको ना ४ त ६८२३ नम्बरको ट्याक्टरलाई सोही दिशातर्फ गइरहेको ना ८ ख ३१६ नम्बरको टिप्परले ठक्कर दिँदा दुर्घटना भएको हो ।
दुर्घटनामा सर्लाहीको ईश्वरपुर-१२ का ३७ वर्षीय सन्तोष मगरातीको मृत्यु भएको प्रहरीले जनाएको छ । गम्भीर घाइते उनलाई उपचारका लागि अस्पतालतर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो ।
दुर्घटनामा परी महोत्तरीको बर्दीबास-७ की १५ वर्षीया दीक्षा लुङ्गेली, सर्लाहीको ईश्वरपुर-१२ का १७ वर्षीय रविन मिरिङचिङ र ४४ वर्षीय डम्बरबहादुर मगर घाइते भएका छन् । घाइते सबैको बर्दिवासस्थि शुभ स्वस्तिक अस्पतालमा उपचार भइरहेको छ ।
ट्रेलरमा मान्छे बोकेर महोत्तरीको माईस्थानबाट सर्लाहीतर्फ जाँदै गरेको ट्याक्टरलाई टिपरले पछाडिबाट ठक्कर दिएको थियो । दुर्घटनापछि चितवन रत्ननगर-११ का ३९ वर्षीय टिपर चालक जितबहादुर लोप्चन र ट्याक्टर चालक सर्लाहीको ईश्वरपुर-१२ का १९ वर्षीय शीतल गौतमलाई प्रहरीले पक्राउ गरेको छ ।








