विशेष अदालतमा पहिलो पटक ‘भर्चुअल’ सुनुवाइ

काठमाडौं । विशेष अदालतमा पहिलो पटक आज अमेरिकाको कान्सास राज्यबाट भ्रष्टाचारसम्बन्धी मुद्दामा ‘भर्चुअल’ माध्यमबाट सुनुवाइ गरिएको छ ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले दायर गरेको पूर्व मुख्य सचिव डा.बैकुण्ठ अर्याल समेत प्रतिवादी भएको सार्वजनिक सम्पत्ति हानीनोक्सानी गरी भष्ट्राचार गरेको आरोपको मुद्दामा संयुक्त राज्य अमेरिकाको कान्सास राज्यबाट प्रतिवादीद्वय सफल श्रेष्ठ र विष्णुप्रसाद गौतमको तर्फबाट अधिवक्ता अपूर्व खतिवडाले भर्चुअल माध्यमबाट बहस गरेका हुन् ।

विशेष अदालतका अध्यक्ष न्यायाधीश टेक नारायण कुँवर, सदस्यद्वय न्यायाधीश डा खुशीप्रसाद थारु र रितेन्द्र थापाको संयुक्त इजलासमा उक्त सुनुवाइ भएको हो ।

तत्कालीन प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले २०८० साल चैत १५ गते भर्चुअल सुनवाइ पद्धतिको शुभारम्भ गरेका थिए । सो पश्चात अदालतबाट साक्षी बकपत्र भर्चुअल माध्यमबाट गरी सेवा प्रदान गरिँदै आएको छ ।

मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १२२ को उपदफा (५) बमोजिम थुनछेक प्रयोजनका लागि अभियुक्तको बयान समेत भर्चुअल माध्यमबाट लिएर अभिलेख गर्न सकिने उल्लेख छ ।

विशेष अदालतले गत आर्थिक वर्ष २०८०/०८१ मा ८८ प्रतिशत मुद्दाको फर्छ्यौट गरी कानुनले तोकेको म्याद छ महिनाभित्रै मुद्दाको कारबाही र किनारा गर्न सफल भएको जनाएको छ ।

‘छिटो छरितो न्याय, सबैका लागि न्याय’ भन्ने न्यायपालिकाको पञ्चवर्षीय रणनीतिक योजनाको प्रस्तावनालाई साकार पार्न विशेष अदालतले न्यायमा सहज पहुँचका लागि प्रविधिको प्रयोग गर्दै आएको छ ।

स्वच्छ सुनुवाइको हक संरक्षित गर्ने र न्यायमा पहुँचको अधिकारअन्तर्गत प्रविधिको प्रयोग र न्यायमा पहुँचका लागि भर्चुअल सुनुवाइको सदुपयोग गर्न सबै कानुन व्यवसायी तथा सेवाग्राहीहरुलाई अदालत प्रशासनले आग्रह समेत गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × two =