यो वर्षको दसैँमा झरी पर्छ ? यस्तो भन्छन् मौसमविद्

काठमाडौं । यो वर्षको दसैंमा पानी पर्छ अथवा मौसम सफा हुन्छ ? औसत समयमा मनसुन नबाहिरिएपछि दसैंसम्म मनसुन रहन्छ कि बाहिरिन्छ भन्ने जिज्ञासा धेरैमा छ ।

दुई वर्षअघिको दसैंमा टीकाकै दिन नेपालका धेरै स्थानमा पानी परेको थियो । यो वर्ष नेपालबाट मनसुन बाहिरिने प्रक्षेपण गरिएको दिन अर्थात् अक्टोबर २ को भोलिपल्ट घटस्थापना वा दसैं सुरु हुने दिन छ । औसत समयमा मनसुन नबाहिरिए पनि दसैंसम्म रहन्छ अथवा त्यो अगाडि नै बाहिरिन्छ अहिले नै भन्न नसकिने मौसमविद्हरुको भनाई छ ।

सामान्यतः मनसुन बाहिरिने भनी तोकिएको मितिको आसपास पानी पर्ने क्रम जारी रहने गरेको जल तथा मौसम विज्ञान विभागकी वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरले बताइन् । त्यसमाथि यस पटक ‘ला नीन्या’ भनिने मौसमी प्रक्रियाका कारण मनसुन बाहिरिइसक्दा समेत सुक्खा भइहाल्ने अवस्था कम हुने उनको अनुमान छ ।

ला नीन्या सक्रिय हुँदा भने नेपालमा सरदरभन्दा बढी वर्षा हुन्छ । भूमध्यरेखीय पूर्वी अथवा मध्यप्रशान्त महासागरमा सरदरभन्दा कम तापक्रम हुनुलाई नै ला नीन्याको अवस्था भनिन्छ । ‘मनसुन भित्रने र बाहिरिने प्रक्षेपण गरिएको मिति नै पनि यकिन रूपमा मिल्दैन चारपाँच दिन तलमाथि जहिल्यै हुन्छ,’ वरिष्ठ मौसमविद् मानन्धरले भनिन्, ‘अक्टोबर ३ तारिकबाटै शरद् ऋतुजस्तो आकाश खुलिहाल्छ भन्ने पनि होइन । तर सेप्टेम्बरको तेस्रो साताबाट पानी पर्ने क्रम उल्लेख्य रूपमा कम हुँदै जान्छ ।’

विभागको जलवायु मूल्यांकन शाखाकी वरिष्ठ डिभिजनल मौसमविद् विभूति पोखरेलले पछिल्ला मौसमी प्रवृत्तिले दसैंसम्मै पानी पर्न सक्ने देखाएको बताइन् । ‘केही पछि अझ स्पष्ट संकेत देखा पर्छन् । हाम्रोतिर मात्र नभएर मनसुनी प्रभाव हुने अन्य क्षेत्रहरूबाट समेत मनसुन बाहिरिने संकेत जेजसरी देखा पर्छ, त्यसलाई हेरेर समेत यहाँ त्यसको विश्लेषण गरिन्छ,’ उनले भनिन्, ‘मनसुनको प्रभाव रहने भारतको राजस्थानतिरबाट बाहिरिन थाल्ने क्रम सुरु भएपछि नेपालमा स्पष्ट संकेत देखिन थाल्छन् । अहिलेको समय मनसुन सक्रिय भएको समय हो र कहीँकतैबाट समेत त्यो बाहिरिएको छैन । त्यसैले अहिल्यै धेरै भन्न सकिने अवस्था रहन्न ।’

दुई वर्षअघिको दशैँमा टीकाकै दिन नेपालका धेरै स्थानमा पानी परेको थियो । ‘टीकाकै दिन नपरिहाले पनि घटस्थापनापछिका कुनै दिन पानी पर्न सक्ने सम्भावनालाई नकार्न सकिँदैन,’ पोखरेलले भनिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 3 =