डिडिसीलाई प्रधानमन्त्रीले भने-किसानले दूधको भुक्तानी नपाएको कुरा सुन्नु नपरोस्,यस्तो भए सरकारले सहँदैन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले किसानहरुलाई दुधको बक्यौता तिर्न मात्र खर्च गर्न पाइने गरी सरकारले दुग्ध विकास संस्थान (डिडिसी)लाई ६० करोड ऋण स्वीकृत गरेको बताएका छन् ।
शुक्रवार साँझ सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले किसानलाई पैसा नदिई अन्य खर्च गरिए सरकारले नसहने बताए ।
उनले लेखेका छन्,“ किसानहरूलाई दूधको बक्यौता तिर्न मात्र रकम खर्च गर्न पाइनेगरी अहिले एक पटकको लागि सरकारले दुग्ध विकास संस्थान (डिडिसी) लाई ६० करोड रूपैयाँ ऋण स्वीकृत गरेको छ। किसानले दूधको भुक्तानी नपाएको कुरा हामीले बारम्बार सुन्नु परेको छ। किसानसँग दूध किनेको भन्दा धेरै मूल्य लिएर बिक्री गर्दा पनि किन घाटा पर्छ ? किसानले भुक्तानी नपाएर मर्कामा पर्ने किन हुन्छ ? दुग्ध विकास संस्थानले पहिला किसानलाई पैसा दिनु पर्छ,अनि मात्र अन्य खर्च गर्नुपर्छ। अब पनि यस्तो भए यसलाई सरकारले सहँदैन।”
बिहीबार बसेको मन्त्रीपरिषद् बैठकले दुग्ध विकास संस्थान (डिडिसी)लाई ६० करोड ऋण दिने निर्णय स्वीकृत गरेको थियो ।








