सभापति देउवाको घरअगाडि शङ्कास्पद वस्तु भेटिएपछि सुरक्षा समितिको बैठक
सुरक्षा व्यवस्थालाई चुस्त एवं प्रभावकारी बनाउनेबारे छलफल

सुदुरपश्चिम । धनगढी उपमहानगरपालिका–४ मा आइतबार शङ्कास्पद वस्तु फेला परेको घटनापछि बसेको जिल्ला सुरक्षा समितिको बैठकमा सुरक्षा व्यवस्थालाई चुस्त एवं प्रभावकारी बनाउनेबारे छलफल गरिएको छ ।
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको धनगढी उपमहानगरपालिका–४ स्थित घर अगाडिको सडकमा फेला परेको शङ्कास्पद वस्तुलाई नेपाली सेनाको बम डिस्पोजल टोलीले बिहान निष्क्रिय तुल्याएको थियो ।
सुरक्षा समितिको बैठकमा सुरक्षा व्यवस्थालाई थप चुस्त एवं प्रभावकारी बनाउने बारेमा छलफल भएको कैलालीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले जानकारी दिए । देउवाको घर परिसरमा २४ सै घण्टा प्रहरीको पहरा रहने गरे पनि शङ्कास्पद वस्तु भेटिनुमा सुरक्षा कमजोरी भएको हुनसक्ने प्रमुख जिल्ला अधिकारी मिश्रले बताए ।
उनले भने, “घटनास्थलमा कुनै पर्चा पम्प्लेट भेटिएको छैन, घटना शङ्कास्पद रहेको छ । फेला परेको उक्त वस्तु बम हो होइन भन्नेमा छानबिन भइरहेको छ, साँझसम्म पुष्टि भइसकेको छैन ।”
घरभित्र प्रवेश गर्ने मूल प्रवेशद्वार नजिकको सडकमा ‘विद्युतीय केतली’ भित्र टिफिनको डब्बा फेला परेको थियो । उक्त वस्तु बम भएको आशङ्का गरिएको छ ।
शनिवार राति १ बजेको समयमा शङ्कास्पद बस्तु फेला परेको सूचना पाएपछि राति नै प्रहरीको टोली घटनास्थलमा पुगेको थियो । घरमा पूर्वप्रधानमन्त्री देउवाका भतिजा सुदूरपश्चिम प्रदेशसभा सदस्य प्रकाशबहादुर देउवा बस्दै आएका छन् । घटनाको अनुसन्धान र संलग्न हुनेको खोजीलाई प्रहरीले तीव्र बनाएको छ ।








