ज्यानू–वसन्तराज मिश्र फाउण्डेशनको पुरस्कार तीन जनालाई

काठमाडौं । ज्यानू–वसन्तराज मिश्र फाउण्डेशनले समाजका विभिन्न क्षेत्रमा सकारात्मक योगदान गर्ने व्यक्तिहरूलाई विभिन्न तीन विद्यामा पुरस्कृत गर्ने भएको छ ।

फाउण्डेशनले हरेक वर्ष वातावरण संरक्षण पुरस्कार, दुर्गादेवी मिश्र शिक्षा पुरस्कार र ज्यानू–वसन्तराज मिश्र पत्रकारिता पुरस्कार प्रदान गर्ने निर्णय गरेको शुक्रवार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । जनही रु ३ लाखको सो पुरस्कार यही भदौ १३ गते प्रदान गरिने आयोजकले जनाएको छ ।

फाउण्डेशनका अध्यक्ष वरिष्ठ पर्यटन व्यवसायी वसन्तराज मिश्रले समाजका विभिन्न क्षेत्रमा सकारात्मक योगदान दिने व्यक्ति तथा संस्थाहरूलाई प्रत्येक वर्ष तीन क्षेत्रमा पुरस्कार प्रदान गरिने बताए ।

फाउण्डेशनले सामाजिक कार्य, पर्यावरण, शिक्षा, कलासाहित्य, पत्रकारिता तथा अन्य क्षेत्रमा अनुसन्धान र विकास कार्य गर्ने र त्यस क्षेत्रमा कार्यरत व्यक्ति तथा संस्थालाई सहयोग गर्ने उद्देश्य लिएको उनले जानकारी दिए ।

पूर्वप्रधान न्यायाधीश कल्याण श्रेष्ठले फाउण्डेशनले दिने पुरस्कारको महत्त्व र गरिमालाई ध्यान दिएर देश समाजमा महत्त्वपूर्ण योगदान दिने व्यक्तिलाई पुरस्कृत गरिनुपर्नेमा जोड दिए ।

फाउण्डेशनले पुरस्कारभन्दा माथि उठेर अनुसन्धान र नवप्रवर्तनमा विशेष ध्यान दिएर आगामी दिनमा काम गर्नुपर्ने उनले बताए । पत्रकार प्रतीक प्रधानले फाउण्डेशनले प्रदान गर्ने पुरस्कारलाई पारदर्शी र विवादरहीत बनाइने विश्वास व्यक्त गरे ।

पत्रकारिता, पर्यावरण, शिक्षालगायत क्षेत्रमा योगदान गर्ने व्यक्तित्वहरूलाई प्रदान गरिने पुरस्कारलाई गरिमामय बनाउन फाउण्डेशनले प्रयास गर्ने भन्दै पर्यटन र पर्यावरणलाई सँगसँगै लैजान जरुरी रहेको क्याप्टेन रामेश्वर थापाले बताए ।

नवीनतम विषयमा खोज तथा अनुसन्धान गर्न चाहने व्यक्तिहरूलाई आवश्यक सहयोग उपलब्ध गराउन, अनुसन्धान तथा विकासको क्षेत्रमा फाउण्डेशनले विभिन्न विश्वविद्यालय तथा विशेषज्ञसँग मिलेर सहकार्य गर्ने लक्ष्य लिएको छ । नेपालको पर्यटन क्षेत्रमा चार दशक बढी सक्रिय रहेका पर्यटन व्यवसायी वसन्तराज मिश्रले फाउण्डेशन स्थापना गरेका हुन् ।

मिश्रले सञ्चालन गरेको टेम्पलम टाइगर ग्रुप अफ कम्पनीले कर्पोरेट सामाजिक दायित्वअन्तर्गत सामाजिक सेवा गर्दै आइरहेको छ । वि.सं. २०७८ मङ्सिर २४ गते स्थापना भएको फाउण्डेशनको संस्थापक अध्यक्षक्ष वसन्तराज मिश्र र संस्थापक ज्यानू मिश्र रहेका छन् भने विशेष सल्लाहकारमा पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठरहेका छन् ।

संस्थाका ट्रष्टिजमा मनदेवी भण्डारी, क्याप्टेन रामेश्वर थापा, आर्टिटेक्ट अरुण पन्त, पत्रकार प्रतीक प्रधान, डा. मधु आचार्य, पियुष मिश्र, ब्रजेश मिश्र तथा रिता जे प्रधान रहेका छन् । संस्थाका सचिव राजेन्द्रकुमार महर्जन रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + thirteen =