अरूलाई लडाएर आफू स्थापित हुने प्रवृत्ति निरुत्साहित गर्न आवश्यक : उपसभामुख रानामगर
२०८१ भदौ ५ गते

पाल्पा । प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानामगरले मुलुकको विकासका लागि अरूलाई लडाएर आफू स्थापित हुने प्रवृत्ति निरुत्साहित गर्न आवश्यक रहेको बताएकी छन् ।
पाल्पाको रामपुरमा बुधवार नेपाल आदिवासी जनजाति महासङ्घ नगरपालिका समन्वय परिषद् रामपुरले आयोजना गरेको भेटघाट तथा स्वागत कार्यक्रममा उनले सो कुरा बताएकी हुन् ।
साथै उनले विकासका लागि एकता पनि जरुरी रहेका बताउँदै मुलुक, समाज, समुदायको हितमा एकीकृत भएर अगाडि बढ्न सबैलाई आग्रह गरिन् । उपसभामुख रानामगरले नेपालमा राजनीतिक प्रतिस्पर्धा स्वस्थ नरहेको समेत बताइन् ।
आदिवासी जनजाति समुदाय कला र संस्कृतिमा अगाडि रहेकाले अब हरेक क्षेत्रको नेतृत्व तहमा अगाडि आउनुपर्ने उनको भनाई थियो । उपसभामुख रानामगरले नेपाली उत्पादनको प्रयोग बढाएर आदिवासी जनजातीका मौलिक उत्पादन प्रवर्द्धन गर्ने नीति अवलम्बन गर्नुपर्ने आवश्यकता औँल्याइन् ।
“नेपाली उत्पादनलाई नियमन गरेर प्रयोग गर्नसके आदिवासी जनजाति समुदायको जीविकोपार्जन र समृद्धिमा मद्दत पुग्नेछ”, उनले भनिन्,“स्थानीय उत्पादनलाई परीक्षण गरेर कति खाने, त्यो नियमन गरियो भने आदिवासी जनजातिको जनजीवनलाई माथि पुग्नेछ ।”
कार्यक्रममा आदिवासी जनजाति समुदाय तथा स्थानीयले विभिन्न मागसहितको ध्यानाकर्षण पत्रसमेत उपसभामुख रानामगरलाई बुझाएका थिए ।
२०८१ भदौ ५ गते
प्रतिक्रिया
सम्बन्धित








