तनहुँमा सोह्र हजार निजी धारा जडान

तनहुँ । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले करिब १६ हजार निजी धारा जडान गरेको छ । कार्यालयका अनुसार हालसम्म जिल्लाभरि १५ हजार नौ सय ९४ वटा निजी धारा जडान गरिएको हो ।

निजी धारा जडानपछि पानी वितरण हुँदा दुई लाख ९८ हजार १६ जना उपभोक्ता प्रत्यक्ष लाभान्वित भएका डिभिजन कार्यालयकी इञ्जिनियर बिनु लोहनीले जानकारी दिइन् । उनका अनुसार गत आर्थिक वर्षमा दुई हजार निजी धारा जडान गरिएको थियो । उक्त धारा जडानपश्चात् चार हजार सात सय ८० जना प्रत्यक्ष लाभान्वित भएका छन् ।

जिल्लामा हालसम्म ९२ प्रतिशत नागरिकमा शुद्ध खानेपानीको पहुँच पुर्‍याइएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले जनाएको छ । ‘शतप्रतिशत घरमा खानेपानी सेवा पुर्‍याउने लक्ष्यसहित कार्यालयले काम गरिरहेको छ’, इञ्जिनियर लोहनीले भनिन्, ‘कतिपय अवस्थामा पर्याप्त बजेट नहुँदा आयोजनाको काम प्रभावित हुने गरेको छ ।’ उनका अनुसार झाप्रेखोला कोडले खानेपानी, म्याग्देको भकुन्थोक बेलटार खानेपानी, सरङघाट, केशरी खानेपानी, व्यासको बेलटारी डिप बोरिङलगायत केही योजना रकम अभाव र मुहान विवादका कारण सम्पन्न गर्न सकिएको छैन ।

सङ्घीय सरकारबाट योजना ससर्त अनुदानमा २७ करोड ५० लाख र प्रादेशिक खानेपानी आयोजनातर्फ २१ करोड ९१ लाख बजेट विनियोजन भएको थियो । विशेष अनुदान खानेपानी आयोजनामा १४ करोड र खानेपानी सेवा विस्तार तथा पुनः स्थापनाअन्तर्गत २६ करोड ६८ लाख बजेट विनियोजन भएको इञ्जिनियर लोहनीले जानकारी दिइन् । उनका अनुसार कार्यालयले गत आवमा भौतिक प्रगति ९४ र वित्तीय प्रगति ९२ दशमलव ५१ प्रतिशत हासिल गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × five =