पोखरा विमानस्थलबारे मन्त्रिपरिषद् बैठकले गरेका निर्णयको स्वागत

गण्डकी । पोखरा पर्यटन परिषद्ले नेपाल सरकार मन्त्रिपरिषद् बैठकले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान भर्ने हवाई कम्पनीलाई सहुलियत दिनेलगायत निर्णय गरेका स्वागत गरेको छ ।
परिषद्द्वारा आज पोखरामा आयोजित पत्रकार सम्मेलनमा परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले मन्त्रिपरिषद्को निर्णयको स्वागत गर्दै विमानस्थल सञ्चालन सम्बन्धमा दुई वर्षसम्म गरेको मागको सुनुवाइ भएकामा खुसी व्यक्त गरे ।
‘मन्त्रिपरिषद्ले गरेका निर्णय छिटोभन्दा छिटो कार्यान्वयनका लागि सरकारसँग माग गर्दछौँ’, उनले भने, ‘यो निर्णयले गर्दा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान हुनेमा हामी निश्चिन्त छौँ ।’
पोखराबाट उडान भर्ने हवाई कम्पनीहरूले पाउने उक्त सुविधाबाट यात्रुहरूलाई सुलभ दरमा यात्रा गर्ने मौका मिल्ने र यसले विमानस्थलको आकर्षण बढाउने उनले बताए । अध्यक्ष श्रेष्ठले अन्तर्राष्ट्रिय उडान भएमा पोखराका उत्पादन अन्तर्राष्ट्रिय बजारमा प्रवेशको ढोका खुल्ने विश्वास व्यक्त गरे ।
परिषद्को वर्तमान कार्यसमितिले यस सम्बन्धमा प्रधानमन्त्री, अर्थमन्त्रीलगायत सम्बद्ध निकायसँग पटकपटक छलफल तथा ज्ञापनपत्र बुझाएको उनले स्मरण गरे ।
परिषद्ले अन्तर्राष्ट्रिय उडानका लागि अन्तर्राष्ट्रिय हवाई कम्पनीसँग पहल, भारतीय टुर अपरेटर, फिल्म स्टार, राजनीतिज्ञ तथा पत्रकारसँग पोखरासहित समग्र गण्डकी प्रदेशको पर्यटन प्रवर्द्धनसँगै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको चर्चा र प्रसारप्रसार गरिएको त्यस अवसरमा जानकारी दिए ।
पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न अध्ययन समितिको सदस्यका रूपमा पोखरा मुग्लिन सडकको स्तरोन्नतिको ढिलाइ सम्बन्धमा सरोकार भएकासँग छलफल एवं अवलोकन भ्रमण गरिएको अध्यक्ष श्रेष्ठले बताए ।
परिषद्का्े आयोजनामा ‘पहिला घरदेश अनि परदेश’ साङ्गीतिक कार्यक्रम, गल्फ एण्ड वियोन्ड कार्यक्रम, पाटा एडभान्चर मार्टमा सहकार्य, पर्यटन ऐनलाई व्यवसायमैत्री बनाउन र यातायात क्षेत्रमा सेवा प्रदायकको सुविधाका लागि सरकारले दिनुपर्ने सहुलियतका विषयमा ऐनमा नै सुधार गर्न पहल गरिएको पनि जनाइएको छ ।
परिषद्का महासचिव सञ्जयकान्त सिग्देलले पोखरासहित समग्र गण्डकी प्रदेशको पर्यटन प्रवर्द्धन र विकासका लागि आफूहरूले निरन्तर प्रयास गरिरहेको बताए ।








