कांग्रेस एक हप्ताभित्र कोशी सरकारमा सहभागी हुन्छ : डा.शेखर कोइराला

मोरङ । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले कोशी प्रदेश सरकारमा नेपाली कांग्रेस आगामी एक हप्ताभित्र सहभागी हुने बताएका छन् ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले सरकार विस्तार सम्बन्धमा प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाबीच छलफल भइरहेको जानकारी दिए ।

नेता कोइरालाले भने, ‘हाम्रा कारणले प्रदेश सरकार विस्तार हुन नसकेको आरोप गलत हो ।’ उनले विगत एक वर्षदेखि आफूले एमाले र कांग्रेसबीच गठबन्धन हुनुपर्छ भनेका यो सरकारलाई भत्काउने कार्य आफूबाट कुनै हालतमा नहुने बताए ।

नेता कोइरालाले राजनीतिक स्थायित्वका लागि वर्तमान गठबन्धन आवश्यक भएको विचार राखे । उनले संविधानमा लेखिएअनुसार समावेशी समानुपातिक कायम राखी संविधानमा सुधार गरी निर्वाचन प्रणाली संशोधन गरी बहुमतको सरकार निर्माण हुनेतर्फ अगाडि बढ्नुपर्नेमा जोड दिए ।

फरक प्रसङ्गमा उनले आगामी १५औँ महाधिवेशनमा सभापतिको उम्मेदवार आफू हुने जानकारी दिँदै तोकिएकै समयमा महाधिवेशन हुनुपर्ने धारणा राखे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *