रास्वपा सांसदहरूको आरोप- सभामुख घिमिरे सरकारको निर्देशनमा चले

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले सभामुख देवराज घिमिरेलाई सरकारको निर्देशनमा चलेको आरोप लगाएका छन् ।
मंगलवार नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले सभामुख घिमिरेले सरकारको निर्देशनमा आफूहरूको आवाज दबाउन लागेको आरोप लगाएका हुन् ।
बैठकको आकस्मिक समयमा रास्वपा सांसद हरि ढकालले विद्युत् प्राधिकरणले उठाउनुपर्ने बक्यौता रकमका बारेमा बोल्दैगर्दा सभामुख घिमिरेले विषयकेन्द्रित नभएको भन्दै बोल्न रोक लगाएका थिए ।
त्यसपछि रास्वपा, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेकपा (माओवादी केन्द्र) समेतका सांसदहरूले बैठक अवरोध गरेपछि सभामुखले सांसद ढकाललाई बाँकी कुरा राख्न दिएको थियो । यसै प्रकरणलाई लिएर रास्वपा सांसदहरूले सभामुखको भूमिकाप्रति आशंका व्यक्त गरेका हुन् । सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै रास्वपाका सांसद हरि ढकालले भ्रष्टाचारसँग सम्बन्धित मुद्दा आधा रातमा पनि आकस्मिक विषय भएको बताए ।
उनले आफूले विद्युतको बक्यौता महसुल उठाउनुपर्छ भन्न लाग्दालाग्दै सभामुखले माइकको लाइन काट्नुभएको भन्दै संसदमा महसुल उठाउनुपर्छ भन्न नपाइने हो भनी प्रश्न गरे । उनले भ्रष्टाचारको विषय संसदमा उठाउन खोज्दा सभामुखबाट माइक काटिनु आपत्तिजनक भएको बताए ।
उनले भने – ‘भ्रष्टाचारसँग सम्बन्धित मुद्दा आधा रातमा पनि आकस्मिक हो । यो देशको महारोग त्यही होइन रु महसुल उठाउने कुरा २२ अर्ब घटेर १६ अर्ब भएको छ । १६ अर्ब घटेर ६ अर्ब भएको छ । अनि मैले बिजुली छुनेबित्तिकै सभामुखले लाइन काट्नुहुन्छ । छुनै नहुने बिजुली ? महसुल उठाउनुपर्छ भन्नै नहुने सदनमा ? त्यसलाई विशेष समय छुटाउनुपर्ने ? अर्कै समय छुटाउनुपर्ने ? इन्टेनशनली काटेर बोल्नै दिनुभएन । भ्रष्टाचार गर्न खोज्नेहरूलाई पनि कारबाही गर्नुपर्छ । भ्रष्टाचार गर्नु मात्रै अपराध होइन । गर्न खोज्नेहरू पनि अपराधी हुन् । समितिहरूमा भ्रष्टाचार गर्न खोजेको देखिन्छ तिनीहरूलाई पनि छानबिन हुनुपर्छ । भ्रष्टाचारसँग सम्बन्धित मुद्दा सधैँ आकस्मिक हुन्छ । सदन बसेको दिन विभिन्न काण्डको बारेमा सधैँ उठिन्छ । सधैँ बोलिन्छ । यस्तो संवेदनशील मुद्दा सदनमा छुस्स बिम्बको रुपमा प्रस्तुत गर्न खोज्दैमा माइक काटिनु आपत्तिजनक छ ।’
सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले सभामुख देवराज घिमिरेले सरकारले दिएको निर्देशन लागू गर्न लागेको आरोप लगाए । उनले आफूहरूलाई दुई तिहाइको सरकारले दम्भ देखाउने कोसिस गरेको भान भएको बताए । उनले सभामुखले आफ्नो पदीय मर्यादा र सांसदहरूको अधिकारको समेत ख्याल नगरी सांसदलाई बोल्न नदिइएको बताए ।
उनले भने – ‘सांसदहरूले जनताको कुरा सम्मानित सदनमा राख्दै गर्दा सरकारले कतै दुई तिहाइको दम्भ देखाउने कोसिस गरेको हो कि भन्ने हामीलाई भान भयो । सभामुखले आफ्नो पदीय मर्यादा र सांसदहरूको अधिकारको पनि न्यूनतम ख्याल नगरीकन सदनले बनाएको संसदीय नियमावली २०७९ को दफा १५ भित्र रहेर आफ्नो कुरा, जनताका आवाज राख्दै गर्दा सभामुख जसरी प्रस्तुत हुनुभयो, दुई तिहाइको सरकारले जस्तो निर्देशन दिएको थियो त्यो निर्देशनको लागू गर्न खोजिएको हो कि भन्ने हामीलाई भान भएको छ ।’
उनले जनप्रतिनिधिबाट संसदमा मुखरित हुने जनताको आवाज दबाउन खोजिएको भन्दै रास्वपाको संसदमा उपस्थित हुन्जेलसम्म आवाज नदब्ने बताए ।








