गुल्मी पहिरोमा ज्यान गुमाएकाहरूको सामूहिक दाहसंस्कार

गुल्मी । गुल्मीमा पहिरोले पुरिएर मृत्यु भएकाहरूको सामूहिक दाहसंस्कार गरिएको छ । जिल्लाको मुसिकोट नगरपालिका‐१ बिसौनामा मङ्गलबार बिहान पहिरोमा परि मृत्यु भएका दुई घरपरिवारका चार जनाको आज स्थानीय बढीगाढ खोलामा सामूहिक दाहसंस्कार गरिएको हो ।
मङ्गलबार बिहान ९ बजे बिसौनाका विष्णु विकको घर पहिरोले पुरिँदा उनकी ६६ बर्सिया आमा मसुरी विक, दुई बर्सिया छोरी रियन्सी विक, ६७ वर्षीय हुकुम विक र ४६ वर्षीय गोरे विकको मृत्यु भएको थियो ।
जिल्ला प्रशासन कार्यालय गुल्मीले सदरमुकाम तम्घासबाट चिकित्सक पठाएर घटनास्थलमै शव परीक्षण गरी आफन्तको जिम्मा लगाइएको थियो । उक्त शवलाई आज बिहान हिन्दु परम्परा अनुसार दाहसंस्कार गरिएको हो ।
उक्त घटनामा परि विष्णु विक र उनकी श्रीमती मुना विक गम्भीर घाइते भएका थिए । उनीहरूको अहिले मेडिकल कलेज प्रवास पाल्पामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । यसअघि गत असार १४ गते गुल्मीको मालिका गाउँपालिका‐६ अर्जेमा पहिरोले घर पुरिँदा एकै घरका पाँच जनाको मृत्यु भएको थियो ।








