हेमबहादुर मल्ल सम्मान २०७९ डा.थापालाई प्रदान गरिने

काठमाडौं । नेपाल जनप्रशासन सङ्घले विसं २०७९ को ‘हेमबहादुर मल्ल सम्मान’ कूटनीतिज्ञ डा भेषबहादुर थापालाई प्रदान गर्ने भएको छ ।

सङ्घ र साल्ट ट्रेडिङ कर्पोरेसनद्वारा संयुक्त रुपमा आज आयोजित पत्रकार सम्मेलनमा थापालाई सम्मानपत्रसहित रु दुई लाख राशिको सम्मान प्रदान गरिने जानकारी दिइयो ।

उक्त सम्मान यही साउन २३ गते विशेष समारोहकाबीच प्रदान गरिने छ । सङ्घले साल्ट ट्रेडिङको सौजन्यमा सो संस्थाका अध्यक्ष एवं कुशल व्यवस्थापक स्व हेमबहादुर मल्लको स्मृतिमा उक्त सम्मान स्थापना गरेको हो ।

पाँच दशकसम्म निरन्तर सार्वजनिक जीवनका आर्थिक, प्रशासनिक, प्राज्ञिक र कूटनीतिक क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएको योगदानस्वरूप डा थापालाई सो सम्मान प्रदान गर्न लागिएको सङ्घका अध्यक्ष मधुरमण आचार्यले जानकारी दिए ।

सम्मान छनोटका लागि पूर्वसचिव एवं पूर्वअर्थमन्त्री शङ्करप्रसाद कोइरालाको संयोजकत्वमा समिति गठन गरिएको थियो । सो समितिमा सङ्घका निवर्तमान अध्यक्ष कृष्णहरि बाँस्कोटा, साल्ट ट्रेडिङका अध्यक्ष प्रदीपलाल श्रेष्ठ, सचिव विन्दु विष्ट र पूर्वसचिव शिशिरकुमार ढुङ्गाना सदस्य रहेका थिए ।

यसअघि सो सम्मानबाट केदारभक्त माथेमा, चाँदनी जोशी, डा भगवान् कोइराला, डा विमल कोइराला, महावीर पुन, स्व अम्बिका श्रेष्ठ, भोजराज पोखरेल, दमननाथ ढुङ्गाना, डा सुरेशराज शर्मा, खिलराज रेग्मी, उमेश मैनाली, दामोदर गौतम, डा देवेन्द्रराज पाण्डे, कुलमान घिसिङ, डा सन्दुक रुइत, डा गौरीशङ्कर लाल दास, सूर्यनाथ उपाध्याय, गोरक्षबहादुर न्हुच्छे प्रधान र भानु आचार्य सम्मानित भइसकेका छन् ।

मल्ललले साल्ट ट्रेडिङको संस्थापक प्रमुख, कार्यकारी प्रमुख, निर्देशक इन्चार्ज र प्रमुख सल्लाहकार पदमा रही सेवा गरेका थिए ।

प्रशासन र व्यवस्थापनका क्षेत्रमा कार्यरत प्राज्ञिक, प्रशासक र व्यवस्थापकबीचको पारस्परिक सम्बन्धलाई मर्यादित र सुदृढ गर्दै सार्वजनिक सरोकारसँग सम्वन्धित सार्वजनिक क्षेत्रको नीति निर्माण, पुनरावलोकन र मूल्याङ्कनमा पृष्ठपोषण गर्ने उद्देश्यले २०४७ सालमा सङ्घको स्थापना भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + one =