पहिरो खस्दा साँफे-मार्तडी र बेँसीसहर-चामे सडक अवरुद्ध
काठमाडौं । लगातारको वर्षाका कारण पहिरो खस्दा साँफे-मार्तडी सडक अवरुद्ध भएको छ । बडीमालिका नगरपालिका-६ नुनेपानीमा पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रवीन्द्रसिंह कार्कीका अनुसार अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको छ । साँफेस्थित सडक डिभिजन कार्यालयबाट उपकरणसहितको टोली पहिरो खसेको स्थानमा पुगेको छ ।
एक महिनादेखि अवरुद्ध मार्तडी-कोल्टी सडक भने अझै बन्द छ । उक्त सडकमा पर्ने बाउली र अनाइ खोलामा पानीको सतह निरन्तर बढेको तथा बडीमालिका नगरपालिका-७ जिल्लीमा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो ।
यो सडक खुलाउन प्रयास भए तापनि लगातारको वर्षाका कारण सम्भव नभएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
बेँसीसहर-चामे सडक अवरुद्ध
पहिरोले बेँसीसहर-चामे सडक अवरुद्ध भएको छ । गए रातिदेखिको निरन्तरको वर्षाले यस सडकअन्तर्गत लमजुङ बेँसीसहर नगरपालिका-६ खरखरे भिरमा आज बिहान पहिरो खसेर सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
उक्त कार्यालयका प्रहरी निरीक्षक थानेश्वर चपाईँका अनुसार केही वर्ष अघि पनि पटकपटक पहिरो खसेको स्थानमा आज पनि पहिरो खसेको हो । सो स्थानभन्दा मुनि मर्स्याङ्दी नदी रहेको जोखिमपूर्ण स्थल हो । सडक अवरुद्ध हुँदा मनाङ र लमजुङको उत्तरी क्षेत्रका स्थानीयलाई समस्या भएको छ ।